खेलकुद

डेले अलीदेखि पाटसन डाकासम्म : जनवरी ‘ट्रान्सफर विन्डो’ मा सरुवाका लागि उपलब्ध स्टार

इकागज |
पुस १७, २०७७ शुक्रबार ९:५ बजे

डेले अली
ठूला क्लबबाट खेल्दा प्रिमियर लिगमा मौका नपाउँदा मैदानमा उत्रने आस घरेलु कपले दिन्‍छ । टोटनहममा जोसे मौउरिन्होको अगमनसँगै लिगमा मौका पाउन छाडेका डेले अलीले गत साता कारबाओ कप खेल्न पाउने आस गरेका थिए । मौउरिन्हाले उनलाई मौका दिए । स्टोक सिटीविरुद्धको खेलमा अली ६६ मिनेट मैदानमा रहे । खेल टोटनहमले जिते पनि अली विवादमा तानिए ।


उनले गरेको गल्तीको फाइदा उठाउँदै स्टोकले एक गोल फर्काएपछि अली र मौउरिन्होकोबीचमा विवाद पनि भयो । जसको संकेत हो, अलीले आगामी खेलहरुमा मौउरिन्होबाट मौका पाउने सम्भावना झन पातलिनु । पेरिस सेन्ट जर्मेन (पिएसजी) सँग विगतमा पनि जोडिँदै आएका अली यस जनवरीमा त्यतै लाग्नसक्ने सम्भावना छ । तर यदि टोटनहमले अलीलाई इंगल्यान्डकै कुनै क्लबसँग आबद्ध हुने अनुमति दिए प्रिमियर लिगका ठूला क्लब उनी प्रति आर्कषित हुने सम्भावना रहन्‍छ नै ।  

क्रिस्टियन एरिक्सन 
डेनमार्कका ‘प्लेमेकर’ क्रिस्टियन एरिक्सनले टोटनहम छाडेर इन्टर मिलान पुगेको एक वर्ष पनि भएको छैन । तर उनी फेरी सरुवा बजारमा उपलब्ध हुने खेलाडीको सूचिमा छन् । इन्टरका प्रशिक्षक एन्टिनियो कोन्टेले एरिक्सनलाई खासै उपयोग गर्न सकेका छैनन् । त्यसो त इन्टरकै प्रमुख अधिकृत जुसेपे मारोेट्टाकै भनाई मान्ने हो भने पनि एरिक्सन उच्चस्तरका खेलाडी हुन् । बस् उनले इटालीमा जादु देखाउन सकेनन् ।

डच क्लब आयाक्सबाट इंगल्यान्ड पुगेका एरिक्सनले टोटनहममा रहँदा तीन सय पाँच खेल खेल्दा ६९ गोल र ८९ असिस्टको योगदान गरेका थिए । इन्टरमा भने उनको नाममा मात्र सात गोल र असिस्ट छ । यस सिजन त झन् उनले न कुनै गोल गरेका छन् न त गोलका लागि पास नै उपलब्ध गराएका छन् । उनको अबको गन्तब्यका बारेमा अनुमान गरिँदैछ तर कुनै पनि क्लबले उनलाई भित्र्याउन आवश्यक पहल गरेको छैन । 

डिएगो कोस्टा 
यस सिजन लुइस स्वारेजले एथलेटिको म्याड्रिडका लागि निरन्तर गोल गरिरहँदा छायाँमा परेका अर्का स्ट्राइकर हुन् डिएगो कोस्टा । एथलेटिकोको जर्सीमा दुई सय १५ खेल खेल्दा ८३ गोल र ३६ असिस्टको योगदान गरेका कोस्टाले केही दिनअघि मात्र क्लब छाड्ने घोषणा गरे । डिएगो सिमिओनो नेतृत्वको क्लबसँगको सम्झौता छ महिनापछि सकिनै लागेको अवस्थामा कोस्टाले किन हतार गरे ? ब्राजिलियन मुलका स्पेनिस फरर्वाडले यसको उत्तरमा उनले ‘ब्यक्तिगत कारण’ समावेश गरेका छन् ।

कोस्टालाई केही चिनियाँ र ब्राजिलियन क्लबले अनुबन्धन गर्ने रुची देखाइसकेका छन् । तर कोस्टाले कता जाने भन्नेबारेमा मुख खोलेका छैनन् । यदि कोस्टाले स्पेनकै कुनै क्लब वा च्याम्पियन्स लिग खेल्ने ठूलो क्लब रोजे, एथलेटिकोले १५ मिलियन युरो सरुवा रकम प्राप्त गर्ने छ । कोस्टा युरोपमै रहने सम्भावना छ भने उनको ठाउँमा एथलेटिकोले नेपोलीका अर्कादियुज मिलिकलाई अनुबन्धन गर्ने योजना बनाएको बताइएको छ । 

रेनाटो सान्चेस 
सन् २०१६ मा प्रतिभाशाली युवा खेलाडीलाई दिइने प्रख्यात गोल्डेन ब्वाई अर्वाडबाट सम्मानित रेनाटो सान्चेसलाई प्रिमियर लिगका पछ्याउने फुटबल सर्मथकले स्वान्सी सिटीको पूर्व खेलाडीका रुपमा सम्झिन सक्नेछन् । वेल्स राजधानीमा आफ्नो प्रभाव छाड्न नसकेका सान्चेस हाल फ्रेन्च क्लबमा स्थापित स्टार हुन् ।

बार्यन म्युनिखमा चल्न नसकेपछि फ्रान्स पुगेका पोर्चुगिज मिडफिल्डर हाल लिभरपुलसँग जोडिएका छन् । इंग्लिस च्याम्पियनका डच मिडफिल्डर जर्जियो वाइनाल्डम क्लबमा रहने नरहने टुङगो नहुँदा योर्गेन क्लपले सान्चेसमाथि आँखा गाडेको बताइएको छ । 

जोश दासिल्भा 
प्रख्यात आर्सनल एकेडेमीका उत्पादन जोश दासिल्भाले सन् २०१७ मा आर्सन वेङगरको सम्झौता प्रस्तावलाई अस्विकार गर्दै बे्रन्टर्फोड पुगेका थिए । स्ट्राइकरका रुपमा आफ्नो करियर सुरु गरेका इंगल्यान्ड युवा टोलीका सदस्य दासिल्भा बे्रन्टर्फोडमा मिडफिल्डरका रुपमा स्थापित छन् ।

इंगल्यान्डको दास्रो श्रेणीमा प्रभाव जमाइरहेका २२ वर्षिय दासिल्भालाई वेस्टह्यामले लन्डन फर्काउन चाहिरहेको छ । एङगोलाबाट बेलायत आइपुगेका आप्रवासीका पुत्र दासिल्भाले बे्रन्टर्फोडमा गत अक्टोबरमा मात्रै नयाँ सम्झौता गरेकाले उनलाई खरिद गर्न चाहने ठूला क्लबले ठूलै रकम कबोल गर्नुपर्नेछ । 

पेड्रो गोन्साल्भेस
इंग्लिस क्लब उल्भरह्याम्पटनमा पोर्चुगिज खेलाडी आउनु कुनै अचम्मलाग्दो घटना होइन । उल्भ्स र पोर्चुगिज खेलाडीबीच अघोषित प्रेम नै छ । अहिले पनि उल्भ्सको सिननियर टिममा नौ पोर्चुगिज खेलाडी छन् । पेड्रो गोन्साल्भेस सन् २०१७ मा उल्भ्स आइपुगे । तर दुई वर्ष क्लबको अण्डर २३ टिमका लागि उत्साहजनक खेल देखाउँदा पनि सिनियर टिममा बढुवा नभएका गोन्साल्भेस घर फर्किए । जहाँ उनी र्पोर्चुगिज लिग खेल्ने फामालिसाओसँग आबद्ध भए ।

त्यसपछि गत सिजन उनी पोर्चुगलकै ठूलो क्लब मध्येको एक स्‍पोर्टिङ लिस्बनसँग जोडिए । स्र्पोटिङले उनलाई म्यानचेस्टर युनाइटेड गएका ब्रुनो फर्नान्डेजलाई प्रतिस्थापन गर्नका लागि अनुबन्धन गरेको थियो । गोन्साल्भेसले स्र्पोटिङका लागि १० खेलमा १० गोल गरिसकेका छन् । उनले पोर्चुगलमा देखाइरहेको प्रदर्शनका बारेमा युरोपका ठूला क्लबहरु बेखबर छैनन् । त्यसकारण उनी जनवरीमा इंगल्यान्ड वा स्पेन पुगेमा अचम्म मान्नु पर्दैन । 

डेभिड अलाबा 
जर्मनीको सबैभन्दा ठूलो क्लब बार्यन म्युनिखमा १२ वर्ष रहिसकेका अस्ट्रियन स्स्टार डेभिड अलाबा जारी सिजनको अन्त्यमा फ्रि-एजेन्टका रुपमा कुनै पनि क्लब जान सक्नेछन् । २८ वर्षिय रक्षक अलाबा रियल म्याड्रिड, चेल्सी, म्यानचेस्टर युनाइटेड, पेरिस सेन्ट जर्मेन र लिभरपुल लगायतका ठूला क्लबसँग निरन्तर जोडिँदै आएका छन् ।

सिजनको अन्त्यमा त्यसै पनि सरुवा रकम नतिरी अनुबन्धन गर्न सकिने खेलाडीलाई उल्लेखित कुनै क्लबले जनवरीमा लग्‍ने आँट गर्ला ? अनुमान गर्न ग्राहो छ ।

पाटसन डाका
रेडबुल साल्जबर्गबाट एर्लिङ हालान्ड बोरुसिया डर्टमन्ड लागेपछि जाम्बियाका पाटसन डाका अस्ट्रियन क्लबमा जमेका छन् । जारी सिजन साल्जबर्गका लागि १५ गोल गरिसकेका डाका प्रिमियर लिग क्लबहरुसँग जोडिएका छन् । उनलाई आर्सनल, लिभरपुल, टोटनहम र म्यानचेस्टर सिटीले पछ्याइरहेका छन् ।

के डाका साउथह्याम्पटनका पूर्व खेलाडी इम्मानुएल मायुका पछि प्रिमियर लिग खेल्ने अर्को जाम्बियन होलान् त ? त्यो क्लबहरुले कबोल गर्ने रकममा भर पर्नेछ । (दि गार्डियनबाट)


Author

थप समाचार
x