समाज

रोजगारीको समस्या

वैदेशिक रोजगारबाट फर्केका ५६ प्रतिशत युवा बेरोजगार

'राज्यसँग रोजगारी नीतिको अभाव'

अतिन आचार्य |
भदौ १६, २०७८ बुधबार २०:५८ बजे

फाइल तस्बिर

काठमाडौँ- स्वदेशमा पर्याप्‍त रोजगारी नपाइने भएकाले वर्षेनी लाखौको संख्यामा नेपाली युवा विदेशिने गरेका छन् । विदेश गएका मध्ये सबैले राम्रा काम पाउँदैनन् । राम्रा काम पाएका कामदार केही समय विदेश बस्छन् र काम गर्न नसक्नेहरू स्वदेश फर्कन्छन् ।

स्वदेश फर्केका सबै कामदार स्वरोजगार बन्छन भन्‍ने हुदैनन् । आफ्नो मुलुकमा उद्यम गर्ने सपना सजाएर आए पनि कालान्तरमा उनीहरूले भनेजस्तो रोजगार नपाउँदा अन्तत पुनः वैदेशिक रोजगारीमा जान बाध्य हुन्छन् ।


सरकार आफ्ना नागरिकलाई विदेश धकेल्न विभिन्‍न मुलुकसँग श्रम सम्झौता गरिरहन्छ । अहिलेसम्म विदेशबाट फर्किएका नागरिकलाई स्वदेशमा श्रम वा रोजगार उपलब्ध गराउन सरकारले कुनै व्यवस्था गरेको छैन । 

आफ्नो भिसा अवधि सकाएर वा कम्पनीको भिसा समाप्‍त हुनु अगावै स्वदेश फर्केका कामदारहरूले रोजगारी पाएका छैनन् । देशमा पर्याप्‍त रोजगारीको अवसर नहुनु र अदक्ष कामदार हुनु मुख्‍य समस्या रहँदा नपि धेरै युवाहरूले रोजगारी पाउँदैनन् ।

विभिन्‍न समयमा वैदेशिक रोजगारबाट फर्केका ५६ प्रतिशत कामदारहरू बेरोजगार रहेको पाइएको छ । उनीहरू मध्ये ४४ प्रतिशत कामदारले मात्र काम पाएको २०२० श्रम आप्रवासनको प्रतिवेदनले उल्लेख गरेको छ ।

महालेखा परीक्षकको ५८ औं प्रतिवेदनका अनुसार स्वदेशमा आएर २३ प्रतिशत कामदारहरू संस्थागत रुपमा कार्यरत छन् । ७७ प्रतिशत कामदार भने बाहिर स्वतन्त्र रूपमा अनौपचारिक ढंगले दैनिक ज्यालादारीमा काम गरिरहेका छन् । वैदेशिक रोजगारीमा जाने अधिकांश कामदारहरू सीप र क्षमता विकास गरेर गएका हुदैनन् ।

अदक्ष कामदार गएकाले पर्याप्‍त तलब नपाउने र स्वदेश फर्केपछि बेरोजगार हुने गरेका छन् । रोजगारदाताको माग र मापदण्‍डअनुसार कामदार निर्यात नगर्दा उनीहरूले विदेशमा राम्रो कामको अवसर नपाउने र स्वदेशमा रहँदा बेरोजगार हुने गरेका छन् ।

विदेशबाट कति मानिसहरू फर्केका छन् । त्यस विषयमा अध्ययन भइरहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सूचना अधिकारी चन्द्रकला ओलीले बताइन् । कस्तो अवस्थामा छन् र के गरिरहेका छन् त्यस विषयमा मन्त्रायलले एक कार्यक्रम बनाइ काम गरिरहेको उनले जानकारी दिइन् ।

विदेशबाट सदाको लागि फर्केका नेपाली युवाहरूको तथ्यांक पनि राख्‍न नसकेको ओलीले बताइन् । यसको सम्पूर्ण जिम्मेवारी वैदेशिक रोजगार बोर्डलाई दिएको उनले प्रस्ट पारिन् ।

संस्थागत रूपमा काम गर्ने कामदारको संख्या अत्यधिक कम भएको ओलीले दाबी गरिन् । औपचारिक रूपमै उनीहरूलाई काम लगाउने प्रयास भइरहेको उनको भनाइ छ । 'मन्त्रालयको विभिन्‍न शाखाहरूले काम गरिरहेका छन्,' उनले भनिन,' वैदेशिक रोजगार बोर्डले पनि विदेशबाट आएका मानिसहरूको तथ्यांक संकलन गरिरहेको छ ।'

उत्कृष्ट उद्यमीलाई सरकारले एक लाख रुपैयाँ पुरस्कार दिनेगरी कार्यक्रम गरिरहेको ओलीले बताइन् । मन्त्रालयले आठ जनालाई प्रोत्साहन स्वरुप रकम दिनेसमेत व्यवस्था गरेको छ । 'सात जनालाई ५० हजार रुपैयाँका दरले प्रोत्साहन स्वरुप रकम सहयोग गर्ने योजना रहेको छ,' उनले भनिन् ।

वैदेशिक रोजगारमा गएकाहरूलाई उद्धार गर्नेदेखि कामदारको सीप सिकाइ वृत्ति गर्ने जिम्मा पाएको वैदेशिक रोजगार बोर्ड भने कामदारलाई तालिम जिम्मा पाएको संस्था निष्क्रिय छ । सीप नभएका युवालाई रोजगार दिएर उपयुक्त काममा लगाउनुपर्ने समयमा राज्यले रोजगार सिर्जना गर्न नसकेको जनाउँदै आएको छ ।

रोजगारी नीति छैन 

राज्यले वैदेशिक रोजगारबाट आएका युवाका लागि रोजगार सिर्जना गर्न नसक्दा पनि धेरै युवाहरू बेरोजगार भएर बस्‍नुपरेको बोर्डका प्रवक्ता दिनबन्धु सुवेदी बताउँछन् । बोर्डले समय-समयमा विदेशबाट आएका मानिसलाई तालिम दिइरहेको उनको भनाइ छ ।

'विदेशबाट फर्केपछि युवाहरू बेरोजगारी भएर बस्‍न नपरोस भनेर तालिम दिएर मात्र विदेश पठाउन तालिम केन्द्र पनि खोलेको छ,' उनले भने,' वैदेशिक रोजगारमा गएर फर्केका युवाको संख्या राखी सरकारले भरपर्दो कार्यक्रम ल्याउनुपर्छ ।'

रोजगारीमा रहँदा सिकेका सीपहरू युवाले स्वदेश फर्केपछि आफूले व्यवहारमा उतार्नुपर्ने सुवेदीको भनाइ छ । राज्यले कृषि तथा निर्माणको क्षेत्रमा रोजगारी उपलब्ध गराएमा धेरै युवाहरू बेरोजगार हुन नपर्ने उनको ठहर छ ।

सरकारसँग कार्यक्रम पनि छैन 

राज्यले विदेशबाट फर्केका कामदारलाई रोजगार दिनुपर्छ भनेर नीति तथा कार्यक्रम नबनाएको पौरखी नेपालका निवर्तमान अध्यक्ष मन्जु गुरुङले बताइन् । स्वदेश फर्केपछि उनीहरूको सीप र क्षमतालाई लिन सकेमा राज्यलाई फाइदा पुग्‍ने उनको भनाइ छ । उनले रोजगारीमा गएका युवायुवतीको तथ्यांक राख्‍न सरकारलाई सुझाव दिइन् । 

स्वदेश भित्रिएका युवाहरूलाई कसरी रोजगारीमा लगाउन सकिन्छ त्यसका लागि ठोस कार्ययोजना बनाइ काम गर्न गुरुङले बताइन् । 'विदेशमा काम गरे अनुसार स्वदेशमा उनीहरूले पारिश्रमिक पाउँदैनन्,' गुरुङले भनिन्,' काम गर्नेको निश्‍चित समय निर्धारण गर्नुपर्छ । मँहगी बढी रहेको समयमा पारिश्रमिक थोरै उपलब्ध हुँदा पनि कामदार स्वदेशमा काम गर्न रुचाउँदैनन् ।'

स्वदेश आएको केही समयपछि युवायुवती पुनः विदेशतर्फ रोजगारका लागि जाने गरेको गुरुङले बताइन् । कामदारको आवश्यकता अनुसार राज्यले रोजगारी सिर्जना गरी राज्यमा बस्‍ने सुनिश्‍चित गर्नुपर्ने उनको भनाइ छ ।


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x