सुदूरपश्चिम

छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

इकागज | साउन ३१, २०७८

कैलाली – शनिबार घरको छतबाट खसेर एक महिलाको मृत्यु भएको छ । गोदावरी नगरपालिका १ अत्तरियाको वनखेतमा निर्माणाधीन घरको छतबाट खस्दा महिला मजदुरको मृत्यु भएको हो । 

निर्माणाधीन घरमा काम गरिरहेकी गोदावरी नगरपालिका ६ लालपुरकी ३७ वर्षीया बसन्तीदेवी जैसीको छतबाट खसेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । छतबाट खसेर गम्भीर घाइते भएकी जैसीको उपचारको लागि अत्तरियास्थित पदमा अस्पतालमा लगिएको भए पनि त्यहाँ उपचार हुन नसकेपछि सेती प्रादेशिक अस्पताल धनगढी लगिएकोमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरिक्षक प्रेम शाहीले बताए । 

त्यस्तै शनिबार नै स्कुटर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । लम्कीचुहा नगरपालिका –६ मा स्कुटर दुर्घटना हुँदा सोही ठाँउँ बस्ने १९ वर्षीय गोपाल चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । 

प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार सुपप्र ००१ –००८ प १७८० नम्बरको स्कुटर अनियन्त्रित भई शनिबार राति साढे १० बजे दुर्घटनामा परेको थियो । दुर्घटनाबाट गम्भीर घाइते भएका स्कुटर चालक चौधरीको लम्कीचुहा अस्पतालमा उपचारका क्रममा राति नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।