कथित क्रान्तिकारी, स्खलित समाजवादी, पतित प्रतिप्रक्ष र निरीह नागरिक
वनबासको समयमा पाण्डवको आश्रम नजिक एक दिन एउटा हरिण देखापर्यो । हरिणले छिमेकी ब्राह्मणको छाप्रोबाहिर टाँगिएको आरणीको काठ लिएर कुद्यो । आरणी त्यो बेला आगो सल्काउने काममा प्रयोग गरिन्थ्यो । सिङमा आरणी झुण्डिनाले हरिण आत्तियो र तेजले भाग्न थाल्यो । ब्राह्मण आगो कसरी बाल्ने भन्ने चिन्ताले आत्तिए । ब्राह्मण आत्तिएको देखेर पाण्डवहरू हरिणबाट आरणी छुटाउन वेगले दगुरे तर हरिणलाई भेट्न सकेनन् । पाँचै भाइ धेरै बेरसम्म दौड्दा थकित भए । थकाइ र प्यासले गलेका उनीहरू एकछिन बरको रुखमुनि आराम गरे ।
केही बेरको थकाइपछि युधिष्ठिरले नकुलसँग भने, ‘भाइ ! त्यो रुखमा चढेर हेर त । कतै कुनै नदी वा जलाशय देखिन्छ कि ?’ नकुल रुखमा चढेर हेरे । अलि पर केही टाढा पानी छेउछाउ उम्रने स-साना बोट देखिन्छन् भनेर सुनाए । नकुलले आफूले देखेको ठाउँमा बकुल्लाहरू पनि देखिएको जानकारी दिएपछि युधिष्ठिरले उनलाई त्यस ठाउँमा पानी लिन पठाए । नकुल तत्कालै तरकस लिएर पानी लिन भनेर गए । तिर्खाले व्याकुल नकुल पहिला आफू प्यास मेटाउँछु । त्यसपछि तरकसमा अरु दाजुहरूका लागि पानी लगिदिउँला भन्ने सोचे । यस्तो सोचेर उनले अँजुलीमा पानी लिएर पिउनै आँटेका बेला एउटा आवाज सुनियो, ‘माद्रीपुत्र ! आँट नगर । यो जलाशय मेरो अधीनमा छ । पहिला मेरो प्रश्नको जवाफ देऊ, त्यसछि मात्र पानी पिउनू ।’
नकुल झस्किए । तर उनलाई प्यास अति धेरै लागेको थियो । उनले उक्त वाणीको कुनै वास्तै गरेनन् र अँजुलीमा भरेर पानी पिए । पानी पिएर किनारामा पुग्नासाथ रिँगटा लागेजस्तो भयो र उनी ढले । धेरै बेरसम्म नकुल नफर्किएपछि युधिष्ठिर चिन्तित भएर सहदेवलाई पठाए ।
पार्टीको संघ-संगठनमा लागेको शिक्षक छ भने विद्यालय नगए पनि, नपढाए पनि हुन्छ । कर्मचारी छ भने कमिसन बुझाए पुग्छ ।
सहदेव जलाशयको नजिक पुगे । त्यहाँ उनले नकुललाई अचेत अवस्थामा ढलिरहेको देखे । उनले भाइलाई कसैले मारिदिएको हुनुपर्छ भन्ने विचार गरे । उनलाई पनि यति धेरै प्यास लागेको थियो कि अरु कुराको विचारै नगरी पानी पिउन भनेर जलाशयमा ओर्लिए ।
उनले पानी पिउनै लागेका थिए, पहिलाको जस्तै वाणी सुनियो, ‘सहदेव ! यो मेरो जलाशय हो । मेरो प्रश्नको उत्तर दिएपछि मात्रै तिमीले पानी पिउन सक्छौ ।’ प्यासले अति नै व्याकुल भएका सहदेवले वाणीको चेतावनीतिर ध्यानै नदिई पानी पिइहाले र किनारमा चढ्दाचढ्दै अचेत भएर नकुलको नजिकै ढले । सहदेव पनि धेरै बेरसम्म नआएपछि युधिष्ठिरले भाइ अर्जुनलाई पठाए । अर्जुन नफर्केपछि भीमलाई पठाए । भीम पनि फर्किएनन् । चारै भाइको उही हालत भयो । चारै भाइ नफर्किएपछि युधिष्ठिर भाइहरूलाई खोज्दै जलाशय नजिक पुगे जहाँ उनका भाइहरू मरेझैँ भुइँमा ढलिरहेका थिए ।
युधिष्ठिरको आश्चर्य र शोकको सीमा रहेन । असह्य शोकका कारण उनका आँखाबाट आँसु बग्न थाल्यो । उनी आफ्ना भाइलाई अङ्गालो मारी रुन थाले । यस्तो कुन शत्रु हुन सक्छ जसमा यी चारै भाइको प्राण लिने सामर्थ्य थियो ? अब संसारमा मलाई के गर्नु छ र म बाँचिरहूँ ?
केही समय यसरी विलाप गरेपछि युधिष्ठिरले ध्यानपूर्वक भाइहरूको शरीर हेरे र मनमनै भने, ‘यो त कुनै मायाजालजस्तो लाग्छ । यिनको शरीरमा कतै कुनै घाउ देखिँदैन । आनन्दसँग सुतिरहेकाजस्ता देखिन्छन् । नजिकै कुनै शत्रुको पाइला पनि देखिँदैन । यो पनि दुर्योधनको षड्यन्त्र हुन सक्छ । उसले अनुचरलाई लगाएर पानीमा विष मिसाइदिएको होला ।’
यस्तो विचार गर्दै युधिष्ठिर पनि प्यासले प्रेरित भएर पोखरीमा ओर्लिन थाले । त्यत्तिकैमा वाणी सुनियो, ‘सावधान ! तिम्रा भाइहरूले मेरो कुरा नमानेर पानी पिउन कोसिस गरेका थिए । तिमीले पनि त्यही भूल नगर्नू । यो पोखरी मेरो अधीनमा छ । मेरा प्रश्नको जवाफ देऊ र पोखरीमा ओर्लिएर प्यास मेट ।’
युधिष्ठिरले कुनै यक्ष बोलिरहेको छ भनेर बुझिहाले । उनले यक्षको प्रस्ताव माने र भने, ‘तपाईं प्रश्न गर्न सक्नुहुन्छ ।’ यक्षले प्रश्न गर्न थाले । प्रश्न-सूर्य कसको आज्ञाले प्रतिदिन उदाउँछ ?
उत्तर- सूर्य ब्रह्मा (परमात्मा) को आदेशले प्रतिदिन उदाउँछ ।
हिजो सर्वहारा, किसान, मजदुर, गरिब विपन्नका नारा लिएर जनतामाझ भोट माग्न आउनेहरूको व्यवहार र जीवनशैली हेर्नुस् ।
प्रश्न- मनुष्यलाई कसले साथ दिन्छ ? कुन चाहिँ यस्तो शास्त्र छ, जसलाई अध्ययन गरेर मानिस बुध्दिमान बन्छ ? भूमिभन्दा भारी के छ ? आकाशभन्दा ठूलो के छ ? अनि हावाभन्दा तेज हिँड्ने के हो ?
उत्तर- धैर्य नै मनुष्यको साथी हो । कुनै यस्तो शास्त्र छैन जुन अध्ययन गरेर मानिस बुध्दिमान बन्छ । महान् मानिससँगको सङ्गतले मात्र मानिस बुध्दिमान् बन्छ । सन्तानलाई कोखमा राख्ने आमा भूमिभन्दा भारी हुन्छिन् । आकाशभन्दा ठूला पिता हुन् । हावाभन्दा तेज हिँड्ने मन हो ।
यक्षले फेरि प्रश्न गरे । प्रश्न विदेश जानेको साथी को हो ? सुख के हो ? के छुटेपछि मानिस सर्वप्रिय हुन्छ ? ब्राह्मण हुनु के कुरामा निर्भर गर्छ ? उसको जन्ममा, विद्यामा या शील स्वभावमा ?
उत्तर- विदेश जानेको साथी विद्या हो । सुख त्यो चीज हो जुन शील र सच्चरित्रमा निर्भर गर्छ । अहंबाट उत्पन्न गर्व छुटेपछि मानिस सर्वप्रिय हुन्छ । कुल या विद्याको कारण ब्राह्मणत्व प्राप्त हुँदैन । ब्राह्मणत्व त शील स्वभावमा निर्भर गर्छ । चार वेदलाई जानेर पनि कोही चरित्रभ्रष्ट हुन्छ भने उसलाई नीच नै मान्नुपर्छ ।
यक्षका यस्ता कैयौँ प्रश्नहरूको ठीक ठीक जवाफ दिएपछि अन्त्यमा यक्षले भने, ‘राजन ! मरेका तिम्रा भाइहरूमध्ये म एकजनालाई बचाउन सक्छु । भन ! कसलाई बचाउन चाहन्छौ ?’ जवाफमा युधिष्ठिरले कान्छो भाइ नकुललाई बचाइदिन अनुरोध गरे । यक्षले भीमजस्ता हात्तीको बल भएका र अर्जुनजस्ता रणकौशल भएकालाई छोडेर नकुललाई किन भनी प्रश्न गरे । जवाफमा युधिष्ठिरले मनुष्यको रक्षा बलबाट भन्दा पनि धर्मबाट हुने र आफ्ना पिताका दुई पत्नीमध्ये कुन्तीका तर्फबाट आफू जीवित भएकाले माद्रीपुत्र नकुललाई बचाइदिन आग्रह गरेको जवाफ दिए । युधिष्ठिरको यस्तो जवाफ सुनेर खुसी भएका यक्षले सबै भाइहरू बाँचेर उठून् भनी वरदान दिए । ती यक्ष कोही थिएनन्, स्वयं धर्मदेव थिए ।
उल्लेख गरिएको घटना हजारौँ वर्षअघि रचित् महाभारतको कथा सानो अंश हो । महाभारत कथाबाट राज्य सञ्चालन कसरी गर्ने ? राज्य सञ्चालनका लागि के-कस्ता नीतिहरूको अवलम्बन गर्नुपर्ने ? राज्यको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक तथा शैक्षिक व्यवस्था कस्तो हुनुपर्छ ? राज्यको वैदेशिक नीति कस्तो हुनुपर्ने ? के कस्ता कानुन, ऐन, नियम, विधि विधान बन्नुपर्ने, के गर्दा राज्यमा सुशासन कायम हुने ? कस्तो शासन जनहितमा हुने ? राज्यका सञ्चालकहरू र जनताको शील, स्वभाव, आचरण कस्तो हुनुपर्ने र कस्तो काम गरेमा शासकहरू जनतामाझ सर्वप्रिय हुने ? साथै के कस्तो कारणले स्वयं राज्य र यसका सञ्चालकहरू अवनतितिर जान सक्ने लगायतका हजारौँ दृष्टान्त छन् ।
यक्ष र युधिष्ठिरको संवादबाट प्रस्ट हुन्छ । नेपाल राज्य किन पछि पर्दैछ ? के यस देशका सत्तासीन वा सत्ताबाहिरका पार्टी, शासक वा विपक्षी दलका नेता–कार्यकर्ता र यिनीहरूका भ्रातृ संघ-संगठनहरू आफ्नै पार्टी सिध्दान्त बमोजिम चलेका छन् ? के यिनीहरूले आफैँले बनाएका नीति, विधि, कार्यक्रम र कार्ययोजनाअनुसार काम गरेका छन् ? के यिनीहरूको शासनशैली र व्यवहारबाट जनता सन्तुष्ट छन् ?
नेताहरूको व्यवहार र शासनशैलीबाट जनतामा घोर निराशा छाएको छ । सन्तुष्ट छन् भने केवल कार्यकर्ताहरू, झोलेहरू र भक्तेहरू । सन्तुष्टि छन् भने केवल कामचोर, दलाल कमिसन खोरहरू ।
हरेक सर्वसाधारणको आत्मालाई साक्षी राखेर भन्नुपर्दा यिनीहरूको व्यवहार र शासनशैलीबाट जनतामा घोर निराशा छाएको छ । सन्तुष्ट छन् भने केवल यिनीहरूका पार्टीका कार्यकर्ताहरू, झोलेहरू र भक्तेहरू । सन्तुष्टि छन् भने केवल कामचोर, दलाल कमिसन खोरहरू । सिंहदरबारदेखि गाउँटोलसम्म यिनीहरूकै बोलवाला छ ।
कर्मचारीतन्त्र, शैक्षिक क्षेत्र, पुलिस प्रशासन यहासम्म कि संवैधानिक निकायमा नियुक्तिसम्ममा फोहरी राजनीतिक खेलको गन्ध मिसाइएको छ । गाउँ-टोलको सामान्य उपभोक्ता समिति बन्न समेत आफ्नो पार्टीको कार्यकर्ताको योग्यता चाहिन्छ ।
विकास निर्माण, ठेक्कापट्टा र रोजगारीमा राम्रालाई पछि पारिएको र हाम्रालाई अघि सारिएको छ । पार्टीको संघ-संगठनमा लागेको शिक्षक छ भने विद्यालय नगए पनि, नपढाए पनि हुन्छ । कर्मचारी छ भने कमिसन बुझाए पुग्छ । सर्वसाधारण जनतालाई आफ्नो जीवन गुजारा गर्न धौ धौ भएका बेला शासक, पार्टी नेतृत्व र कार्यकर्ताहरूको जीवनशैली विलासी बन्दै गएको छ ।
युधिष्ठिर र यक्षबीचको संवादबाट प्रस्ट हुन्छ । यहाँ नेतृत्व, शासक, पार्टी तथा कार्यकर्तामा असल शील–स्वभाव र आचरण छैन । जब नेतृत्वमा असल शील-स्वभाव र आचरण हुँदैन कार्यकर्ताहरूले पनि त्यस्तै व्यवहार अपनाउँछन् ।
जताततैको भ्रष्टाचार, कुशासन र कुुसंस्कृति हुँदा जनता दिन प्रतिदिन राजनीतिक दल, यसका नेता र कार्यकर्ताप्रति निराश छन् । युधिष्ठिरले भनेजस्तै ब्राह्मणत्व प्राप्त गर्न चार वेदको ज्ञान भएर पनि भ्रष्ट छ भने ब्राह्मणत्व प्राप्त गर्न सक्दैन । पू्ज्य दर्जा पाउन सक्दैन । सधैँ निन्दित हुन्छ । जनतामा सर्वप्रिय हुन असल आचरण शील-स्वभाव र व्यवहार हुनुपर्छ । हजारौँ वर्षअघि लेखिएको महाभारत कथाको सानो अंश आज नेपालको राज्य प्रणाली, यससँग सम्बन्धित राजनैतिक नेतृत्व, पार्टी, दल र त्यससँग सम्बन्धित कार्यकर्ता र तिनीहरूको व्यवहारमा चरितार्थ भएको छ ।
विकास निर्माण, ठेक्कापट्टा र रोजगारीमा राम्रालाई पछि पारिएको र हाम्रालाई अघि सारिएको छ ।
नपत्याए हिजो सर्वहारा, किसान, मजदुर, गरिब विपन्नका नारा लिएर जनतामाझ भोट माग्न आउनेहरूको व्यवहार र जीवनशैलीलाई हेर्नुस् । माक्र्सवाद, माओवाद, लेनिनवाद, बहुदलवाद, बहुदलीय जनवाद, समाजवाद र साम्यवादजस्ता वेदको मन्त्रजस्तै मन्त्र घोक्ने र पाठ गर्नेहरूलाई हेर्नुस् । कता गए जनतालाई देखाएका सपनाहरू ? कहाँ गए तिनीहरूका जनता केन्द्रित घोषणापत्र अनुसारका कार्यक्रमहरू ? कता गयो सुशासन ? जनताको मौलिक अधिकार खै ?
यी सबै छन् भने पनि ती हात्तीको देखाउने दाँतजस्तै कागजमा मात्र सीमित छन् । देशमा दिनहुँका अन्याय, अत्याचार, भ्रष्टाचारबाट जनता पीडित छन् । लाखौँ जनता बेरोजगार र महँगीको मारमा छन् । खै त शान्ति सुव्यवस्था अमनचैन ? संविधान-ऐन-कानुनमा उल्लेख भएका जनताका मौलिक हकहरूको कार्यान्वयनको पाटोमा स्वयं राज्य र पार्टीहरू चुकेका छन् ।
जनतालाई दैनिक जीवन चलाउन गाह्रो परेको बेलामा अधिकांश शासकहरू नियोजित तरिकाले पध्दति नै बनाएर देशको हाडमासु, छाला चुस्न र देश लुट्नमै तल्लीन छन् । जनताहरू काम र माम नपाएर सडकपेटीमा माग्ने अवस्थासम्म आइपुग्दा नेतृत्व र कार्यकर्ताहरू आफू र आफन्तहरूका लागि राज्यको स्रोतको अनावश्यक तरिकाले दोहन गरी चिल्ला गाडी चढ्न र महल ठड्याउनमै व्यस्त छन् । आफ्नो ज्यानलाई जोखिममा राखी विदेशमा हाडछाला घोटी पठाएको रेमिट्यान्स र जनताबाट उठाएको चर्को करबाट यिनीहरूले अनेक थरीका सुविधाको उपभोग गरिरहेका छन् ।
अधिकांश शासक, सत्ता र जनप्रतिनिधिमा अहंको गर्व छ । आफू नै सबै जान्ने बुझ्ने भई शक्तिको चरम दुरुपयोग गर्दै आएको जनतामाझ स्पष्ट छ । पार्टी, सत्ता र शासनको आडमा मत्ता हात्तीझैँ कसैलाई नटेर्ने र कसैको नसुन्ने भएका छन् । जनतामा उनीहरूप्रति व्यापक निराशा छाएको छ ।
जनता उनीहरूलाई धारे हातले सराप्न बाध्य छन् । पत्रपत्रिका, सामाजिक सञ्जाल, सहर, नगर, गाउँटोल जहाँतहीँ जताततै यिनीहरूको आलोचना भइरहेको छ । महाभारतमा भनिएजस्तै जबसम्म यिनीहरूको अहंको गर्व छुट्दैन तबसम्म सर्वप्रिय हुनेछैनन् र निन्दित भइरहनेछन् । यी शील नभएका नेताहरू हुन्, जो जनताबीच प्रिय छैनन् ।
(भण्डारी सल्यानमा अध्यापन गर्छन् । यो उनको पहिलो लेख हो ।)