प्रतिप्रियावादी पार्टी
पार्टी प्रवेश कार्यक्रममा भाग लिन लागेका चौबीस जना गाउँलेहरूलाई लहरै लाइन मिलाएर उभ्याइयो । उहिल्यै जमानाको जस्तो कुरा, पहिलो पाला स्कुलमा भर्ना भएका विद्यार्थीलाई राम्रोसँग लाइन सिधा गरी बस भनेर मास्टरले अनुशासनको चेतावनी भाषा बोले जसरी पार्टीको सानुसानु औकात बोकेको नेताले भन्दै थियो, ‘अलि राम्रोसँग मिलेर बस् ।’
यो रवाफ र दबाबको हाउभाउ देख्दा प्रवेश कार्यक्रममा भाग लिन लागेका ज्यानहरूलाई रोमाञ्चित पाराले अचम्म लागिरहेको थियो । ठाकुर साइला र विनयसानुले त हल्का मसिनो स्वरमा साउती गर्ने भ्याइसकेका थिए, ‘हैन के पारा हो यो, साइला ? हाम्रो दर्जा त स्वाट्टै घटेछ त... ।’
यहाँभन्दा पहिला पार्टी प्रवेश गराउँदा ठूलो सभा हुन्थ्यो । मानिसहरूको भिडभाड हुन्थ्यो । बेहुली अन्माउनी जग्गे जसरी मञ्च पनि सिँंगारिएको हुन्थ्यो । लाइनै कुर्सीमा बसेका उपरखुट्टीवाला नेताको चुनाव जित्ने चाला बुझिन्थ्यो । ठूलो ब्यानरमा बडा नेताको फोटोतिर नजर लर्काउँदै माइकको टुटीबाट नेताको गर्जन आउँथ्यो । अहिले त रित्तो कोठाको भित्तोमा कोही कसैको तस्बिर पनि छैन । रातो कार्पेट ओछ्याइएको छ, त्यसैमाथि लहरै चौबीस जना हाजिर छन् । उनीहरू सबलाई यो काम ठट्टा गरेझैँ लागिरहेछ ।
लाइन मिलाइसकेपछि सानु औकातको नेताले ठूलो औकातको बोली फुटाउनु अघि एक–एक ज्यानको नजरतिर राजनीतिमा कूटनीतिक मिसिएको चेतावनी मुलुक नजर जुधाउँदै बोल्यो, ‘तिमीहरूका चाकमा चुर्ना परेको छ हो ? घरी यता चुमुकचुमुक गर्या छ, घरी उता चुमुक चुमुक गर्या छ, एकै ठाउँ चुप लागेर बस्न सक्दैनौ ?’ होचो ज्यानको जुँगावाल विनयसानुलाई यो कुरा माथि अलिकति टप्पणी गर्न मन लाग्यो : ‘चुमुकचुमुक गरेर कहाँ पो गैया छ र ? यही गाउँमा त बस्या छ नि ।’‘गाउँमा मात्रै बसेर हुन्छ ? एउटै पार्टीमा बसिरहनु पर्दैन ?’ अनि त्यसपछि जिल्लातिरको ठूलै नेता हौ भन्नीले हातमा सिन्दुरको फाँको लिएर अगाडि बढ्यो, कराई मस्काउनलाई मस्को दले पार्टी प्रवेश जनका गालामा सिन्दुरको मस्को दल्दै भन्यो, ‘यसै गरी पार्टी चहार्दै हिँड्नु, हामीलाई माया मार्नु, कस कसले कुन कुन पार्टीमा जाऊ भन्छन्, त्यही पार्टीमा जानु ।’
अघिपछिको पार्टी प्रवेशमा त सुन्दर दलेपछि तररर ताली पड्कन्थे, अहिले त कसले ताली पड्काउने ? गाउँको सानु औकातको नेतालाई पनि त्यस्तै तालीको सम्झना आएछ क्यार, उसले भन्यो, ‘लु अब आफैँ चाली पड्काओ, तिमीहरूका लागि अरुले ताली पड्काउन पनि बेकारै छ यस्ता नाथे उधारी बातका लागि कसले ताली पड्काउने ?’ उसले फेरि एक फेरि कड्केर भन्यो, ‘पड्काओ ताली ।’
सबै जनाले लिखुरे तालमा बिस्तारै ताली पड्काए । फेरि ठाकुर साइँलाले विनयसानुको कानमा सुटुक्क साउती गर्यो, ‘लौ न नि, हामीलाई के सारो गिराएको हो ? हामी आफैँले ताली पड्काएर उनीहरूको पार्टीमा जानुपर्ने ? अब त हामीले पाउने ताली पनि सकिइसकेछ ।’
अभाव घटी, कमी दु:ख, दरिद्रले आक्रान्त भएका घरमुली हुन् यी चौबीस जना । उनीहरूको आफ्नो खेतीबाट सालमा पाँच महिना पनि खान पुग्दैन, अरु बाँकी सबै दिन मजदुरीमा बिताउनु पर्छ । चौबीस घरधुरी उभ्भिएको एउटा छुट्टै गाउँ छ । यो गाउँको नाम जे भए तापनि यस गाउँलाई अभावग्रस्त गाउँभन्दा केही फरक पर्दैन ।
पानीको धारो एक बिहान टाढा छ, स्वास्थ्यचौकी आदिदिन पर छ । स्कुल नजिकै जस्तो छ, पढाउने मास्टर महिनामा चार दिन आउँछ । बिजुली पारी गाउँमा बल्छ वारी गाउँमा अलि–अलि उज्यालो आउँछ भन्नुपर्छ । अगिपछि सामान्य कुरामा भनाभन चले पनि चुनाव आएपछि यस गाउँमा एकता र मेलमिलापको भावना जाग्छ, अनि यो गाउँको आवाजले भन्छ, ‘अरु जे भए पनि एक सय पन्ध्र भोट चाहिँ हामीसँग गनिमसहुर छ ।’
जनसंख्याको वृद्धिसँगै बढेको मत हो यो, पहिले पहिले यो संख्या अलि कम थियो, अघिल्लो चुनावमा यो भोटको संख्या अझ माथि पनि थियो । कति जवानहरू विदेशतिर गएकाले अहिलेको साँच्चिकै भोट संख्या एक सय पन्ध्र नै हो ।
यो समुदायको यो भोटतिर पार्टीका मान्छेहरूले भोट हाल्ने युग सुरु भएदेखि नै आफ्नो ढ्वाङमा खसाल्न राल चुहाउँदै आएका थिए । कहिले एउटा पार्टीका मान्छे आएर भन्थे, ‘पाथी दशेक रक्सी पिओ...।’ कहिले अर्को पार्टीका मान्छे आएर भन्थे, ‘दोडा खसी चबाओ...।’
समयको अन्तरालसँगै यो जुक्ति पनि पार्टीका मान्छेलाई काम लाग्दो लागेन । तिनका मनमा शंकाको पोखरी छचल्किन लाग्यो । अझ हार्ने पार्टीका मनमा । जित्ने सपना बोकेर चुनावमा लम्किएको बाघको डमरु जस्तो नेतो हारेपछि छाँगामा पछारिएको स्याल जस्तो भएपछि त्यही बस्तीतिर दोष थुपार्थ्यो । रासनपानी एकातिर, भोट अर्कोतिर, चाकमा तेल लगाउन खोज्दा पनि घात गरे च्याखुराहरूले... ।
यस्तो भन्ने पार्टीहरूमा एउटा साल एउटा हुन्थ्यो, अर्को साल अर्को हुन्थ्यो । पार्टीहरूका मनमा अविश्वासको खाडल गहिरिँदै गएपछि कमिटीमा आइडियायुक्त बैठक बसाले । ‘ती निमुखाहरूलाई हाम्रै पार्टीमा ल्याऊ अनि पो भोट पक्का भयो त’ निर्णय गरे ।
पार्टी प्रवेशको मामिलामा पनि चौबीस घर धुरीमा एउटै मत मिल्यो हामी गए सबैजना एउटै पार्टीमा जानी बाँचे पनि सँगै, मरे पनि सँगै । त्यसपछि पार्टीहरूका ओठमा राल चुहिन लाग्यो, ‘गाँठे त्यत्रा ज्यानहरूलाई पार्टीमा तान्नु पा त पार्टीको छाती नै चौडा हुन्थ्यो । एउटै भोटको कारणले सत्ता पल्टिन्छ यो कुरा गम्भीर छ त,’ भन्दै पार्टीहरूले कल, बल, छल तयार पारे, निमुखा जनहरूलाई पार्टी प्रवेश पनि गराए ।
एउटा पार्टीमा प्रवेश गर्यो, पार्टीले सपना देखाउँछ, पाँच वर्षसम्म आशा गर्यो, सपनाले सपना मात्रै भएर सिल्टिमुर खान्छ । अन्याय अत्याचार, अभाव घटी कमी चाहिँ जंगे पारामा खडा भइरहन्छ । फेरि जीवन बदल्ने घिउ लागि पो हाल्छ कि भनेर अर्को पार्टीमा गयो पारा त उही पुरानै पार्टीको छ ।
अब एकपछि अर्को पार्टी प्रवेशको तानातान जुहारी चल्न लाग्यो । एउटा पार्टी भन्छ, असली पार्टी भनेको हाम्रो पार्टी हो, हाम्रो पार्टीले जनताको सेवा गर्छ, मेवा दिन्छ, तिनीहरूको पार्टी भनेको प्रतिक्रियावादी पार्टी हो, त्यो साम्राज्यवादीहरूको भतुवा हो, कराई र कोपरा चाल नपाउने मुतुवा हो ।
फेरि अर्को पार्टीले यसो भन्दै लैजान्छ, ‘हैन–हैन पार्टी भन्नी पार्टी चाहिँ हाम्रै पार्टी हो, तिनीहरूको पार्टी भनेको त उत्तरतिरको कौवा हो, दक्षिणतिर को बवुवा हो ।’ त्यस दुखिया बस्तीका जल्दाबल्दा अगुवा भनेको ठाकुर साइला नै हुन् । उनैले कुरो मिलाउँथे, ‘लौ है, साथी भाइ हो अब यस पार्टीलाई छोडौँ उस पार्र्टीमा लागौँ त्यो पार्टी त प्रतिप्रियावादी (प्रतिक्रियावादी) पार्टी हो रे, प्रतिप्रियावादी भनेको चाहिँ के हो हामीलाई थाहा छैन । खराब चुत्था भनेर बुझौँ, त्यस्तो चुत्था प्रतिप्रियावादी पार्टीमा किन बस्नु ? जता हित त्यसै मित ।’ भन्दै पटक पटक उनी एकपछि अर्को पार्टीमा लैजान्थे ।
यी दु:खी जनहरूको पार्टी प्रवेश गर्ने चाला देख्दा सभ्रान्त परिवारका मानिसहरू भन्ने गर्थे, ‘हैन फेरि के हो, प्रतिप्रियावादी पार्टी ठीक लागेन ?’
सत्रफेर पार्टी प्रवेश गर्दा पनि दु:खी जनको दुखिया स्तरमा केही सुधार आएको हैन, कति पार्टी प्रवेश गर्नु ? पार्टी प्रवेश गर्ने जन र पार्टी प्रवेश गराउने जन दुबै थकित भए । जिन्दगीमा अब भोलिदेखि नै अमनचैन सुरु भयो भन्ने अनेक सपना देखाएर बल्लबल्ल पार्टीमा ल्यायो फेरि तुरुन्तै अर्को पार्र्टीले लागिहाल्छन् । दुखिया जनहरू सजिलैले अर्को पार्टीमा गइदिन्छन् । लाइनै बसेर फोटो पनि खिचाइदिन्छन् । भन्नलाई पनि भनिदिन्छन्, ‘हामीले अब त्यो प्रतिप्रियावादी पार्टीलाई त्याग्यौ अब जीवनभरिलाई यता आयौँ ।’
पार्टी प्रवेश कार्यक्रमको कोठामा प्रवेश जनको गालामा अबिर घसिसक्ने बितिक्कै नयाँ अनुहारका दुईजना मानिस पनि भित्र पसे, प्रवेश जनले सबैसँग कसिलो गरी हात मिलाए । स्वागत, बधाई, शुभकामना सबै कुराले सम्बोधन गरे । तर सानो औकातको नेताले यही बीचमा ठूलो औकात देखाउँदै प्वाक्क बोल्यो, ‘अब फेरि अर्को पार्टीमा गएर हामी त्यस्तो प्रतिप्रिया पार्टीमा बस्दैनौँ भन्छाँै कि भन्दैनौँ ?’
लाइनै उभ्भिएका जनले एकले अर्कोलाई एकछिन प्रश्नवाचक शैलीमा हेर्दै इसारामा साउती मिलाउँदै भने, ‘हामी त्यस्तो पनि गर्छौँ ।’
‘ल फेरि त्यसो गर्छौं ?’
दु:खीजनले छाती फुलाउँदै भने, ‘गर्छौं ।’
‘ल फेरि किन यस्तो गर्छौं ?’
ल फेरि किन त्यसो गर्छौं भन्दा ती दुखीजनहरूको आत्मामा मौन विद्रोहको रगत सलबलाइरहेको थियो । वित्पात्ले एकचोटि विद्रोहको ज्वाला फुकौँ, आफूमाथि बर्सिरहेको अवहेलनालाई बढारौँ भन्ने चेतनाको दिउल फुटेर त्यो हुर्कंदै गइरहेको थियो । त्यो बिस्तारै यसरी विस्फोटन भयो । ‘अनि के गर्नु त प्रतिप्रियावादी पार्टीमा बसिरहने कामै हुँदो रहेनछ, अब हामी प्रतिप्रियावादी पार्टीमा गइरहन्छौँ भन्ने कुरा मात्रै मान्छेले बुझे, हामी गइरहेका मात्रै छैनौँ, हामीले प्रतिप्रियावादीलाई पार्टी छाडिरहेका पनि छौँ । अब यो कुरा तपाईंहरूको टाउकाबाट छिरेर आन्द्रामा पुगोस् ।’
यस्तो कुरा सुनेपछि सानो औकातको नेताको टाउको स्वादले तिरमिरायो । अनि उसले एकछिन मैले जानेको छु भनौँला जसरी ओठ खसालेर टाउको हल्लायो यही बीचमा अर्को नेताले बोल्यो, ‘तपाईंहरूको बस्तीमा हामीले कति राम्रो काम गर्न लागेका छौँ । त्यो कुरा थाहा छ कि छैन ? हामीलाई भोट नहाले त्यो अधुरै रहनेछ ।’
यस कुराको गुदी फोर्नलाई ठाकुर साइला अगाडि सरे । ‘के कुरा अधुरो छोड्नुभा छ र तपाईंहरूले सबै पूरा गर्नुभा छ त, बिजुलीको पोल ल्याएर, लडाउनु भो बिजुली छैन, मोटर गाडी कुदाउनी भनेर हाम्रा खोरियामा डोजर जोताउनु भो, बाटो बन्या छैन, पानी आउने धारो भनेर धारोको मूर्ति ठड्याउनु भो पानी छैन, हामी दुखीको रोग बिमार, पढाइगुनाइको बजेट चिलले खाने हो कि बौडाइले लाने हो, हामीलाई पत्तो छैन । तपार्इंहरूले गर्ने नै यत्ति त हो, यति नै गर्ने भएपछि सबै काम पूरा भैगो नि कहाँ रयो अधुरो ?’
ठाकुर साइलाको कुरा सुनेर भर्खरै आएको नौलो नेताले निकै गम्दारी पारामा टाउको हल्लाएर भन्यो, तपाईंको यस कुरालाई म दिलभित्रै हुलेर सिलझैँ उनेर राख्छु । यस कुराले मेरो राजनीति, मेरो पार्टीको मूल सिद्धान्तमा ठूलो प्रश्नवाचक चिन्ह खडा गरिदिएको छ । आदरणीय मेरा प्रिय आत्मीय जनहरू हो, अब हाम्रो यो पार्टीलाई सिद्धान्तमा बाँचिरहन निष्ठामा हुर्किरहन, निजी स्वार्थको भावनालाई त्यागेर सामूहिक स्वार्थको भावनामा जागिरहने पार्टी बनाउन तपार्इंहरू जस्तो मान्छेले चौकिदारी गरिरहनुपर्छ, किनकि यस पार्टीमा तपाईंहरूको त्याग छ, तपाईंहरूको सम्मान छ, तपाईं हाम्रा आफन्तहरूको बलिदान छ । यो पार्टीको गति बिग्रियो भने व्यवस्थाको गति बिग्रिन्छ । व्यवस्थाको गति बिग्रियो भने खराब शासक वर्गे जुरमुराउने मौका पाउँछ, अनि फेरि व्यवस्था बदल्न जनतालाई सास्ती हुन्छ, त्यसैले अब तपाईंहरूले हाम्रो पार्टी छाड्नु हुँदैन ।
फेरि ठाकुर साइला बोले, ‘ठीक छ, तपाईंहरूको प्रतिप्रियावादी पार्टी बनिरहे हामी छाडिरहने छौँ, निर्लय आफैँ गर्नुस् न, हामीलाई हाम्रो जिन्दगीको सुख्खदुख्ख ख्याल गर्ने पार्टी चाहिएको छ, हामीलाई फकाइफुल्याइ गरेर भोट मात्रै तानिरहने प्रतिप्रियावादी पार्टी चाहिएको छैन ।’