मकवानपुर उद्योग वाणिज्य संघको चुनावी माहोल तात्यो
हेटौँडा : मकवानपुरमा उद्योग वाणिज्य संघको चुनावी माहोल तातेको छ । अध्यक्ष पदको लागि तीन जनाले उम्मेदवारी घोषणा गरेका छन् । मकवानपुर उद्योग वाणिज्य संघको निवर्तमान अध्यक्ष राजकुमार न्यौपाने, व्यवसायी कृष्ण कुमार गुप्ता र महेन्द्र राउत अध्यक्षको पदको आकांक्षी देखिएका छन् ।
यसैबीच उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्यसमेत रहेका राजकुमार न्यौपानेले सोमबार हेटौँडाको बालकुमारी पार्टी प्यालेसमा चुनाव प्रचारप्रसार कार्यालयको शुभारम्भ गरेका छन् । उनले व्यवसायीको हकहितको लागि सधै काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
यसअघि हेटौंडामा पत्रकार सम्मेलन गरी उनले आफ्नो प्यानलमा बाणिज्य तर्फ उपाध्यक्ष राम प्रसाद न्यौपाने, उद्योग तर्फका उपाध्यक्ष प्रतिमा श्रेष्ठ, एसोसिएट तर्फका उपाध्यक्ष उज्वल चौलागाईं र बस्तुगत तर्फका उपाध्यक्षमा राजु अधिकारीको संयुक्त उम्मेदवारीको घोषण गरेका थिए ।
केही दिनै न्यौपानेले सदस्यहरुको समेत उम्मेदवार सार्वजनिक गर्ने बताए । चुनाव नजिकिएसँगै व्यवसायीहरु माझ उम्मेदवारी घोषणा गरेकाहरुले आफ्नो भेटघाट बाक्लो बनाएका छन् । मकवानपुर उद्योग बाणिज्य संघको ५४ औं वार्षीक साधारणसभा र निर्वाचन यही चैत २१ देखि २३ गतेसम्म हुनेछ । चैत्र २१ गते सभाको उद्घाटन, २२ गते उम्मेदवारी दर्ता र २३ गते मतदान हुनेछ ।