३०-३०

३०-३०

म ‘आमा’भन्दा दुई वर्ष मात्र कान्छो छु

नीर शाह |
कात्तिक १५, २०७७ १०:४५ बजे

३०-३० स्तम्भ​ इकागजडटकमको सुरु दिनदेखिको विशेष शृंखला हो । ३० वर्षसम्म टिकेको पञ्चायती व्यवस्था सकिएको पनि अहिले ठ्याक्कै ३० वर्ष पूरा भएको छ । यसै सन्दर्भमा पछिल्लो ३० वर्षमा हामीले के चुम्यौं, केमा चुक्यौं ? अध्येता-अनुभवीका समीक्षात्मक अभिव्यक्ति यस स्तम्भमा शृंखलाबध्द रूपमा प्रकाशन भइरहेका छन् ।

निर्देशक तथा अभिनेता शाहसित पञ्चायती व्यवस्थाको ३० वर्ष र त्यसपछिको ३० वर्षका सिनेमाबारे थर्टी-थर्टी बहस :


पञ्चायत सुरु भएसँगै सिनेमा निर्माण सुरु भयो । २०२० सालमा बनेको ‘आमा’बाट आजको मितिसम्म गणना गर्दा नेपाली सिनेमाले ५७ वर्ष पार गरेको छ । यसमध्ये ५५ वर्षदेखि त म आफैँ यसमा काम गरिरहेको छु । नेपालमा सिनेमा के सोचले सुरु भयो ? यो विषयमा लामो चर्चा-परिचर्चा भइसकेको छ । तर, पञ्चायतका तीन दशकलाई हेर्ने हो भने पूर्वाधारको दशक भन्दा फरक पर्दैन । यस बीचमा पूर्वाधारको क्षेत्रमा उल्लेख्य काम भएको ठान्छु म ।

किनकि यही समयमा शाही चलचित्र संस्थानको स्थापना भयो । यसले फिल्म निर्माणलाई सुस्त सुस्तै सही, कमसेकम निरन्तरता दियो । थुप्रै नेपालीहरू सिनेमा पढ्न विदेश गए । फर्किए र थोरबहुत काम पनि गरे । तर, जुन किसिमको क्षितिज सिनेमाले माग्छ, त्यो चाहिँ उघारिएन । एउटा खास संकुचित दायराबाट बाहिर निस्कन सकेन ।

यस समयमा संगीत, वितरण प्रणाली, सिनेमा देखाउने प्रणाली सबै अस्तित्वमा आए तर तिनमा नियन्त्रण चर्को थियो । सरकार आफैँले काम गरेपछि नियन्त्रण गर्ने भइहाल्यो । यो समयमा राज्यले सिनेमा बनाउन सुरु गर्‍यो । यसको केही समयपछि निजी क्षेत्रबाट पनि फिल्म बन्यो । तर, निजी क्षेत्रबाट फिल्म बन्न राजनीतिक र सामाजिक स्वार्थ थियो भन्ने लाग्छ मलाई । सरकार ‘उदार पनि छ है’ भन्ने देखाउन निजी क्षेत्रलाई फिल्म बनाउन अनुमति दिएको जस्तो लाग्छ ।

यसरी निजी क्षेत्रबाट बनेको पहिलो फिल्म ‘माइतीघर’ थियो । तर, बीचमा के भयो कुन्नि ? लामो समयसम्म पनि निजी क्षेत्र फिल्म निर्माणमा आएन । मलाई लाग्छ, २०२३ मा रिलिज भएको ‘माइतीघर’पछि एकैचोटि २०३७ सालमा निजी क्षेत्रबाट ‘जुनी’ बन्योे । बरु यो बीचमा प्रवासबाट ‘परालको आगो’, ‘बाँसुरी’, ‘बाँच्न चाहनेहरू’ आदि केही फिल्म बनेका थिए ।

नेपाली सिनेमाले पञ्चायतमा जग हाल्यो, अनि प्रजातन्त्रमा बजार । 

निजी क्षेत्रबाट बन्ने तयारी गरेर घोषणा भएका केही फिल्म बनेनन् तर ती किन बनेनन् ? अध्ययनको विषय हुन सक्छ । निजी क्षेत्र सिनेमा निर्माणमा एकदमै आकर्षित भएको चैँ निर्मातालाई मनोरञ्जन कर फिर्ता दिन थालेपछि हो । यस्तो नियमले निर्मातालाई सिनेमा निर्माणमा केही प्ररेणा मिल्यो भने प्रतिस्पर्धी अन्य ‘बाहिरिया’ सिनेमाको भन्दा हाम्रो दर्शक-रेट पनि सस्तो पर्न गयो ।

पञ्चायतमा सिनेमा निर्माणमा मात्र होइन, पूर्वाधार निर्माणमा पनि नियन्त्रण थियो । सिनेमा हल खोल्न पाइँदैनथ्यो । कठिन मापदण्ड थिए । जस्तो कथामा मन लाग्यो त्यस्तो कथामा फिल्म बनाउन पाइन्नथ्यो । स्वतन्त्रता उपभोग गर्ने सवालमा पाबन्दी थियो । यी सबै कुरा त्यो समयका ‘माइनस प्वाइन्ट’ थिए । यथेष्ट जनशक्ति उत्पादन गर्ने काममा पनि त्यो समय चुकेको अनुभव हुन्छ मलाई । बलिउडको नक्कल गर्ने परिपाटी पनि यो समयको कमजोरी थियो । यस्ता यावत् कमजोरीका बाबजुद नेपाली सिनेमाको बजार स्थापित भयो त्यो ठूलो उपलब्धि हो । चलचित्र कर्मको जग बसाल्न सक्नु योभित्रको अर्को ठूलो उपलब्धि हो ।

विधागत विकासको दृष्टिकोणले हेर्दा पनि अलि निराशाजनक नै तस्बिर देखापर्छ । छायांकन तथा अभिनयमा बाहिरबाट सिकेर आएका मानिस थिए, तर तिनले पूर्ण क्षमतामा काम गर्न पाएनन् । जसले पाए तिनमा बलिउडको प्रभाव थियो । भी शान्ताराम, सत्यजित रे, मृणाल सेनबाट प्रभावित भएका भए अभिनयमा अर्कै शैली आउँथ्यो होला तर प्रभावित भइयो सस्तोमस्तो बलिउडबाट ।

जगन्नाथ तिमल्सिनाले अभिनय पढेर आएका थिए । बलमानसिंह स्वाँर पनि बाहिरबाटै पढेर आएका थिए । बुलन्द थापा, टीका पहारी, मीनाक्षी आनन्द पनि पढेरै फिल्ममा आएकी थिइन् । तर, सरकारले उनीहरूको ज्ञानको प्रयोग गरेन । उसबेला थिएटरका कलाकारलाई फिल्ममा चान्स दिनुहुन्न भन्ने थियो । मैले नै पनि ‘परिवर्तन’बाट डेब्यु गर्दा ‘एक्स्ट्रा’ जस्तो रोलबाट गरेको थिएँ । किनकि सिनेमामा आउनुभन्दा अघि म थिएटरमा काम गर्थें ।

सरकारले नै फिल्म बनाउँदा पनि मौलिक र यथार्थपरक चलचित्र निर्माणमा ध्यान दिएन, यो कुरा पनि सोचनीय छ । जगदीश शर्मा शाही चलचित्र संस्थानका पहिलो महाप्रबन्धक थिए ।  बालकृष्ण सम, माधव घिमिरे, यादव खरेल सबैजना साहित्यकार महाप्रबन्ध थिए । तर, कति साहित्यिक कृतिमा फिल्म बने ? धेरै भेटिन्न ।

२०४० सालमा सरकारले मनोरञ्जन कर फिर्ता लिने निर्णय कार्यान्वयन गर्न गरेपछि बल्ल नेपालमा फिल्म निर्माणले गति लियो । यसरी पञ्चायतको ३० वर्षको उपलब्धिको कुरा गर्दा सय प्रतिशत बजार अरुले ओगटेको समयमा ७० प्रतिशत बजार ओगट्ने अवस्थामा आइपुग्न जुन ‘फाउन्डेसन’ बन्यो त्यसलाई यो समयको उपलब्धि मान्नुपर्छ । त्यो समयका सिनेमा कमसल थिए, तर ग्रामीण दर्शकले रुचाएका थिए । प्रजातन्त्रको प्राप्तिपछि स्वतन्त्रताको औसर प्राप्त भयो र यसले सिनेमालाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्यायो । यसले सिनेमा मुम्बइया फर्मुलामा मात्र बन्ने रहेनछन् भन्ने ज्ञान ल्यायो । नयाँ समयमा नयाँ कन्टेन्ट आयो र नयाँ जनशक्ति पनि आयो ।

पहिलेका धेरै हयाङओभर बाँकी छन्, तिनले हाम्रो विकासमा अवरोध गरिरहेका छन् ।

यो बीचमा संगीत उद्योगले व्यापक प्रगति गर्‍यो । पहिला संगीत सम्बन्धी जे कामका लागि पनि भारत पुग्नुपथ्र्यो । रेकर्डिङको नाममा रेडियो नेपाल थियो र अलि पछि रत्न रेकर्डिङ आयो । पञ्चायतको उत्तरार्धमा टेलिभिजन पनि नेपाल भित्रियो । यसले समाजलाई संकुचित घेराबाट बाहिर निकाल्यो । यसको प्रभाव स्क्रिनमा देखिन थाल्यो । त्यो चेतलाई प्रविधिले पनि राम्रो साथ दियो । तर, सुरुमा नयाँ प्रविधि आउँदा ठूलो हिचकिचाहट थियो । अन्तमा प्रविधिले जितिछाड्यो । यो बीचमा कहाँ कहाँ त्रुटि भए, कहाँ चुकियो भनेर खोज्ने हो भने प्रशस्त बुँदा टिप्न सकिन्छ । तर, यो सब कुरा हाम्रो स्वतन्त्रतासँग जोडिएको छ । गहन प्राज्ञिक अध्ययन गर्ने हो भने यो कुराले धेरै फरक पारेको देख्न सक्छौँ ।

अब प्रश्न आउँछ, प्रजातन्त्र आएको लामो समयपछि पनि किन क्षितिज अपेक्षा गरेझैँ उघ्रिएन ? किन हाम्रा सिनेमा एक ठाउँमा गोलचक्कर लगाइरहे ? मलाई लाग्छ, यसको कारण हाम्रो ‘स्कुलिङ’ नै हो । इमानदार भएर भन्दा दोस्रो तीस वर्ष पहिलो तीस वर्षको निरन्तरता हो । अघिल्लो पुस्तासँग सिकेकाले नै अहिलेको पुस्तालाई सिकाइरहेका छन् । त्यसैले त्यो समयका फिल्मलाई त्यो समयको निरन्तरताको रुपमा पनि बुझ्नुपर्ने हुन्छ ।

समग्रमा सिनेमाको यात्रालाई दुई भागमा राखेर हेर्दा स्वतन्त्रता केन्द्रमा आउँछ । किनकि स्वतन्त्रताका अघि अरू कुरा गौण हुने रहेछन् ।  

अलि कठोर भएर हेर्ने हो भने दोस्रो तीस वर्षमा अरु क्षेत्रमा जस्तै यो क्षेत्रमा पनि परिवर्तन नभेट्न सक्नु हुन्छ । यसले के देखाउँछ भने सम्पूर्ण वातावरण सङ्लिसकेको छैन । किनकि सिर्जना समाजभन्दा निरपेक्ष हुन्न । सिनेमा पनि निरपेक्ष छैन । यसमा पनि देशको अर्थ-राजनीतिको प्रतिविम्ब  देखिन्छ ।

यहाँ राम्रो सोचिएको पनि छ र पृथक् सोच्ने सवालमा जथाभावी पनि सोचिएको छ । पहिलेका धेरै हयाङओभर बाँकी छन्, तिनले हाम्रो विकासलाई अवरोध गरिरहेका छन् । तर, अब त्यो कुरा परिवर्तनको चौखटमा छ । चाँडै परिवर्तन हुन्छ ।

समग्रमा सिनेमाको यात्रालाई दुई भागमा राखेर हेर्दा स्वतन्त्रता केन्द्रमा आउँछ । किनकि स्वतन्त्रताका अघि अरू कुरा गौण हुने रहेछन् ।  योबाहेक यो दुई कालखण्डलाई सारमा भन्ने हो दुइटा शब्दमा अभिव्यक्त गर्न सकिन्छ । पहिलो कालखण्डमा सिनेमाको जग बस्यो भने दोस्रोमा बजार । (नोट :शीर्षक परिमार्जन गरिएको छ)
(निर्देशक तथा अभिनेता शाहसित सामीप्यराज तिमल्सेनाको कुराकानी)


३०-३० शृंखलाका यसअघिका सामग्री :



Author

नीर शाह

(शाह निर्देशक तथा अभिनेता हुन् ।)


थप समाचार
ad
x