साहित्य

कविता

नियान्डरथलको आगो सभ्यता

गोविन्द न्यौपाने | फागुन १४, २०७८

ओ ! आगोको प्रथम प्रयोगकर्ता नियान्डरथल, 
कुन अभिप्रेरणाले तिमीले आगो पत्ता लगायौ ? 
र,
सभ्यताको आदिम इतिहासलाई सुनौलो भविष्यतिर डोर्‍यायौ ? 
तिमीले आगो पत्ता नलगाएको भए, 
के वैदिक स्रष्टाहरूले आगो पार्ने मन्त्र लेख्थे र ?
के आर्यहरूले अग्न्यास्त्र कल्पन्थे र ?
के पश्चिमी  मिथकमा आगो चोर्ने देवता जन्मन्थे र ? 
के बालकृष्ण समजीले आगो र पानी खण्डकाव्य लेख्थे र ?
आइन्स्टाइनको इ=एमसी स्क्वायरको सिद्धान्तमा पनि आगोकै बीजरूप देखिन्छ नि

यसकारण ! आगोको आरनमा तिमी,
सभ्यताको महानायक हौ,
सभ्यताको शिलखानामा तिमी,
अग्नि गायक हौ,
त्यसैले त सभ्यताको अग्निवेदीमा,
तिमीलाई सम्झिरहेको छु,
त्रासद हिमयुगको अन्त्यपछि, 
क्याम्प फायर गरिरहेको छु,
ठकठक ठकठक ठोक्किँदा पाषाण औजार !
आगोका  झिल्काहरू झल्कियो र त ! 

तिम्रो आदिम चेतना आगोसँग खेल्न सक्यो ! 
हे अग्निपूजक नियान्डरथल !
हे अग्नि सर्जक नियान्डरथल ! 

आगोको यज्ञवेदीमा म 
अग्निमिडे पुरोहितम्को राग अलापिरहेको छु !!
अग्निमिडे पुरोहितम् को राग अलापिरहेको छु !!
तिमीले पत्ता लगाएको आगो,
मृत्यु बनेर बज्रियो जापानको नागासाकि र हिरोसिमामा,
इराक र युक्रेनमा,
आज पनि
अमेरिका र रुसको अणुभट्टीमा
आगो उत्पादन हुँदै छ महाकाल समान,

अहंकारको अग्नियुद्धमा आगो सभ्यता नासिँदै गर्दा,
म भने विश्वशान्तिको कामना गर्दैछु,
नियान्डरथललाई सम्झेर

ॐ अग्नाय स्वाहाको आलापमा,
अग्निमिडे पुरोहितम्को आलापमा
नियान्डरथल गुन्जिन्छ महान् आविष्कारक बनेर
किनभने नियान्डरथलको आगो विनाशका लागि थिएन,
सिर्जनाको लागि थियो 
नियान्डरथलको आगो सभ्यता
नियान्डरथलको आगो सभ्यता !!

भाइरल गाउँ

मुक्ति नेपाली | माघ २९, २०७८

गाउँमा विकासको लहर आयो । पहिले खानेपानी आयो । एक घन्टा तल पुगेर डोको र नाम्लोले गाग्रीमा पानी ब...

प्रेमोत्सव

बालिका थपलिया | माघ २९, २०७८

प्यारो मनमीत ! कविहरूलाई अनि मुटुलाई प्रेमसँग तुलना गरेँ । यसलाई प्रेमको निवासस्थान पनि भनेँ । जब कु...

कृष्ण पौडेल लिखित विश्व आर्थिक क्रान्ति : सुमेरदेखि सिलिकन भ्यालीसम्म' सार्वजनिक

इकागज | माघ १६, २०७८

काठमाडौँ-  आर्थिक इतिहासका अध्येता कृष्ण पौडेलको पुस्तक 'विश्व आर्थिक क्रान्ति : सुमेरदेखि ...