दुई साता लगातार उकालो लागेको सेयर बजारले लियो विश्राम
काठमाडौं : पछिल्लो दुई साता निरन्तर उकालो लागिरहेको सेयर बजार सुचक नेप्सेले मंगलबार विश्राम लिएको छ । लगातार बढिरहेको नेप्से परिसूचक सोमबार उच्चतम् बिन्दूमा पुगेको थियो ।
'बुलिश ट्रेन्ड'मा पुगेको सेयर बजारमा सामान्य गिरावट आउनु स्वाभाविक मानिन्छ । मंगलबारको कारोबारमा नेप्से उतार-चढाव पार गर्दै २३२६.९० बिन्दूमा रोकिएको थियो ।
आइतबार २३ सय अंक नाँघेर नेप्सेले अहिलेसम्मकै रेकर्ड तोडेको थियो । गिरावट पछि पनि नेप्से २३ सय बिन्दूभन्दा माथि नै छ ।
मंगलबारको कारोबारमा तीन कम्पनीको सेयर १० प्रतिशतले वृद्धि भएर रोकिएका थिए । प्रोग्रेसिभ फाइनान्स लिमिटेड, नेपाल फाइनान्स लिमिटेड र गुर्खाज फाइनान्स लिमिटेडको सेयरमा उच्च वृद्धि भएको थियो । त्यसबाहेक पाँच कम्पनीको सेयरमा ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको थियो । यसरी वृद्धि हुनेमा कर्पोरेट डेभलपमेन्ट बैंक, नारायणी डेभलपमेन्ट बैंक, जानकी फाइनान्स लिमिटेड, प्रभु लाइफ इन्स्योरेन्स र नेपाल लाइफ इन्स्योरेन्स छन् ।
राष्ट्र बैंकले नगद लाभांश वितरणमा कडाइ गरेपछि बैंक तथा वित्तीय संस्थाहरूले बोनस सेयर वितरणमा केन्द्रीत भए । जसले सेयर बजारमा पुँजीगत लाभ लिनेको ओइरो लागेकाले सेयर बजार निरन्तर वृद्धि भइरहेको छ ।
त्यसबाहेक कोरोना भाइरस महामारीका कारण अन्य लगानीको क्षेत्र प्रभावित भएकाले सट्टेबाजीमार्फत नाफा कमाउन लगानीकर्ताहरू आकर्षित भएको बजार विश्लेषकहरू बताउँछन् ।
ट्रेडिङ, फाइनान्स, जीवन बीमाबाहेक सबै समूहको परिसूचक घटेपछि नेप्से परिसूचक घटेको देखिन्छ । होटल, निर्जीवन बीमा र अन्य समूहको परिसूचकमा भएको उच्च गिरावटले नेप्सेको उकालो यात्रामा ब्रेक लगाउन बल पुगेको देखिन्छ ।
नेप्से घटेपनि जीवन बीमाको परिसूचक ५ सय ३५ अंकले बढेको छ । ट्रेडिङ समूहको परिसूचक १.परिसूचक ५ सय ३५ अंकले बढेको छ । ट्रेडिङ समूहको परिसूचक १.३५ प्रतिशतले बढेको छ भने फाइनान्स समूहमा ३.५७ प्रतिशतले वृद्धि भएको छ ।
नेप्से घटेपनि कारोबार बढ्यो
मंगलबार नेप्से परिसूचक घटेपनि कारोबारमा भने वृद्धि भएको छ । ७ अर्ब ४६ करोड ७४ लाख रुपैयाँ बराबर कारोबार पुगेको छ ।
यस अवधिसम्म नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ९१ करोड ९७ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको सेयरमूल्य २ हजार ६८९ रुपैयाँ मा कारोबार भइरहेको छ । कारोबारलाई बढाउन प्रभु बैंक, पुनर्बिमा कम्पनी, नेपाल टेलिकम, एनआइशी एसिया र शिवम् सिमेन्ट जस्ता कम्पनीहरूले भुमिका खेलेको देखिन्छ ।