गठबन्धनको मोर्चा बनाएर चुनाव लडिन्छ : टंक राई
खोटाङ - नेकपा माओवादी केन्द्रका अनुशासन आयोग प्रमुख टंक राईले आगामी तीन तहको निर्वाचनमा वर्तमान गठबन्धनको संयुक्त मोर्चा बनाएर चुनाव लड्ने बताएका छन् । शनिबार प्रेस संगठन खोटाङले दिक्तेलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै राईले यस्तो बताएका हुन् ।
आगामी स्थानीय तह, प्रदेश र संघीय संसदको चुनाव समयमा सम्पन्न गराउने र सो चुनावमा गठबन्धनको मोर्चा बनाएर चुनाव सम्पन्न गराइने राईको भनाइ छ ।पूर्वसांसदसमेत रहेका राईले गठबन्धनले संयुक्त मोर्चा बनाएर चुनाव नलडे ‘प्रतिगामी शक्तिले फेरि टाउको उठाउन सक्ने’ सम्भावना औंल्याएका छन् ।