तरकारीको मूल्य बढ्यो
जनकपुरधाम : चाडतिहार नजिकिए सँगै तरकारी तथा फलफूलको भाउ निकै बढेको छ । प्रदेश २ का अस्थायी राजधानी जनकपुरधाम एक साताअघि देखि चाडतिहारको दृष्टिगत गर्दै तरकारी तथा फलफूलको निकै बढाएको छ ।
भारत बिहारमा भएको चुनावले सीमा बन्द र तरकारी उत्पादक किसान तथा व्यवसायीलगायत दिपावलीमा व्यस्त भएको कारणले पर्याप्त मात्रामा तरकारी तथा फलफूलको आपूर्ति हुन नसक्दा मूल्यमा मूल्य बढेको स्थानीय व्यवसायीहरुको भनाई छ । तरकारी तथा फलफूल व्यवसायी परिक्षण साहका अनुसार हप्तादिन अघिको तुलनामा दिपावली सुरु भएसँगै बजारमा होलसेलमै प्रतिकिलो तरकारीको मूल्य २० रुपैयाँदेखि ६० रुपैयाँसम्म बढेको छ ।
उनका अनुसार अहिले फुलगोभी प्रतिकिलो बजारमा १ सय ३० रुपैयासम्म बिक्री भइरहेको छ । त्यस्तै बैगन प्रतिकिलो ६०, मूला ७०, घिरौला ९०, बोरी ८०, बन्दागोभी ९० र कांक्रा १ सय १० रुपैयासम्म विक्री भइरहेको छ ।
हरियो तरकारीका साथै आलू र प्याजको मूल्य दोब्बरभन्दा बढी भएको छ । आलू प्रतिकिलो ७५ र प्याज १ सय २० रुपैयासम्म विक्री भइरहेको छ । प्रत्येक वर्ष दशैं सकिए लगतै तरकारी तथा फलफूलको मूल्य दिपावलीदेखि छठ पर्व बढेको हुन्छ ।
'मूल्य आफूले होइन आयात नै कम भइरहेको कारण होलसेलमै बढाइएको कारण आफूहरुले बढाएको कारण बढन गएको हो' उनले भने 'फुलगोभीमा प्रतिकिलो ६०, बैगनमा ३०, मूला ३०, घिरौला ४०, बोरी ३५०, बन्दागोभी २० र कांक्रा ३० रुपैयाँसम्म होलसेलमै मूल्य बढाइएको छ । त्यसपछि ढुवानी खर्च, समयमा विक्री हुन नसक्दा सडेर खराब पनि हुन जान्छ । ती कारणले पनि तरकारीको मूल्य बढेको हो ।'
त्यस्तै फलफूलको मूल्य समेत बढेको छ । व्यवसायीहरुका अनुसार केरा स्याउ ३ सय रुपैयाँ प्रतिकिलोसम्म मूल्य पुगेको छ । केरा प्रति दर्जन ८०, अनार २ सय ५० रुपैया मूल्य प्रतिकिलो रहेको छ । केरा मूल्य छठसम्म अहिलेको मूल्यभन्दा दोब्बरसम्म पुग्न सक्ने छ ।
थोक विक्रेता तरकारी व्यवसायी अरुण साहले भने अधिकांश तरकारी तथा फलफूल स्थानीयस्तरमा उत्पादन नभई भारतबाट आयात हुन्छ त्यसमा पनि संकलन गरेर सुरक्षित राख्न कोल्ड स्टोरको आभावको कारणले जनकपुर क्षेत्रमा तरकारी तथा फलफूलको मूल्य अत्यधिक बढेको हुन्छ ।
'भारतबाट आयात गरिएको मूल्यभन्दा तेब्बर दरमा व्यवसायीहरुले बेच्ने गरेका छन् । भारतमा २० रुपैयामा किनिएको तरकारी यहाँ ६० रुपैयाँभन्दा बढीसम्म विक्री गर्नु परेको हो' उनले भने । व्यवसायी अरुणका अनुसार ढुवानी खर्च, भन्सार खर्च बाहेक गोदाम राख्दा र ढुवानी गर्ने क्रममा खराब भएको त्यसपछि हाम्रो र खुद्रा विक्रेता मुनाफा समेत जोडेर मूल्य तरकारी तथा फलफूलको मूल्य बढन जान्छ ।
यसवर्ष त बिहारमा चुनाव भएको कारण बोर्डरकै गोदाममा ४/५ दिनसम्म थन्काएर राखिएको कारण तरकारी खराब भएकोले हामी थोक व्यवसायीलाई झन घाटा नै लागेको छ । प्रदेश २ कृषि क्षेत्र भएपनि तरकारी उत्पादन निकै कम मात्रा हुन्छ । अधिकांश तरकारी भारतको समस्तीपुर र मुजफ्फरपुर लगायतका क्षेत्रबाट आयात हुन्छ ।
आयात गरिएका तरकारी तथा फलफूल संकलन गरेर सुरक्षित गर्ने कोल्डस्टरको आभावले बिक्री हुन नसकेका तरकारी तथा फलफूल खराब हुने गरेको समस्या व्यवसायीले समेत भोग्दै आएका छन । देशका अन्य ठाउँभन्दा जनकपुरमा बढी मूल्य हुन्छ ।
देश संघीयतामा गएपनि प्रदेश वा स्थानीय सरकारले तरकारी तथा फलफूल खेती र कोल्डस्टोरतर्फ ध्यान पुरयाएको छ । हुनत प्रदेश सरकारले प्रमुख शहरहरुमा कोल्डस्टोर निर्माणको काम अघि बढाएको छ । तर दुई वर्षदेखि निर्माण चरणमै रहेके छ । राजविराज र विरगंज सहितका क्षेत्रमा निजीस्तरको कोल्डस्टोर भएपनि व्यवस्थित र सुरक्षित रहेको छैन ।