विचार

चिनियाँ समाजको भित्री कथा बुझ्ने सिर्जनात्मक अभिव्यक्ति

नीरज लवजू |
भदौ ११, २०७९ शनिबार ६:५७ बजे

आर्थिक समृद्धि र भौतिक विकाससँगै सबै समाजले सामना गर्ने एउटा प्रमुख चुनौती हो– मानवीय संवेदनाको ह्रास । भौतिक रूपमा सम्पन्‍न र आर्थिक रूपमा समृद्ध समाजमा एक जना मानिसले अर्को मानिसप्रति राख्नुपर्ने संवेदना कमजोर बन्दै जान्छ । त्यसैको परोक्ष अभिव्यक्ति हुन सक्छ– सहरियाले छिमेकीलाई पनि चिन्दैनन् भन्‍ने भनाइ । घर अलग्गै भए पनि एकै आँगनमा घाम ताप्ने गाउँलेलाई एकै भ¥याङ चढ्ने पल्लो कोठाको मान्छेसँग बोल्न धक मान्‍ने सहर त्यही भएर रुखोलाग्दो हो ।

छिमेकी देश चीन आज आर्थिक समृद्धि र भौतिक उन्‍नयनको दिशामा तेज गतिमा दौडिरहेको छ । चिनियाँ अर्थतन्त्र उकासिएसँगै चिनियाँहरूको जीवनस्तरमा क्रमशः वृद्धि हुन थालेको छ । निरपेक्ष गरिबीको उन्मूलनसँगै गाउँले जनताले समेत केही न केही इलम गरेर आर्थिक उपार्जनमा व्यस्त हुन थालेका छन् । सहरमा बस्ने चिनियाँहरूको संख्या बढ्दो छ । सहरका आकार फैलिँदो छ । तर, आर्थिक उन्‍नतिको दौडमा लागेको हरेक देशमा जस्तै चीनमा पनि मानिसमा मानवीय भावना क्षीण बन्दै जाने जोखिम पनि उत्तिकै छ । सम्भवतः यही जोखिम देखेर चीनका चलचित्रकर्मीहरूले मानवीय संवेदना जगाउने चलचित्र निर्माणमा जोड दिँदै आएका छन् । युट्युबमा पसेर तपाईंले चिनियाँ चलचित्रको खोजी गर्दा त्यस्ता धेरै हृदयस्पर्शी चलचित्र हेर्न सक्नुहुन्छ, जसले मानिसबीच एकअर्काप्रति सद्भाव जगाउन भूमिका खेल्न सक्छ ।  


सन् २०२० मा प्रदर्शनमा आएको चिनियाँ चलचित्र ‘आइ होप यु आर वेल’ (मलाई आशा छ, तिमी ठीकै छौ) त्यस्तै चिनियाँ चलचित्र हो जसले मानिसलाई आपसी अन्तरनिर्भरताको बोध गराउँछ । सत्य घटनामा आधारित यो चलचित्र ज्याङ वाङ नामकी सात वर्षकी केटी र उनका ‘पिता’ गो हुआको वरपर घुमेको छ । दक्षिण चीनको युनान प्रान्तको एउटा गाउँका बासिन्दा गो हुआ बाँसका डोका बुन्‍ने काम गर्छन् । एक दिन जंगलको बाटो हिँड्दै गर्दा कतै बच्चा रोएको सुन्छन् ।

कसैले नाबालकलाई जंगलमा छोडेर गएको हुन्छ । बच्चाको कारुणिक रोदनले गो हुआ बच्चा छोडेर जान सक्दैनन् । घरमा लिएर जान्छन् । गाउँलेहरूलाई जम्मा गरेर बच्चालाई के गर्ने भनी छलफल गर्छन् । उसै त गरिब गो हुआ । त्यसमाथि बच्चाको स्याहार सुसार । गाउँलेहरूले उनलाई जे ठीक लाग्छ, त्यसै गर्न भनेर बिदा हुन्छन् । एक्लो गो हुआले रुखासुखा खाएर पनि बच्चीलाई आफैँ हुर्काउने निधो गर्छन् । उनले छोरीको नाम राख्छन्– आशा ।

जसोतसो छोरीलाई गाउँबाट निकै टाढाको विद्यालयमा पढाउँछन् । बिहान घाम नउदाउँदै विद्यालय हिँडेकी ज्याङ वाङ कक्षामा पुग्दा घाम टाउकोमा चढिसकेको हुन्थ्यो । तर, कुशाग्र बुद्धिकी ज्याङ वाङ पढाइमा त तेज हुन्छिन् नै, उत्तिकै व्यावहारिक पनि । उमेरले सानो भएर पनि समझदार उनलाई बुवाले झेलिरहेका समस्या राम्ररी बुझेकी हुन्छिन् । त्यही भएर पनि उनले आफ्ना कति चाहना दबाएर पनि बुवालाई सहज बनाउन सहयोग गर्छिन् । 

चुहेको छाना मर्मत गर्न बारीमा फलेको स्याउ राजमार्ग छेउ बेच्‍न जाने क्रममा एक दिन तराजुको बिँडले एक जना ग्राहकको मुखैमा लाग्छ । क्रोधित ग्राहकले ज्याङ वाङलाई कस्सिलो झापड दिन्छिन् । ज्याङको नाकबाट रगत बग्छ । सामान्य उपचार पछि रगत बग्न रोकिए पनि पछि पछि पनि नाकबाट रगत बग्ने क्रम दोहोरिरहन्छ । स्वास्थ्य केन्द्रको चिकित्सकको सल्लाहमा कुनमिङको ठूलो अस्पतालमा बिस्तारमा उपचारको लागि जान्छन्– बाबु–छोरी । त्यहीँ ज्याङ वाङलाई रक्तक्यान्सर (एक्युट ल्युकेमेनिया) भएको पत्ता लाग्छ ।

ज्यान जोगाउन तत्कालै ३ लाख युआनको खाँचो पर्ने चिकित्सकले भन्छन् । तर, बाँसका डोका बेचेर जसोतसो पेट पाल्दै आएका गो हुआको निम्ति त्यत्ति रकम जुटाउनु सजिलो हुँदैन । जन्मले आफ्नो नभए पनि आफ्नै गाँस काटेर हुर्काएकी छोरीको ज्यान जोगाउन गो हुआ आफूले भनेर र मागेर हुने सबैका दैलो चहार्छन् । उनका गरिब गाउँलेले आफ्नो बर्कतले भ्याएसम्म थोरै थोरै सहायताको हात अघि बढाउँछन् । तर, त्यत्ति पैसा हात्तीको मुखमा जिरा जस्तै हुन्छ । 

गो हुआले केही धनीमानीसँग पनि सहायताका लागि हात फैलाए । तर, बस्ने राम्रो घर र एक छाक खान धौधौ भएका उनलाई ऋण कसले देओस् ! बरु एक जना व्यापारीले आफूले उठाउन नसकेको पैसा उठाएर उपचार गर्न भनी उनलाई गुन्डाहरूको गुँडमा पठाउँछ । उनको त्यहाँ रामधुलाई हुन्छ ।

मर्नु न बाँच्‍नुको दोसाँधमा उभिएको गोले कति बेला आत्महत्या गर्ने सोच्छ, कतिबेला बैंक लुट्ने । तर, छोरीको निर्दोष अनुहारले उनलाई ती कुनै पनि विकल्पमा जान दिँदैन । रातदिन काम गर्छन् । तर, थैलो भने कहिल्यै पुग्दो हुँदैन ।

गाउँको सोझो गो छोरीको उपचारका लागि पैसा जुटाउन आफ्नो एउटा मृगौला बेच्‍न तयार हुन्छन् । तर, मृगौला बेच्‍न मद्दत गर्छु भन्‍ने ठगले उनीसँग भएको केही हजार पनि ठग्छ र बेपत्ता हुन्छ । यो चीनको समाजमा भित्रभित्रै फैलिएको विकृतिको एउटा तस्बिर हो ।

ज्याङको समझदार र व्यावहारिकता देखेर अस्पतालकी नर्स स्याओसिया पनि निकै प्रभावित हुन्छिन् । तर, ज्याङ आर्थिक अभावको कारण चाँडै मर्ने कुराले उनलाई विस्मित पार्छ । आफू अस्पतालको हेमाटोलिजी विभागमा खटिएकामा आफैँलाई धिक्कार्छिन् । उनले आफ्नो अनुभूति साथी पत्रकार वाङ स्याओवेलाई सुनाउँछिन् । वाङ आफैँ पनि ज्याङको जीवन बचाउने उपाय खोज्नतिर लाग्छिन् । उनले आफूसम्बद्ध पत्रिकामा ज्याङको अवस्थाबारे समाचार लेख्छिन् । लगत्तै विभिन्‍न सञ्चारमाध्यममार्फत आर्थिक अभावको कारण एक जना प्रतिभाशाली बालिकाको अनाहक निधन हुन लागेको समाचार सम्प्रेषण हुन्छ ।

 त्यसपछि ज्याङको सहायतामा पैसा उठ्न थाल्छ । अपेक्षा गरिएभन्दा बढी पैसा उठेपछि चिकित्सकले ज्याङको रक्तमासी प्रत्यारोपण गरेर पूर्ण उपचार गर्ने निधो गर्छन् । तर, त्यसको निम्ति ज्याङलाई जन्म दिने आमा वा बुबाकै रक्तमासी आवश्यक हुन्छ । गो र नर्स स्याओसियाले उनीहरूको खोजी पनि गर्छन् । तर, सफलता हात लाग्दैन । चाउचाउ खान निकै मन गर्ने ज्याङले एक दिन अस्पतालको टेबुलमा रहेको चाउचाउका केही टुक्रा खान्छिन् । त्यही उनका लागि विष हुन्छ । उनको दुःखद् निधन हुन्छ । 

मूल कथाको प्रवाह शब्दतः यस्तै हो । यसको कथा र जोडिएर आएका उपकथाले आजको चिनियाँ समाजले भोग्दै गरेको चुनौतीलाई उजागर गरेको छ । चिनियाँ समाज आर्थिक र भौतिक रूपमा समृद्ध बन्दै गएपछि मानिसले मानिसलाई सहायता गर्ने मानवता कमजोर बनाउन नहुनेमा चलचित्रको जोड देखिन्छ । ज्याङको जीवनरक्षाका निम्ति भएको पहलमा चारैतिरबाट ओइरहेको सहयोग त्यस्तै मानवीय भावनाको अभिव्यक्ति हो । तर, गोले छोरीको उपचारका निम्ति सहायताका लागि हात फैलाउन धनीमानीसमक्ष जाँदा गरेको दुव्र्यवहार समृद्धिसँगै सुक्दै गएको मानवीय भावना देखाउन खोजिएको छ । पैसा भएका मानिस बरु जुवा खेलेर पैसा उडाइरहेका छन् । तर, खाँचो परेका मानिसलाई केही रकम दिन अनकनाइरहेका छन् । गरिबले ऋण नतिर्ने भन्दै उनीहरू बरु फजुल खर्च गरिरहेका छन् । ऋण दिन तयार छैनन् । 

चलचित्रको अर्को पक्ष चीनमा गाउँ र सहरबीच अझ फराकिलो अन्तर हो । ज्याङलाई आफ्नो विद्यालय पुग्न बिहान घाम नउदाउँदै टर्च लिएर हिँड्नुपर्छ अनि बल्ल समयमै विद्यालय पुग्न सक्छिन् । गाउँलेहरू इलम नभएर गरिब छन् । उनीहरूका उत्पादनको बजार छैन । त्यसकारण उनीहरू वर्षायाममा चुहिने छानामुनि रातभर टाप्के थप्दै बिताउन बाध्य छन् । ज्याङका निम्ति सहरका अग्लाअग्ला भवन सपना हो । यो चित्रण चीनमा अझै पनि फराकिलो गाउँ र सहरबीचको फराकिलो अन्तरको चित्रण हो । चीनको यो वास्तविक चित्रमा परिवर्तन ल्याउन चीनको राजनीतिक नेतृत्वले गाउँ र सहरबीचको भेद कम गर्ने नीति तर्जुमा गरेको उनीहरूका दस्तावेजमा पढ्न सक्छौँ । 

गो हुआ गरिब छन् । उनीसँग हातमा धेरै ठूलो सीप छैन । पढेलेखेका छैनन् । तर, उनलाई चलचित्रमा नायकका रूपमा प्रस्तुत गरिएको छ किनभने उनको हृदयमा मानवीय भावना छ । जंगलमा भेटिएकी बच्चीलाई उनले आफैँ हुर्काउने निधो गर्छन् । आफू मरीमरी काम गरेर पनि छोरीलाई राम्रो मान्छे बनाउने संकल्प गर्छन् । छोरीको उपचारका निम्ति उनले कष्टसाध्य दिन बिताउँछन् । तर, छोरीको माया त्याग्दिनन् । गोकी बहिनीले उपचारमा धेरै पैसा लाग्ने देखिएपछि छोरीलाई अस्पतालमै छोडेर जाने सुझाव दाजुलाई दिन्छिन् । तर, ज्याङले पहिला पनि आमाबुबाबाट वियोग झेलिसकेकी र फेरि पनि त्यस्तै बिछोड गराउन तयार नभएको भन्दै गोले सक्दो उपचार गर्ने बताउँछन् । 

गाउँको सोझो गो छोरीको उपचारका लागि पैसा जुटाउन आफ्नो एउटा मृगौला बेच्‍न तयार हुन्छन् । तर, मृगौला बेच्‍न मद्दत गर्छु भन्‍ने ठगले उनीसँग भएको केही हजार पनि ठग्छ र बेपत्ता हुन्छ । यो चीनको समाजमा भित्रभित्रै फैलिएको विकृतिको एउटा तस्बिर हो । अनेकन् हन्डर खाएर पनि उनले छोरीप्रतिको धर्म अन्तिम समयमा छोड्दैनन् । 

चीन सरकारले सन् २०२१ मा निरपेक्ष गरिबीको पूर्ण उन्मूलनको घोषणा गर्‍यो । सायद आगामी दिनमा बन्‍ने चलचित्रमा गो हुआले भोगेजस्तो गरिबीको चित्रण हुनेछैन । राज्यको नीतिअनुसार गोको गाउँमा अब त्यहाँको विशेषताअनुसार आर्थिक उपार्जनका काम थालिएको हुनुपर्छ । बाँसका सामान बनाउने गोको सिप नै पनि अब आर्थिक आधार बनाइन राज्यले मद्दत गरेको हुनुपर्छ । तर, स्वास्थ्य क्षेत्रमा फेरि पनि चिनियाँ समाजले सामना गरिरहेको समस्या भने चलचित्रमा सटिक ढंगले चित्रण गरिएको छ । 

चलचित्रका सबै कलाकारको अभिनय निपुण छ । विशेषतः ज्याङ वाङ बनेकी बालकलाकार चे युईको अभिनयले गह नभिजाउने दर्शक कमै होलान् । उनको निर्दोष अनुहार र खोटरहित अभियनकलाले दर्शकलाई वास्तवमै भावुक बनाउनेछ । 

हरेक चिनियाँ चलचित्रमा जस्तै यसको पाश्र्वसंगीत पनि सुमधुर छ । सामाजिक मनोविज्ञानको निर्माण गर्न र बुझ्ने चलचित्र प्रभावशाली माध्यम हो । आजको चिनियाँ समाजमा भित्रभित्र सलबलाइरहेका समस्या बुझ्ने उपयुक्त तरिका त्यहाँका सामाजिक चलचित्र हेर्नु हुनसक्छ । ‘आइ होप यु आर वेल’ले पनि चिनियाँ समाजको भित्री कथा बुझ्ने सिर्जनात्मक अभिव्यक्ति हो ।

लवजूका लेखहरू


Author

थप समाचार
x