रङ्गमन्च

पैसा ‘रिफन्ड’ माग्दै जब एक विद्यार्थी विद्यालय पुगे

शुरज थपलिया |
चैत २, २०८० शुक्रबार १७:४३ बजे

कुनै विद्यार्थीले जीवनमा पढेर केही गर्न नसकेको भन्दै शुल्क फिर्ता माग्न गयो भने के होला ? विद्यालयले पैसा फिर्ता देला ? के गर्ला ?

बाबुराम बस्नेत ती विद्यार्थी हुन् । जो पढेर केही नजानेको भन्दै ४० वर्षसम्म जीवनमा धेरै ठक्कर खाएपछि आफ्नो स्कुलको ८० प्रतिशत अंक ल्याएको प्रमाणपत्र बोकेर शुल्क फिर्ता माग्न विद्यालय पुगेका छन् । बाबु-आमा गरिब भए पनि आफ्नो छोरालाई राम्रो विद्यालयमा पढाउने सपना बोकेर उनलाई सुकेधारास्थित एउटा राम्रो बोर्डिङ स्कुलमा भर्ना गरिदिन्छन् ।  विकटबाट काठमाडौँ आएका उनले महँगो निजी विद्यालयमा पढे । परीक्षामा उत्कृष्ट अंक ल्याए । तर उनले ल्याएको नम्बरले उनको जीवन सहज बनाएन । न उनले पाएको प्रमाणपत्रहरूले नै उनले जागिर पाए । उनी यता उता भौतारिए । जीवनमा धेरै हण्डर र ठक्कर खाए ।


अति सामान्य कुराहरूबारे केही ज्ञान नभएको भन्दै साथीभाइ, इस्टमित्रलगायत आफन्तजनले उनलाई गिज्याए, उडाए। साथीहरूले बाबुरामलाई विद्यालयले केही नसिकाएको भन्दै शुल्क 'रिफन्ड' गर्न सल्लाह दिए । अनि पुगे आफू पढेको विद्यालय ।

उनले विद्यालयका प्रिन्सिपल जीवन बस्नेतलाई भेटे । आफूले अध्ययनका क्रममा विद्यालयमा तिरेको शुल्क फिर्ता मागे । सुरुमा त प्रिन्सिपल जीवनले बाबुरामलाई चिनेनन् । जीवनले यस्ता वाहियात कुरा नगर्न भन्दै बाबुरामलाई बाहिर जान भने । तर बाबुरामले अड्डी कसे । उनले शुल्क फिर्ता नभएसम्म बाहिर नजाने बताए । आफ्नो शुल्क फिर्ता नदिए स्कुलमा धर्ना दिने धम्कीसमेत दिए । 

आफूले पढेर केही नजानेको र जीवनमा धेरै नै लज्जित हुनु परेको बाबुरामले प्रिन्सिपललाई सुनाए । ८० प्रतिशत अंक ल्याएर उत्तीर्ण गरेर राम्रो भनिने विद्यार्थीले आफ्नो आमालाई औषधिसम्म गर्न नसक्दा अकालमै आमाको मृत्यु भएको घटनासम्म सुनाए । बाबुरामले आफ्ना प्रमाणपत्र कामै नलाग्ने भएकाले पुनः परीक्षा लिन प्रिन्सिपललाई आग्रह गरे । परीक्षा पास गरे शुल्क फिर्ता गर्न नपर्ने र फेल भए शुल्क फिर्ता गर्नुपर्ने माग उनले राखे । त्यसमा प्रिन्सिपल सहमत भए । उनले अन्य शिक्षकहरूलाई बोलाएर बाबुरामको परीक्षा लिन भने । तर, विद्यालयले परीक्षा लिँदा सजिलो प्रश्न सोध्ने र जसरी पास गराउने निर्णय गरे । 

पालैपालो सामाजिक, विज्ञान, गणित, अंग्रेजी र नेपाली शिक्षकहरूले उनलाई प्रश्न सोधे । बाबुरामले पटकै पिच्छे गलत उत्तर दिए । तर ती विद्यालयका शिक्षकहरूले घुमाइ फिराइ सबै उत्तर सही भएको जवाफ दिए । विद्यालयका शिक्षकहरूले पैसा फिर्ता गर्नुपर्ला भनेर गलतलाई पनि सही भनिदिए । बाबुराम निराश भए ।

यो कुनै मानिसको वास्तविक जीवनको कहानी भने हैन । यो हो हंगेरीका लेखक फ्रेन्च करेन्थीले सन् १९३८ मा लेखेको रिफन्ड नाटकको सार । यो नाटक नेपाली कलाकारले मञ्चन गरिरहेका छन् । करेन्थीका नाटकलाई प्रजाल दुलालले नेपालीमा रुपान्तरण गरेका छन् ।

अहिले काठमाडौँको ओस्कार इन्टरनेशनल कलेजको साधना थिएटरमा नाटक रिफन्ड मञ्चन भइरहेको छ । डान्स फिवरको प्रस्तुति रहेको नाटकमा शिक्षा प्रणालीलाई व्यंग्य गरेको छ । जुन हाम्रो देशको अहिलेको शिक्षा प्रणालीसँग ठ्याक्कै मेल खान्छ । निजी विद्यालय, तिनीहरूले दिने शिक्षा र शिक्षा लिएपनि काम नपाउने अवस्था आज पनि उस्तै छ ।

नाटककाे सबल पक्ष

नाटकले छिनमै पेट मिचीमिची हसाउँछ भने छिनमै भावुक बनाइदिन्छ । बाबुराम यस्ता पात्र हुन् उनकै वरिपरी नाटक घुमेको छ । उनले पाएका दुख हण्डरहरूले दर्शकलाई भावुक बनाइदिन्छ । उनले रिफन्ड गर्न लागेको शुल्कका कुरा अनौठा लाग्छन् । किनकी यस्ता अभ्यासहरू भएका हामीले सुनेका छैनौं ।

एक घण्टाको नाटकमा दर्शकहरुले समय गएको पत्तो नै पाउँदैनन् । नाटकमा स्कुलको प्राध्यापक, कार्यालय सहयोगी,  विज्ञान शिक्षक, गणित, सामाजिक, अंग्रेजी शिक्षक र बाबुराम गरी ८ जना पात्र छन् । यी पात्रहरूको माध्यमबाट अहिलेको शिक्षा क्षेत्र, शैक्षिक संस्था र एक गरीब निमुखा मध्यम वर्गीय परिवारमा परेको घतलाग्दो घटना र आजको समाजको तीतो यथार्थ प्रस्तुत गरिएको छ । उनीहरुको जीवन्त अभिनयले दर्शकलाई भरपुर मनोरञ्जन दिन्छ । 

नाटकमा अनेक हण्डर खाएर बाबुराम विद्यालय पुग्दा जो कोहीको आँखा रसाउँछ । त्यस्तै बाबुरामले पैसा नहुँदा आफ्नी आमाको उपचार गर्न नपाएको कुराले दर्शकलाई धरधरी रुवाइदिन्छ । त्यस्तै उसले आफ्नो साथीबाटै केही नजानेको भनेर लज्जित हुनुपरेको दृश्य हाम्रो आफ्नै जीवनको भोगाइ जस्तो लाग्छ ।

कमजाेर पक्ष

नाटकमा लाइटहरू कता कता अलि खस्किएको महसुस भयो । सायद विद्यालयको हलको कमजोरीले पो हो की ? नाटकको बीचमा ढोका खोली राख्दा दर्शकलाई अलि 'बाेर' बनायाे । जुन नाटक व्यवस्थापककाे अर्को कमजोर पक्ष हो । राम्रो लाइटिङ मिलेको भए दृश्यहरु अझ सशक्त र दमदार हुने थिए ।  मेरो यो जीवनको पहिलो शो जसमा मैले समय बितेको पत्तो नै पाइन । सुरुदेखि अन्त्यसम्मका  नयाँ-नयाँ सस्पेन्सले नाटक झनै रोचक बनायो ।

काे काे पात्र छन् ?

डान्स फिवरको प्रस्तुति रहेको नाटक डान्स फिवरको तर्फबाट संगम विष्टले उत्पादन गरेका हुन् । नाटकमा ओस्कार इन्टरनेशनल कलेजका विभिन्न ब्याचका विद्यार्थीले सशक्त अभिनय गरेका छन् । यो नाटक कक्षा ११ को अनिवार्य अंग्रेजी पुस्तकमा समावेश छ । नाटकमा जीवन बस्नेत, विशाल रिजाल, निक्रित श्रेष्ठ, योगेन्द्र राना, इशा सिजाली, झलनाथ खत्री, युदिप सिटौला र अमृत घिमिरेको जीवन्त अभिनय छ ।

जीवन बस्नेत प्रिन्सिपलको भूमिकामा देखिन्छन् । इशा सिजाली अंग्रेजी शिक्षकको भूमिकामा छिन् । त्यस्तै युदिप सिटैला विज्ञान शिक्षक, योगेन्द्र राज राना सामाजिक शिक्षक, विशाल रिजाल गणित शिक्षक, अमृत घिमिरे नेपाली शिक्षकको भूमिकामा देखिन्छन् । निक्रित श्रेष्ठ पिउनको भूमिकामा छन् भने कथाका मुख्यपात्रको भूमिका झलनाथ खत्रीले जीवन्त बनाएका छन् ।

नाटक फागुन २७ गतेदेखि प्रदर्शन भइरहेको छ । दैनिक ३ देखि ७ साे मा देखाइन्छ । नाटक हेर्न कलाकारहरूसमेत साधना थिएटर पुगेका छन् । विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थी र शिक्षहरूसमेत नाटक हेर्न पुगेका छन् । सक्किगोनि टिमका कलाकारहरूले पनि साधना थिएटर पुगेर नाटक हेरेका छन् । डान्स फिवरकी प्रबन्ध निर्देशक निस्मा घिमिरे विद्यार्थीहरूले यो नाटक हेर्नुपर्ने सुझाव दिन्छिन् । 'काठमाडौँका विभिन्न स्कूल तथा कलेजहरुबाट विद्यार्थीहरू आइराख्नु भएको छ', उनले भनिन् 'आउन बाँकीहरुलाई पनि रिफन्ड हेर्न म अनुरोध गर्दछु ।' रिफन्ड चैत ३ गतेसम्म प्रदर्शन हुने उनले जानकारी दिइन् ।​

नाटकले दिन खोजेको सन्देश 

रिफन्ड बाबुरामको जीवनको दुखद कहानी हो । यो हाम्रो आफ्नै कहानी पनि हो । राम्रो पढाइ हुन्छ भनेर महँगो विद्यालयमा अध्ययन/अध्यापन गर्ने परिपाटी हाम्रो समाजमा छ । महँगो भन्दैमा राम्रो हुन्छ भन्ने सोच गलत छ ।

राम्रो नम्बर ल्याउँदैमा कोही सर्वोत्कृष्ट हुँदैन । उसले जीवनमा आउने समस्याहरूलाई कसरी समाधान गर्छ भन्ने मुख्य कुरा हो । अर्को महँगो विद्यालयमा पढ्दै र राम्रो अंक ल्याउँदैमा राम्रा अवसर पाइन्छ भन्ने छैन ।

निजी विद्यालयले पैसा लिनका लागि जे कुरालाई पनि सही भनिदिन्छन् भन्ने आरोप यो नाटकले पनि पुष्टि गरेको छ । कतिपय निजी विद्यालयले परीक्षामा विद्यार्थीहरूलाई उत्तर लेखिदिएर सिकाएर धेरै नम्बर आएको सुन्न पाइन्छ । विद्यार्थीले कापीमा लेखेको पाएको नम्बर भन्दा पनि शिक्षक, विद्यालयबाट सिकेर जीवन कसरी सहज बनाउँछ भन्ने मुख्य कुरा हो ।

शिक्षकले विद्यार्थीको जीवन सहज बनाउने शिक्षा दिनुपर्छ । बाबुरामलाई जस्तो कमजाेर र असहज बनाउने शिक्षा कोहीलाई दिनुहुँदैन नाटकले दिन खोजेको सन्देश छ ।

र, याे पनि

ओस्कार कलेजमा नाटक 'रिफन्ड' प्रदर्शन, आइतबार अन्तिम दिन

शैक्षिक बेरोजगारको कथा (फोटो फिचर)

 

 


Author

थप समाचार
x