खेलकुद

नवौँ राष्ट्रिय खेलकुदः सुधारिएको प्रदर्शन गर्ने प्रदेश एकको लक्ष्य

इकागज |
असोज ११, २०७९ मंगलबार ९:४१ बजे

काठमाडौँ- प्रदेश नम्बर १ खेलाडी उत्पादन हुने प्रदेश नै हो । फुटबलका धेरै राम्रा स्टारहरू पूर्वले नेपाललाई दिएको छ । अन्य खेलका खेलाडी उत्पादनमा प्रदेश नम्बर एक उर्वर भूमि नै मानिन्छ ।

त्यहि उर्वर भूमिले भने बृहत राष्ट्रिय खेलकुदमा ठूलै तहल्का भने मच्चाउन सकेको छैन । पूर्वका राम्रा खेलाडीहरू विभागीय क्लबहरूमा आवद्ध हुने हुनाले त्यसो गर्न नसकिएको तर्क पूर्वका खेल पदाधिकारीहरूको छ ।


सातौँ बृहत राष्ट्रिय खेलकुद आफैले आयोजना गर्दा पनि प्रदेश एकले पदक तालिकामा उल्लेखनीय प्रगती गर्न सकेन ।

नेपालगञ्जमा भएको गत आठौं संस्करणमा पनि प्रदेश नम्वर एक आठौं नै स्थानमा सीमित भएको थियो । तर गण्डकी प्रदेशमा अब शुरु हुने नवौं सँस्करणमा भने प्रदेश नम्बर एकको तालिकामा फड्को मार्ने दाउ छ ।

‘विभागिय टोली र बाग्मती पछि पाँचौ वा छैटौं स्थानमा उक्लिने हाम्रो लक्ष्य छ । राष्ट्रियमा सहभागिता प्रदेश नम्वर एकले नवौं राष्ट्रियमा समावेश ३६ खेल मध्ये लन टेनिसलाई छोडेर बाँकी ३५ खेलमा सहभागिता जनाँउदैछ,’ प्रदेश नम्बर एक खेलकुद विकास परिषदका सदस्य सचिव हंसराज वाग्ले भन्छन् ।

त्यसका लागि ७ सय भन्दा वढी खेलाडीहरू दर्ता भइसकेको छ । तयारी ढिलो भए पनि जिल्लादेखि प्रदेश तह सम्मको छनोट प्रतियोगिता राम्रो तरिकाले भएको प्रदेशले जनाएको छ ।

प्रदेशले गत भदौ २९ गते इटहरी रंगशालामा छनोटको उद्घाटन गरेको थियो भने यहि असोज ८ गते  विराटनगर रंगशालामा छनोट सम्पन्न गरेको थियो । समापनकै बेला नवौं राष्ट्रिय प्रतियोगिताको ट्रफी विराटनगर रंगशालामा प्रदर्शन गरिएको थियो ।

पौडी, गल्फ, पाराग्लाइडिङ, कराते, तेक्वान्दो, आइटिएफ तेक्वान्दो, सफ्ट टेनिस, कबड्डी, स्क्वास,  आर्चरी जस्ता खेलहरूमा प्रदेश नम्वर एक राम्रो रहेको पदाधिकारीहरू बताउछन् । समुहगत खेलमा फुटबल र भलिवलमा हामी कडा चुनौती पेश प्रदेशको दावी छ ।

कडा चुनौती पेश गर्ने दावी गरेको प्रदेश एकले खेलाडीहरूलाई प्रतियोगिताको तालिका हेरेर एक देखि डेढ हप्ता बन्द प्रशिक्षणमा राख्ने भएको छ ।

‘नवौंको उद्घाटनअगाडि नै हुने खेलको लागि यसै हप्ताबाट बन्द प्रशिक्षण शुरु गर्दैछौं । अलि पछाडी शुरु हुने खेलको असोज २१ देखि बन्द प्रशिक्षण राख्नेछौं,’ सदस्य सचिव वाग्ले भन्छन् ।

वजेट र सुविधा देश संघीय संरचनामा गएपछिको यो पहिलो बृहत राष्ट्रिय प्रतियोगिता हो । खेलकुदविकास ऐन २०७७ को प्रावधान अनुरुप भएको यो प्रतियोगिताका अनुसार खेलाडी छनोट गरेर राष्ट्रिय प्रतियोगितामा पठाउने जिम्मा प्रदेश सरकारको  हो ।

सोही अनुरुप प्रदेश एक सरकारले नवौं राष्ट्रियको लागि ९ करोड १९ लाखको वजेट विनियोजन गरेको छ ।अन्य प्रदेश भन्दा फरक प्रदेश नम्बर एकले जिल्लातहको छनोट देखि नै खेलाडीहरूलाई ट्रयाक शुट वितरण गरेको थियो । छनोटमा सहभागि सबै खेलाडीहरूलाई १ हजार ६ सय भत्ता वितरण गरिएको थियो ।

सदस्य सचिव वाग्लेका अनुसार प्रदेशका मन्त्री देखि लिएर अफिसियल, खेलाडीसम्म सबैलाई सुविधामा भेदभाव गरिएको छैन । सबैलाई समान १६ सय नै वितरण गरिएको छ ।

चुनौतीः

राष्ट्रिय खेलकुद परिषदले निश्चित समय सीमा तोकेर सहभागि सबै ११ टोलीलाई छनोटको लागि आह्वान गरेपनि थुप्रै प्रदेशले समयमा छनोट कार्य पूरा गर्न सकेन । त्यसमा प्रदेश एक पनि अछुतो रहेन ।

त्यसका लागि खेल स्थलहरूको खरावस्थिति र प्रदेश खेलकुदको नीतिहरू राम्ररी तयार हुन नसकेकोले पनि देखिएको   हो । सदस्य सचिव वाग्लेका अनुसार प्रदेश एकले पनि त्यस्तो चुनौती ब्यहोर्न पर्यो ।

राष्ट्रिय खेलकुद परिषदले काजमा पठाएका कर्मचारी र सीमित प्रशिक्षकहरूको मद्दतमा छनोटको काम सम्पन्न गर्दा निकै कठिनाई भएको उनको भनाई छ । यी चुनौतीहरू पार गर्दै अन्तत प्रदेश एक असोज २८ देखि गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुदमा उच्च स्तरको प्रदर्शन गर्न तयार भइसकेको छ ।
 


Author

थप समाचार
x