खेलकुद

च्याम्पियन्स लिग जिताए वापत टुचेललाई चेल्सीको उपहार !

इकागज |
जेठ १६, २०७८ आइतबार ९:१५ बजे

काठमाडौँ: फ्रान्क लाम्पार्ड बर्खास्तीमा परेपछि थोमस टुचेल चेल्सी पुगेका हुन् । उनको मुख्य जिम्मेवारी थियो, चेल्सीलाई इंग्लिस प्रिमियर लिगको शीर्ष चारमा छनौट गराउने । टुचेलले त्यस बाहेकको अर्को महत्वपूर्ण उपलब्धि पनि हासिल गरे । त्यो हो च्यामिपयन्स लिग उपाधि । शुक्रबार बलियो म्यानचेस्टर सिटीलाई हराउँदै चेल्सीले दोस्रो पटक च्याम्पियन्स लिग जित्दा मुख्य नायक बने टुचेल ।  

एस्टाडियो डो ड्रागाओ रंगशालामा प्राप्त जितले चेल्सीलाई युरोपियन क्लब फुटबलको नयाँ च्याम्पियन बनायो । टुचेल प्रशिक्षकमा नियुक्त हुँदै गर्दा, चेल्सी समर्थक र क्लब मालिक रोमन अब्राहिमोभिचले सायदै च्याम्पियन्स लिग उपाधिको आश गरेका थए । यसअर्थमा उनीहरूले टुचेलबाट अनपेक्षित उपहार पाए । 


च्याम्पियन्स लिग जिताए वापत टुचेलले पनि उपहार पाउने भएका छन् । त्यो भनेको, चेल्सी प्रशासनबाट सम्झौँता नविकरणको प्रस्ताव हो । गत जनवरीमा चेल्सीको प्रशिक्षकमा नियुक्त भएका टुचेलले लन्डन क्लबसँग १८ महिनाका लागि सम्झौँता गरेका थिए । अब उनलाई चेल्सीले नयाँ सम्झौँता दिने तयारी गरेको छ ।  

‘म शत प्रतिशत ढुक्क त छैन । तर मलाई लाग्छ, चेल्सीले मलाई नयाँ सम्झौँता प्रस्ताव गर्दैछ । मेरा एजेन्टले त्यही संकेत गरेका छन् । खेलपछि म आफैँले पनि चेल्सी मालिक रोमन अब्राहिमोभिचसँग कुरा गरे । च्याम्पियन्स लिग जितेपछि भएको कुराकानी यसै पनि सकारात्मक हुन्छ । हामी फेरि कुरा गर्नेछौ । म चेल्सीमा थप उपाधि जित्‍न चाहन्छु । त्यसकारण अब उनीसँग हुने भेट महत्वपूर्ण हुनेछ,’ जर्मन प्रशिक्षक टुचेलले भने ।

बोरुसिया डर्टमन्डका पूर्वप्रशिक्षक टुचेल गत डिसेम्बरमा पेरिस सेन्ट जर्मेन (पीएसजी) बाट बर्खास्तीमा परेका थिए । उनले पीएसजीलाई च्याम्पियन्स लिगको फाइनलमा पुर्‍याए पनि उपाधि भने जित्‍न सकेनन् । गत सिजन युरोपियन क्लब फुटबलको सर्वोच्च प्रतियोगिता जित्‍न असफल भएका टुचेल यसपटक भने सफल भए । त्यो पनि पेप ग्वार्डिओलालाई हराएर । 

‘हामी केही दिन खुशायाली मनाउनेछौं । तर त्यसपछि हामी नयाँ सिजनको तयारीमा लाग्‍नेछौ । हामी फेरि उपाधि जित्‍न चाहन्छौ । फेरि च्याम्पियन बन्‍न चाहन्छौ । भविष्यमा चेल्सीले प्राप्त गर्ने सफलताको हिस्सा बन्‍न चाहन्छु,’ टुचेलले भने । 
  


Author

थप समाचार
x