क्रिकेट

कप्तान सन्दीप फर्केनन्, राष्ट्रिय क्रिकेट टोली फर्कियो

इकागज | भदौ २२, २०७९

काठमाडौँ- केन्या भ्रमण सकेर नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएका छन् । नेपाली टोली बुधबार बिहान स्वदेश फर्किएका हुन् ।

नेपाली टोलीलाई नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीले स्वागत गरेका थिए । नेपालले केन्याविरुद्ध टी–ट्वान्टी र एकदिवसीय सिरिज खेलेको थियो । नेपालले घरेलु टोलीविरुद्धको ५ खेलको टी–ट्वान्टी अन्तराष्ट्रिय सिरिज ३–२ ले जितेको थियो ।

यस्तै ३ खेलको एकदिवसीय सिरिज ३–० ले क्लिन स्विप गरेको थियो । स्वदेश फर्किलगतै एकदिवसीय सिरिजको कप्तान सम्हालेका रोहित कुमार पौडेल प्रतियोगीतामा नयाँ अनुभव प्राप्त भएको बताए । उनले आफुले कप्तानको भूमिकामा सबै खेलाडीको साथ पाएको बताए ।

त्यस्तै खेलाडी ज्ञानेन्द्र मल्लले जुनसुकै भूमिकामा पनि देशका लागि खेल्दा खुसी नै लागेको बताए । लामो समयपछि टीममा जोडिँदा सुरुमा केहि कठिनाई भएपनि सन्तोषजनक खेल प्रदर्शन गरेको उजको भनाई छ ।

नेपाल फर्किएका खेलाडी अब नवौं राष्ट्रिय खेलकुद अन्तर्गतको पुरुष क्रिकेट खेलका लागि आ–आफ्नो टोलीसँग जोडिने तयारी गरेका छन् ।

त्यस्तै नेपाली राष्ट्रिय क्रिकेट टोली नेपाल फर्किए पनि लामिछाने भने फर्केका छैनन् । क्यारेबियन प्रिमियर लिगका लागि लामिछाने बेस्ट इन्डिजमै छन् । लामिछानेको टीम जमैका तल्लावासले सेन्ट लुसिया किङ्सविरुद्ध बिहीबार खेल्दैछ ।

यसैबीच राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दिप लामिछानेविरुद्ध  बलात्कारको जाहेरी परेको छ । उनीविरुद्ध एक नाबालिगलाई बलात्कार गरेको भन्दै काठमाडौँ प्रहरीमा उजुरी परेको हो ।

लामिछानेविरुद्ध बलात्कारको आरोपमा जाहेरी दर्ता भएको प्रहरीले पुष्टि गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले बुधबार बिहान लामिछानेविरुद्ध जबरजस्तीकरणीको आरोपमा जाहेरी दर्ता भएको पुष्टि गरेको छ । पीडित भनिएको १७ वर्षीया नाबालिकाकी दिदीले प्रहरी वृत्त गौशालामा मंगलबार जाहेरी दिएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार लामिछानेले भदौ ५ गते काठमाडौँ र भक्तपुरको विभिन्न स्थानहरूमा लगेर काठमाडौँमा ल्याइ एक होटेलमा राखेर जबरजस्तीकरणी गरेको जाहेरीमा उल्लेख छ । काठमाडौँ-९ स्थित एक होटेलको कोठा नम्बर ३०५ मा सोही राति पटक-पटक जबरजस्तीकरणी गरेको जाहेरीमा उल्लेख छ । 'रातको अं. २३:५५ बजे र रातको अं. ००:२५ बजे पटक-पटक जबर्जस्ती करणी गरेको उजुरीमा उल्लेख छ' जिल्ला प्रहरी परिसरले जारी गरेको विज्ञप्तिमा लेखिएको छ ।

जाहेरीपछि बालिकाको स्वास्थ्य परीक्षण गराइएको प्रहरीले जनाएको छ । जाहेरीउपर जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त गौशालाले संयुक्तरूपमा सुक्ष्म अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

र, यो पनि

पीडितको जाहेरी : 'सन्दिपले ३०५ नम्बर कोठामा राति ११:५५ र १२:२५ बजे बलात्कार गरे'

इकागज | भदौ २२, २०७९

काठमाडौँ- नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्‍तान सन्दिप लामिछानेविरुद्ध बलात्कारको आरोपमा जाहेर...

राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दिप लामिछानेविरुद्ध बलात्कारको जाहेरी

इकागज | भदौ २२, २०७९

काठमाडौँ - राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दिप लामिछानेविरुद्ध  बलात्कारको जाहेरी परेको छ । उनीव...