फिचर

युरो फाइनलः पाका रक्षक र युवा फरवार्डबीचको भिडन्त

इकागज | असार २६, २०७८

काठमाडौँ : युरो २०२० को उपाधिका लागि इंग्ल्यान्ड र इटाली आइतबार मध्यराति वेम्बली रंगशालामा आमनेसामने हुँदैछन् । यो फाइनल खेललाई पाका रक्षक र युवा फरवार्डबीचको भिडन्त पनि भनिँदैछ । किनभने इटालीका प्रमुख रक्षक जर्जियो किलिनी ३६ वर्षका भए । अनि उनका साथी लियानार्दो बोनुची ३४ लागिसके । उता इंग्ल्यान्डका कप्तान तथा स्ट्राइकर ह्यारी केनको उमेर २७ हो । अर्का मुख्य फरवार्ड रहिम स्टर्लिङ केन भन्दा एक वर्ष कान्छा छन् ।  

युभेन्टसका रक्षकद्वय लामो समयदेखि राष्ट्रिय टिमका सदस्य रही आएका छन् । दुवैले युरो २०१२ फाइनल पनि खेले । जसमा इटाली स्पेनसँग ४-० ले निरिह बनेको थियो । पराजित त्यस इटालियन टिमबाट जारी युरो खेलरहेका खेलाडी किलिनी र बोनुची मात्रै हुन् । यी दुई खेलाडीमाथि रोबर्टो मान्सिनीको भरोसा अत्याधिक छ । तब न इटालीको टिम पुनःनिर्माण गरिँदा पनि उनीहरूको स्थान धरापमा नपरेको । 

युरो २०१२ को उपाधि नजिक पुगेको इटाली त्यसपछिका वर्षमा खस्कियो । विश्वकप २०१८ का लागि त छनौट नै भएन । प्लेअफमा स्विडेनसँग पराजित भएपछि इटाली ६० वर्षमा पहिलो पटक विश्‍वकपमा अनुपस्थित भयो । इटालियन टिम त्यत्तिको खराब लयमा हुँदा पनि मुख्य रक्षक किलिनी र बोनुची नै थिए । र, हाल टिमले सशक्त प्रदर्शन गर्दा पनि यी दुई नै रक्षापंक्ति सम्हालिरहेका छन् । 

‘हामी सबैको चाहना, इटालीलाई बलियो बनाउने नै थियो । निराशाजनक स्थितिबाट हामी आजको दिनसम्म आइपुगेका छौँ । गएका तीन वर्षमा हामीले धेरै मेहेनत गर्‍यौ । अनि सपना पनि देख्यौ । सायद त्यो सपना पूरा गर्ने अवस्थामा हामी आइपुगेका छौँ । मान्सिनीका कारण हामीमा आत्मविश्वास आएको हो । युरो सुरु हुँदै गर्दा उनले हामीलाई च्याम्पियन बन्नेबारे सोच्‍न भनेका थिए । त्यसबेला हामीलाई आफ्नो क्षमतामथि त्यति धेरै विश्वास थिएन । तर हामी फाइनलमा आइपुगेका छौँ,’ किलिनीले भनेका छन् । 

किलिनी र बोनुचीले इटालीका लागि कुल दुई सय १९ खेल खेलेका छन् । युभेन्टसका लागि पनि पहिलो रोजाइको रक्षक जोडी उनीहरू नै हुन् । बीचमा बोनुची एसी मिलान हानिए पनि एक सिजनपछि नै युभेन्टस फर्किए । त्यसपछि दुई रक्षकले मिलेर युभेन्टसको रक्षापंक्ति सम्हालिरहेका छन् । 

‘किलिनी र बोनुची असाधारण खेलाडी हुन् । उनीहरू इटालियन टिमका जग हुन् । उनीहरूको प्रदर्शनमा स्थिरता छ । अनि नेतृत्व गर्ने क्षमता त छँदैछ,’ आन्द्रे बार्जगालीले आफ्ना पूर्वसहकर्मीहरूका बारेमा भनेका छन् । विश्वकप २००६ जितेका पूर्वरक्षक बार्जगालीले युभेन्टसमा करिब आठ वर्ष विताएका थिए । युभेन्टसले तीन सेन्ट्रल डिफेन्डर खेलाउँदा किलिनी र बोनुचीपछि तेस्रो रक्षक बार्जगाली नै हुन्थे । 

रक्षात्मक फुटबल खेलाउन खप्पिस प्रशिक्षक जोेसे मौउरिन्होले पनि किलिनी र बोनुचीको तारिफ गर्ने गरेका छन् । च्याम्पियन्स लिगमा म्यानचेस्टर युनाइटेड युभेन्टसबाट पराजित भएपछि मौउरिन्होले भनेका थिए,‘किलिनी र बोनुचीलाई हार्वड विश्‍वविद्यालयले प्राध्यापक बनाए हुन्छ । किनभने उनीहरूले कसरी डिफेन्ड गर्ने भन्‍व विषयमा लेक्चर दिन सक्छन् ।’ 

शुक्रबार बोनुचीलाई मौउरिन्होको पुरानो टिप्पणीबारेमा सोधियो । ‘मौउरिन्होको प्रतिक्रियाले पक्कै पनि हर्षित बनाएको थियो । त्यस किसिमको प्रतिक्रियाले हामीले आ-आफ्नो करियरमा राम्रो गरेका रहेछौँ भन्‍ने देखाउँछ । तर हामीले प्रत्येक खेलमा आफूलाई प्रमाणित गर्नुपर्छ भन्‍ने भुल्नु हुँदैन,’ जारी युरोमा प्रत्येक खेल खेल्ने तीन इटालियन खेलाडीमध्येका बोनुचीले भने । उनले गोलरक्षक जियानलुइगी डोनारुमा र मिडफिल्डर जर्गिन्होसँगै छ खेल खेलेका छन् । उता किलिनीले भने दुई खेल गुमाए । चोटका कारण मैदान बाहिर रहँदा उनको स्थानमा लाजियोका फ्रान्सिसको एक्रेबीले खेले । 

चार पटक विश्वकप जितेको इटालीले सन् १९६८ यता युरो जित्‍न सकेको छैन । अनि किलिनी र बोनुचीले पनि राष्ट्रिय टोलीबाट मुख्य प्रतियोगिता जित्‍न सकेका छैनन् । यस्तोमा करियरको उत्तर्राधमा रहेका दुई रक्षकको चाहना युरोपियन विजेता बन्दै इटालीको साख फर्काउने नै हो । 

युवा इंग्लिस अग्रपंक्ति 

नकआउट चरणमा इटालीले बेल्जियम र स्पेनको सामना गर्‍यो । बेल्जियम र स्पेनको टिममा रोमेलु लुकाकु र अल्भारो मोराटा जस्ता स्ट्राइकर थिए । ती दुवै २८ वर्ष कटेका छैनन् । उनीहरू भन्दा कान्छा स्ट्राइकर केनको सामना किलिनी र बोनुचीले फाइनलमा गर्दैछन् । 

‘सायद यो युवा र पाकाहरूबीचको भिडन्त हो,’ बोनुचीले हल्का मुस्कानका साथ भने । केनका विषयमा पनि बोनुचीलाई सोधियो । ‘केन हाम्रा लागि नौला खेलाडी होइनन् । उनी विगत केही वर्षदेखि नै उच्च स्तरमा खेलिरहेका छन् । टोटनहम र इंग्लयान्डका लागि उनको प्रदर्शन तारिफयोग्य रहँदै आएको छ । संयोगवस हामीले यो युरोमा विश्वस्तरिय स्ट्राइकरहरूको सामना गर्ने मौका पाएका छौँ । यसले हामीलाई थप सजग रहन प्रेरित गर्छ,’ बोनुचीले भने । 

उता कप्तान किलिनीले पनि केनको प्रशंसा गरे । ‘केनले इंग्लयान्डका लागि डेब्यु गरे देखि नै हामीले उनको खेल हेर्दै आएका छौँ । हामीले टुरिनमा इंग्लयान्डविरुद्ध खेल्दा पनि उनले सबैलाई अवाक् बनाएका थिए । तर इंग्लिस टिममा केन बाहेक अरु पनि राम्रा खेलाडी छन् । इंग्ल्यान्डको पहिलो एघार मात्रै होइन, बेन्च पनि गज्जबको छ । बेन्चमा रहने ग्रेलिस, सान्चो, रासफोर्ड, फोडेन, काल्भर्ट लेविनले नै कुनैपनि टिमलाई च्याम्पियन बनाउने ल्याकत राख्छन्,’ किलिनीको भनाइ थियो । 

किलिनी र बोनुची मिल्ने साथी पनि हुन् । वर्षौदेखि राष्ट्रिय टिम र युभेन्टसमा सँगै खेल्दै आएका छन् । मैदान भित्र र बाहिर उनीहरुको मित्रताको चर्चा हुने गरेको छ । यस्तोमा युरो फाइनलमा असफल भए दुई मित्र के गलार्न ? ‘जुलाई १२ मा हाम्रो युरो यात्रा सकिनेछ । त्यसको दुई दिनपछि हामी सँगै छुट्टी मनाउने जानेछौँ,’ बोनुचीले भने । 

एएफपीको सहयोगमा 

डोभियकको नायकत्वमा आन्द्रे सेभचेन्कोले कोरेको युक्रेनी इतिहास

इकागज | असार १६, २०७८

काठमाडौँ: हाम्पेडेन पार्क स्कटल्यान्डको राष्ट्रिय फुटबल टिमले खेल्ने रंगशाला हो । ग्लास्गोको यस रंगशाल...

कोपा अमेरिका : ब्राजिल र अर्जेन्टिनालाई टक्कर दिने प्रयासमा गारेकाको पेरू

इकागज | असार १६, २०७८

काठमाडौँ : ब्राजिलमा जारी कोपा अमेरिकाको क्‍वार्टरफाइनल समिकरण पूरा भएको छ । दक्षिण अमेरिकाको सर्व...