यो संविधान कसका लागि ?
०००
संविधान बुझ्नै सकिनँ, ख्वामित् !
संविधान जति गहिरिएर पढ्छु
वारिपारि जति गहिरिएर हेर्छु
झन् केही पनि नबुझ्ने हुन्छु
तर मैले बुझ्नै पर्दछ रे
किन भनेर सोध्दा
जवाफ पाएँ
नागरिक हुन !
हजारौँ प्रयास गरँे
अक्षर, अक्षर हेरेँ
सल्टाएँ, पल्टाएँ, केलाएँ
विधि विधानको फेहरिस्त पढेँ
म नै शक्तिको स्रोत
मलाई खान–लगाउन पुग्ने गराउन
हँसिलो–रसिलो पार्न
स्वस्थ, सुकिलो पार्न
सातौँ असमानमा पु¥याएको देखेँ
बन्ने अनेक रूप देखेँ
स्वरूप देखेँ
तर के गरूँ, प्रभु ?
आफ्नै स्वरूप देखिनँ
वारिपारि हेर्दा
अरू नै स्वरूपहरू देखँे
नाम, बेनाम र बदनामहरूको
अलकापुरी देखँे
आलिसान महलको झिलिमिलीमा
चिल्ला गाडीहरूको लाइन देखेँ
सुकिला मुकिलाको तँछाडमछाड
जोनिवाकरको चुस्की
मालिकको खुसीमा
आभूषणको वर्षा देखेँ
तर आफ्नो झुप्रो
लडेर तल पुगेको
टारघरे भाइको चिनो पनि छैन
त्यहाँ त पराइको घरबार पो ठडिएको
कुलोको पानी अरू कै भएको
आफ्ना गाउँलेहरू कता पुगेछन् कता
गाउँघर त पराईले भरिँदै गएको
किन भनेर सोध्दा ?
जवाफ पाएँ
विकास र समृद्धिका लागि
अब त अझ घोरिएर संविधान हेरेँ
सातौँ असमानमा पु¥याइएको आफूलाई नै देखेँ
झन् संविधान बुझिनँ
मुख सुकेर आयो
पानी पिउन आफ्नो बटुको खोजँे
त्यो पनि गायब
‘होली वाइन’को कप पो झुल्कियो
संविधान बुझ्नै नसक्ने भएँ, प्रभु
मेरो केही लागेन
लौन हजुर, म के गरूँ?
संविधान नबुझी हुन्न
म त मुलुकको नागरिक हुँ
नबुझेपछि प्रश्न गर्न मन लाग्छ
उर्दी लागे पनि
यो संविधान कसका लागि ?