सुनसान हुँदै छन् पहाडी सिमीगाउँहरू
छेतछेतबाट तामाकोशी तरेर सिमीगाउँतिरको ठाडो उकालो उक्लेको केही बेरमै पसिनाले हाम्रो जिउ पूरै निथु्रक्क भइसकेको थियो । तल नदी सुसाएको सुनिन्थ्यो । सिमीगाउँ कतिखेर पुग्ने हो, कुनै अतोपत्तो थिएन । ‘२–२ः३० घण्टामा पुग्नुहोला’, उँधो ओर्लिदै गरेका बटुवालाई सिमीगाउँको दुरी सोध्दा भने । केही समय पछि अँध्यारो हुँदै थियो । पहाडतिर रात चाँडै खस्छ । बीच जंगलको उकालो सकभर चाँडो छिचोल्न पाए हुने मनोभाव भए पनि उति हिँड्ने बानी नलागेका हामीलाई उकालोमा लमकलमक लम्किन सजिलो थिएन ।
बाटोमा भेटिइन्– लैकी शेर्पा । बुढेसकालमा तनमा मात्र होइन, मनमा पनि केटाकेटी फिर्छ रे । एक्लै उकालो उक्लिँदै गरेकी ६१ वर्षकी लैकी हामीलाई देख्नेबित्तिक्कै वर्षौं पछि भेटिएका आफन्तसँग जस्तै झ्यामिइन् । शेर्पिनी महिलाले लगाउने भेषभुषा छुबामाथि पाङ–दान लगाएकी उनले उकालो उक्लिन सजिलो होस् भनी छुबा कम्मरमा पट्याएकी थिइन् । त्यसो नगरे उनलाई कतै होचो र कतै अग्लो असमान सिँढी उक्लिन झनै गाह्रो हुने थियो ।
एउटै बाटो हिँड्दै गरेका मानिस नै यात्राका साथी हुन् । सबैका गन्तव्य एउटै नहुन पनि सक्छ । तर, जहाँसम्म गन्तव्य मिल्छ, सहयात्रा गर्नु नै यात्रुको धर्म हो । लैकी पनि जान त सिमीगाउँ नै जाँदै थिइन् । तर, हामीले पुग्ने सिमीगाउँको ठाउँभन्दा उनको घर तलै रहेछ । तर, सिमीगाउँको मुखसम्म जान उनका हामी सहयात्री र हामी उनका सहयात्री बन्यौँ ।
लैकीले बोलेका सबै कुरा हामीलाई बुझ्न सजिलो थिएन । शेर्पा लवजमा उनले हामीसँग अनेक थरी कुरा गरिन् । अंग्रेजी शब्द मिसिएको हाम्रो बोली उनले कति बुझिन् कुन्नि ! तथापि, संवादका धेरै थरी औजारमध्ये एउटा औजार हो– भाषा । संवादका अरू पनि धेरै माध्यम हुन्छन् । लैकी हाँस्दा उनको माथिल्लो दन्तलहरको एउटा दाँत झरेको प्रस्ट देखिन्थ्यो । मुजा परेको उनको अनुहार हाँस्दा आँखाको दुवै कुनातिर अझ खुम्चिन्थ्यो । उनको त्यो अर्गानिक हाँसो नै हाम्रो सिमीगाउँ यात्राको साथी बन्यो ।
लैकीका बुढा ‘सुन खोज्न गएको’ झन्डै दुई वर्ष भयो । (सुन खोज्न जानुको अर्थ निधन भयो भन्ने हो ।) एक छोरी छिन् । विदेश गएकी छिन् ।
‘कुन देश गएकी छिन् र ?’
‘था छैना । उसैले पठाएको पैसा लिन विदेशमा सँगै काम गर्ने साथीलाई भेट्न तल झरेको ।’
‘ल्याउनुभयो त पैसा ?’
‘छोरीको साथीले उसैको घरमा आउनु भनी । म कहाँ त्यहाँसम्म जान सकुँला र ? टाढा पर्छ ।’
लैकीको माइती शेर्पा हो । तर, उनी सिमीगाउँकी तामाङसँग भागिन् । बेलाबेला ठट्यौली गर्दै उनी हामीलाई अर्गानिक ज्ञान पनि बाँड्दै थिइन्–छोरा मान्छेको घर हुँदैन, छोरी मान्छेको थर हुँदैन । सायद आफ्नो गहिरो कुरा हामीले नबुझेजस्तै लागेर हुनुपर्छ, उनले आफ्नो कुरामा थप व्याख्या गर्दै भनिन्, ‘छोरा मान्छे काम र कमाउने शिलशिलामा कहाँ पुग्छ, कहाँ बस्छ कुनै टुंगो हुँदैन ।
छोरीको पनि को सँग विवाह हुन्छ, कसको घरमा बस्नुपर्छ कुनै टुंगो हुँदैन । त्यसकारण छोराको घर हुँदैन, छोरीको थर हुँदैन ।’ सहरमा हुँदो यस्ता उखानलाई महिलाद्वेषी मानिन सक्छ । तर, नेपाली समाजको भित्री कलेवर यस्तै उखान टुक्कामार्फत व्यक्त भइरहेको हुन्छ ।
पहाडी बाटोमा चौतारी नहुनु तराईको बाटोमा पानीको चापाकल नहुनु जस्तै हो । झन्डै बिच बाटोमा केही बेर थकाइ मार्न रोकियौँ । हामीले बोकेका केही तयारी खाजा फाँको मार्दै खायौँ । लैकीले पनि स्वाद मानेर खाइन् । घटघट पानी खाएर उक्लिने तर्खर गर्दै गर्दा लैकीले हामीसँगै गएकी बहिनीतिर हेर्दै भनिन्,‘म केटा मान्छे हुँदो, यी नानीलाई मोहनी लगाउने थिएँ ।’ सिमीगाउँको उकालो धेरै गाह्रो हुने थिए, लैकीको रसिक स्वभावसँग सहयात्रा नगर्दा हौँ त ।
सिमीगाउँ पुग्दा झमक्क अँध्यारो खसिसकेको थियो । नदी पारिको अग्लो पहाड रंग बद्लेर अँध्यारो अजंगको राक्षसजस्तो उभिरहेको थियो । गाउँ सुनसान थियो । एकाध धुरीमा बुढाबुढी मान्छे देखिए । लैकी अघि भन्दैथिइन्,‘को बस्छ गाउँमा ? सबै विदेश छन् । बाँकी काठमाडौँमा छन् । गाउँ त हामी बूढाबूढीले कुर्ने हो ।’
झन्डै दसकअघि सिन्धुपाल्चोकको लिपिङबाट फर्किंदा बाटोमा एक जना बहिनीसँग भेट भएको थियो । (माफ गर्नुहोला, उनको नाम मैले बिर्सेँ ।) उमेरले बहिनी भए पनि जीवनको भोगाइमा उनले हामीभन्दा धेरै रंग देखिसकेकी थिइन् । लिस्टी पनि सिमीगाउँ जस्तै सुनसान थियो । २०–४० वर्षका युवायुवती कोही पनि थिएनन् । भर्खर बीस टेकेकी तिनी बहिनी केही वर्ष साउदी अरबमा काम गरेर फेरि विदेश जान काठमाडौँतिर जाँदै थिइन् । लिस्टीबाट तल हिन्दीतिर भिरालो बाटो झर्दा उनले भनेकी थिइन्,‘विदेशमा गाह्रो छ नि दाई । दुई वर्ष साउदी बसेँ । म त्यहाँ घरबाट दुई पटक पनि निस्किनँ ।
घरका अग्ला अग्ला पर्खालबाट बाहिर केही देखिने होइन । घरकी साहुनीले सँगै लिएर गए बाहिर जाने हो नत्र अहँ जान पाइन्नँ । गाह्रो भएर के गर्नु, यहाँको दुःख पनि उस्तै छ । के गरेर बस्नु यो भीरमा ?’ मसँग उनको प्रश्नको उत्तर थिएन । आदर्शले चिउरा भिज्ने थिएन ।
राजधानीबाट गाडीमा ४–५ घण्टाको यात्रा गर्दा पुगिने गाउँका कथा हुन् यी । गाउँमा युवाहरू छैन । अनि उनीहरूले गर्ने प्रश्न पनि उस्तै सही छ–के गरेर बस्ने यो भीरमा ? दसैँ–तिहार सकेर कर्णाली राजमार्गमा उँभो लाग्दा हुलका हुल कर्णालीका बासिन्दा झोला कसेर उँधो झर्दै गरेको भेट्छौँ । सुदुरपश्चिमको गौरीफाँटा नाका, बाँकेको रुपेडियामा भारत जान लागेका नेपालीहरूको लामको चेकिङ गरेर नेपालका प्रहरीलाई कहिल्यै फुसर्द हुँदैन ।
घर कुर्ने बूढाबूढीबाहेक गाउँ रित्तो नहोस् कसरी ? दसैँ तिहारमा समेत गाउँघर सुनसान नहोस् कसरी ? राज्य र त्यसको बागडोर सम्हाल्दै गरेका राजनीतिक दलहरू यसको निरीह साक्षी बनेका छन् । राज्य आफैँ नेपालका युवालाई विदेश पठाउने एजेन्टको भूमिकामा छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक पन्ध्र सयको दरले नेपाली पाखुरा विमानबाट विदेश जाँदैछन् कामको खोजीमा । विदेशमा नेपाली ओर्सान अझ थप दुई विमानस्थल बनिसकेका छन् । पढ्न भनी अरू लाखौँ युवा विदेशिएका छन् । अघिल्लो साता अखबारको हेडलाइन थियो–त्रिभुवन विश्वविद्यालयको शैक्षिक अवस्था खस्कँदा विदेश पढ्न जाने विद्यार्थी बढे ।
अनि किन नहोस् त नेपालका गाउँ घर शुन्य । घर कुर्ने बूढाबूढीबाहेक गाउँ रित्तो नहोस् कसरी ? दसैँ तिहारमा समेत गाउँघर सुनसान नहोस् कसरी ? राज्य र त्यसको बागडोर सम्हाल्दै गरेका राजनीतिक दलहरू यसको निरीह साक्षी बनेका छन् । राज्य आफैँ नेपालका युवालाई विदेश पठाउने एजेन्टको भूमिकामा छ । काठमाडौँ उपत्यकामा बाँसघारीमा पनि घर उभिएका छन् । गाउँघरमा धान फल्ने खेत बाँझो छ । राज्यलाई जे भइरहेको छ, ठीक हो वा बेठीक ? बेठीक भए सच्चाउने कसरी ? किन सच्चाउने ?, कुनै पर्वाह छैन । न समस्याको बोध छ न समाधान खोजी ।
विकसित देशका अनुभवका लामा लामा बहस र मनग्य चर्चा भयो । तर, तिनका विकास एकै रातमा भएको चमत्कार थिएन । कोही हर्कुलसले गरेको साहस पनि थिएन । त्यहीँकै जनताको रगत पसिनाले देश बनेको हुन्छ भन्ने बोध हाम्रा शासकमा आएको देखिएन । आउँदो हो त, नेपालको पानी र जवानी यतै अड्याउन राज्यसँग योजना खोई ?
सरकारले खासमा के गरिरहेको छ ? विदेशमा गएका नेपालीले कमाएको पैसामा उठाइएको कर ढड्डामा अभिलेख लेख्ने बाहेक देशलाई प्रगतिको बाटोमा डोर्याउन गरिरहेको छ के ? छेतछेतबाट चरिकोट उक्लिँदै गर्दा सिंगटीबाट बुढीआमासँगै एक जना युवक गाडी चढे । निधारमा रातो टिका, कालो चस्मा, कानमा एयरफोन अनि घाँटीमा दुई तीन रंगका खादा । उनको सान अर्कै थियो ।
उनी सकभर सबैलाई मिजासिलो व्यवहार गर्दै थिएन । आफ्ना झोला सम्हालेर पनि अरूका झोला उचाल्न मद्दत गरिरहेका थिए । सबैलाई कुनै द्विविधा थिएन, उनी विदेश जान लागेका हुन् । किनभने यस्ता दृश्य देख्न त्यहाँ कुनै आइतबार कुर्नुपर्दैन । तामाकोशीको पानीजस्तै युवाहरू यसरी नै गाडी चढ्दै विदेशिँदै छन् ।
‘भाइको छाँट नै बेग्लै छ त ?’
‘अँ दाइ, विदेश जाँदैछु । २५ गते साउदीको फ्लाइट छ ।’
मेरो प्रश्न भुईमा खस्न पनि नपाउँदै उनले भने । उनीसँगै आएकी उनकी आमा हुन् सायद, छोरालाई एयरपोर्टसम्म छोड्न जान लागेकी । अर्थात्, गाउँमा अर्की एक लैकी शेर्पा थपिइन् । अर्थात्, सरकारको लागि विदेशमा आफु बेचिएर सरकार चलाउन पैसा पठाउने अर्को एउटा पाखुरा रहरै रहरमा विदेशिन लाग्यो । अर्थात्, शासक दलको लागि आफ्नो अकर्मण्यतामाथि प्रश्न उठाउने एक जना युवक सयौँ युवासँगै विदेश जान लाग्यो । अर्थात्, गाउँमा चुलबुलचुलबुल गर्ने एक जना रहरलाग्दो मानिस विदेश जाँदैछ ।
सरकार विदेशमा युवाहरूको बढ्दो संख्यामा गौरव गर्छ र आर्थिक सूचांकमा हिसाबकिताब मिलान गर्दै बसेको छ । नेपाली गाउँ रित्तिँदै गरेको कुराले उसलाई चुनावताका बाहेक कहिल्यै पिरोल्दैन सायद ।
सिंगटीबाट छेतछेत जान गाडी कम्तीमा एक घण्टा रोकिने भए पछि हामी चिया खान ओर्लियौँ । नयाँ ठाउँमा जाँदा सकभर त्यहाँका स्थानीय परिकार र उत्पादनको परख गर्नु भन्छन् । हामी सिंगटी बजारमा स्थानीय उत्पादनको खोजी गर्न थाल्यौँ ।
खाजा पसलमा चाउमिन फ्राइ भइरहेको थियो । पसलको सो केसमा मदिराका बोटल लहरै सजाइएका थिए । पुरै बजार घुमेपछि फलफुल पसलमा बाहेक स्थानीय उत्पादन भेटाउने सम्भावना देखेनौँ । फलफुल पसलमा बेचिएका सुन्तला र बदामसम्म यहीँका उत्पादन हुन सक्ने लख काट्यौँ । लोकल भन्दै किनेको सुन्तला पहिलो केस्रा जिब्रोमा परेसँगै लोकल सुन्तला होइन भन्न हामीलाई गाह्रो भएन ।
बदाम लोकल होइन त साहुनी आफैले भनिन् । अझै पनि ग्रामीण परिवेश गुमाइनसकेका ती ठाउँका खाजा पसलमा स्थानीय उत्पादनको विक्री हुनुपर्ने होइन र ? तर, त्यहाँ बजार अर्थतन्त्रको बिस्तारले स्थानीय मालताल अप्राप्य मात्र होइन, हेयको वस्तु समेत बनेका छन् । बियर खान छोडेर कसले खान्छ, स्थानीय कोदोको तोम्बा ।
ठाडो उकालोले लखतरान हामीलाई भोकले अझ थकित बनाएको थियो । सिमीगाउँको मितिनी होटलमा कतिबेला ‘खाना तयार भयो’ भन्ने सन्देश आउने प्रतिक्षामा थियौँ । अनि हामीलाई प्रतिक्षा थियो, मिठो स्थानीय परिकारको रसास्वादनको । दाल बिछट्टै मिठो लागेर हामी भन्दै थियौँ– ‘क्या मिठो दाल । लोकल होला । अलि अलि लिएर जाऔँ है ।’
तर, गोरु जोत्ने पाखुरा नभएको गाउँमा कसले उमार्छ दाल ? ‘यो दाल त तल सर्लाहीबाट ल्याएको हो’, चिम्से आँखामा बल लगाई लगाई हेरेजस्तो गर्दै साहुजीले भने ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया