युरोकपमा छानिए २० वटा देश, कुन-कुन छानिए ?
काठमाडौँ- युरोकप २०२४ मा कुल २० देश छनोट भएका छन् । युरोपका २४ देशले भाग लिने युरोकपमा छनोट खेलबाट अब एक देश छनोट हुन बाँकी छ भने बाँकी ३ देश प्लेअफबाट छानिने छन् ।
अब समूह डीबाट समूह चरणका अन्तिम खेल आज राति सकिएपछि आयोजकसहित युरोकपका २१ देश छनोट हुने छन् ।
युरोकप २०२४ को जुन १४ देखि १४ जुलाईसम्म जर्मनीमा हुँदैछ । आयोजकका हिसाबले जर्मनी सिधै छनोट भएको छ भने युरोकपका लागि छनोट भएका अन्य देशमा समूह एबाट स्पेन र स्कटल्याण्ड, समूह बीबाट फ्रान्स र नेदरल्याण्डस, समूह सीबाट इङल्याण्ड र इटाली छानिएका छन् ।
त्यस्तै समूह डी बाट टर्की छनोट भएको छ भने अब अन्तिम खेलपछि क्रोयसिया र वेल्समध्ये एक देश सिधै छनोट हुनेछ ।
त्यसैगरी समूह इ बाट अल्बानिया र चेक रिपब्लिक छनोट भएका छन् भने समूह एफ बाटबेल्जियम र अस्ट्रिया छनोट भएका छन् । त्यसैगरी समूह जीबाट हंगेरी र सर्बिया, समूह एचबाट डेनमार्क र सर्बिया, समूह आइबाट रोमानिया र स्वीजरल्याण्ड तथा समूह जेबाट पोर्चुगल र स्लोभाकिया युरोकपका लागि छनोट भएका छन् ।
आगामी युरोकपमा म्यानचेस्टर सिटीबाट खेल्ने इर्लिंग हलाण्डको देश नर्वे भने छनौट हुन असफल भएको छ । समूह ए मा रहेको नर्वे ८ खेलमा ११ अंकसहित तेस्रो भएको थियो । सिधै छनौट हुन असफल भएको नर्वे नेसन्स लिगमा खराब प्रदर्शनका कारण प्लेअफ समेत खेल्न नपाउने भएपछि युरोकपमा पुग्न असफल भएको हो ।
अब तीन स्थानका लागि प्लेअफमा पोल्याण्ड, वेल्स/क्रोसिया, इजरायल, बोसनिया हर्जगोभिना, फिनल्याण्ड, युक्रेन, आइसल्याण्ड, गार्जिया, ग्रीस, काजकिस्तान, लक्जेम्बर्ग र इस्टोनिया खेल्नेछन् ।
प्लेअफमा युइएफए नेसन्स लिगको प्रदर्शनका आधारमा तय गरिएको वरियताअनुसार खेल्ने अवसर दिइएको युइएफएले जनाएको छ । प्लेअफको ड्र भने नोभेम्बर २३ मा हुने छ भने प्लेअफका खेल आगामी मार्चमा हुनेछन् ।