मेरो एउटा 'अभागी' गीतको कथा
जंगबहादुर राणाको बेलाइत यात्रासँग जोडिएको एउटा किस्साबाट कुरा सुरु गरौँ।
बेलाइतको विशेषताबारे त्यहाँका समकक्षीले जंगबहादुरसँग गफ लगाएछन्, ‘थाहा छ जंगबहादुर, हाम्रो बेलाइतमा असी प्रतिशतभन्दा धेरै जनता खेलाडी छन्, उनीहरू कुनै न कुनै खेल खेलेकै हुन्छन् ।’ जंगबहादुरलाई पनि नेपाल र नेपालीको विशेषताबारे केही त बोल्नुपर्छ भन्ने लागेछ अनि उनले पनि भनेछन्, ‘बेलाइत सरकारलाई जानकारी गराउन चाहन्छु हाम्रो नेपालमा असी प्रतिशत जनता गीत, संगीत र साहित्यसँग जोडिएका छन् !’
जंगबहादुरको कुरा सुनेर बेलाइती छक्क पर्दै सोधेछन्— बाफरे असी प्रतिशत जनता साहित्यकार ?
जंगबहादुरले अझ हौसिँदै गफ दिएछन्, ‘गाउँघर मेलापात गर्ने सबैले आफ्नै गीत गाउँदै हिँड्छन्, अलिकति लेखपढ गर्न जानेको मान्छे गीत–कविता नलेखी बस्ने कोही छैन ।’
गीतकारत्रय राष्ट्रकवि घिमिरे, राजेन्द्र थापा, कृष्णहरि बरालले मन पराएको मेरो एउटा ‘अभागी’ गीत
जंगबहादुरसँग जोडिएको यो किस्सा यथार्थ हो वा अतिरञ्जना ? त्यसको ठ्याक्कै यकिन त छैन, तर म आफूलाई चाहिँ जंगबहादुरले भनेझैँ असी प्रतिशत ‘साहित्यकार नेपाली’भित्र पार्न चाहन्छु ।
टेलिभिजन र अखबारी लेखनको कुरा बेग्लै छ ।
त्यसको अलावा साहित्य मन पर्छ ।
केही गीत, गजल र कविताहरू राष्ट्रिय स्तरका पत्रपत्रिका र डिजिटल पत्रिकामा प्रकाशित पनि भएका छन् । कहीँ कतै प्रकाशित मेरा केही फुटकर रचनालाई अपवाद मान्ने हो भने साहित्य लेखनमा म नितान्त ‘डायरी कवि र डायरी गीतकार’ हुँ ।
एकान्तमा गुनगुनाउनेलाई ‘बाथरुम सिङ्गर’ भनेझैँ, लेखेर गुपचुप राख्ने ‘डायरी साहित्यकार’ ।
माथी भनेझैँ डायरी साहित्यमा समेटिएको मेरो यो गीत :
१७ असार २०७२ मा डायरीमा कैद हुन पुगेको यो गीतबारे थोरै सन्दर्भ जोड्छु है :
सन्दर्भ : एक
२०७२ को साउन ३० गते शनिबार, राष्ट्रकवि माधव घिमिरेसँगको एउटा अनौपचारिक भेटमा मैले आफ्नो ‘शिशु’ लेखनको सन्दर्भ जोड्दै घिमिरेलाई केही रचना देखाएको थिएँ । मूर्धन्य कवि/गीतकारसामु मैले पेस गरेका केही टुक्रा रचनामध्ये संयोगले यो गीत पनि थियो ।
गीत पढिसकेपछि घिमिरेले ठीकै छ भन्नु भो । मैले भनेँ, ठीकै कि ठीकठीकै ?
अभिधा, लक्षणा वा व्यञ्जना कुन अर्थमा ठीकै कविवर ? मैले यो गीत हजुरलाई जाँच गर्न दिएँ भने एक सय पूर्णाङ्कमा कति नम्बर पाउँछु कविज्यू ?
बुट्टे सोफामा कोल्टे पर्दै कवि माधव घिमिरेले मेरो यो गीतको प्राप्ताङ्क सुनाउनु भो एक सयमा सत्तरी नम्बर ।
सन्दर्भ : दुई
२२ भदौ २०७५ । अवकाश हुनै लागेका तत्कालीन सेनापति राजेन्द्र क्षत्रीको बिदाइका लागि सैनिक मुख्यालयको सभाहलमा औपचारिक कार्यक्रम थियो । उक्त बिदाइ सम्बोधन सकिएलगत्तै आर्मी अफिसर्स क्लबको बिदाइ भोजमा रमाइलो गरिरहँदा अवकाश प्राप्त जर्नेल एवम् वरिष्ठ गीतकार राजेन्द्र थापासँग एउटा कुनो च्यापेर गफिने मौका मिल्यो । प्रायः आफ्नै फूलबारीको ‘जंगल’मा हराइरहने राजेन्द्र थापालाई जंगी अड्डाको रमझममा भेट्दा मैले आफ्नो डायरीबाट मोबाइलमा टाइप गरेर राखेको यो गीत देखाइछाडेँ।
गीत पढिसकेपछि राजेन्द्र थापाको प्रतिक्रिया थियो : ‘म छोटा छोटा हरफमा गीत लेख्न रुचाउँछु, त्यस हिसाबले यो गीतको मिटर अलिकति लामो हो कि भन्ने लाग्छ, तर गेयात्मक पक्ष राम्रो छ’ लेख्दै गर्नुपर्छ भाइ । अनि मैले थापासँग पनि सोधी मागेँ, यो गीतलाई एक सय पूर्णाङ्कमा कति नम्बर दिन्हुन्छ ? थापाले मेरो गीतलाई पचहत्तर नम्बर दिनु भो ।
सन्दर्भ : तीन
१६ फागुन २०७५ । त्रिभुवन विश्वविद्यालय, नेपाली केन्द्रीय विभाग कीर्तिपुरमा आबद्ध प्राज्ञिक व्यक्तित्वहरूको एउटा कार्यक्रम थियो । सिद्धार्थ कटेज धोबिखोलामा आयोजित उक्त कार्यक्रममा म पनि सहभागी थिएँ । तोकिएको समयभन्दा केही अगावै कार्यक्रम स्थलमा पुग्नेमध्ये डा. कृष्णहरि बराल र म परेछौँ । उब्रेको समयमा चिया खाएर बस्दै गर्दा कृष्णहरि बराल सरलाई पनि आफ्ना केही गीत देखाएँ । जसमध्ये यो गीत पनि थियो ।
बराल सरलाई पनि सोधे, गीत कस्तो छ सर ?
जवाफमा भन्नुभो, गीत ठीक छन्, यसैगरी लेख्दै गर्दा निखारता पनि थपिँदै जान्छ । स्नातकोत्तर बढ्दा बराल सरको म विद्यार्थी पनि, तसर्थ विनाधक आफ्नो ‘सिकारु’ लेखनको कमजोरी खोतल्न सक्थेँ।
कृष्णहरि बरालसँग पनि गीतको प्राप्ताङ्क सोध्न छुटाइनँ मैले ।
बराल सरबाट पनि मेरो गीतले पचहत्तर नम्बर पायो ।
लोकसेवाको अन्तवार्तामा अलगअलग विज्ञले दिएको गोप्य नम्बरको योगफलले परीक्षार्थीको पास–फेल निर्धारण गरेझैँ भयो मेरो गीतका लागि पनि । माधव घिमिरे, राजेन्द्र थापा र कृष्णहरि बरालले दिएको नम्बर जोडेर औसतमा निकाल्दा गीतले पास नम्बर ल्यायो ।
अरु लेख–रचनाहरूसँगै यो गीत पनि मोबाइलको नोटबुकमा थियो ।
मैले एउटा पत्रिकामा पठाएँ, यो छापिएन । म सिकारु र ‘निम्छरो’ लेखकको गीत छापिनलायक नहुन सक्छ । यो कुरा आत्मसात् गर्न मलाई कत्ति पनि समय लागेन तर अलिकति झ्वाँक चाहिँ माधव घिमिरे, राजेन्द्र थापा र कृष्णहरि बराल यी तीन जना ‘बड्डा’हरूप्रति चल्यो । लेख्ने तागत अझै नपुगेको आलोकाँचोको रचनालाई ठीक छ–ठीक छ किन भनेका होलान् ?
अनि फेरि अलि ठण्डा भएर सोचेँ, साहित्य भनेको त विषयपरक चिज हो, न कि वस्तुपरक । जस्तो सगरमाथाको उचाइ कति हो भनेर सोधिएको प्रश्न जस्तो वस्तुपरक त होइन साहित्य । सगरमाथाको उचाइ पो आठ हजार आठ सय अड्चालिस दसमलब छयासी मिटर हो, तर सगरमाथाको पहिचान, सौन्दर्य, गौरवबोधबारे व्याख्या गर्ने तरिका र विम्बहरू त व्यक्तिपिच्छे फरक हुन सक्छन् । हो, त्यस्तै मेरो गीतबारे पनि वस्तुपरक मूल्यांकन त सम्भव छैन । कसैलाई ठीक–ठीकै लाग्न सक्छ, कसैलाई झुर !
अनि साहित्यमा एउटा स्थापित मान्यता के छ भने ‘कृति सार्वजनिक भएपछि त्यो लेखबाट फुत्किएर पाठकको सम्पत्ति बन्छ ।’
त्यसपछि त लेखकले बस् राम्रो भए ताली र खराब भए गाली खान तयारी गर्ने हो ।
अनि मलाई यो गीत यत्तिकै मोबाइलमै गुम्साएर राख्न मन लागेन ।
सबै सम्पादकको नजर समान रूपले विषयपरक त पक्कै हुँदैन ।
कुनै ‘नम्बर एक’वाला पत्रिकाको डेस्कबाट अस्वीकार गरिएको कुनै लेख अर्को पत्रिकामार्फत छापिएर ‘सुपरहिट’ भएका घटना प्रशस्तै छन् ।
विमल आचार्य अन्नपूर्ण पोस्ट् दैनिकको ‘फुर्सद’मा हुँदा श्रेयज सुवेदीको ‘बुहारी कि ऊ–हारी ?’ शीर्षकको आलेख पहिचान नगरेको भए त्यो आलेख त कोही सम्पादकको नजरबाट त ‘सहिद’ भएकै हो । अनि मलाई त्यही कुरा हौसला बन्यो । गीत पास–फेल जे भए पनि नतिजा स्वीकार्य छ । जय पाठक !
गीत
तिम्रो नाममा हरेक साँझ दियो मैले बालिनँ कि !
हरेक थुम्का देउरालीमा फूल मैले फालिनँ कि !!
सुनौला ती खुसीहरू हराएकी छुटे कतै !
सिसाझै सफा कुरा मैलिए कि फुटे कतै !!
सङ्लो माया जोगाउन मैले अठोट पालिनँ कि !
हरेक थुम्का देउरालीमा फूल मैले फालिनँ कि !!
शान्त यो जिन्दगीमा भन किन छाल ल्यायौ ?
सादा यो जिन्दगीमा भन किन जाल ल्यायौ ?
विश्वासको शिखर टेक्न पाइला मैले चालिनँ कि !
हरेक थुम्का देउरालीमा फूल मैले फालिनँ कि !!
नभेट्दै पल्क्यौ भन्यौ, आगोविनै सल्क्यौ भन्यौ !
अनमोल हिरा पनि सिसाझँै टल्क्यौ भन्यौ !
ननिभोस् दियो भनी तेल मैले हालिनँ कि !
हरेक थुम्का देउरालीमा फूल मैले फालिनँ कि !!
यो मन जाँच्ने कसी के हो एकपटक त बोली हेर !
सुन हुँ कि फलाम हुँ म आगोमा त पोली हेर !!
तिम्रो नाममा हरेक साँझ दियो मैले बालिनँ कि !
हरेक थुम्का देउरालीमा फूल मैले फालिनँ कि !!