विचार

परिवर्तन त परिवर्तन, तर यो कस्तो परिवर्तन ?

सुशीला कार्की |
बैशाख ७, २०७९ बुधबार ९:१४ बजे

कवि भूपी शेरचनले लेखेको एउटा कविताको पंक्तिको स्मरण हुन्छ, जसको भाव यस्तो रहेको छ, एउटा यस्तो मुलुक छ जहाँ खान पाइन्छ, बोल्न पाइँदैन, एउटा यस्तो मुलुक छ, जहाँ बोल्न पाइन्छ । तर खान पाइँदैन, एउटा यस्तो मुलुक छ, जहाँ खान पनि पाइँदैन र बोल्न पनि पाइँदैन । 

कविले भारत, चीन र नेपालको तत्कालीन अवस्था अनुभूति गरेर नै उक्त भावलाई पोख्दै सायद सो कविताको रचना गर्नुभएको होला । तर अब त चीन आधुनिकतातर्फ धेरै अघि बढिसकेको छ, त्यहाँ आर्थिक, सामाजिक स्वतन्त्रता पनि देखिएको छ ।


भारतले पनि आमजनतालाई खान दिन अन्‍नपातको उत्पादन र सञ्चयमा वृद्धि गर्दै गरेको पाइन्छ । दुवै हाम्रा छिमेकी मुलुकहरूले अबको समयमा अन्तर्राष्ट्रिय जगत्मा विकासको ठूलो फड्को मार्दैछन् । भारतमा सन् २०२० को जनसंख्याको आँकडा हेर्दा एक अर्ब अड्तीस करोड देखिएको छ भने चीनको जनसंख्या १ अर्ब ४३ करोड ९३ लाख २३ हजार ७ सय ७६ छ । यतिका संख्यामा भएको देशमा जनतालाई भोजन, आवास, सुरक्षा सबै कुराको सुविधा प्रदान गर्नु पनि कठिन कुरा नै हो । तापनि यी दुवै मुलुकमा पहिलेको अनुपातमा धेरै विकास भएको पाइन्छ ।

कवि भूपी शेरचनद्वारा रचित यो भावको कविता लेखेको समयमा नेपालमा पञ्चायती शासनकाल थियो । त्यसबखत नेपालको आर्थिक स्थिति पनि डामाडोल र चित्त नबुझेको कुनै विषयमा नागरिकलाई बोल्न र विरोध गर्न पनि कडा प्रतिबन्ध थियो । तत्कालीन सरकार जयजयकार, प्रशंसा र प्रशस्ति मात्र सुन्‍न सक्थ्यो । सबै विषयमा तत्कालीन सरकारको पूर्ण नियन्त्रण रहने हुँदा सरकारले इजाजत नदिएसम्म केही गर्न नपाइने थियो ।

के काम गर्न हुने, के काम गर्न नहुने, के कुरा बोल्न पाइने के बोल्न नपाइने सबैको निर्धारण तत्कालीन सरकारले गर्ने गरेको, एक प्रकारले आमनागरिकको जिउधन सबै सरकारको जिम्मामा राखिएको जस्तो देखिन्थ्यो ।

आमजनताले निरंकुश पञ्चायती व्यवस्थाको विरोध गरे र २०४६ मा जनआन्दोलन भयो, परिणाम त पञ्चायती निरंकुश शासन ढल्यो । बहुदलीय व्यवस्था नेपालमा आयो पनि । नेपालमा बहुदलीय व्यवस्था कायम भएको ३२ वर्ष पुगेर ३३ वर्ष लागिसकेको छ ।

आजका दिन पनि भूपी शेरचन जीवित रहिरहनु भएको भए सायद एउटा फरक भावको कविता यी तीन मुलुकको विद्यमान वस्तुस्थितिको आधारमा फेरि पनि कोर्नु हुने थियो होला ।

हुन त, कविहरू कल्पनाशील हुन्छन् नै । उनीहरू कल्पनाको दुनियाँमा नै रमाउने गर्छन् । कविताहरूको रचना कहिलेकाहीँ फगत कल्पनाको दुनियाँमा उडान भर्दै गरिन्छ वा यथार्थलाई अनुभूति गरेर पनि गर्ने गरिन्छ । यथार्थ र वस्तुपरक कविता लेख्दा भने मानिसले भोगेको दुःख, कष्ट वा सुखका कुराहरूको अभिव्यक्ति हुने गर्छन् । संसारमा भएका विश्वयुद्धहरू वा ठूलाठूला युद्धहरूको विभीषिकाबारे भुक्तभोगी कविहरूबाट कविता कोरिएका छन् ।

त्यस्तै, तानाशाहहरूका अत्याचार र अन्यायविरुद्ध पनि कोरिएका छन् । प्रेम प्रसङ्गबारे पनि कोरिएका छन् । मुलुकमा तानाशाहले गरेको हत्या, हिंसा, र अत्याचारविरुद्ध विरोधस्वरूप कोरिएका कवितालाई लिएर तानाशाहको कोपभाजन हुँदै सहिद भएका कविहरूको संख्या संसारमा कम छैन । नेपालमा बहुदल प्राप्तिपछि वाक् तथा प्रकाशन स्वतन्त्रता लगायत सबै प्रकारका स्वतन्त्रताहरूको स्थापनाले गर्दा मुलुकले उच्चस्तरको आर्थिक विकास गर्नेछ भन्‍ने आममानिसको ठहर थियो । 

बहुदल प्राप्तिपछिको केही समयसम्म त मुलुकमा विकास हुने केही छाँटकाँट पनि देखिन सुरु भएको पनि हो । पत्रपत्रिकाहरूको प्रकाशनमा व्यापक वृद्धि भई सञ्चार क्षेत्रमा एकाएक मुलुकले फड्को मारेको पाइयो । सडकहरू निर्माणमा वृद्धि हुन गई यातायातमा पनि विकास भएको देखापर्‍यो । मानिसहरूले ग्रामीण क्षेत्रमा कृषि पेसासहितको गृहस्थी, पशुपालनबाटै प्राप्त प्रचूर आम्दानीको लाभ लिन थालेका थिए ।

चार बिघा दुई बिघा जग्गाका मालिक हुने परिवारले पनि उब्जिएको अन्‍नपात बेचेर सहरमा डेरा राखी सन्तानहरूलाई सरलसँग शिक्षा प्रदान गराएका थिए । ग्रामीण क्षेत्रमा सबै जाति–जनजातिहरूबीच मेलमिलाप र सद्भाव कायम हुँदा स्वतः सुरक्षाका प्रत्याभूति भएकै थियो ।

नेपालमा बहुदल प्राप्तिपछिको स्वतन्त्र र खुला वातावरणमा नेपालीहरूले गरेको परिश्रमबाटै पनि स्वतःस्फर्र्त विकास हुन सम्भव देखिएको थियो । तर त्यसमाथि नकारात्मक प्रभाव पारी यस्तो अवस्था आउनुपर्ने पहिलो कारण हो, ‘जनप्रतिनिधिहरूबीच मौलाएको भ्रष्टाचार ।’ अनि दोस्रो कारण हो, माओवादी आन्दोलनका नाममा भएका हिंसात्मक मारकाट, हत्या अनि लुटपाट ।

कुनै पनि मुलुकका निम्ति एउटा परिवार मानव शरीरभित्रको एक कोशिका सरह नै हुन्छ । मुलुकले विकास गर्नु भनेको प्रत्येक कोशिका रूपी परिवारले विकास गर्नु हो ।

नेपाल गाउँ नै गाउँले भरिएको मुलुक हुँदा नेपालको विकास हुनु भनेको आमग्रामीण क्षेत्रमा बसोबास गर्ने परिवारहरूको शिक्षा, रोजगारी, स्वास्थ्य र आर्थिक अवस्थामा वृद्धि हुनुपर्ने हुन्छ । तर २०५२ पछि ग्रामीण क्षेत्रमा निर्धक्कसँग सुरक्षित भई बसोबास गरेका मानिसहरू वरपरका केही छरछिमेकी र आफन्तहरूबाटै माओवादी द्वन्द्वका नाममा असुरक्षित हुन थाले । परिणामतः स्थायी रूपमा वर्षौं वर्षसम्म बसेको घरबार, निरन्तर प्राप्त हुने आय–स्रोत त्याग्दै प्राण बचाउन सुकुम्वासी भई भौंतारिनुपर्ने अवस्था आइपर्‍यो ।

त्यस आन्दोलनमा आपसी झोसपोल र इबी साँध्ने निहुँमा निम्न मध्यम वर्ग, श्रम गरेरै खाने श्रमजीवीहरूलाई पनि धनी–मानी र सामन्ती, शोषकको दर्जामा पु¥याई भौतिक कारबाहीको सास्ती भोग्न बाध्य गराइयो । यसरी समाजमा आपसी सद्भाव भङ्ग भएर वैमनस्य बढ्दै गयो । मानिसहरू विस्थापित भए । त्यसपछि लुटपाट र हिंसा समाजमा जारी रह्यो । छिमेकीका घरमा पनि चुलो नबल्दा दुःख मान्‍ने परम्पराको अन्त्य भयो ।

भ्रष्टाचार व्यापक रूपमा भइरहँदा कुनै कारबाही कसैउपर नभई खुला रूपमा छुट दिएको देखिन्छ । प्रत्येक नियुक्तिमा विधिको शासनविरुद्ध नातागोता÷कार्यकर्ता मात्र खोजिने प्रचलन खुला रूपमै स्थापित भएको छ ।

मानिस मर्दा गाउँ–घरमा मलामी घरलौरी जानैपर्ने चलन थियो । भएसम्म दाउरा पनि एकएकवटा बोकेर जान्थे र त्यो दिन छाक छाड्थे । त्यो चलन सबै हरायो । अब त, पाएसम्म छिमेकीले छिमेकीसँग बाँझेका, जुधेका छन् । मारेका छन् । लुटेका छन् । अपहरण र बलात्कार गरेका छन् । आज भोलि दिन दिनैको समाचार त्यस्तै सुनिन्छ ।

परिवर्तित परिस्थितिकै कारण पशुपति शर्माको गीत हिट हुन पुग्यो, ‘लुट्न सके लुट कान्छा । लुट्न सके लुट अरु देशमा पाइँदैन, नेपालमा हो छुट ।’ उनको गीतले नेपालको शासकीय दुर्दशाको प्रतिनिधित्व गरेकै गत बहुचर्चित हुन पुगेको हो ।

त्यसरी नै प्रकाश सपुतको ‘पिर’ भन्‍ने गित प्रकाशनमा आएपछि तत्समयका सत्ताधारीले आफ्नो सत्ता र राजनीतिविरुद्ध बज्रपात नै परेको अनुभव गरी लेखक तथा गायकविरुद्ध मारुम र कुटुम् जस्तै गरी झण्डै हात नै उठाए ।

शेरचनले पञ्चायतकालमा माथिको कविता लेखी प्रकाशन गर्दा तिनले त्यसबापत जेलनेल भोगेको जानकारी मलाई छैन । भलै त्यो व्यवस्था निरंकुश थियो । यतिखेरको व्यवस्था लोकतन्त्रको हो र पञ्चायती व्यवस्थलाई निरंकुश भनि अपदस्थ गरी वाक् तथा प्रकाशन स्वतन्त्रताको पूर्णतः स्थापना निम्ति भनेर स्थापना गरिएको व्यवस्था हो ।

लोकतन्त्रमा निर्वाचनबाट जनताले आफ्ना जनप्रतिनिधिको चैन गर्ने गरेका हुन्छन् । कुनै मुलुकमा तीन वर्ष, कुनैमा चार वर्ष र कुनैमा पाँच वर्ष जन प्रतिनिधिहरूको काम गर्ने समयावधि रहेको हुन्छ । 

लोकतन्त्रको विकास भएको मुलुकहरूमा जनप्रतिनिधिले राम्रोसँग काम गर्न नसकेमा, मनोमानी वा भ्रष्टाचार गरेमा निर्वाचनमा त्यस्ता व्यक्ति वा दललाई अर्को निर्वाचनमा हराएर सजाय दिने गरिन्छ । त्यति मात्र नभएर यदि कुनै प्रतिनिधिले जनअपेक्षाअनुसार काम गर्न नसकेमा मतदातासँग क्षमा माग्‍ने प्रचलन छ । तर नेपालमा निर्वाचनमा हार भएको कारणलाई जनप्रतिनिधिले आफूले जनताबाट मत नपाएकै कारणबाट हारेको नभई षड्यन्त्र र धाँधलीबाट हारेको हुँ पनि दाबी गर्ने गर्छन्, आत्मालोचना वा क्षमाको झल्कोसमेत दिँदैन ।

यहाँ जनताको पक्षमा काम नगर्ने त्यस्ता दल र जनप्रतिनिधिलाई दण्ड दिने काम आमनागरिकबाट किन हुँदैन ? किन तिनै भ्रष्ट, नैतिकताहीन मानिसलाई पैसाको बलमा बारम्बार मतबाटै निर्वाचित गर्छन् ? यो प्रश्न जताततै अब उठ्न थालेको छ । नागरिक पनि यस सन्दर्भमा सजग हुन नसकेकोबारे खोजी हुन थालेको छ ।

पैसाको बलमा निर्वाचित हुने जनप्रतिनिधिको स्वार्थ पनि पैसा आर्जनसँगै हुन्छ । उसको उद्देश्य किमार्थ जनताको सेवा गर्नु होइन । तसर्थ प्रतिनिधिहरू जो निर्वाचित हुन्छन् । जनताको सेवा गर्न आएका हुन्छन् । तिनले इमानदार बफादार हुनैपर्छ । हाम्रो मुलुक भ्रष्टाचार र आफन्तवादकै कारण रसातलमा पुग्ने अवस्थामा छ । यो मुलुकमा बहुदल प्राप्तिपछि तीन दशक गुजारिसक्दा पनि विकासका नाममा हामी जहाँको तहीँ मात्र होइन कि बरु ह्रास भएर तलतल झर्ने क्रममा छौँ ।

२०४६ र २०६३ मा दुई पटकका आन्दोलनमा आमजनताले लडेको संघर्ष गरी बलिदान दिएकोे के अर्थ भयो र ? जबकि मुलुकमा कुनै विकास हँुदैन । कुनै परिवर्तन आउँदैन । कुनै उत्साह मान्‍ने काम भएकै छैन । यदि केही लाभ भएको छ भने निर्वाचित जनप्रतिनिधि र सत्ताधारी अनि तिनको परिवारका लाभको निम्ति भएको छ । मौलिक हकमाथि बारम्बार नियन्त्रण गरिने रुझान पटकैपिच्छे गठन भएको सरकारको प्रयास रहेको देखिएको छ ।

प्रत्येक सरकारले कानुन र संविधान मिच्‍ने कार्य स्वयं गरिरहेको छ । भ्रष्टाचार व्यापक रूपमा भइरहँदा कुनै कारबाही कसैउपर नभई खुला रूपमा छुट दिएको देखिन्छ । प्रत्येक नियुक्तिमा विधिको शासनविरुद्ध नातागोता÷कार्यकर्ता मात्र खोजिने प्रचलन खुला रूपमै स्थापित भएको छ । पञ्चायतकालमा झैँ सत्ताधारीहरूले फोस्रो प्रशंसासहितको भजनको अपेक्षा चाटुकारहरूबाट राखेको पाइएको छ । यदि स्वस्थ आलोचना कोही कसैबाट भएमा तिनीहरूविरुद्ध प्रतिकार गराइने प्रचलन दिनदिनै बढदै गइरहेको छ ।

सुशीला कार्कीका लेखहरू


Author

सुशीला कार्की

कार्की पूर्वप्रधान न्यायाधीश तथा ‘न्याय’ एवं ‘कारा’ पुस्तककी लेखक हुन् ।


थप समाचार
x