खेलकुद

भारतीय कुस्ती खेलाडीहरूले अन्तर्राष्ट्रिय पदक गंगामा नडुबाइ फर्किए

इकागज |
जेठ १७, २०८० बुधबार १६:५० बजे

काठमाडौँ- भारतीय कुस्ती खेलाडीहरू बजरंग पुनिया, साक्षी मलिक र विनेश फोगाटले अन्तर्राष्ट्रिय पदकहरू गंगा नदीमा नडुबाइ फर्किएका छन् ।

भारतीय कुस्ती महासंघ (डब्लुएफआई) का पूर्व अध्यक्ष बृजभूषण शरण सिंहलाई पक्राउ गर्नुपर्ने माग राख्दै उनीहरू ओलम्पिक, विश्व च्याम्पियनसिप, एसियाली खेलकुद र कमनवेल्थ गेम्समा जितेका पदकहरू गंगामा डुबाउन हरिद्वार पुगेका थिए ।


तर, किसान युनियन (बीकेयू) र खाप पञ्चायतका नेताहरूले उनीहरूको गुनासो सम्बोधन गर्न पाँच दिनको समय मागेपछि खेलाडीहरू पदक हरिद्वारको हर की पौरीबाट बग्ने गंगामा पदक नडुबाएरै फर्किएका हुन् ।

उनीहरू मंगलबार साँझ ६ बजे हरिद्वार आइपुगेका थिए । डब्लुएफआईका पूर्व अध्यक्ष बृजभूषणविरुद्ध प्रहरी निष्क्रिय भएको विरोधमा उनीहरूले अघिल्लो दिन पदक गंगामा डुबाउने घोषणा गरेका थिए । ठूलो भीड तथा ठूलो संख्यामा रहेको प्रहरीको उपस्थितिमा उनीहरू डेढ घण्टाभन्दा बढी समयसम्म नदीको किनारमा पदक बोकेर बसेका थिए ।

मंगलबार गंगा दसेराको दिन भएकाले गंगा नदी किनारमा पूजा गर्ने भक्तजनको भिड लागेको थियो ।

वरिष्ठ कृषक नेता शामसिंह मलिक र नरेश टिकैतले समस्या समाधान गर्न उनीहरूसँग पाँच दिनको समय मागेका छन् । ‘खाप नेताहरूले हाम्रो अगाडि आफ्नो पगडी राखे र ‘आशा नहार्नुहोस्' भने । पगडीको गरिमा राख्नुहोस् र फर्कनुहोस् । त्यसैले हामीले पर्खने निर्णय गर्‍यौ,’ कुस्ती खेलाडी जितेन्द्र किन्हाले भने ।

‘ठूला अन्तर्राष्ट्रिय प्रतियोगितामा राष्ट्रको प्रतिनिधित्व गर्नेहरूले यस्तो निर्णय लिन बाध्य हुनु दुर्भाग्यपूर्ण छ । सरकारलाई अलिकति पनि लाज लाग्छ भने न्याय दिनुपर्छ,’ खाप नेता बलवंत नम्बरदारले भने ।

दिल्ली पुलिसका अनुसार इन्डिया गेट राष्ट्रिय स्मारक भएका कारण त्यहाँ कुस्ती खेलाडीहरूलाई प्रदर्शन गर्न दिइने छैन ।


Author

थप समाचार
x