पूर्वप्राथमिक तहमा एकीकृत पाठ्य सामग्री कार्यान्वयनमा
काठमाडौँ- पाठ्यक्रम विकास केन्द्रले पूर्वप्राथमिक र प्रारम्भिक बालविकास तहमा पहिलो पटक स्वीकृत मापदण्डमा आधारित एकीकृत पाठ्य सामग्री कार्यान्वयन गरेको छ ।
केन्द्रले ‘प्रारम्भिक बालविकास र शिक्षाको पाठ्यक्रम, २०७७’ अन्तर्गत पूर्वप्राथमिक र प्रारम्भिक बालविकास तथा शिक्षाका सिकाइसम्बन्धी पाठ्य सामग्री विकास गरेको हो । शैक्षिक सत्र २०८१, २०८२ र २०८३ का लागि स्वीकृति प्राप्त पूर्वप्राथमिक तहको सिकाइ सामग्रीको सूची केन्द्रले वेबसाइटमार्फत सार्वजनिक गरेको छ ।
उक्त सूचीमा सिकाइ सामग्रीको नाम, बालबालिकाको उमेर समूह, प्रकाशकको नाम र ठेगानासमेतको विवरण समेटिएको छ । यी उमेर समूहमा नर्सरी, एलकेजी, एसकेजी पर्दछन् । आगामी शैक्षिक सत्रका लागि मापदण्डअनुसार स्वीकृत १५ पब्लिकेसन्सले ‘इन्ट्रिगेटेड एड्भान्स्ड किड्स’ लगायतका पाठ्य सामग्री प्रकाशन गर्न थालेका छन् ।
केन्द्रका महानिर्देशक वैकुण्ठप्रसाद अर्यालले ‘प्रारम्भिक बालविकास र शिक्षाको पाठ्यक्रम–२०७७’ अनुसार पाठ्य सामग्री नयाँ शैक्षिक सत्रदेखि लागू हुने जानकारी दिए । उनले यसबारे सम्बन्धित निकायलाई सूचित गर्न बेग्लै सूचना प्रकाशन गर्ने जनाउँदै स्वीकृत नभएका र विगतमा आफूखुसी प्रकाशन भएका सामग्री बिक्रीवितरण नगर्न आग्रह गरे ।
अनधिकृत पाठ्य सामग्री प्रयोग भए नभएको विषयमा शैक्षिक सत्र सुरु भएपछि अनुगमन गरी सम्बन्धित जिल्ला प्रशासन र स्थानीय तहको सहयोगमा कारवाही गरिने बताए । त्यस्ता अनधिकृत सामग्रीलाई केन्द्रले जफत गरी प्रकाशन बन्द, जरिवानालगायतका कारबाही गराउन सक्नेछ ।
महानिर्देशक अर्यालले भने, 'स्वीकृत मापदण्डमा कुनै फरक पर्न गएमा पाठ्य सामग्री तथा मूल्याङ्कन समितिको सिफारिस तथा केन्द्रको आधिकारिक निर्णयअनुसार सुधार गरिनेछ । अनधिकृत सामग्री प्रयोग गर्न/गराउन पाइँदैन ।' पूर्वप्राथमिक शिक्षामा खासगरी निजी क्षेत्रका कतिपय विद्यालय बिनादर्ता सञ्चालनमा आएका सन्दर्भमा पाठ्य सामग्रीको प्रयोगले एकरूपता कायम भई बालबालिकाको सर्वाङ्गीण विकासमा मद्दत पुग्ने ठानिएको छ ।
हाल मुलुकभर सञ्चालित सरकारी बालविकास केन्द्रको सङ्ख्या ३३ हजार छ । निजी क्षेत्रबाट सञ्चालित कतिपय संस्थाले आफूलाई ‘मन्टेश्वरी’ का रूपमा परिचित गराउँदै आएका छन् ।
केन्द्रले तय गरेको पूर्वप्राथमिक र प्रारम्भिक बालविकास तथा शिक्षाका सिकाइसम्बन्धी पाठ्य सामग्री विकासका आधारमा सिकाइ सामग्रीले समेट्नुपर्ने समकक्षता, विषयवस्तु र क्षेत्र, आधारभूत सीप, विस्तृतीकरण, भाषिक तथा विधागत सीप, पृष्ठ सङ्ख्या आदि निर्धारण गरिएको छ । पाठ्य सामग्रीमा बालबालिकालाई पढाएर भन्दा खेलाउने र पढाइ कम सिकाइ बढी रहेको छ ।
समकक्षता निर्धारण गर्दा अभिव्यक्ति तथा सञ्चारका लागि भाषाको उपयोग, पोषणयुक्त खाद्य परिकारको पहिचान र दैनिक उपयोग, स्वास्थ्यकर बानी तथा असल सामाजिक व्यवहारको अनुशरण गरिएको छ । यसैगरी आवश्यकताअनुसार नमुना प्रदर्शन, वैयक्तिक सुरक्षाका उपायको अवलम्बन, दैनिक व्यवहारका कार्य, सर्वाङ्गीण विकासका क्रियाकलापमा संलग्नता र तिनको आधारभूत सीपको प्रयोग गर्न भनिएको छ ।
अभिभावक महासङ्घ नेपालका अध्यक्ष सुप्रभात भण्डारीले बोझिला पुस्तक लागू नगरी स्वीकृत र सरल पाठ्य सामग्री लागू हुनु सकारात्मक भएको बताए ।
काठमाडौँको ‘अङ्कुर प्रिस्कुल’ का प्रिन्सिपल सिर्जना पोखरेलले केन्द्रले यसअघि नै कक्षा १, २ र ३ मा एकीकृत पाठ्यक्रम लागू गरेकाले तल्ला तहमा पनि सोही प्रबन्ध गर्दा बालबालिकाको सिकाइ निरन्तरता र बहुआयामिक सिकाइमा सकारात्मक प्रभाव पर्ने बताए । रासस