खेलकुद

के युवा टिम बन्न सक्ला नेपाली क्रिकेटकाे भविष्य ?

सञ्जीव शाह |
चैत १८, २०७८ शुक्रबार १९:४९ बजे

काठमाडौँ – जब पुबुदु दासानायके नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकका रुपमा दोस्रो पटक नेपाल आए उनका लागि सबैभन्दा ठूलो चुनौती भनेको नेपाललाई आईसीसी टी–ट्वान्टी विश्वकपमा पुर्याउनु थियो । 

ओमानमा भएको आईसीसी टी–ट्वान्टी विश्वकप ग्लोबल छनोटमा युनाईटेड अरब इमिरेट्स (युएई) विरुद्धको सेमिफाइनलमा पराजित भएपछि नेपाललाई दोस्रो पटक विश्वकपमा पुर्याउने दासानायकेको उद्धेश्य पूरा हुन सकेन ।


नेपाललाई सन् २०१४ को टी–ट्वान्टी विश्कपमा छनोट गराउन सफल भएका दासानायके जतिबेला दोस्रो पटक प्रशिक्षक नियुक्त भए, नेपाल क्रिकेट संघ (क्यान) र केही खेलाडीबीचको विवाद उत्कर्षमा पुगेको थियो । विवादकै कारण विश्वकप छनोट अघिको बन्द प्रशिक्षण समेत प्रभावित बन्यो । क्यान र खेलाडीबीच भएको सहमतिपछि धन्न तयारी थालियो । 

तर त्यतिबेलासम्म नेपाली क्रिकेट टिममा भने एउटा ठूलै परिवर्तन आइसकेको थियो । त्यो थियो ज्ञानेन्द्र मल्लको स्थानमा लेग स्पीनर तथा स्टार क्रिकेटर सन्दीप लामिछाने कप्तान बन्नु । लामिछानेकै कप्तानीमा नेपालले ओमानमा भएको चारदेशीय टी–ट्वान्टी सिरिज तथा टी–ट्वान्टी विश्वकप छनोट खेल्यो । 

नेपालले अष्ट्रेलियामा हुने विश्वकपमा स्थान बनाउन नसकेपनि युवा कप्तान सन्दीपले प्रशिक्षक दासानायके तथा क्यानसँग मिलेर टिममा ठूलै परिवर्तन ल्याइसकेका छन् । त्यो परिवर्तन के हो भने नेपाली टिममा युवाहरुको प्रवेश ।

२०७८ मंसिर २९ गते कप्तान बनेका सन्दीपले नेपाली टिममा जिम्मेवारी पाएको चार महिना पनि बित्न नपाउदै ८ जनालाई डेब्यू गराइसकेका छन् ।

विवेक यादव, सागर ढकाल, लोकश बम, गुल्सन झा र दिलिप नाथ र आदिल अन्सारीले टी–ट्वान्टी अन्तर्राष्ट्रियमा डेब्यू गर्दा एकदिवसिय अन्तर्राष्ट्रियमा सागर ढकाल, भिम सार्की र देव खनालले डेब्यू गर्ने अवसर प्राप्त गरेका छन् । सागरले भने टी–ट्वान्टी र एकदिवशीय दुबैमा डेब्यू गरिसकेका छन् ।

डेब्यू गरेका विवेक यादव १८ वर्ष, सागर ढकाल २०, लोकेश बम १९, गुल्सन झा १६, दिलिप नाथ २४, आदिल अन्सारी १८, भिम सार्की २० तथा देव खनाल १६ वर्षका छन् ।

यस हिसाबले हेर्ने हो भने दिलिप बाहेका अन्य खेलाडी २० वर्ष वा सो भन्दा कम उमेरका रहेका छन् । अर्कोतर्फ कप्तान लामिछाने आफै २१ वर्षका छन् । त्यसबाहेक पछिल्लो पटक खेलेका आशिफ शेख २१, दिपेन्द्र सिंह ऐरी २२, कलम सिंह ऐरी २१, आरिफ शेख २४, कुशल भुर्तेल २५, अविनाश बोहरा २४, कुशल मल्ल १८, अनिल साह २३, पवन सर्राफ २१, सोमपाल कामी २६ वर्ष तथा करण केसी ३० वर्षका रहेका छन् ।

पछिल्ला केही महिनामा टिममा भएको परिवर्तनले के देखाउँछ भने नेपाली क्रिकेटको एक पुस्ता नै परिवर्तन भईसक्यो र टिममा युवाहरुको दबदबा छ।दासानायकेले पनि केही समयअघि नेपालमा थुप्रै प्रतिभावान युवा खेलाडी रहेको तथा उनीहरुलाई टिममा मौका दिइने बताएका थिए । उनले युवा क्रिकेटर नेपालको भविष्य भएको समेत भनेका थिए । 

सोही अनुसार युवाहरुले टिममा मौका पनि पाएका छन् । अधिकांशको डेब्यू शानदार नरहेपनि उनीहरु एकपछि अर्को खेलमा आफ्नो क्षमता प्रमाणित गर्दै आएका छन् । कप्तान सन्दीप लामिछानले पनि खेलाडीहरुको प्रदर्शन सुधार हुदै गएको र उनीहरुको प्रदर्शन थप राम्रो हुने विश्वास व्यक्त गरेका छन् ।

टी–ट्वान्टी विश्वकपमा छनोट नभएपछि अहिले नेपालका लागि आईसीसी अन्तर्गतको विश्वकप लिग डिभिजन टु मात्र आधिकारिक तथा ठूलो प्रतियोगिताको रुपमा रहेको छ । 

डिभिजन टु लामो यात्रा भएको हुनाले नेपालले अहिलेको अवस्थामा भविष्यका लागि खेलाडी तयार पार्ने अवसर पनि प्राप्त गरेको छ । पछिल्ला प्रतियोगिता तथा सिरिजमा नेपालले युवाहरुलाई दिएको मौकाले पनि त्यसलाई प्रमाणित गर्छ । नेपालको बेन्च बलियो भएन भनेर पछिल्ला दिनहरुमा गुनासो सुनिने गरिएको छैन र त्यसको कारण युवाहरुले टिममा मौका पाउनु पनि रहेको छ । 

कप्तान लामिछानेले पनि अवस्था हेरेर खेलाडीहरुलाई अवसर प्रदान गरिने समेत बताउँदै आएका छन् र यसले अबको नेपाली क्रिकेट युवाहरुको हातमा रहेको स्पष्ट देखाउँछ । 


Author

सञ्जीव शाह

सञ्जीव शाह इकागजका स्पोर्टस् ब्यूरो चिफ हुन् ।


थप समाचार
x