३०-३०/हास्यव्यंग्य
बीपी मोडल डेमोक्रेसी, एमाले घनसलाम र प्रजातन्त्र जेम्स बन्ड
३०-३० स्तम्भ इकागजडटकमको सुरु दिनदेखिको विशेष शृंखला हो । ३० वर्षसम्म टिकेको पञ्चायती व्यवस्था सकिएको पनि अहिले ठ्याक्कै ३० वर्ष पूरा भएको छ । यसै सन्दर्भमा पछिल्लो ३० वर्षमा हामीले के चुम्यौं, केमा चुक्यौं ? अध्येता-अनुभवीका समीक्षात्मक अभिव्यक्ति यस स्तम्भमा शृंखलाबध्द रूपमा प्रकाशन भइरहेका छन् । अभिनेता हरिवंश आचार्यकाे विचार :
हामीले हास्यव्यंग्य सुरु गर्दाताका पार्टी प्रतिबन्धित थिए । जे गर्न पनि सरकारको अनुमति लिनुपथ्र्यो । २०३४ सालदेखि मैले हास्यव्यंग्य गर्न थालेको हुँ । सुरुका केही वर्ष मैले एक्लै कार्यक्रम गर्ने गरेको थिएँ । सोलो प्रस्तुति हुन्थ्यो । जमेकै थिएँ ।
२०३७ सालदेखि भने मदन दाइ (मदनकृष्ण श्रेष्ठ) र म जोडिएर कार्यक्रम गर्न थाल्यौँ । उसबेला मदन दाइ पनि एक्लै कार्यक्रम गर्नुहुन्थ्यो । गाईजात्राका दिन भेट हुन्थ्यो । दाइसँग पातलो पातलो चिनजान थियो । राष्ट्र बैंकको रजत जयन्तीमा राजा आउने र धेरै समय नबस्ने भएकाले उसबेलाका गर्भनर कल्याणविक्रम अधिकारी र राष्ट्र बैंककै सिनियर कर्मचारी गायक रुबी जोशीको अनुरोधमा मदन दाइ र मैले संयुक्त रूपमा कार्यक्रम गर्यौं ।
मञ्चमा प्रस्तत गर्ने कार्यक्रमको स्क्रिप्ट अञ्चलाधीश कार्यालयबाट पास गराउनुपथ्र्यो । राजा, राजपरिवार, प्रधानमन्त्री, पञ्चायत कसैलाई घोचपेच गर्न पाइँदैनथ्यो ।
हामी अञ्चलाधीशलाई पठाउने स्क्रिप्टमा सरकारको गुणगान गरेर पठाउँथ्यौँ तर प्रस्तुत गर्ने बेलामा सरकारलाई व्यंग्य गरेको कुरा प्रस्तुत गथ्र्यौं । कार्यक्रम गर्दा कि स्टेजमा हुन्थ्यो कि सडकमा । स्टेजमा गर्दा बढीमा ५ सय, हजार दर्शक हुन्थे । सडकमा गर्दा ८/१० हजार दर्शक हुन्थे ।
सरकारले खासै चासो दिन्थेन । तर, २०३८ सालमा हामीले देखाएको गाईजात्रा ‘यमलोक’ क्यासेटमा निकाल्यौँ । यो क्यासेट यति लोकप्रिय भयो कि यसपछि भने सरकार चनाखो भयो । त्यसपछि त एक–दुई सो गर्न पाएको छैन, प्रहरी कार्यक्रमस्थलमा घुम्न थाल्थे ।
हामी बीचैमा कार्यक्रम छाडेर भाग्थ्यौँ । तर, यसबीचमा चलाखी के गथ्र्यौं भने पहिलो दिन नै साउन्डको मान्छेलाई भनेर प्रस्तुति पूरै रेकर्ड गराउँथ्यौँ । सरकारले भोलि कार्यक्रम गर्न दिएन भने यही चिज क्यासेटमा बजारमा जान्थ्यो । तर, ४० सालतिर हुनुपर्छ हामीले ‘होस्टे हैँसे’ भन्ने प्रहसन प्रस्तुत गरेका थियौँ । त्यतिबेला पिस्कर काण्ड भर्खरै घटेको थियो । मालेले गरेको आमसभामै गएर प्रशासनले गोली चलाएर केही युवकको मृत्यु भएको थियो । हामीले सो प्रहसनमा यही कुरा उल्लेख गरेका थियौँ ।
पछिल्लो समय फिल्म र टेलिभिजन दुवैतिर कमेडीको दबदबा छ । तर, दुवैतिर कमजोर कन्टेन्ट आइरहेका छन् ।
तर, प्रशासनले यसपालि हामीलाई समात्यो । हनुमान ढोकामा राखे । तर, हामीलाई पक्रेको देखेर अखिल, नेविसंघ सबै विद्यार्थी संगठन सडकमा आन्दोलन गर्न लागे । प्रशासनले आइन्दा सरकार विरोधी काम नगर्ने तमसुकमा साइन गरेर छाड्ने भयो । तमसुकमा साइन गर्दा मैले मेरो नामको साटो त्यतिबेलाका बहालवाला प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको साइन गरेँ ।
उसबेला लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री र पद्मसुन्दर लावती गृहमन्त्री हुनुहुन्थ्यो । तर, यो काण्डपछि मदन दाइ र मेरो दुवैको जागीर गयो । म राष्ट्र बैंकमा अस्थायी थिएँ । मदन दाइ कृषि विभागमा हुनुहुन्थ्यो । अफिसले स्पष्टीकरण मागेपछि त्यो दिनुको साटो मदन दाइले राजीनामा दिनुभएछ ।
हामीले हास्यव्यंग्य गरिरहेको समयमा राजपाल हाडा र धु्रव हाडाको जोडीले पनि प्रहसन गर्नुहुन्थ्यो । उहाँहरू दुवै जना प्रहरीको जागीरे । त्यही भएर प्रशासनसँग धेरै जोरी खोज्न नमिल्ने । उहाँहरूको कार्यक्रम सामाजिक धेरै हुन्थ्यो । गोपालराज मैनाली फिल्मतिर चंखेको भूमिकाका लागि व्यस्त हुनुहुन्थ्यो । अनि रामशेखर नकर्मी हुनुहुन्थ्यो जो नेवारीमा मात्र कार्यक्रम गर्ने ।
त्यतिबेला हास्यव्यंग्य हाम्रा लागि एडिक्सन जस्तै थियो । जेल–नेलको डर भए पनि छाड्न नसक्ने । उसबेलाका राजनीतिज्ञ जस्तै । उनीहरूलाई पनि ज्यान, धन जाने डर थियो तर राजनीति गर्न नछाड्ने । हामीलाई उसबेला समाजले हेर्ने नजर पनि फरक थियो । हामी ‘नन पोलिटिकल पोलिटिसियन’ जस्तो भएका थियौँ । अझ हामीलाई गणेशमान सिंह र कृष्णप्रसाद भट्टराई जस्तो नेताले क्षेत्रपाटी, चाक्सीबारीतिर बोलाइरहने । हौसला दिइरहने । यही कारण पनि हामीले जति रिस्क हुँदा पनि यो पेसा छाड्न सकेनौँ ।
सरकारका लागि पनि हामी बिघ्न आँखी थिएनौँ । किनभने, हामी उग्र थिएनौँ । सरकारलाई व्यंग्य गथ्र्यौं तर सांकेतिक रूपमा । मलाई लाग्छ, आर्ट भनेको सांकेतिक नै हुनुपर्छ । ठाडो गाली आर्ट हैन, आक्रोश हो । जस्तो ‘यमलोक’ भन्ने प्रहसनमा हामीले विकास नभएको, न्याय नपाएको कुरालाई संकेतमा भन्नलाई यी सब कुरा मरेर यमलोकमा आइपुगेको संवाद राखेका थियौँ ।
तमसुकमा साइन गर्दा मैले मेरो नामको साटो त्यतिबेलाका बहालवाला प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको साइन गरेँ ।
हेर्ने सबैलाई थाहा हुन्थ्यो, यो सरकारलाई भनेको हो तर सिधा हुन्थेन । दर्शक रमाइलो मान्नुहुन्थ्यो । हामी बीपी कोइरालाको नाम लिनुपर्यो भने मोडल डेमोक्रेसी भन्थ्यौँ । घनसलाम भन्यो भने एमालेलाई भन्या हो भन्ने बुझिन्थ्यो ।
‘लन्डन एयरपोर्ट’ भन्ने प्रहसनमा हामीले प्रजातन्त्र जस्को हातमा राख्यो उस्तै हुन्छ भनेर भन्नलाई संवाद राखेका छौँ जसको अन्त्यमा ‘कोटको खल्तीमा राख्यो भने कोट जस्तै हुन्छ’ भन्ने कुरा परेको छ । यसको मतलब राजाले प्रजातन्त्र गोजीमा राखेका छन् भन्न खोजेको हो ।
यसबाहेक हामीले पञ्चलाई व्यंग्य गर्नुपर्यो भने पञ्चनारायण, प्रशासनलाई भन्नुपर्यो भने प्रशासनभक्त, यस्तै यस्तै शब्द प्रयोग गथ्र्यौं । प्रजातन्त्र कहिले आयो भनेर भन्नुपर्यो भने हामी जेम्सबन्ड साल भन्थ्यौँ । जेम्स बन्डको कोड जिरो जिरो सेभेन थियो । र, हाम्रोमा प्रजातन्त्र आएको साल पनि २००७ नै ।
प्रजातन्त्र आएपछि भने हास्यव्यंग्यले बाटो बिराएको जस्तो लाग्छ । बोलीमा बन्देज होस् कि नहोस्, यो विधाको सौन्दर्य नै भन्नुपर्ने कुरालाई सिधा नभनेर घुमाएर भन्नुमा निहित हुन्छ । तर, आजभोलि यो विधाले त्यही कुरा बिर्सिएको भान हुन्छ । व्यंग्य यस्तो होस् कि जसलाई भनेको छ ऊ पनि नरिसाओस् । तर, दोस्रो प्रजातन्त्रपछि हामी ठडौरो भएका छौँ भन्ने लाग्छ ।
पहिला ड्रिबलिङ, अहिले पेनाल्टीमा गोल ।
पञ्चायतको समयमा राजनीतिक व्यंग्य हाम्रो मुख्य कन्टेन्ट हुने गथ्र्यो तर हाम्रो यो बाध्यता थियो । किनकि राजनीतिबारे खुलेर कुरा गर्न सक्ने वातावरण थिएन । तर, प्रजातन्त्र आएपछि पनि हामीले यो कन्टेन्टलाई विविधीकरण गर्न सकेनौँ । राजनीतिमा पनि नेताको क्यारिकेचर गर्नमा हाम्रो सामथ्र्य खुम्चियो ।
सामाजिक मुद्दालाई व्यंग्यको विषयमा समेट्न सकेनौँ । क्यारिकेचर गर्नु नराम्रो होइन तर सधैँ एकै नेताको मात्र क्यारिकेचर कति गर्ने ? हास्यव्यंग्यमा पञ्चलाइन भएर मात्र हुन्न ड्रामा पनि चाहिन्छ । खेलाउँदै खेलाउँदै पञ्च गरेको कुरा असरदार हुन्छ ।
चार्ली च्याप्लिनले आफूलाई सधैँ कारुणिक पात्रका रुपमा प्रस्तुत गरेर दर्शक हँसाए । मह सञ्चारले बनाएको ‘लालपुर्जा’मा मैले ध्रुवराम भन्ने यस्तै पात्र निर्वाह गरेको छु । ‘कान्तिपुर’मा वडाध्यक्षको भूमिका गरेको छु, जो समस्याका चाङले एकपछि अर्को गरी पुरिँदै जान्छ ।
पछिल्लो समय कमेडीको व्यापार बढेको छ, यो खुसीको कुरा हो । ‘वन मेन सो’ गर्नेहरू पनि प्रशस्त आउनुभएको छ । यसरी आउने कोही कोही असाध्यै राम्रो अभिनय गर्नुहुन्छ । तर, कन्टेन्ट छनोटमा समस्या देख्छु ।
कतिले हँसाउने नाममा सीमा नाघेको पनि देखेको छु । महिला, जाति–जनजाति, धर्म, संस्कार आदिलाई होच्याउने खालका शब्द पनि प्रयोग भएका छन् । यो कमजोरी हो । यस्ता कुराको आलोचना गर्ने कुरामा कहिलेकाहीँ हामी अति संवेदनशील पनि भएका छौँ । कति चाहिँ विकासे आरोप पनि छन् । तर, हिन्दी फिल्म हेर्दा चाहिँ हत्तेरी के गरेको होला भने जस्तो लाग्छ । त्यो हेरिकन् त हामी चेतनामा धेरै अगाडि छौँ भन्ने लाग्छ ।
प्रजातन्त्र आएपछि भने हास्यव्यंग्यले बाटो बिराएको छ ।
भर्खरै केही टेलिभिजन कार्यक्रम र प्रस्तोतामाथि मधेसका साथीहरूले प्रश्न उठाउनु भयो । हाम्रोमा व्यंग्य गर्दा मधेस र नेवारी समुदायलाई अलि धेरै चित्रण गरेको पाइन्छ । यदि त्यो समुदायले हामीले निर्वाह गरेको भूमिकामा आपत्ति जनाउँछ र नगर भन्छ भने हामीले त्यो कुरा मान्नु पर्छ । त्यो बाटो हिँड्न बन्द गर्नुपर्छ । किनकि व्यंग्य गर्नलाई हामीसँग प्रशस्त विषय छन्, तिनलाई ज्यादाभन्दा ज्यादा कलात्मक तरिकारले अभिव्यक्त गर्ने शैलीको विकास गर्नुपर्छ । त्यो मामलामा अहिलेको पुस्ता सजग र मेहनती हुनुपर्छ ।
पछिल्लो समय फिल्म र टेलिभिजन दुवैतिर कमेडीको दबदबा छ । तर, दुवैतिर कमजोर कन्टेन्ट आइरहेका छन् । फिल्मको मलाई उति धेरै थाहा छैन तर टेलिभिजनमा चैँ हामी पनि अलि धेरै काम गर्ने हुनाले यसको समस्यासँग अलि ज्यादा परिचित छौँ भन्ने लाग्छ ।
सामाजिक मुद्दालाई व्यंग्यको विषयमा समेट्न सकेनौँ । क्यारिकेचर गर्नु नराम्रो होइन तर सधैँ एकै नेताको मात्र क्यारिकेचर कति गर्ने ?
टेलिभिजनमा एउटा एपिसोड बनाउन धेरै पैसा खर्च हुन्छ । तर, त्यसको दाँजोमा कमाइधमाइ भने असाध्यै कम छ । टेलिभिजनले भागशान्तिमा ३०–४० हजार रुपैयाँसम्म दिन्छन् । यता नेपाल टेलिभिजनले सबैभन्दा राम्रो निर्मातालाई डेढ–लाख रुपैयाँसम्म दिन्छ । तर, तपाईंले गुणस्तरीय सिरियल बनाउने हो भने एक भागमा कम्तीमा चार लाख रुपैयाँसम्म खर्च हुन्छ ।
यो क्षेत्रमा पैसा नभएपछि राम्रो मान्छे आउँदैनन्, मेहनत पनि हुँदैन । बौद्धिक मान्छे यता आकर्षित हुन्नन् । पैसा कम भएपछि एउटै मान्छेले लेख्छ, निर्देशन गर्छ, खिच्छ र अभिनय पनि गर्छ । एउटै मान्छेले सबै कुरा गरेपछि निश्चित छ, राम्रो सिरिज बन्दैन । यो समस्या हो । फिल्ममा त म आफैँ पनि सिक्दै छु । पछिल्लो कालखण्डको मुख्य समस्या नै यही लागिरहेको छ, हामी विषयको विविधताबारे सोचिरहेका छैनौँ र सोचेको विषयलाई कलात्मक तरिकाले भन्ने प्रयास गरिरहेका छैनौँ । पञ्चायतमा हास्यव्यंग्य खेलाडीले सेन्टरबाट बल खेलाउँदै, छक्याउँदै गोल हाने जस्तो हुन्थ्यो । एकदमै मज्जा आउँथ्यो । अहिले पेनाल्टीमा गोल हानेजस्तो छ । उतिसारो मजा आउँदैन ।
(अभिनेता तथा लेखक आचार्यसँग सामीप्यराज तिमल्सेनाले गरेको कुराकानी)
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया