को हुन् : प्रदेश २ का चौंथो प्रदेश प्रमुख मिश्र ?
जनकपुरधाम– प्रदेश–२ मा पटक-पटक प्रदेश प्रमुख परिवर्तन हुने क्रममा चौथा प्रदेश प्रमुख आइपुग्दैछन्, हरिशंकर मिश्र । पूर्व सांसद तथा नेपाली कांग्रेसका पुराना नेता उनी नेपाली कांग्रेसको कोटाबाट सिफारिश भएका हुन् । एमाले सरकारद्वारा नियुक्त राजेश झालाई प्रदेश प्रमुखबाट हटाउँदै शेरबहादुर देउवा सरकारले मिश्रलाई नियुक्त गर्न सिफारिश गरेको हो । संघीयता आएको चार वर्ष नबित्दै राजनीतिक अस्थिरताका कारण प्रदेश–२ मा प्रदेश प्रमुख फेरबदल भइरहेको छ ।
यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले आफैँ नियुक्त गरी ३/३ वटा प्रदेश प्रमुखलाई हटाइसकेका छन् । ओलीले प्रारम्भमा समाजवादी पार्टीबाट रत्नेश्वरलाल कायस्थलाई नियुक्त गरेका थिए । समाजवादी पार्टीबाट सहकार्य टुट्दा नेकपाको माओवादी कोटाबाट तिलक परियारलाई नियुक्त गरियो । त्यसपछि नेकपाबाट माओवादी अलग्गिएपछि एमालेबाट अहिराजलाई नियुक्त भएका थिए ।
पछिल्लोपटक ओली नेतृत्वको सरकार ढलेपछि झालाई हटाउँदै देउवा सरकारको रोजाईमा महोत्तरी पिपरा गाउँपालिका–३ निवासी ७६ वर्षीय मिश्र परेका हुन् । उनी नेपाली कांग्रेसका संस्थापक नेता स्व. रामनारायण मिश्रका पुत्र हुन् । रामनारायण मिश्र २०१६ को मन्त्रिपरिषद्मा उद्योग वाणिज्य मन्त्री थिए ।७६ वर्षीय वृद्ध मिश्रलाई रोज्नुमा कांग्रेसप्रति उनको परिवारको ‘योगदान’लाई कारण ठानिएको छ । कांग्रेसका नेताहरुले प्रजातान्त्रिक आन्दोलनमा मिश्र र स्वयं उनका परिवारको योगदानको कदर गर्दै ‘सम्मानस्वरुप’ प्रदेश प्रमुख पदमा नियुक्त गरेको बताएका छन् ।
कांग्रेस महोत्तरीका सचिव शम्भु पाठकले इकागजसँग भने, ‘मिश्र र उनका परिवारको प्रजातान्त्रिक आन्दोलनमा निकै ठूलो योगदान छ । मिश्र कांग्रेसका नेता मात्र नभई प्रजातान्त्रिक योद्धा समेत हुन् ।’
को हुन् नवनियुक्त प्रदेश प्रमुख मिश्र ?
मिश्रको जन्म वि.सं. २००२ मा महोत्तरीको पिपरा गाउँमा भएको थियो । पूर्व उद्योग वाणिज्य मन्त्री स्व. रामनारायण मिश्र र श्यामादेवी मिश्रको जेठो सन्तान हुन् । पञ्चायतकालमा मिश्रको परिवारले देशभित्र रहने अवस्था नहुँदा उनको भारतको बिहार जिल्ला मुजफ्फरपुर अध्ययन/अध्यापन भएको हो ।
राजनीतिशास्त्रमा स्नातकोत्तर मिश्र बाल्यकालमा कक्षा-९ मा अध्ययनरत रहेकै बेला राजनीतिमा सक्रिय थिए । उनको परिवारिक राजनीतिक पृष्ठभूमि भएकै कारण उनी २०१९ कांग्रेसको झण्डा लहराउँदै राजनीतिमा होमिएका थिए ।
२०१७ पुस १ मा राजा महेन्द्र शाहले संसद् र सरकारमाथि ‘कू’ गरी पञ्चायती व्यवस्था लागू गरेपछि वीपी कोइरालासँग उनका बुबा रामनारायण मिश्रलाई पनि सुन्दरीजलमा कोचिएको थियो । मिश्र त्यतिबेला उद्योग-वाणिज्य मन्त्री थिए ।
मिश्र भन्छन्, ‘वीपीसँगै बुबा पनि जेलमा परेपछि प्रजातान्त्रिक आन्दोलनको झण्डा फहराउनकै लागि आफूले आन्दोलनको झण्डा बोकेर राजनीतिक यात्रामा लागेको हुँ ।’ तराई क्षेत्रकै प्रजातान्त्रिक योद्धाको रुपमा चिनिएका रामनारायण मिश्र जेलमा परेपछि हाम्रो पिपरा गाउँमा आन्दोलन शिथिल हुन थालेपछि बुबाको नाम बचाउन त्यही वर्ष प्रजातन्त्र दिवसको झण्डा आफू फहराउँदै आन्दोलनमा होमिएको उनी बताउँछन् ।
उनलाई प्रजातन्त्र दिवसको अवसरमा झण्डा फहराएको भन्दै गाउँबाटै आफूलाई प्रहरीले नियन्त्रणमा लिई जलेश्वर कारागारमा हाल्यो । त्यसपछि अञ्चलाधीशले नाबालक ठहर गर्दै करिब दुई महिनापछि उनलाई रिहा गरेका थिए । त्यसपछि भारत प्रवासमै जीवन बिताएका थिए । अधिकांश समय भारतमै बितेको कारण आफ्नो शिक्षा दिक्षा भारतमै भएको उनले भने ।
देशमा प्रजातन्त्रको पुर्नबहालीपछि २०४८ को संसदीय चुनावमा उनी महोत्तरी-३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । २०५१ सालको निर्वाचनमा त्यही निर्वाचन क्षेत्रमा राप्रपाबाट चुनाव लडेका महेन्द्र रायसँग पराजित भएका थिए ।
त्यसपछि जिल्लाबाट कांग्रेस महाधिवेशन प्रतिनिधिको रुपमा उनी चयन हुँदै आएका थिए । उनले भने, ‘पार्टी र गठबन्धनको सरकारले मलाई विश्वास गरी प्रदेशको यस्तो ठूलो अभिभारा दिएका हुन् । जनताको विकासका निमित प्रदेश सरकारसँग छलफल गरेर नै आफू काम गर्नेछु ।’