आरक्षित खर्बपति विनोद चौधरीलाई सप्रेम चिठी
माननीय विनोद चौधरीज्यू,
जयनेपाल !
तपाईंले व्यापार गरेर जुन प्रगति र उचाइ हासिल गर्नुभएको छ, त्यो आम नेपालीको गर्वको विषय मात्र बनेको छैन, तपाईंलाई धनवर्षा हुँदा आम नेपालीको प्रतिव्यक्ति आय बढेको तथ्यांक निस्केर हामीले पनि तपाईंको धनसम्पत्तिसँग आफ्नो स्वामित्व विश्वमा जोड्न पाएका छौँ ।
अतः तपाईं धन दौलतले भरिपूर्ण हुँदा हामी नेपालीले गर्व किन नगर्ने ? एउटा नेपाली विश्वमा नै धनीको सूचीमा पर्दा अर्को नेपालीले दुःखमनाउ गर्नु गर्दैन । ‘फोब्र्स’ले तपाईंको नाम विश्वका २१ सय धनीमध्ये तपाईं नम्बर १३४९ मा परेको देखेर आश्चर्यले जिब्रो नटोक्ने नेपाली सायदै थिए । तपाईं कहीँ कतै सिङ्गो देश पनि हो किनकि नेपालसँग परिचित नहुनेले विनोद चौधरी सुनेको र पढेको पनि हुनसक्छ, विनोदको पहिचानले आफूलाई चिनाउनुपर्ने नेपालीको बाध्यता पनि छ यदाकदा ।
तसर्थ तपाईं विश्वको कुनै कुनामा नेपाल पनि हो । नेपाल चिनाउने प्रतिनिधि पात्र पनि । नेपालको व्यापारिक दुनियाँमा तपाईं र तपाईंको परिवारको नाम झिकिदिने हो भने नेपालको विद्युत्, होटेल, टेलिभिजन, रेडियो, ठेक्कापट्टा, फाइनान्स, बैंक, हाउजिङ, चुरोट, बियरलगायत व्यापारका यावत् क्षेत्र अधुरै रहन्छ । वाईवाई चाउचाउ आज जहाँ र जुन स्तरमा पुगेको छ, त्यसको ख्याति र प्रख्यातिले नेपाल, भारत, बंगलादेश जस्ता देशमा यो अपरिहार्य खाद्य सामग्री बनेको छ ।
देशका लागि व्यापारिक क्षेत्र र उद्योग व्यवसाय र उद्योग वाणिज्य संघमार्फत यहाँले पुर्याउनु भएको योगदान उल्लेखनीय छ । यति हुँदाहुदै तपाईं अहिले राजनीतिमा जे गर्दै हुनुहुन्छ, त्यसमा सर्वसाधारण सीमान्तीकृत, हेपिएका, परिचय गुमनाम भएका, गरिब र निमुखा, पँहुचविहीन मान्छेहरूको तर्फबाट केही प्रश्न उठेका छन् तिनीहरूलाई मुखरित गरेर हाम्रो समावेशी समानुपातिक प्रणाली र तिनको दुरुपयोगबारे म जिज्ञासा राख्दै छु ।
तपाईंको राजनीतिमार्फत केही गर्ने सोच र रहरलाई मेरो पनि समर्थन छ । सलाम छ । तपाईंको राजनीति छान्ने र छोड्ने दल अदलबदल गर्ने स्वतन्त्रताप्रति मेरो कुनै टिप्पणी छैन । चाहे पञ्चायतकालमा सूर्यबहादुरको नजिक रहेर पञ्चायतलाई सहयोग गर्ने राजनीति गर्नुभएको होस् या उनको पतनपछि धीरेन्द्र शाहको नजिक भएर गरिएको राजनीति ।
बहुदल आएपछि नेकपा एमाले रोजेर २०५० सालदेखि २०६४ सम्म एमाले बन्दा होस् या एमाले परित्याग गरेर २०७४ मा कांग्रेसमा आबद्ध बन्नु । यी सब तपाईंको व्यक्तिगत लगाव र पार्टी छनौटको विषय हो । भोलि अर्को कुनै पार्टी रोजाइ र विश्राम स्थल बनाउन सक्नुहुन्छ, त्यो यहाँको निजी मामला हो । पार्टी चहार्ने कुराबारे मेरो खासै कुनै आग्रह र विमति छैन ।
मेरो विशेष ध्यान असहमति भनेकै समानुपातिक र समावेशी कोटामा तपाईंले चुहाउनु भएको र्यालमा हो । नेकपा एमाले हुँदा पनि मनोनीत सभासदमा जान रुचाउनु भयो भने कांग्रेस प्रवेशपछि २०७४ मा पनि समावेशी र समानुपातिक कोटाबाट संसद् छिर्नुभयो । झन् अहिले नेपाली कांग्रेसको महाधिवेशनमा मधेसीको कोटामा प्रतिस्पर्धा गरेर आफ्नो मूल्य गिराउनु भयो । के त्यो समावेशी समानुपातिक कोटा तपाईं जस्ता सर्वसम्पन्न मान्छेको हितका लागि कल्पना गरिएको थियो ?
तपाईंले निश्चित उद्देश्य लिएर राजनीतिमा आएको छु, म त्यो पूरा गरेर नै छाड्छु भन्ने भनाइसहित बोलेको सुनेको थिएँ । त्यो वार्ता सुनेर मलाई अब तपाईं चामत्कारिक ढंगले राजनीतिमा केही गर्दै हुनुहन्छ, दीर्घकालीन सोच र योजना लिएर राजनीतिमा सक्रिय हुन लाग्नुभएको सन्देश दिनुभएको थियो, त्यो सुन्दा मलाई खुसी लागेको थियो ।
विश्वका धनाढ्यहरू अन्तरिक्षमा जान होडबाजी गर्या बेला तपाईं राजनीतिमा किन भन्ने प्रस्तोता चन्द्रशेखर कार्कीको जवाफमा आफू जन्मेको र आफूले राष्ट्रिय अन्तर्राष्ट्रिय हैसियत प्राप्त गरेको भूमि र जनताका लागि केही गर्ने इच्छा राजनीतिबाट पूरा गर्छु भन्ने बोलीले सुखद् अनुभूति भएको थियो ।
राजनीतिलाई धन कमाउने पेसा र व्यवसाय बनाउनेहरूको अघि धन प्रशस्त भएको मान्छेले धनका लालच नगरेर राजनीति गर्छु राजनीतिको होल टायमर बन्छु संगठन बनाउँछु भन्दा खुसी लाग्नु स्वाभाविकै थियो । तर लङटर्म राजनीति गर्ने मान्छेले जुन निर्णय र कदम चाल्नुभयो एउटा सीमान्तकृत मधेसी काङ्ग्रेसका लागि जिउ ज्यान सुम्पेको, घरबार गुमाएको, दुःख पाएको, जेलनेल र निर्वासन बसेको कांग्रेसको केन्द्रीय सदस्यको भाग खोस्नुभयो, के यो तपाईंका लागि सुहाउने विषय हो ?
नेपाली कांग्रेसको केन्द्रीय सदस्य हुने यही मात्रै मार्ग थियो र ? पैसा हुनेसँग ज्ञान, विवेक र चेतना हुँदैन भन्ने तथ्य के सत्य हो ? धनीसँग चेतना र सामयिक मूल्यको अभाव हुन्छ भन्ने प्रमाण र पुष्टि तपाईंको कदमले दिँदैन र ? अपराध गर्नु भनेको कानुन उल्लंघन गर्नु, ज्यान मार्नु, चोर्नु, ढाँट्नु र छल्नु मात्र होइन । तपाईं जस्ता उच्च हैसियतका मान्छेले सर्वसधारणका लागि छुट्याइएको अवसरलाई आफ्नो पोल्टामा हाल्नु पनि अपराध र पापको श्रेणीभित्र पर्छ ।
सामान्य मान्छेले अन्जानमा गरेका भुल र असामान्य मान्छेले जानाजान गरेका भुलमा कत्रो अन्तर हुन्छ, थाहा छ तपाईंलाई ? पार्टी सत्ता र राज्यसत्तामा सबैको पहुँच र प्रतिनिधित्व सुनिश्चित गर्न र सबैलाई आफ्नो समान सहभागिता भएको अनुभूति दिन गरिएको व्यवस्थामा धन-सम्पत्ति र आफ्नो तागतको बलमा वर्चस्व कायम गर्दै पुग्नुले तपाईंको अभीष्ट प्रस्ट भएन र ? निर्जीव कानुन र विधानको कुरा गरेर, संवैधानिक प्रबन्ध देखाएर सजीव मानवीय नैतिकता च्युत गर्न मिल्छ र पाइन्छ र ? कानुनले निर्दिष्ट गरेको अन्तर्य हेर्ने कि सोझो कानुनी अर्थमा जाने ?
प्रिय चौधरी सर,
सबैलाई धनी हुने छुट छ । राज्यका सबै नियम र कानुनको परिधिमा रहेर कमाएको धनले धनी हुनु आफैँमा नराम्रो होइन तर धनको बलले निर्धन र मूल्यको राजनीतिमा बस्नेको उठिबास गराउनु चाहिँ पक्कै पनि असल कर्म हुन सक्दैन । राष्ट्रिय पुँजीपतिको सम्मान र हैसियत दलाल पुँजीपतिमा रूपान्तरण गर्दै खुम्च्याउनु किमार्थ शोभनीय देखिन्न ? के तपाईंले यतातिर सोच्नुभएको छ ? तपाईंलाई सल्लाह दिनेले किन गलत बाटोबाट तपाईंलाई हिँडाउदै छन्, हेक्का राख्नुभएको छ ? पहुँचवाला भएर पहुँचविहीनका लागि छुट्याइएको कोटामा आफ्नो भाग्य र भविष्य देख्नेले जनता र सर्वसाधारणका लागि काम गर्छन् भनेर कसरी पत्याउने ?
यसको चित्तबुझ्दो तर्क र कारण पेस गर्न सक्नुहुन्छ ? मैले कसैको भाग खोसेको हैन, म विशुद्ध मधेसी भन्ने कुनै तथ्य छ तपाईंसँग ? सार्वजनिकरूपमा तपाईं माथि आउने टिप्पणीमा लज्जित हुने कि गलत महसुस गरेर समावेशी समानुपातिक प्रणालीमा भएका खोट र छिद्रहरूबाट बाहिर निस्कने ? पहुँचवाला भएर आरक्षित कोटा खोज्नु समानुपातिक समावेशी चरित्र बनाउने र शासन सत्तामा सबैलाई स्थान दिने नीतिको खिलाफमा जाँदा लक्षित वर्ग, समुदाय र सीमान्तीकृत जातिमाथि कति अन्याय वज्रपात र घात हुनेछ, यसको मानवीय र सामाजिक भ्यालुको हिसाब गर्नुभएको छ ?
समानुपातिक र समावेशीमा तरमारा वर्गकै हालीमुहाली छ भन्ने कुराको प्रमाण यो भएन र महोदय ? भुइँ मान्छेका लागि व्यवस्था गरिएको कहिल्यै अवसरको मुख नदेख्ने वर्गका लागि विशेष व्यवस्था गरिएको सिटमा पनि तपाईं जस्ता प्रतिष्ठित मान्छेका लोभ देखिनु कति विडम्बनाको कुरा हो ? सयौँ हजारौँ वर्षदेखि पाखा पारिएका, बहिष्करणमा परेका किनारमा छोडिएका मान्छे वर्ग-समुदायका निम्ति विगतको शोधभर्ना र सबैको प्रतिनिधित्व सुनिश्चित गर्न, राज्यको मूल प्रवाहमा ल्याउन र राज्यमा वर्चस्व नभएकाहरूका लागि राखिएको आरक्षण विनोद चौधरीका लागि हुने हो भने देहातका गाउँका लालबहादुर चौधरीहरू कहाँ जाने ?
जनजातिका लागि छुट्याइएको कोटामा उमेश श्रेष्ठले प्रतिस्पर्धा गर्ने अनि महिलाको विशेष व्यवस्थामा डाक्टर आरजु राणाले आफ्नो पेवा ठान्ने भएपछि सकारात्मक विभेदको नीति भनेर गरिएको आरक्षणको मान भयो कि अपमान ?
राजनीति नैतिकता, व्यवहार र आदर्शको त्रिवेणी पनि हो । खै, तपाईंहरूको राजनीतिक नैतिकता ? मलाई तपाईंले नेपालको उद्योग, व्यापार र सामाजिक काममा तपाईंले गर्नुभएको योगदानको अवमूल्यन गर्नुछैन । तपाईंले आर्जन गर्नुभएको प्रतिष्ठामा धावा बोल्नुछैन तर समय क्रममा उठेका यी सवालबारे तपाईंसँग जवाफ खोज्नु मेरो कर्तव्य हो । तपाईंहरू बरालिनु र संवैधानिक व्यवस्थाबारे अलमलिनु र आफ्नो स्वार्थअनूकुल त्यसलाई बदल्ने चेष्टामा देखिनुले मेरो मन खिन्न भएको छ । म जस्ता धेरै नेपालीलाई विनोद चौधरीले आरक्षणको सहाराले राजनीतिमा स्थापित हुन गरेको कोसिसले चित्त दुखाएको छ ।
आदरणीय विनोद सर,
कृपया आत्मसमीक्षा गर्दै कांग्रेसको मधेसी कोटाको केन्द्रीय सदस्य त्याग्नुस्, बरु मनोनीत ३३ जनामा पर्ने गरी पहल गर्नुस् र आगामी दिनहरूमा मनोनीत र कोटाबाट, जस्केलाबाट कतै छिर्नेछैन, जहाँ जान्छु जे गर्छु मूल ढोकाबाट नै पसेर गर्नेछु संसद् पार्टी कतै पनि खुल्ला प्रतिस्पर्धाविना जानेछैन, पैसाको तुजुक र दबदबाविनाको नैतिक मूल्यको राजनीति इमान र जमानको राजनीति मात्रै गर्नेछु भन्ने प्रतिज्ञा गर्नुस् । यसमा तपाईंको, नेपाली कांग्रेस र देशको भलाइ हुनेछ । धनले खर्बपति चौधरी सर मनले पनि उत्तिकै धनी बन्नुस् न है ?
तपाईंको भलो चाहने
संजिव कार्की