चौथो चीन अन्तर्राष्ट्रिय आयात एक्स्पो:
के नेपाल चिनियाँ माग धान्न तयार छ ?
बेइजिङ - चौथो चीन अन्तर्राष्ट्रिय आयात एक्स्पो चीनको साङहाई सहरमा सम्पन्न भएको छ । यो एक्स्पोले सहभागिता मुलुक तथा विक्रीको हिसाबले नयाँ रेकर्ड बनाएको छ । अघिल्लो वर्ष कोभिड-१९ को कहरमा परेको विश्व यस पटक पनि त्यसैको चपेटामा छ । यस्तो अवस्थामा पनि चीनले निरन्तर रूपमा आयात एक्स्पोको आयोजना गर्दै विश्वलाई व्यापारिक तथा आर्थिक मञ्च उपलब्ध गराएको छ ।
एक्स्पोमा व्यापारी-व्यापारी तथा व्यापारी-ग्राहकको प्रत्यक्ष भेट र कारोवार सामान्य नै हो । तर यस पटकको एक्स्पोमा गरिएको प्रत्यक्ष प्रसारणले नौलो आयाम थपेको छ । हुन त चीनमा सेलिब्रेटीहरूले गाउँ गाउँ पुगेर नै प्रत्यक्ष प्रसारणमार्फत् स्थानीय उत्पादनहरूको प्रचारप्रसार गर्ने गर्दछन् । यो चीनले अपनाएको गरिबी निवारणको एउटा उपाय पनि हो । यसरी स्थानीय विशेषतायुक्त वस्तुले राम्रो विक्री तथा राम्रो आधार पाएको पनि छ ।
यो एक्स्पोको दौरान गरिएको प्रत्यक्ष प्रसारणमार्फत् पूर्वी एसिया, यूरोप, अफ्रिका, दक्षिण अमेरिकालगायतका महादेशका २० वटा देशहरूको आयातित वस्तुको विक्री गरिएको थियो । गत नोभेम्बर ६ तारिख चाइना मिडिया ग्रूपका संचालकसहित सेलिब्रेटीहरूले साङहाई आयात एक्स्पोको अवधिमा प्रत्यक्ष प्रसारणबाट चिनियाँ इन्टरनेट प्रयोगकर्ताहरूलाई जापान, थाइल्याण्ड, अफगानिस्तानलगायतका देशका लगभग २३ किसिमका सामानहरूको सिफारिस गरेका थिए ।
सो क्रममा अफ्गानी सिम्टाको विक्री २ घण्टामा २६ टन पुगेको थियो र सबैभन्दा लोकप्रिय वस्तु बन्न पुगेको थियो । त्यो प्रत्यक्ष प्रसारणको भ्यूज संख्या ४.२ करोड पुगेको थियो । साथै सो अवसरमा १ लाख २० हजार जार अर्थात् २६ टनको सिम्टा तुरुन्तै विक्री भएको थियो । र, कूल विक्रीमा संलग्न रकम ६ करोड चिनियाँ युआनभन्दा बढी पुगेको जनाएको छ ।
नोभेम्बर १ मा ४५ टन अफ्गानी सिम्टा बोकेको कार्गो प्लेन साङहाईको पूतोङ अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । तालिवान सत्तामा आइसकेपछि यो चीनमा आयातीत पहिलो अफ्गानी वस्तु थियो । नोभेम्बर २ मा चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वनपिनले पनि उक्त अफ्गानी सिम्टा चिनियाँका लागि नयाँ स्वाद हुने भन्दै अफगानी किसानको जीवन उकास्न सहयोग पुग्ने समेत बताएका थिए ।
यसबाहेक प्रत्यक्ष प्रसारणको क्रममा 'युद्धबाट बाँचेका मानिसहरूलाई मद्दत गर्न यो राम्रो कुरा हो' चिनियाँ नेटिजन्सहरूले यस्तो सन्देशसहित खरीद गरेका थिए । 'आज राति केही सिम्टा किन्नुहोस्, अफ्गानी जनतालाई सजिलो छैन ।' अफगानिस्तानमा सिम्टाको उत्पादन राम्रो भए पनि महामारी र देशको अवस्थाका कारण विक्री सजिलो छैन ।
तर चीन र चिनियाँले अफ्गानी किसानहरूकालागि विशेष रूपमा सिम्टा सम्बन्धित एयर करिडोर खोलेको छ । उक्त अफ्गानी सिम्टालाई चीनभरिका सपिङ मल र सुपरमार्केटहरूमा विक्री अनुमति दिएको छ ।
यसरी चीन अन्तर्राष्ट्रिय आयात एक्स्पोमा अफ्गानी सिम्टाको विक्री संयोग होइन । यो अतिकम विकसित देशहरूकालागि चीन अन्तर्राष्ट्रिय आयात एक्स्पोले उपलब्ध गराएको प्लेटफर्म हो । यस वर्ष ३३ अतिकम विकसित देशका करिब ९० कम्पनीको सहभागिता थियो । साथसाथै यो चीनको साँचो बहुपक्षीयता हो र विश्व बजारमा अवसर खोज्नु र दिनु साझा हितको विषय हो ।
चीनको दृष्टिकोणमा सबै देश मिलेर विकास गर्नु नै वास्तविक विकास हो र सबैको साझा समृद्धि नै वास्तविक समृद्धि हो । चीन अन्तर्राष्ट्रिय आयात एक्स्पो विश्वलाई बहुपक्षीय व्यापार प्रणालीमा एकीकृत गर्ने एउटा प्लेटफर्म हो । यो एक्स्पोले फेरि पनि कोभिड-१९ बीच चीनको खुलापन र खुला अर्थ व्यवस्थाको पैरवी स्पष्ट झल्किएको छ ।
व्यापार, सहयोग, सम्झौता, नवप्रविधि वस्तु प्रदर्शन, व्रिकी र नयाँ माँगमा हस्ताक्षरसहित अर्को वर्ष फेरि पनि आयोजना हुने प्रतिबद्धतासँगै नोभेम्बर १० तारिख बुधबार सम्पन्न उक्त एक्स्पोमा एक वर्षकालागि वस्तु तथा सेवा खरीदका लागि कुल ७०.७२ अर्ब अमेरिकी डलरको सम्झौता भएको एक्स्पो ब्यूरो उपनिर्देशकले पत्रकार सम्मेलनमा बताएका छन् ।
चीन विश्वमै सबैभन्दा ठूलो उत्पादककर्ता र निर्यातकर्ता मात्रै होइन, उ सबैभन्दा ठूलो आयातकर्ता पनि हो । १.४ अर्ब जनसङ्ख्या र ४० करोड मध्यम आय भएका चीनमा हरेक वर्ष २.५ ट्रिलियनको सरसामान तथा वस्तु चीनले आयात गर्दै आएको छ । चीनले नेपालका झण्डै आठ हजार वस्तुलाई भन्सार छुटको सुविधा दिएको छ । यी सूचीमा परेका वस्तुको निर्यात प्रवर्द्धन गर्न सरकार र निजी क्षेत्र अगाडि आउनुपर्छ ।
यही एक्स्पोको अघिल्ला श्रृँखलामा चीन र नेपालबीच ई-कमर्सको विकास सम्बन्धमा पनि सचिवस्तरीय वार्ता भएको थियो । यसै गरी नेपाली कफीलाई चीनमा अनुमति दिने सम्बन्धमा पनि बेइजिङमा केही वर्षअघि वार्ता भएको थियो । यी वार्ताहरूबाट नेपाल सरकार निष्कर्षसहित कार्यान्वयनमा आउन सकेको छैन । यसबाहेक चीन निर्यात गर्ने वस्तुमा सबै जानकारी चिनियाँ भाषामा उपलब्ध गराउने चिनियाँ पक्षको मागलाई पनि नेपाली पक्षले सम्बोधन गर्नसकेको देखिन्न ।
यसै गरी कतिपय वस्तुहरूको व्यापारमा केही निजी कम्पनी तथा व्यापारीले मात्र धानेको देखिन्छ । यस्तोमा चीनबाट एउटै वस्तु एकै स्तरमा केही ठूलो सङ्ख्यामा माग आए हालको अवस्थामा नेपालले आपूर्ति गर्नसक्ने देखिन्न । चीनबाट चाँदीका सामान्य गहनामात्रै केही हजार किलोमा माग आए के नेपालले पूरा गर्नसक्छ ? धेरै ठूलो माग आए तुरून्तै उपलब्ध गराउन नेपाल असक्षम छ ।
यस्तै विडम्बना चिया र कफीमा पनि छ । माग आइहाले पनि यसलाई निरन्तरता दिने अवस्थामा छैन । यसकारण, नेपालले व्यवस्थित औद्योगिकरण, नियमित रूपमा स्तरीय उत्पादन, ब्राण्डिङ जस्ता कामहरूमा जोड दिनु अत्यावश्यक छ । यसरी व्यवस्थित तथा गुणस्तरीय उत्पादनमा निरन्तरता दिई प्रवर्द्धन गर्न सकेमा चीनसँगको व्यापार घाटा कम गर्नुका साथै नेपालको आर्थिक विकास पनि सुदृढ हुने अपेक्षा गर्न सकिन्छ ।