विचार

संस्मरण र अनुभूति

ज्यामितिको पहिलो पुस्तक

वसन्त लोहनी |
बैशाख १०, २०७९ ७:१२ बजे

पहिले नै भनिसकेको हु - वेदप्रसाद एक पात्र हुन् । तर त्यो पात्र जसबाट मैले बोलाउने नभएर उनको आँखाले देखेको समय-प्रवाहबारे जसरी उनले बोलेका थिए मसँग, मैले त्यसलाई लेख्ने मात्र गर्दै आएको छु । यस अर्थमा म सिर्फ एउटा लेखनदास हुँ । त्यो समय-प्रवाहमा धेरै कुराहरू मिसिएका छन्, धेरै अगाडिदेखि बहेर आएका छन् उनलाई छुन आइपुग्दा त्यो वर्णनमा । त्यसले गर्दा प्रत्येक खेपमा अनेकन् कुराहरू जोडिएका छन् । म लेखनदासलाई त लागेको छ भने पाठकलाई त झन् लागेको हुनु पर्दछ एउटा कुरा । त्यो हो - एउटै खेपमा कति धेरै यताउताको कुराहरू परेका, अर्थात् कति धेरै मोडहरू ।

नदी होस् या समय-प्रवाह, त्यो सरल रेखामा बहन सक्तैन । प्रवाह भन्‍नुको अर्थ नै त्यो कहिले एउटा किनारा त कहिले अर्को किनारा, कहिले पुरा ढाकेर त कहिले सानो भागमा ठेलमठेल गरेर अनेकौँ घुम्तीहरू हुँदै गइरहेको हुन्छ । वेदप्रसादले भोगेको जिन्दगी यस्तै घुम्तीहरू हुन् । अर्थात्, घुम्तीहरूको क्रमबद्धता हो । वर्णन उनको, लेखनदास म । उनी बितेको १९ वर्षपछि समयले जिम्मा लगायो मलाई यो काम  । वेदप्रसाद एउटा साधारण मान्छे । जति साधारण थिए त्यति नै दूरदर्शी । यथास्थितिमा बस्न नसक्ने मान्छे । समयको गुरुत्वाकर्षणलाई उनले नाघ्न चाहे । त्यसैले उनको यात्रा रोमाञ्चकारी बन्यो । अझ यस अर्थमा बन्यो किनकि समयको कठोरतामा उनले सपना समात्न खोजे । 


चन्द्र शमशेरको उत्तरार्धको वेला जन्मे वेदप्रसाद । दरबार स्कूलमा पढे । माथिल्लो कक्षामा पढ्दै गर्दा नेपालीको कठोर समयलाई अझ कठोर पार्ने चन्द्र शमशेरको इहलीला समाप्त भयो  । भीम शमशेर बस्ने टंगाल दरबारमा लगत्तै देखिएको उत्सवको दृश्य वेदप्रसादले वर्णन गरेका थिए । उनी आफै सामेल थिए त्यसमा अरू सरह - कति जानेर, कति नजानेर । वास्तवमा रमिता हेर्न पुगेको एउटा अल्लारे केटो । त्यो मङ्गलवारको दिन थियो सन् १९२९ नोभेम्बर २६ को जब जब उनले एक महिना अगाडि मात्र १४ वर्ष पुरा गरेका थिए ।

अहिलेको गहना लुकाउने पोखरीसँगको त्यो विशाल दरबारको प्राङ्गणमा एउटा फुर्तिलो केटोलाई देखेर खग्गडहरू जिल्ल परेका थिए । ‘महाराजको जय होस्’ भन्‍ने गगनभेदी आवाज सुनिन्थ्यो र देखिन्थ्यो दाम राख्न लालायित शक्तिको वरिपरि घुम्ने काठमाडौँवासीको, होइन, काठमाडौँको टाठाबाठाहरूको ताँती कमिलाको जस्तो । यता श्री ३ बस्ने शक्तिको मुहान सिंहदरबार भने चन्द्र शमशेरको अवसानपछिको मुर्दा शान्तिको सुनसानमा परिणत भएको थियो ।

यहाँनिर एउटा रोचक प्रसङ्ग सम्झना आयो । यो वेदप्रसादले भनेको नभएर त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति शङ्कर राज पाठकले सुनाएको । उनले पनि उनको बुबाको मुखबाट सुनेको । प्रजातन्त्र आए लगत्तै ‘कवि शिरोमणि’को उपाधि राजा त्रिभुवनबाट पाएका लेखनाथ पौडेलको चाकडीगर्ने ठाउँ चन्द्र शमशेरको वेला टङ्गाल दरबार थियो । त्यति वेला राणाको दरबारमा प्रवेशको कुनै ठाउँ पाउन सक्नु नै ठूलो इज्जतको कुरा हुन्थ्यो  । कास्की अर्चलेका उनी बनारसबाट संस्कृत पढेर आएका र नेपाली पढाउथे भीम शमशेरका नाति सुवर्ण र महावीरहरूलाई । उमेर ४५ वर्षको ।

शङ्करराज सम्झन्छन् आफ्नो पिता पद्मराज पाठकले भनेको कुरा । लेखनाथ आइरहन्थे बिहान ठमेल घरमा  । बुबा स्वर्गद्वारी प्रभुको ज्यादै भक्त भएकोले प्रभुले शक्ति दिएको छ भन्‍ने उनको धारणा थियो  । एक दिन मेरो बुबाले अनायास पौडेललाई भन्‍नु भएछ - ‘जाऊ, सुनाइदेऊ तिम्रो भीम शमशेरलाई उनी तीन महिनापछि महाराज हुन्छन् भनेर ।’ भीम शमशेरको हालत भने राजा नै हुन नपाउने पो हो कि भन्‍ने अवस्थाको थियो । प्रधान सेनापति थिए उनी तर छटपटिइरहेका थिए एउटा मानसिक अन्तर्द्वन्द्वमा - महाराज बन्‍न नपाउने हो कि होइन भनेर । कारण उनको उमेर थियो । ६४ वर्षको बुढो भइसकेका थिए । हुन पनि यसको ३ वर्षपछि त उनी बिते नै ।

आफ्नै दाजु देव शमशेरको हातबाट सत्ता खोसेर विगत २८ वर्षादेखि नेपालमा तेस्रो लामो समय श्री ३ भएका चन्द्र शमशेर ६६ वर्षको उमेरमा तन्दुरुस्त भएर कडा शासन चलाइरहेका थिए । उनको विगतलाई हेर्दा उनी बाच्छन् कि बाच्दैनन् भन्‍ने थियो । टिबी रोग लागेर दुब्लो पातलो भएकाले ‘फिस्टे महाराज’ भनिन्थे । तर लामो शासन उनैको चलिरहेको वेला र द्विविधापूर्ण मानसिक अवस्थामा रहेका भीम शमशेरले आफू ३ महिनापछि राजा हुने खबर लेखनाथबाट सुनेपछि जति विभोर भए त्यति नै डराए पनि । र, भने लेखनाथलाई - ‘लहै, यो खबर हामी तीन जनामा मात्र रहोस् । नत्र मार्छन् चन्द्र शमशेरले ।’

तीन महिना बित्न लाग्यो  । झन् तन्दुरुस्त छन् चन्द्र शमशेर । लेखनाथलाई बोलाएर भने भीम शमशेरले, ‘खै त पण्डित, पद्मराजको कुरा । चन्द्र शमशेर त बिहान टुँडिखेलमा घोडा कुदाइरहेकै छन् ।’ आरध्यदेवको अगाडिको साधक जस्तो हात जोडेर उभिएका लेखनाथ नाजवाफ छन् । तीन महिना पुग्ने केही दिन अगाडि चन्द्र शमशेरलाई फ्रान्सले आफ्नो मुलुकको ठूलो तक्मा ‘ग्र्यान्ड क्रस’ दियो जुन नेपोलियन बोनपार्टले स्थापना गरेका थिए । त्यसपछि उत्सव सुरु भयो सिंह दरबारमा भोज भतेरको । यसपछि बल्ल पद्मराज पाठकले भनेकै दिन आयो । लडेका छन् चन्द्र शमशेर ओछ्यानमा तर आँखाले यसो हेरेको वेला अगाडि उभिएकाहरू अझै डरले सातो गएको जस्तो हुन्थे । यसरी आँखा हेर्दा हेर्दै सन् सन् १९२९ को त्यही जुलाई ८ को दिन, पद्मराजले भनेकै दिन, चन्द्र शमशेर बिते  । कारण थियो - निमोनिया ।

यसपछि भीम शमशेर बस्न पुगे सिंह दरबारमा । काठमाडौँका चाकडीवालाहरूको कित्ता परिवर्तन भयो । चन्द्र शमशेरको शासनमा शक्तिशाली बनेका राममणि दीक्षितको चुरीफुरी सकियो । त्यही हालत माहिला गुरुज्यू हेमराजको चाहिँ भएन । ब्रिटिसलाई नेपाली तन्‍नेरी ज्यान बेचेर अनि मुलुकभित्र जमिनको चाँजोपाँजोमा शोषण गरेर शासकले खाने युग नै थियो त्यो । भीम शमशेरले त्यही गरे जे चन्द्र शमशेरले गरे । मान्छेहरू फेरिए । जमीन बकस पाउनेहरू बदलिए । फरक त्यत्ति हो । एउटा परिवर्तन चाहिँ भयो । भीम शमशेरले शनिवार बिदा दिए र कार्यालय समय १० बजेदेखि ४ बजेसम्म तोकिदिए ।

सत्ता परिवर्तनले अँगालेको यसै क्रममा चन्द्र शमशेरले हरण गरेको जमीन, चन्द्र शमशेरको निर्णयलाई यथावत् राखेर, भीम शमशेरले त्यहीँ जमीन बकस दिए पद्मराज पाठकलाई । एउटा रमाइलो पक्ष हो त्यो जमीन लोहनीको मूल थलोसँग आबद्ध छ । यस अर्थमा कि त्यो जमिन थानसिंङे लोहनीको थानसिंङको पुर्खौली थलोसँगै रहेको छ । भीम शमशेरले बकस दिएको जमीन बितलबमा हो, पहिलेको थानसिङ गाउँ पालिका वडा नम्बर २ जुन अहिले लिखु गाउँ पालिकाको वडा नम्बर ६ बनेको छ ।

त्यसै मेसोमा पद्मराजले बिन्ती चढाएछन् भीम शमशेरसँग - ‘सरकार, गाईको लिलामी गरिबक्सनु भएन ।’ हिन्दूले लक्ष्मी मान्‍ने गाईको पनि त्यति वेला लिलाम गर्ने चलन रहेछ । अहिले नियतिले थानसिङे लोहनी र थानसिङमा बकस पाएका पाठक परिवारलाई वैवाहिक सम्बन्धमा गाँसिदिएको छ - वेदप्रसादको दाजु फणीन्द्रप्रसादको नातिनीको विवाह पद्मराज पाठकको नातिसँग हुन गएको छ ।

भीम शमशेरकै पालामा हो वेदप्रसादले दरबार स्कूल छाडेका । छोडे कक्षामा सीमित हुन नसके पछि । स्कूल मात्र होइन पढ्नै छाडिदिए । भौँतारिए गन्तव्यविहीन भएर । भौँतारिँदा सिकेको जीवनको ज्ञानले फेरि पढ्न उत्प्रेरित गर्‍यो उनीलाई । उनले आफैले जोहो गरे बनारसमा गएर म्याट्रिकुलेसनको जाँच दिने । तर त्यहाँ कहाँ बस्ने र कसरी खाने? त्यसको उपाय पनि उनले आफै खोजे । त्यति वेला वेदप्रसाद २२ वर्ष भइसकेका थिए । जुद्ध शमशेर श्री ३ भइसकेका थिए सन् १९३२ देखि । तर्कराजका छोरा भोगेन्द्रराज जो सन् १९६२ मा वडा गुरुज्यू पनि बने राजा महेन्द्रको समयमा करिब एक वर्ष, उनले आफ्नो जेठो छोरा टेकराज र माइलो नयनराजलाई संस्कृत पढाउन घर र भान्छे बाहुन सहित पुरा बन्दोबस्त गरेर राखेका थिए बनारसमा । वेदप्रसाद त्यही मिसिन पुगे । उनीहरू संस्कृत पढ्थे । वेदप्रसाद प्राइभेट ट्युसन पढ्न जान्थे । केही महिना पढेर जाँच दिए । पास पनि भइहाले म्यट्रिकुलेसन ।

काठमाडौँ फर्केपछि उनले निवेदन हाले । बबर शमशेरको छोरा मृगेन्द्र शमशेर डाइरक्टरेट अफ पब्लिक इन्स्ट्रक्सन्सका डाइरेक्टर जनरल थिए । उनको निगाहबाट सरकारी छात्रवृत्ति पाए लखनउको लाटुस रोडमा रहेको लखनउ पलिटेक्निकमा सिभिल इन्जिनियरिङ पढ्न । यो जुर्न सक्यो दुइटा कारणले । ब्रिटिस इन्डियामा ठूलो माग थियो मध्यम स्तरको प्राविधिक जनशक्तिको । रेल फैलिँदै गएको थियो । त्यस्तै भवन निर्माण र सिचाइ नहरहरू पनि । त्यसैले ब्रिटिसले यस्ता जनशक्ति उत्पादन गर्ने इन्स्टिच्युट खोल्न प्रोत्साहन गरेका थिए । यता नेपालमा पनि राजकाज सुचारु चलाउन यस्ता मान्छेहरूको आवश्यकता शासकहरूले महसुस गरेका थिए ।

यसरी नै हो इन्डियामा मध्यम स्तरको अध्ययनको लागि पठाउन थालिएको । समय कम लाग्ने र पैसा पनि कम । वेदप्रसादका सानै देखिको नजिकका साथीहरू देवीकानाथ जोशी र नृपध्वज कार्की हिसाब किताब सम्बन्धी पढ्नको लागि गएका थिए । पछि फर्केर कुमारी चोक अड्डामा काम गरे । यो राणाकालीन अड्डा भनेको अहिलेको महालेखा परीक्षकको कार्यालय जस्तै थियो । जिन्दगीको पछिल्ला चरणमा ती दुबै स्वीकृत प्राप्त लेखा परीक्षक बने । वेदप्रसादले चाहिँ म्याट्रिक भर्खरै पास गरेकोले बल्ल यो मौका पाए सिभिल इन्जिनियरिङ पढ्न । भीम शमशेरको मृत्यु भएर जुद्ध शमशेर श्री ३ महाराज भइसकेपछि । 

सिभिल इन्जिनियरिङमा डिप्लोमा सकेर उनी काठमाडौँ फर्के । काम पाउनको लागि श्री ३ को हुकुम हुनु पर्थ्यो । त्यसपछि हत्तपत्त दाम राखेर ढोग्न पाउनु पर्थ्यो । दाम राख्ने भनेको एउटा यस्तो चलन जसबाट शासकको पराधीनता विधिवत् स्वीकारगर्नु हो । त्यसलाई अर्को शब्दमा राजाको सिन्दूर पनि भनिन्थ्यो । श्री ३ महाराजको अगाडि पेस हुने मौका पनि भन्‍ने बित्तिकै पाइँदैन थियो । कसैले महाराजको अगाडि पुर्याइदिएर बिन्ती चढाइदिनु पर्‍थ्यो । वेदप्रसादलाई यो मौका जुर्‍यो । जुद्धले शिक्षकको जागीर बोलिदिए । वेदप्रसादले दाम राखे । उनी शिक्षक भए । टेक्निकल स्कूल सुरु गरेको थियो सरकारले कुमारी चोक वसन्तपुरमा । यसको स्थापना कपडा बुन्‍ने सम्बन्धी सीप सिकाउनको लागि थियो । टेक्निकल स्कूलसँग नै आबद्ध भएर नेपालमा पहिलो इन्जिनियरिङ स्कूल सुरु गर्ने काम कुलरत्न तुलाधर र वेदप्रसाद लोहनीले गरेका हुन् ।

नियतिको संयोग अचम्म हुन्छ । वेदप्रसाद भन्दा उमेरमा तीन वर्ष कान्छा असनमा जन्मेका कुलरत्न तुलाधर । सन् १९४१ मा उनी फर्केका हुन्छन् कलकत्ताबाट सिभिल इन्जिनियरिङमा डिग्री लिएर अर्थात् व्याचेलर इन इन्जिनियरिङ (विइ) गरेर । ज्ञानेश्वरमा जन्मेका वेदप्रसाद भौँतारिँदै गएका र पछि ज्ञान पलाएपछि फेरि पढ्न सुरु गरेर लखनउबाट फर्केका हुन्छन् सिभिल इन्जिनियरिङमा डिप्लोमा गरेर । यिनीहरूको मिलन हुन्छ नेपालमा इन्जिनियरिङ शिक्षा सुरुगर्ने काममा श्री ३ जुद्ध शमशेरको हुकुम अनुसार ।

यसरी सुरु हुन्छ सन् १९४२ मा पहिलो इन्जिनियरिङ स्कूल जसको हेडमास्टर कुलरत्न र शिक्षक वेदप्रसाद हुन्छन् । यो इन्जिनियरिङ स्कूल १२ वर्ष अगाडि वसन्तपुरमा खुलेको टेक्निकल स्कूल अन्तरगत रहन्छ एउटै भवनमा । त्यो भवनमा अहिले नव आदर्श विद्यालय चालु छ । 

कुलरत्न ६६ वर्षको उमेरमा बिते । त्यसै गरी वेदप्रसाद ८८ वर्षमा । कुलरत्न भन्दा दुई वर्ष कान्छा सत्य मोहन जोशी बाचेका छन् शताब्दी पुरुष बनेर । उनी पनि त्यही भवनमा रहेको अर्को कार्यालयमा काम गर्थे त्यतिखेर । यसरी कुलरत्न र वेदप्रसाद दुबैलाई राम्ररी चिनेका थिए । उनी सम्झन्छन् ती दिनहरू र यसरी भन्छन् - 'वसन्तपुरको लङ जम्मै खाली थियो । विहारको चोक चाहिँ कुमारी कै । कुमारी कै अन्तरगत सरकारी गुठीको, प्रयोगमा नरहेको । त्यो वेला त्यहाँ तिनौटा अड्डा बसेको थियो । औद्योगिक व्यापारी समाचार सङ्ग्रह अड्डा, भीमबहादुर पाँडे अन्तर्गत । एउटा अड्डाचाहिँ गोविन्द प्रसाद गोर्खालीको, जैसी देवल तिरको । 'ल्यान्ड मोरगेज कोओपरेटिभ', काम चाहिँ बनेपामा गरिरहेको । अर्को चाहिँ इन्जिनियरिङ । मुनिपट्टिमा कुलरत्न माड्साहेब र लोहनीजी कामगर्नु हुन्थ्यो । म चाहिँ भीमबहादुर पाँडेकोमा ।'

नेपालको इन्जिनियरिङ शिक्षा आज जहाँ पुगेको छ र जुन रूपमा विकाश भएको छ त्यसको जग चाहिँ यहीँ इन्जिनियरिङ स्कूल हो । त्यति वेला यसको स्थापना ओभरसियर वा डिप्लोमा तहको जनशक्ति तयार गर्नु रहेको थियो । र, राम्रो जनशक्ति तयार पनि गर्‍यो सुरुमै । यसको सुरुकै एउटा उदाहरण हो त्यस स्कूलको पहिलो ब्याचका विद्यार्थी लेखनाथ रेग्मी । उनी वेदप्रसादकै समयको नेपालमा कुनै वेला राम्रो घर बनाउनेमा कहलिएका थिए । मुख्य सहरमा जमीनको अभाव र अग्ला घरहरू बनाउने चलनले गर्दा पुराना घरहरू भत्किने क्रम छ अहिले । तर पनि उनले बनाएका घरहरू काठमाडौँको दरबारमार्ग लगायत विभिन्‍न ठाउँहरूमा अझै छन् । एउटा कार्यक्रममा उनले भने - ‘धेरै जसो क्लास लोहनी सरले लिनुहुन्थ्यो, गणित, ड्रइङ ।’ उक्त कुरा उनले १८ वर्ष अगाडि त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ अध्ययन संस्थानले स्टक्चरल इन्जिनियरिङ विषयमा पहिलो हुने विद्यार्थीलाई दिइने वेदप्रसाद लोहनी स्वर्ण पदक वितरण समारोहमा बोलेका थिए ।

हालै शताब्दी पुरुषले एउटा प्रसङ्गमा मलाई भने - 'वहाँको एक्टिभिटी अर्कै । कुलरत्न तुलाधर थापना मात्रै । बोल्दा पनि नबोल्ने । एक्टिभिटी छैन । जान्‍न त जानेकै होला त्यो अर्को कुरा हो । त्यो तपाइको पितालाई कसले सक्ने? सरस्वती सदन वहाँकै उपज हो । रत्नमान वडा काजीको सबभन्दा पहिले पब्लिकको घर बनाएको वहाँले हो । त्यो वेलामा कसैले सिमेन्ट प्रयोग गरेकै थिएन । सरस्वती सदनको छज्जा बनायो नि, त्यहाँ उभिन सबलाई डर लाग्ने ।'

वेदप्रसादले जति कक्षामा पढाउने काम गरे त्यति आफूले जानेको इन्जिनियरिङ प्रविधिको प्रयोग पनि गरे । प्रविधि प्रयोगको सुरुवातगर्ने काममा आँट, जानेको ज्ञानमा आत्मविश्वास र सुझबुझ अत्यधिक चाहिन्छ । वेदप्रसादले देखाए यी सबै । यो देखाउन सकेको कारणले नै सरस्वती सदन लगायतका भवनहरू निर्माण हुन सके । शिक्षकको हैसियतमा त्यत्तिकै सफल थिए वेदप्रसाद । उनले कुलरत्नसँग मिलेर स्थापना गरी पढाउदै आएको यो इन्जिनियरिङ स्कूल 
वसन्तपुर कुमारीको पूर्वको लामो लङबाट सरेर अहिलेको त्रिचन्द्र क्याम्पसमा पुग्यो सन् १९४५ मा जब वेदप्रसाद लोहनी ‘सरस्वती सदन’को निर्माण करिब सक्दै थिए ।

त्यसपछि यो स्कूलको नाम सन् १९५० परिवर्तन भयो ‘नेपाल इन्जिनियरिङ इन्स्टिच्युट’ मा । र, १९५८ वर्षमा पुग्यो अहिलेको प्रशासनिक तालिम केन्द्र भएको भवन जाउलाखेलमा । त्यही वर्ष त्यहाँबाट पनि सर्यो परिवर्तित नाम बोकेको इन्जिनियरिङ स्कूल पुलचोकको आनन्द निकेतनमा । नयाँ शिक्षा योजना सन् १९७२ मा लागु भएपछि इन्जिनियरिङ अध्ययन संस्थान खुल्यो त्रिभुवन विश्वविद्यालय अन्तरगत । संस्थान खुले पनि पठन पाठनको संस्था त थिएन । 

कुलरत्न र वेदप्रसाद मिलेर सुरु गरेको इन्जिनियरिङ स्कूल, जसले रूपान्तरित नाम बोकेको थियो नेपाल इन्जिनियरिङ इन्स्टिच्युट, त्यसलाई नै समावेश गरेर सुरु भयो पुलचोक क्याम्पस । कुलरत्न तुलाधर बने पहिलो डीन त्यस इन्जिनियरिङ अध्ययन संस्थानको । वेदप्रसादको बहु आयामिक व्यक्तित्व भएको कारणले होला उनी यति वेला चाहिँ बुटवलमा घ्यु प्रशोधन कारखाना सञ्चालन गर्दै थिए । 

कर्णालीबाट खस भाषा बनेर सुरु भएको नेपाली भाषा नेपालमा सबैतिर बोलिने भाषा मात्र होइन नेपाल बाहिर पनि बोलिन्छ । भारतमा समेत यो फैलिएको कारण यसलाई सन् १९९२ देखि भारतको एक औपचारिक भाषा मानेर संवैधानिक अनुसूचीमा नै राखिएको छ । हाम्रो त यो राष्ट्र भाषा तर पाठ्य सामाग्री कमी रहेको आफ्नै भाषामा । प्रवेशिका परीक्षा पास गरेर इन्जिनियरिङ स्कूलमा पढ्न आएका विद्यार्थीको लागि नेपालीमा पाठ्य पुस्तकको पुरै अभाव थियो जति वेला वेदप्रसाद पढाउथे । यस्तै अभाव पठन पाठनको हरेक विषयमा थियो । नेपाल सरकारले यो अभाव निकै अगाडि नै महसुस गरेको हो । इन्जिनियरिङ स्कूल जुद्ध शमशेरको वेलाको तर यस्तो अभावको महसुस चन्द्र शमशेरको पालामा नै भइसकेको थियो । 

के कस्तो पढाउने र मूलतः राणा शासनको निरन्तरतासँग मेल खाने पाठ्य सामाग्री उत्पादन गर्न चन्द्र शमशेरले स्थापना गरे गोर्खा भाषा प्रकाशिनी समिति । यो संस्थाको जन्म वेदप्रसादको जन्म भन्दा एक वर्ष अगाडि भएको थियो । जुद्ध शमशेरको पालामा वेदप्रसाद भोँतारिरहेकै वेलामा सन् १९२४ मा गोर्खा भाषा प्रकाशिनी समितिको नाम परिवर्तन भयो । जुद्ध शमशेरले नाम बदलिदिए नेपाल भाषा प्रकाशिनी समितिमा । यो समितिले निकै राम्रो काम गरेको हो त्यति वेला जब महाकवि देवकोटा लगायत यसै समितिमा बसेर काम गर्दथे । देवकोटाले अन्तरवार्ता दिए, निबन्ध सुनाए पुष्कर शमशेरलाई, अनि जागीर पाएका थिए त्यहाँ ।

माधव प्रसाद घिमिरेले त्यहाँ देवकोटा भन्दा अगाडिदेखि नै काम गर्दथे । महाकवि देवकोटाले नेपालको पहिलो महाकाव्य तिन महिना भित्रमा लेखे । त्यो ‘शाकुन्तल महाकाव्य’मा उनले भनेका छन् - ‘नेपाली महाकाव्य आइसल्यान्डको सर्प जस्तो थियो । मलाई अभाव पूरा गर्ने इच्छा पल्हाएर आएकोले लेखे ।’

कहाँ बसेर लेखे त देवकोटाले नेपालको पहिलो महाकाव्य? यसको उत्तर जति रोचक छ त्यति नै भावनात्मक पनि । आफ्नो अनन्य मित्र फणीन्द्र जसलाई उनी फणी भन्थे, त्यसको भाइ । आफू भन्दा छ वर्ष कान्छो र सानै देखिको आफ्नो भाइ जसले पछि आफूलाई साइकल चढ्न सिकाएको थियो । हो, त्यो भाइले भर्खर निर्माण सम्पन्‍न गरेको भवनमा बसेर देवकोटाले पहिलो महाकाव्य लेखेका थिए । यसबारे राष्ट्र कवि माधव प्रसाद घिमिरेले लेखेका छन् - ‘देवकोटा शाकुन्तल लेख्दै हुनुहुन्थ्यो । … उहाँ सरस्वती सदनको माथिल्लो भागमा घाममा चकटी ओछ्याएर लेखिरहनु हुन्थ्यो ।’

नेपालीले बनाएको पहिलो सिमेन्ट ढलानको त्यो भवन शताब्दी पुरुष भनेजस्तै निश्चित रूपमा वेदप्रसादको 'उपज' थियो । जतिवेला ‘सरस्वती सदन’मा बसेर देवकोटा महाकाव्य लेखिरहेका थिए त्यतिनै वेला सँगैको त्रिचन्द्र कलेजमा सरेको इन्जिनियरिङ स्कूलमा बसेर वेदप्रसाद पढाइ रहेका हुन्थे ।

नेपाल भाषा प्रकाशिनी समिति भएर नै हो भाषा र साहित्य मात्र होइन प्राविधिक पुस्तकहरू पनि छापिएका थिए । वेदप्रसादले इन्जिनियरिङ स्कूलमा पढाउदा आफैले महसुस गरे विद्यार्थीको कठिनाइ जुन पाठ्य पुस्तकको अभावले गर्दा भएको थियो । पढ्ने, पढाउने र भवन निर्माणगर्ने काममा चुर्लुम्म डुबेका वेदप्रसादसँग समय बिलकुलै थिएन । तर जसरी भए पनि निकाले समय पाठ्य पुस्तक लेख्नको लागि । थालेपछि दत्तचित्त लगाएर काम फत्ते गर्ने उनको स्वभावले गर्दा रेखागणितको किताप लेखेरै छोडे ।

प्राविधिक विषय भएको हुनाले त्यसमा शासकीय नजर पनि घुमेन । नेपाल भाषा प्रकाशिनी समितिले आफूले खोजेको सामाग्री पायो । छाप्यो पुस्तक समितिले । यो नै नेपाली भाषामा लेखिएको पहिलो पुस्तक बन्यो ज्यामितिको अर्थात् रेखागणितको । वेदप्रसाद सिमेन्ट ढलान प्रविधि नेपालमा भित्र्याउने पहिलो नेपाली मात्र बनेनन् । नेपाली भाषामा ज्यामिति लेख्ने पहिलो नेपाली पनि बने ।

वेदप्रसादबारे वसन्तका लेख


Author

थप समाचार
ad
x