कर्णालीमा औलो निवारण अभियान : वैदेशिक रोजगार चुनौती

लक्ष्मी भण्डारी | बैशाख १२, २०८०

सुर्खेत- सन् २०२५ सम्म औलो निवारण गर्ने सरकारको लक्ष्य भएतापनि कर्णालीमा भने आयातित औलोका बिरामीहरू चुनौती बनेका छन् । स्थानीय स्तरमा औलोका विरामीहरू घट्दै गएतापनि भारत तथा अन्य तेस्रो मुलुकबाट फर्किएकाहरूमा औलो देखापरेपछि चुनौती बढेको स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतले जनाएको छ ।

स्वास्थ्य निर्देशनालयको किटजन्य रोग नियन्त्रण अधिकृत श्यामलाल आचार्यका अनुसार आयातित बिरामीहरूका कारण मलेरियालाई शून्यमा झार्न चुनौती बढेको छ । ‘खुल्ला सीमा नाका हुँदै भारतबाट आएका मान्छेहरू सिधैं गाउँमा जाने र ती व्यक्तिमा मलेरिया देखिने गरेको छ,’ आचार्यले भने ।

कार्यालयको तथ्यांक अनुसार चालु आर्थिक वर्ष ०७९/८० को हालसम्म कर्णालीमा २३ जना मलेरियाका बिरामी देखिएका छन् । त्यसमध्ये ९ जना मात्र स्थानीय रहेका छन् भने बाँकी १४ जना भारतबाट फर्किएका छन् । यो वर्ष सबैभन्दा बढी सुर्खेतमा १३ जना मलेरियाका बिरामी देखा परेका छन् । त्यसैगरी हुम्लामा ७, कालिकोटमा २, दैलेखमा २ र सुर्खेतमा १३ जनामा मलेरिया देखा परेको छ । जबकि गत आर्थिक वर्षमा कर्णालीमा ४८ जनामा मलेरिया देखा परेको थियो ।

सरकारले ‘शून्य औलो अबको थालनी, नवीनतम कार्य, कार्यान्वयनमा लगानी’ भन्ने उद्देश्यसहित सन् २०२५ सम्म औलो निवारण गर्ने लक्ष्य लिएको छ । तर, रोजगारका लागि भारत तथा अन्य तेस्रो मुलुकबाट फर्किएका नागरिकहरूमा औलो देखा परेपछि निवारणमा चुनौती थपिएको हो । ‘पहिलेको भन्दा कम मात्रामा औलोका बिरामीहरू देखा परेका छन्,’ आचार्यले भने, ‘स्थानीयमा कम देखिएपनि रोजगारीका शिलशिलामा बाहिर गएका नागरिकहरूमा भने धेरैमा मलेरिया देखिएको छ ।’

केही वर्ष अघि मुगुमा महामारीका रूपमा फैलिएपछि मलेरिया नियन्त्रणका लागि अभियान नै सञ्चालन गरेपछि मलेरिया नियन्त्रणमा आएको थियो । त्यस यता मुगुमा मलेरियाको महामारी देखिएको छैन । सुर्खेतको वीरेन्द्रनगर तथा आसपासका स्थानीय तहमा मात्र देखा परेको मलेरिया विगत दुई/तीन वर्ष यता हुम्ला, मुगु लगायतका जिल्लामा पनि देखिन थालेको छ ।

सडक विस्तारसँगै गाडी आवतजावत बढेपछि मलेरियाका बिरामीहरू देखिन थालेको निर्देशनालयका अधिकृत आचार्यले बताए । आर्थिक वर्ष ०७५/७६ मा कर्णालीमा २०८ जना मलेरियाका बिरामी रहेकोमा ०७६/७७ मा घटेर ५१ जनामा देखिएको थियो । यसैगरी ०७७/७८ मा घटेर ३४ जनामा देखिएपनि गत वर्ष भने बढेर ४८ पुगेको थियो ।

कर्णालीमा विशेष गरी प्लाज्मोडियम भाइभेक्स (पिभी) का बिरामी बढी देखिन्छन् । उनका अनुसार पछिल्लो समय मलेरियाका कारण कर्णालीमा मान्छेको मृत्यु भने भएको देखिँदैन । 

कम ज्वरो आउनु, ज्वरो आउँदा प्रायः जाडो हुने, काँप छुट्ने र पसिना आउने हुन्छ । टाउको दुख्ने, वाकवाकी लाग्ने, वान्ता हुनुका साथै ज्वरो दिन बिराई वा नियमित पनि आउँछ । संक्रमित एनोफिलिज जातको पोथी लामखुट्टेले स्वस्थ मान्छेलाई टोक्दा औलो लाग्दछ ​।

गत वर्ष प्रदेशभर १९ हजार ५ सय ९१ जनामा रक्त नमुना परीक्षण गरिएको थियो । त्यसमा ४८ जना बिरामी देखिएका थिए । उमेरगत हिसाबमा यो प्रदेशका १५ वर्षभन्दा माथिका व्यक्तिहरूमा सबैभन्दा बढी मलेरिया देखा पर्ने गरेको छ ।

कर्णालीमा बजेट कार्यान्वयन गर्ने कर्मचारीको कमी छ : मुख्यमन्त्री शर्मा

इकागज | बैशाख ११, २०८०

सुर्खेत - कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कर्णालीमा बजेट कार्यान्वयनको लागि चाहिने आवश्यक कर्म...

केन्द्रका पार्टीबीचको समस्याले प्रदेशमा प्रभाव पर्नु गलत : मुख्यमन्त्री अधिकारी

इकागज | बैशाख ८, २०८०

कास्की- गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेश सरकार छुट्टै सरकार हुन् भन्ने कुराको अनुभूति सब...

भेरी करिडोर सडकलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्छाैं : मन्त्री खड्का

इकागज | बैशाख ८, २०८०

सुर्खेत- उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्काले कर्णाली करिडोरको सडकलाई प्राथमिकतामा राखेर बज...