छेपारोको घरजस्तै धितोपत्र बजारको नियमन
काठमाडौं : दिनभरी सुत्ने, रात परेपछि मात्रै घर बनाउन तात्ने छेपारोको घर नबनेजस्तै छ, नेपाल धितोपत्र बोर्डको नियमन ।
२०७३ साउन १२ मा सेयर बजार मापक नेप्से परिसूचक ऐतिहासिक अंकमा पुग्यो । अर्थतन्त्र शिथिल भइरहेको अवस्थामा समेत सेयर बजार लगातार बढेपछि धितोपत्र बोर्डले गठन गर्यो, सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्ययन समिति । सेयर बजारमा कालोधन भित्रिएको बोर्डको आशंका थियो । कुनै प्रमाणिक र परिपक्व अध्ययन नआउँदै धितोपत्र बोर्डले कालोधन बजारमा भित्रेको हल्ला चलाउनु आफैंमा अप्रत्याशित र लगानीकर्तामाथिको अन्याय थियो । यो निर्णयसँगै बजारमा साउन २४ गते ८८.८९ अंकको पहिरो गयो । त्यसपछि बोर्डले समिति नै खारेज गर्यो ।
करिब साढे चार वर्षपछि बजारमा ‘अप्रत्याशित’ उछाल देखियो । सोमबार नेप्से बिन्दू ऐतिहासिक उचाइमा पुग्यो । कोभिड-१९ ले थिलथिलो बनाएको अर्थ व्यवस्थामा सेयर बजारमा देखापरेको उछाललाई असाधारण रूपमा हेरिएको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)को नजर अत्यधिक माग परेको एनसीसी बैंकको सेयरमा पुग्यो । आइतबार नै उसले खरिदमा अस्वाभाविक रूपमा चाप परेपछि नियामक निकाय धितोपत्र बोर्डलाई बोधार्ध सहित एनसीसी बैंकलाई तीन दिनभित्र स्पष्टीकरण पेश गर्न पत्राचार गर्यो । उसले ‘बैंकमा मूल्यमा असर पर्ने कुनै सूचना तथा निर्णय भएको’ आशंका गरेको छ ।
एनसीसी बैंक र नबिल बैंक मर्जरको हल्ला पिटिरहेको बजारमा आइतबार एनसीसी बैंकको सेयर उच्च अंकले वृद्धि भइरहेको थियो । एनसीसी बैंकको सेयर मूल्य ९.९७ प्रतिशतले वृद्धि भयो । ३३ अंकले बढेको एनसीसीको सेयर मूल्य ३ सय ६४ रुपैयाँ पुगेको थियो । कारोबार खुलेको दुई मिनेटमा ३३ अंकले बढेको एनसीसीको सेयरको खरिदमा उच्च चाप परेको थियो ।
नेप्सेले पत्राचार गरेको भोलीपल्टै (सोमबार) एनसीसी बैंकको सेयरमा २ प्रतिशतले गिरावट आएको छ ।
बजार घटिरहेको समयमा हात बाँधेर बस्ने नियामक निकाय वृद्धि भएको समयमा तात्ने गरेको छ । यस्तो समयमा विज्ञप्ति तथा वक्तव्य जारी गर्ने नियामक निकायको अपरिपक्व कार्यले कुनै ठोस निर्णय गर्ने भन्दा बजारलाई असर पार्ने मात्रै गरेको पछिल्ला घटनाक्रमले देखाएका छन् ।
धितोपत्र बोर्डले यस्तो उपक्रम डेढ महिनाअघि पनि दोहोर्याएको थियो । मंसिर ताका लगातार सेयर बजार बढिरहे पछि बोर्डले ‘लगानीकर्तालाई सचेत भएर मात्र लगानी गर्न’ मंसिर १५ मा विज्ञप्ति निकाल्यो । २००० अंक पार गरिरहेको नेप्सेमाथि शंका बढाउँदै बोर्डले ’सुक्ष्म अध्ययन’ गरिरहेको बताएको थियो । राष्ट्र बैंकले समेत सेयर धितो कर्जामा पुनरावलोकन गर्ने बताएपछि बजार प्रभावित बन्यो ।
मंसिर २१ मा त बजारमा १२३ अंकको पहिरो नै गयो । तर, पछि राष्ट्र बैंकले सेयर धितो कर्जामा कडाइ नगर्ने स्पष्ट पारेपछि बजार बढ्न थाल्यो ।
एक वर्ष रनभुल्लमा सांसद्
पूर्वअर्थमन्त्री युवराज खतिवडासँग सेयर बजारका लगानीकर्ताको पानी बाराबारको सम्बन्ध बनाए । उनको कार्यकाल अवधिमा सेयर बजारले कहिले सकारात्मक व्यवहार देखाएन । ब्रोकरदेखि लगानीकर्ताहरूको संघ संगठन सधै अर्थमन्त्रीको विरोधमा खरो देखिए । अर्थमन्त्रीको अनुदार छविविरुद्ध उनीहरूले अनशनलगायत श्रृंखलावद्ध आन्दोलनका कार्यक्रम तय गरे । गत वर्षको साउनमा सेयर बजारमा देखिएको अस्थिरताको विषयलाई लिएर संसद्को अर्थ समितिले अध्ययन उपसमिति गठन गर्यो ।
अध्ययनका लागि भन्दै सांसद् रामकुमारी झाँक्रीको नेतृत्वमा सांसद्हरूले देश-विदेश भ्रमणसमेत गरे । जल्दोबल्दो विषयमा हात हालेर चर्चा कमाउन गरिएको त्यो कदमले सार्थकता पाएन । एक वर्ष सेयर बजारको आधारभूत विषयको अध्ययन मै बित्यो ।
फागुनयता कोभिड-१९ ले मुलुक आक्रान्त बन्यो । चैतपछि सरकारले देशभर बन्दाबन्दी घोषणा गरेसँगै सेयर बजार बन्द भयो । समितिले कोभिड-१९ कै मौका छोपेर ‘टालटुल’ शैलीमा प्रतिवेदन सार्वजनिक गर्यो । सांसद्हरूले स्वअध्ययनको लाभ लिनुबाहेक समितिको अध्ययनले कुनै ठोस निष्कर्ष दिन सकेन ।
आफ्नो अतिरिक्त ६ महिने कार्यकाल सकिएपछि अर्थमन्त्रीबाट बाहिरिए खतिवडा । बजार खुलेपछि लगानीकर्ताहरू ओइरिए । अन्य क्षेत्रहरूमा सम्भावना नदेखपछि लगानीकर्ताहरूले सेयर बजारलाई लगानीको उपयुक्त क्षेत्र माने । राष्ट्र बैंकले समेत सेयर धितो कर्जा खुकुलो बनाएपछि सेयर बजारमा उछाल आउन थाल्यो ।
सचेतना की सट्टेबाजीलाई प्रशय
लगानीकर्ताहरू परिपक्व नभएको अवस्थामा नियामक निकायले सचेत गराउनु स्वाभाविक रूपमा लिन्छन् धितोपत्र बोर्डका पूर्वअध्यक्ष रेवतबहादुर कार्की । उनी भन्छन्, ‘नेपालमा वित्तिय साक्षरता १५ प्रतिशत मात्रै छ । अमेरिका जस्तो मुलुकमा त वित्तीय साक्षरता ६० प्रतिशत छ । त्यसैले जबसम्म लगानीकर्ताहरू सक्षम हुँदैनन्, सचेत गराउने दायित्व नियामक निकायको हो ।’
ठुला लगानीकर्ताहरूले व्यापक हल्ला पिटाएर सोझा लगानीकर्ताहरूलाई डुबाउने खेल भइरहँदा बोर्ड चुपचाप बस्न नमिल्ने उनको तर्क छ । तर, सचेतनामूलक ढंगले गरिएको वक्तव्यबाजीले बजारलाई प्रभावित पार्ने खतरा उत्तिकै रहन्छ । नियामक निकायले आफ्नो अनुसन्धान र अनुगमनलाई प्रभावकारी ढंगले कार्यान्वयन नगर्दै गरिने प्रचारबाजीले बजारमा सट्टेबाजीले प्रशय पाउने सम्भावना रहन्छ ।