राजनीति

अझै प्रतिगमनको खतरा छ, प्रतिगामी ओलीसँग जसपाले लगनगाँठो कस्‍दैन : उपेन्द्र यादव

बिक्रम खड्का |
चैत १३, २०७७ शुक्रबार ११:५१ बजे

बुटवल : जनता समाजवादी पार्टी, नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीबाट अझै पनि प्रतिगमनको खतरा रहेको भन्दै तत्काल पदबाट हटाउनुपर्ने बताएका छन् । शुक्रबार बुटवलमा प्रेस मञ्च नेपालले गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष यादवले ओलीलाई हटाएर संघीयता र गाणतन्त्र पक्षधरको सरकार बनाउनुपर्ने उनले बताए । प्रधानमन्त्रीको हरेक कदम संविधान, गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता विरोधी भएको उनको आरोप छ ।

‘पछिल्ला गतिविधिहरू सबै प्रतिगामी हुन् र त्यसको मतियार ओली नै हुन्,’ उनले भने  ‘अब प्रधानमन्त्रीलाई सरकारबाट हटाउनैपर्छ, संघीयता र गणतन्त्र पक्षधरको सरकार बन्नुपर्छ, । साथै जसपा ओली नेतृत्वको सरकारमा सहभागी नहुने समेत उनले स्पष्ट पारे । मुद्दा खारेजी र बन्दी रिहाइका बारेमा सरकारसँग छलफल भएको तर सत्ता साझेदारी भने हुन नसक्ने अध्यक्ष यादवले स्पष्ट पारे । उनले थपे, ‘प्रतिगामी ओलीसँग जसपाले लगनगाँठो कस्दैन ।’


‘यो प्रतिगमनकारी सत्ता हो, समावेशितालाई समाप्त पार्ने भएकाले हामी ओली नेतृत्वको सरकारमा जाँदैनौं,’ उनले भने । अध्यक्ष यादवले नयाँ सरकारको नेतृत्व कांग्रेसले गर्नुपर्ने बताए । ‘हाम्रा कारणले सरकार गठनमा अवरोध छैन, कांग्रेससहितका दलले निर्णय गरे हामी तयार छौं,’ उनले भने । 

यादवले मधेश र थरुहट आन्दोलनका बेला गिरफ्तार भएका र बन्दीमा राखिएकाहरूलाई रिहाइको माग राखिएको बताए । ‘मुद्दा खारेज र बन्दीलाई रिहाइ गर्ने गरी भइरहेको कुरालाई दुई धारका रूपमा ब्याख्या गरिएको छ,’ उनले भने ।


Author

बिक्रम खड्का

खड्का इकागजका लुम्बिनी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x