फिचर

अबका तीन खेलले गर्नेछन् कुमनको भविष्य निर्धाण

इकागज | असोज ४, २०७८

काठमाडौँ - गत बुधबार च्याम्पियन्स लिगमा बार्सिलोनाले बायर्न म्युनिखसँग हार बेहोर्‍यो । जर्मन च्याम्पियनसँग तीन गोल खाँदा बार्सिलोना हरेक विभागमा कमजोर देखिएको थियो । उता स्पेनिस लिगमा पनि बार्सिलोनाको स्थान मजबुद देखिएको छैन । तीन खेल खेल्दा दुई जीत हासिल गरेको बार्सिलोना १०औँ स्थानमा छ । अंक तालिकामा शीर्ष दुईमा रहेका रियल म्याड्रिड र एट्लेटिको म्याड्रिडसँग बार्सिलोनाले प्रतिस्पर्धा गर्न सक्छ वा सक्दैन भन्ने प्रश्न उठिरहेको छ । 

बायर्नसँग आफ्नै मैदानमा निराशजनक प्रदर्शन गरेको बार्सिलोनामाथि यतिबेला प्रश्न उठिरहेको छ । आखिर बार्सिलोनाको लक्ष्य के हो त ? कुन बाटोमा अघि बढ्न चाहान्छ बार्सिलोना ? क्याट्लन क्लब दुई सिजनअघिको ला लिगा च्याम्पियन हो । गत सिजन भने तेस्रो सिजनमा सीमित भयो । यसपाली पनि बार्सिलोनाबाट समर्थकले खासै ठूलो अपेक्षा गरेका छैनन् । 

च्याम्पियन्स लिगमा बार्सिलोनाले बायर्नलाई पन्छाउछ भनेर सायदै कसैले सोचेको थियो । यस प्रतियागितामा बार्सिलोनाको पछिल्लो लय कमजोर छ । गएका चार खेलमा बार्सिलोनाले १० गोल खाएको छ भने एक गोल मात्रै फर्काएको छ । ला लिगामा पनि बार्सिलोनाको प्रदर्शन तारिफयोग्य छैन । न त उसको टिम नै रियल र एट्लेटिकोको जस्तो बलियो देखिएको छ । 

सेभिया जस्ता क्लबले आफ्नो टिमलाई प्रतिस्पर्धात्मक बनाउने प्रयत्न गरिरहँदा बार्सिलोनाले भने मुख्य खेलाडीहरूलाई स्थान्तरणका लागि स्विकृति दियो । टिममा भएका पेड्री, जोर्डी अल्बा, आन्सु फाती, सर्जियो अग्वेरो, औसमाने डेम्बेले जस्ता खेलाडी चोटका कारण उपलब्ध नहुँदा बार्सिलोना थप समस्यामा परेको छ ।

फेरि रोनाल्ड कुमनले पनि उपयुक्त खेल रणनीति बनाउन सकिरहेका छैनन् । उनले बायर्नविरुद्ध ३–५–२ को संरचना प्रयोग गरेका थिए । त्यसरी खेल्दा बार्सिलोनाका दुई स्ट्राइकर मेम्पिस डिपे र लुक डे योङ तथा मिडफिल्डबीच कुनै तालमेल देखिएन । मिडफिल्ड र रक्षापंक्तिबीच पनि संयोजनको अभाव थियो । खेलाडीका रूपमा बार्सिलोनामा प्रसिद्धी कमाएको कुमन प्रशिक्षकमा रूपमा भने असफलताको बाटोतर्फ उन्मुख छन् । यस्तो लाग्छ, उनलाई प्रतिभावान प्रशिक्षक भएकाले भन्दा पनि पूर्वखेलाडी भएकैले बार्सिलोनामा लगिएको हो । 

बार्सिलेनाका स्थानीय सञ्चार माध्यमका अनुसार कुमनलाई ४–३–३ को संरचनामा टिमलाई खेलाउन भनिएको छ । लिगमा एथ्लेटिको बिल्बाओ र गेटाफेविरुद्ध कुमनले यही रणनीति प्रयोग गरे । यद्यपि यस्तो रणनीतिमा बार्सिलोना खरो उत्रन सकेको छैन । क्लब अध्यक्ष जोआन लार्पोटाबाट खेल रणनीतिबारे निर्देशनात्मक सुझाव आउन थालेपछि कुमन आक्रोशित बनेको बताइएको छ । तर दुवैले आफूहरूको सम्बन्ध समुधुर रहेको बताउँदै आएका छन् । 

लार्पोटा चाहान्छन्, बार्सिलोनाले सन् २००९ को जस्तै खेलोस् । त्यसबखत पेप ग्वार्डिओलाको नेतृत्वमा रहेको बार्सिलोना अत्यन्तै बलियो थियो । तर कुमनको योजना र रणनीति फरक छ । यहीकारण लोर्पोटा र कुमनबीच द्वन्द्व छ । र, यसले बार्सिलोनाको प्रदर्शनमा असर पार्ने निश्चित छ । उसै पनि बार्सिलोनाका खेलाडीहरूले अपेक्षा अनुसारको खेल देखाउन सकेका छैनन् । उनीहरूले समर्थकको विरोध सहनु परिरहेको छ । बायर्नसँगको खेल दौरान पनि सर्जि रोबर्टोविरुद्ध बार्सिलोना समर्थकले नारा लगाए । 

यस साता बार्सिलोनाले तीन खेल खेल्दैछ । ग्रानाडा, काडिथ र लेभान्टे अबको साता कुमनको टिमले सामना गर्ने विपक्षी हुन् । यी खेलले एउटा महत्वपूर्ण कुराको निर्धारण गर्नेछन् । त्यो हो, कुमनको बार्सिलोनासँगको भविष्य । अनि बाँकी सिजन बार्सिलोनाले देखाउन सक्ने लयको संकेत पनि । 

बार्सिलोना सहरमा के गाइगुइ चलिरहेको छ भने, अबका तीन खेलमा राम्रो नतिजा नआए लार्पोटाले निर्णय लिनेछन् । निर्णय, अरु केही नभएर कुमनको बर्खास्ती नै हो । बर्खास्तीको निर्णयले सायदै कसैलाई अचम्मममा पार्नेछ । किनभने गएको सिजनको अन्त्यमै कुमनले बार्सिलोना छाड्ने अनुमान गरिएको थियो । 

बार्सिलोनाले यसपाली फरक किसिमको प्रदर्शन गरेको छैन । गत सिजन पनि बार्सिलोनाको खेल यसपालीकै जस्तो थियो, एकदमै निरश । अहिले त झन् टिमका मुख्य खेलाडी लियोनल मेस्सी पनि छैनन् । यसो भनिरहँदा कुमन बर्खास्तीपछिको स्थिती बार्सिलोनाका लागि सहज हुनेवाला छैन । किनभने बर्खास्ती गरेवापत कुमनलाई ठूलो रकम क्षतिपूर्ती स्वरुप तिर्नुपर्नेछ । त्यसपछि उनलाई प्रतिस्थापन गर्ने प्रशिक्षकको खोजी गर्नुपर्नेछ । यी दुवै काम सजिलोसाथ सम्पन्न हुने छैनन् । 

सिजन सुरु भइसकेपछिको अवस्थामा नयाँ प्रशिक्षकको खोजी आफैँमा चुनौतीपूर्ण कार्य हो । फेरि नयाँ प्रशिक्षकले बार्सिलोनामा रहेका समस्या जादूयी तरिकाले समाधान गर्न सक्छन् भन्ने पनि होइन । तर लार्पोटाले केही कदम नचाल्ने हो भने बार्सिलोनाको यो सिजन खेर जाने सम्भावना भने प्रबल छ । 
गोल डटकमको सहयोगमा 
 

अफ्रिकन कप अफ नेसन्स (एफकोन): अफ्रिकी फुटबल उत्सवमा अल्जेरिया र आइभरी कोस्टको प्रतिद्वन्द्वीता

इकागज | भदौ ३, २०७८

काठमाडौँ- अफ्रिकन कप अफ नेसन्स (एफकोन) २०१९ को च्याम्पियन हो, अल्जेरिया । अफ्रिकी फुटबलको सबैभन्दा ...

क्लबलाई बचाउन मेस्सीलाई जान दिइएको हो : बार्सिलोना अध्यक्ष लापोर्टा

इकागज | साउन २२, २०७८

काठमाडौँ- बार्सिलोना र लियोनल मेस्सीबीच औपचारिक रुपमै सम्बन्ध विच्छेद भएको छ । बार्सिलोनाले बिहीबार निक...