खेलकुद

प्रिमियर लिगमा टोटनहम अपराजित

इकागज |
भदौ ६, २०७८ आइतबार २१:९ बजे

काठमाडौँ- डेले अलीले खेलको एक मात्र गोल गरेपछि टोटनहमले इंग्लिस प्रिमियर लिगमा आइतबार राति उल्भरह्याम्पटनलाई पराजित गरेको छ । उल्भ्सको मैदान मोलिनेक्समा भएको खेलमा अलीले १० औँ मिनेटमा पेनाल्टी गोल गरेका थिए । जुन टोटनहमलाई लिगमा लगातार दोस्रो जित दिलाउन पर्याप्त भयो ।  

नयाँ प्रशिक्षक नुनो इस्प्रिटो सान्टोको प्रशिक्षणमा टोटनहम लिगमा अपराजित छ । सान्टोलाई उनको पूर्वक्लब उल्भ्सले पनि रोक्‍न सकेन । टोटनहमले नयाँ सिजनको आफ्नो पहिलो खेलमा च्याम्पियन म्यानचेस्टर सिटीमाथि पनि १-० कै जित हासिल गरेको थियो । 


लिगमा अपराजित रहेको टोटनहम युरोपमा भने पराजित भएको थियो । गत शुक्रबार टोटनहम युरोपा कन्फ्रेस लिग छनौटमा पोर्चुगलको पाकोस डे फेरेरासँग अप्रत्याशित रुपमा पराजित भएको थियो । 

आइतबारकाे खेलमा टोटनहम समर्थकका लागि जित बाहेक खुशीको अर्को खबर पनि थियो । त्यो भनेको ह्यारी केनको पूनरागमन । केही समययता म्यानचेस्टर सिटीसँग जोडिँदै आएका केनले नयाँ सिजनको पहिलो लिग खेल खेले । उनले ७१ औँ मिनेटमा ह्युङ मिन सनलाई प्रतिस्थापन गरेका थिए । 


Author

थप समाचार
x