हल खुल्ने छाँट नदेखे पछि ओटीटीतिर लागे फिल्म
मुम्बई : कोरोना भाइरसको कहर केही समयमा टरिजाने ठानेर धेरै हिन्दी फिल्म हल खुल्ने पर्खाइमा बसे । हलका लागि बनाएका सिनेमा हलमै देखाउनुपर्छ भन्ने धेरैको मान्यता थियो । अझ फिल्मका कलाकारमा पनि आफ्नो फिल्म हलमा रिलिज भइदिए हुन्थ्यो चाहना हुन्छ ।
त्यही भएर केही कलाकारले त सम्झौतामा आफूले खेलेका फिल्म हलमै रिलिज गर्नुपर्छ भन्ने बुँदा पनि थपेका थिए । तर, कोरोना भाइरसको दोस्रो लहरले खुल्न थालेका हल फेरि बन्द गर्न बाध्य बनाए पछि धेरै बलिउड फिल्म ओटीटीको शरणमा जान बाध्य भएका छन् ।
हप्ता दिन अघि सलमान खानको ‘राधे’ले ओटीटीमा रिलिज भयो । दर्शकले फिटिक्कै मन नपराएको भए पनि यो फिल्मबाट जिप्लेक्सले रामै्र सब्स्क्राइबर भेटेको जनाइएको छ ।
यस अक्षयकुमारको ‘लक्ष्मीबम’ र वरुण धवनको ‘कुली नं १’ले पनि ‘राधे’कै जस्तो प्रतिक्रिया पाएका थिए । अबको लटमा पनि थुप्रै फिल्मले ओटीटीको बाटो समात्ने घोषणा गरेका छन् । बलिउडहंगामका अनुसार यो लिस्टमा ‘भूत पुलिस’, ‘हंगामा २’, ‘सिद्धत’ आदि फिल्म छन् ।
सैफ अलि खान, अर्जुन कपुर, ज्याकलिन फर्नान्डिज, यामी गौतम आदि अभिनीत यो फिल्म ओटीटीमा रिलिज गर्न ठिक्क पारिएको समाचार आएका छन् । तर, अर्जुन कपुरले भने यो फिल्म हलमै रिलिज हुने दाबी गरेका छन् । सैफ अलि खान तिनै अभिनेता हुन् जसले आफूले अभिनय गरेको फिल्म हलमै रिलिज हुनुपर्ने बुँदा सम्झौतामा थप्ने गरेका थिए ।
प्रियदर्शन निर्देशित ‘हंगामा २’ पनि ओटीटीमा रिलिज हुने लिस्टमा छ । यो फिल्ममा परेश रावल, शिल्पा सेठ्ठी आदि कलाकारको अभिनय रहेको छ ।
विक्की कौसलका भाइ सन्नी कौसल अभिनीत ‘सिद्धत’ ओटीटीमा रिलिज हुने भनेर चर्चामा आएको अर्को फिल्म हो ।
कृति सेननको मुख्य भूमिका रहेको ‘मिमी’ पनि ओटीटीमा रिलिज हुने तयारीमा छ । यो फिल्म डिज्ने प्लसमा रिलिज हुने चर्चा छ । केके मेनन र कीर्ति कुल्हारीको अभिनय रहेको ‘शादीस्तान’ पनि डिज्नेमा नै रिलिज हुँदैछ । यी सबै फिल्म पहिले हलमा रिलिज गर्ने तयारी साथ बनेका थिए ।