राजनीति

विरेन्द्रनरगरमा कर्फ्यू उल्लंघन गर्दै प्रदर्शन : १८ प्रहरी घाइते, २३ प्रर्दशनकारी नियन्त्रणमा

लक्ष्मी भण्डारी |
फागुन १७, २०७८ मंगलबार १०:३७ बजे

सुर्खेत - एमसीसीको विरोधमा प्रदर्शनकारी उग्र भएर तोडफोड र आगजनी गर्न थालेपछि लगाइएको कर्फ्यू उल्लंघन गर्दै प्रदर्शन जारी राखेका छन् । प्रहरीले कर्फ्यू उल्लंघन गर्ने २३ प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ भने झडपमा इन्सपेक्टरसहित १८ प्रहरी घाइते भएका छन् ।

घरबाहिर ननिस्कन आग्रह गर्दै माइकिङ गरिरहेका प्रहरीमाथि प्रदर्शनकारीले ढुंगा प्रहार गरेका हुन् । ढंगा प्रहारबाट नगर प्रहरी प्रमुख लालबहादुर सुनार पनि घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी रामप्रसाद घर्तीका अनुसार घाइते प्रहरीमध्ये नौ जनालाई उपचारको लागि अस्पताल लगिएको छ भने बाँकी नौ जना सामान्य घाइते छन् ।


दुईजना सर्वसाधारणसमेत घाइते भएका छन् । प्रदर्शनका कारण सुर्खेतको वीरेन्द्रनगर क्षेत्रमा तनाव भएपछि जिल्ला प्रशासन कार्यालय सुर्खेतले कर्फ्यू आदेश जारी गरेको हो । हिजो राति सवा ८ बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि आदेश जारी भएको हो ।

हिजो बन्दकर्ताले हिजो बेलुका सुर्खेतमा विभिन्न राजनीतिक दलका पार्टी कार्यालयहरूमा आगजनी र तोडफेड गरेका थिए । एमसीसी अनुमोदनको विरोधमा बन्द आह्वान गरेका दलका कार्यकर्ताहरूले नेकपा एमालेको पार्टी कार्यालयमा आगो लगाएका हुन् ।


Author

थप समाचार
x