सरकार

कहिले होला त देउवाको दिल्ली यात्रा ?

देउवाको दूतका रूपमा भारत जाँदै कांग्रेस नेताहरू

इकागज | असोज २०, २०७८

काठमाडौँ - नेपाली कांग्रेसले भारतसँगको सम्बन्ध सुधारका लागि भारतीय सत्तारुढ दलसँग अन्तरक्रिया बढाउने भएको छ। कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आफू निकटका दोस्रो तहका नेताहरूलाई राजनीतिक दूतका रुपमा भारत पठाउँदै सुधारका प्रयास थालेका हुन् ।  उक्त टोली बिहीबार भारत जाने तयारीमा छ ।

सहमहामन्त्री डा. प्रकाशशरण महतको नेतृत्वमा जान लागेको टोलीले भारतीय जनता पार्टी (बीजेपी) का उच्चस्तरका नेताहरूसँग छलफल गर्नेछ । दुई मित्र मुलुकका दलहरूबीच हार्दिकता कायम राख्ने र एक-आपसमा अन्तरक्रिया बाक्लो बनाउने लक्ष्य अनुरुप भ्रमण हुन लागेको पूर्व परराष्ट्रमन्त्री समेत रहेका कांग्रेस नेता डा. प्रकाशशरण महतले इकागजसँग बताए ।

‘हाम्रो र भारतीय राजनीतिक दलसँग थप निखारपन ल्याउन आवश्यक छ । यता र उताका नेतृत्व तहमा छलफल हुन आवश्यक छ । त्यसका लागि सबै राजनीतिक दलका नेताहरू एक-अर्कामा परिचित हुनुपर्छ,’ डा. महतले भने, ‘अब यसका लागि हामी चार दिन भारतमा रहँदा सबै तहका नेताहरूसँग औपचारिक रुपमा नै छलफल हुनेछ । सरकारको तहबाट नभई राजनीतिक दलको तहबाट छलफल हुनेछ ।’ 

बीजेपीका विदेश विभाग इन्चार्ज डा. विजय चौथाईवालेको नेपाल भ्रमणपछि नेपालको तर्फबाट पनि भ्रमण हुन लागेको हो । उनको भ्रमण हुँदा नेपालका नेताहरू सबैसँग भेटी सम्बन्ध एक तहमा स्पष्ट पार्ने काम भएको भन्दै त्यसको निरन्तरतालाई नेपालको तर्फबाट नयाँ दिल्ली यात्रा हुन लागेको हो ।  

भारतीय सत्तारुढ दल बीजेपीको निमन्त्रणामा भारत जान लागेको जानकारी दिँदै डा. महतले भने, ‘अन्तरक्रिया आवश्यक छ । त्यसका लागि यस्ता भ्रमण लगातार हुनेछन् । भारतको एक दलसँग मात्र होइन अन्य दलसँग पनि दलगत सम्बन्ध विस्तार गर्दै जानेछौ । अन्य छिमेकी वा मित्र मुलुकसँग पनि यो आवश्यक छ ।’ पूर्व परराष्ट्रमन्त्री महतको टोलीमा पूर्व अर्थ राज्यमन्त्री उदयशमशेर राणा, अर्का कांग्रेस नेता अजय चौरासिया छन् । 

चार दिने सद्भाव भ्रमणमा बिजेपीका माथिल्लो तहदेखि भारतीय विदेश मन्त्रीसम्मलाई भेटवार्ता गर्ने तयारी छ । प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेट्ने इच्छा नेपाली टोलीको रहेको भए पनि त्यसबारेमा भने भारतीय पक्षबाट स्पष्ट जवाफ आएको छैन । डेढ महिनाअघि आएका चौथाईवालेले सबै नेतृत्व तहमा भेटवार्ता गरेका कारण त्यही तहको भेटवार्ता नेपाली पक्षले माग गरेको छ ।

यो भ्रमणलाई कांग्रेसको आगामी महाधिवेशनसँग पनि जोडेर हेरिएको छ । कांग्रेस महाधिवेशनमा भारतीय राजनीतिक दलको पनि चासो रहने हुनाले त्यहाँ एक प्रकारको स्पष्टता कायम गर्न देउवाले आफ्ना विश्वास पात्रमध्येकालाई भारत पठाउन लागेका हुन्। 

देउवा पछिल्लो समय भारतसँगको सम्बन्धमा मौन रहने र सुधारमा मात्र जोड दिने नीतिमा अघि बढेका छन् । उत्तरतर्फ भन्दा दक्षिणतर्फको नीति महत्वपूर्ण रहेको भन्दै देउवाले आगामी महाधिवेशनसम्म भारतसँगको सम्बन्धलाई निकै जोड दिनेछन् । तर, टोलीले देउवाको भारत भ्रमणको पनि पहल गराउने छ । प्रधानमन्त्री भए लगत्तै भारतले निम्तो दिने प्रचलन थियो, तर देउवा प्रधानमन्त्री भएको तीन महिना पुग्दा पनि भारतबाट भ्रमणको औपचारिक निम्तो पाएका छैनन् ।

हुन त, प्रधानमन्त्री हुने बित्तिकै भारत भ्रमणमा जानुपर्छ भन्ने होइन, तर उताबाट निम्तो आउने र यताबाट दौडिने प्रथामा देउवा पनि अभ्यस्त थिए । तर, अहिले किन आएन भन्ने पिरलोमा उनी परेकाले पार्टी तहबाट सुधारको पहल गरेका हुन्। 

शान्ति सुरक्षा र अमन चयन कायम गर्न प्रहरीको भूमिका अतुलनीय: गृहमन्‍त्री खाण

इकागज | असोज २०, २०७८

काठमाडौँ - गृहमन्त्री बालकृष्ण खाणले मुलुकमा शान्ति सुरक्षा र अमन चयन कायम गर्न र विधिको शासन स्थापनार्थ ...

वैदेशिक रोजगार न्यायाधिकरणको सदस्यमा सहन्यायाधिवक्ता डा. गोपिचन्द्र भट्टराई

इकागज | असोज १९, २०७८

काठमाडौँ – सरकारले रोजगार अनुमति प्रणाली सञ्चालन तथा व्यवस्थापन पहिलो संशोधन निर्देशिका २०७८ लाई...

चाडपर्वको मौका छोपी ग्राहक र उपभोक्ता ठग्ने ललितपुरका १९ फर्मलाई कारबाही

इकागज | असोज १८, २०७८

ललितपुर – नजिकिँदै गरेको चाडपर्वलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय ललितपुरले बजार अनुगमन त...

सातै प्रदेशमा बजार र यातायात अनुगमनका लागि गृहका सहसचिवको नेतृत्वमा अनुगमन समिति गठन

इकागज | असोज १८, २०७८

काठमाडौँ – नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गर्दै गृह मन्त्रालयले अनुगमन समिति गठन गरेको छ । गृह...

हरेक अस्पतालमा ज्येष्ठ नागरिक वार्ड सञ्चालन गर्ने प्रधानमन्त्री देउवाको प्रतिबद्धता

इकागज | असोज १४, २०७८

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले ज्येष्ठ नागरिक अनुभव र व्यवहारमा परिपक्व व्यक्तित्व भएको ब...

संविधान, कानुन र स्वास्थ्य मापदण्डभित्र रहेर गर्ने कार्यक्रम बन्देज लगाउने आदेश र उद्देश्य छैन : गृह मन्त्रालय

इकागज | असोज १४, २०७८

काठमाडौँ– सरकारले संविधान, प्रचलित कानुन र कोभिड-१९ को नियन्त्रणका लागि जारी गरिएको स्वास्थ्य प्रो...