गद्दारहरूलाई पार्टीमा स्थान छैन : ओली
काठमाडौँ - एमाले एकताको लागि प्रयास भइरहेकै बेला पार्टी अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललगायतलाई एमाले भित्र कुनै स्थान नभएको बताएका छन् । ओलीले काठमाडौं जिल्ला कमिटीको बैठकमा त्यस्तो धारणा व्यक्त गरेका हुन । उनले त्यस्तो धारणा व्यक्त गरिरहँदा पार्टी एकताको लागि भनेर प्रतिवेदन दिएसँगै विघटन भएको कार्यदलको अनौपचारिक बैठक बसेर एकताको लागि प्रयास गर्ने 'विन-विन' अवस्थामा एकता गराउने निष्कर्षमा पुगेका थिए । उनले एमाले भित्रैका गद्दारहरुलाई लिएर सरकार ढाल्ने काम भएको आरोप पनि लगाए ।
आफ्नै दलको सरकार ढालेर मुलुकलाई अनिश्चितता तर्फ लैजाने भूमिका खेल्नेहरुलाई पार्टीमा कुनै स्थान नभएको भन्दै आेलीले भने, ‘उनीहरुले विकास र समृद्धिको सपनामा कुठाराघात गरेका छन् ।’ सरकार ढाल्न भूमिका खेल्ने, फ्लोर क्रस गर्ने सांसदहरूलाई पार्टीमा कुनै स्थान नभएको उनले बताएका हुन । नेपाल तर्फ लागेर बाटो विराएका नेताहरुलाई पार्टीमा स्थान भए पनि नेपाललाई भने कुनै स्थान नभएको ओलीले स्पष्ट पारे ।
एमालेको सरकारविरुद्ध कुठाराघात भएको र एमालेको अभियानमा गम्भीर रूपमा ब्रेक लागेको भन्दै ओलीले भने, ‘पार्टीमा खुट्टा तान्नेहरूलाई बाहिर पठाइने छ । आगामी निर्वाचनमा खुट्टा तान्ने र पार्टीको विपक्षमा लाग्ने नेतालाई टिकट समेत दिन सकिँदैन ।’
उनले आफू नेतृत्वकाे सरकारले राम्रो काम गरेको र अहिले शेरबहादुर देउवा सरकालाई सहज भएको भन्दै ओलीले आगामी निर्वाचनमा एमालेले बहुमत ल्याउने दाबी समेत गरे । एमाले नेतृत्वको सरकार ढाल्न अन्य कुनै शक्तिले नसक्ने भएपनि पार्टी भित्रैबाट गद्दारी भएकाे उनकाे दाबी थियाे । यसलाई मनन गर्दै एमाले पुनः सत्तामा फर्कने दाबी पनि ओलीले गरेका छन् ।