भ्रष्टाचारी खोज्न सिंहदरबार गए पुग्छ : गगन थापा
धनगढी : नेपाली काँग्रेसका नेता गगन थापा सरकारविरुद्द खनिएका छन्। सोमबार धनगढीमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै उनी सरकारविरुद्ध खनिएका हुन्। उनले वर्तमान सरकारले शासन गर्ने वैधतासमेत गुमाएको आरोप लगाए ।
संघीयता कार्यान्वयनको लागि ठूलो अवसर वर्तमान कम्युनिष्ट सरकारले पाए पनि भ्रष्टाचारमा लिप्ट भएको उनको भनाइ थियो। उनले भने,‘ भ्रष्टाचारी खोज्न कहीँ जानुपर्दैन, बालुवाटार गए पुग्छ। सिंहदरबार गए पुुग्छ ।’
उनले सरकार अपराधलाई संरक्षण गरिरहेको समेत आरोप लगाए। निर्मला पन्तदेखि निर्जला चौधरीलाई बलात्कार गर्ने, हत्या गर्नेलाई संरक्षण गर्नेमा सरकारका गृहमन्त्री रहेको नेता थापाको भनाइ छ। थापाले लाचार र निरीह मुख्यमन्त्रीका कारण सुदूरपश्चिमका जनताले दुःख पाएको बताए।
मुख्यमन्त्रीको लाचारी र निरिहताका कारण सुदूरपश्चिमका जनताको परिवतर्नन र विकासको अपेक्षा पुरा नभएको नेता थापाको आरोप थियो।
‘सुदूरपश्चिममा लेखराज भट्ट र भीम रावलको पहलमा सेनिटाईजर बाडियो भनेर समाचार आउँछ। प्रदेश सरकारले के गर्यो ?’ उनले अगाडि भने, ‘यो प्रदेशको मुख्यमन्त्रीले संघीयताको भारी बोक्न सकेनन्। त्यसको भारी संघीयतालाई नबोकाउ, प्रधानमन्त्री र नेकपालाई बोकाउ ।’
उनले राष्ट्रपति विद्यादेवी भण्डारीले आफूलाई महारानी सम्झिन थालेको भन्दै आलोचना गरे ।