राजनीति

कांग्रेस प्रदेश २ को सभापतिमा रामसरोज र कृष्णको उम्मेदवारी

सुभाष कर्ण |
पुस ६, २०७८ मंगलबार १७:२० बजे

जनकपुरधाम -नेपाली कांग्रेस प्रदेश २ को सभापति पदका लागि कांग्रेस प्रदेश २ संसदीय दलका नेता एवं भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव र रौतहटका जिल्ला सभापति कृष्ण यादवले उम्मेदवारी दर्ता गराएका छन् ।

जनकपुरधामस्थित मतदानस्थल दलबलका साथ गोपाल धर्मशाला पुगेर रामसरोज र कृष्णले सभापतिमा उम्मेदवारी दर्ता गराएका हुन् । सभापतिमा उम्मेदवारी दिएका रामसरोज स्वतन्त्र उम्मेदवार हुन भने कृष्ण सभापति देउवा समूहका उम्मेदवार छन् ।


हुनत रामसरोज केन्द्रीय महाविधेशनसम्म उपसपभापति विमलेन्द्र निधि समूहबाट थिए । तर निधिले देउवालाई समर्थन गरेपछि उनी स्वतन्त्र उम्मेदवार बन्न गएका हुन् । संचारकर्मीसँग कुरा गर्दै रामसरोजले भने, ' मलाई सबैको समर्थन रहेको छ, म कुनै समूहको उम्मेदवार नभई सम्पूर्ण कांग्रेसीको उम्मेदवार हो ।'

उनले आफ्नो उम्मेदवारी जित सुनिश्चितताका लागि दाबी गर्दै आफू जितेपछि कांग्रेस भित्रका गुट उपगुट समाप्त पारेर कांग्रेसलाई मजबुत बनाउने प्रतिबद्धता जनाए । उनले भने, 'आफू जितेपछि आगामी निर्वाचनमा प्रदेश २ मा कांग्रेसको पूर्ण बहुमतको सरकार बनाउनेछु र स्थानीयदेखि प्रतिनिधि सभासम्म बढीभन्दा बढी सिट जिताउनेछु ।'

उता संस्थापन पक्षका कृष्णले प्यानल बनाएर उम्मेदवारीप् दर्ता गराएका हुन् । उनको प्यानलबाट प्रदेश २ को महिला बालबालिका युवा तथा खेलकुदमन्त्री वीरेन्द्र सिंह र उपेन्द्र यादवले उपसभापति पदमा उम्मेदवारी दर्ता गराएका छन् ।

सभापतिका उम्मेदवार कृष्णले भने, 'निर्वचित भएपछि कांग्रेसको माइती भनिएको मधेशका अभिन्न अंग प्रदेश २ लाई मजबूत स्थितिमा ल्याउनेछु । कांग्रेसका सबै नेता तथा कार्यकर्तासँगै हिंडनेछु र आगामी निर्वाचनमा कांग्रेसको बढीभन्दा बढी सिट जिताएर कांग्रेसमय बनाउनेछु ।' निर्वाचनबाट प्रदेश एक सभापति, दुई उपसभापति, महामन्त्री, एक महिलासहित तीन सहमहामन्त्री र सदस्यहरू चयन गरिनेछ ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x