३०-३०

३०–३०

फिल्म : सफ्ट-पावर कि व्यापार ?

नवीन सुब्बा |
मंसिर १२, २०७७ शुक्रबार १७:४५ बजे

३०-३० स्तम्भ इकागजडटकमको सुरु दिनदेखिको विशेष शृंखला हो । ३० वर्षसम्म टिकेको पञ्चायती व्यवस्था सकिएको पनि अहिले ठ्याक्कै ३० वर्ष पूरा भएको छ । यसै सन्दर्भमा पछिल्लो ३० वर्षमा हामीले के चुम्यौं, केमा चुक्यौं ? अध्येता-अनुभवीका समीक्षात्मक अभिव्यक्ति यस स्तम्भमा शृंखलाबध्द रूपमा प्रकाशन भइरहेका छन् । यसै सन्दर्भमा 'नुमाफुङ', 'दलन' जस्ता सिनेमा/टेलिशृंखला निर्देशन गरेका सिनेमा विश्लेषक नवीन सुब्बाको विचार :


 पञ्चायती व्यवस्थाका सन्दर्भमा हेर्दा राजा महेन्द्रका काम-कारबाहीलाई केन्द्रमा राखेर विश्लेषण गर्नुपर्ने हुन्छ । पञ्चायती शासन व्यवस्था स्थापित गर्न उनले धेरै माध्यम प्रयोग गरे, जसमध्ये एउटा सिनेमा पनि थियो ।


यस हिसाबले हेर्दा चाहिँ उनलाई सिनेमाको शक्तिबारे राम्रो ज्ञान रहेछ भनी बुझ्नुपर्ने हुन्छ । शाही चलचित्र संस्थानको स्थापना हुनुअघि त फिल्मको स्क्रिप्ट पनि राजा आफैँ पढ्थे भन्नेसम्मका कथा सुनिएको छ ।

महेन्द्रको अर्को विशेषता पनि देखिन्छ । उनले यसका लागि आफू नजिकका मानिसलाई प्रयोग गरे र तिनलाई आफूप्रति पूर्णतया बफादार राखे । उनले निजी क्षेत्रबाट फिल्म बनाउन चाहने कतिलाई निर्माणको अनुमति पनि दिएका थिएनन् ।

राजा महेन्द्रले पञ्चायती व्यवस्थाको गुणगानका लागि सिनेमालाई प्रयोग गरेका थिए । उनले पहिलो फिल्म ‘आमा’देखि सुरु गरेको ट्रेन्डलाई ‘आदर्श नारी’ हुँदै ‘२५ वसन्त’सम्मले पनि निरन्तरता दिएको देखिन्छ । राजाको नियन्त्रणमा बन्ने फिल्म त भइहाले, निजी क्षेत्रबाट आएर फिल्म बनाउने निर्माताको पृष्ठभूमि हेर्ने हो भने पनि महेन्द्रभन्दा पर पुग्न सकिन्न । निजी क्षेत्रबाट फिल्म बनाउन पनि सत्ता निकट व्यक्तिले मात्र अनुमति पाएको देखिन्छ ।

फिल्म आर्काइभ भन्ने अलग्गै विधा हो भन्ने बझेका छैनौँ जसका लागि अलग्गै संरचना निर्माण गर्नुपर्ने हुन्छ ।

प्रोसेसिङ ल्याब र शाही नेपाली चलचित्र संस्थानको स्थापना यो समयमा भएका केही उल्लेख्य काम हुन् । प्रजातन्त्रपछि ती संरचना अलपत्र बनाइए त्यो अर्कै पाटो भयो ।

‘प्रोपगान्डा’का लागि फिल्म बनाउने नेपाल पहिलो देश थिएन । त्योभन्दा पहिला पनि जर्मनीमा हिटलरले यसको भरपुर प्रयोग गरेका थिए । उनका सञ्चारमन्त्री गोयबल्स आफैं फिल्म निर्माणमा संलग्न रहन्थे । उनीहरूले निर्माण गरेका फिल्म अमानवीय र नश्लवादी रहे पनि यसरी बनेका फिल्ममा दृश्य भाषा शक्तिशाली थियो भनेर मान्ने गरिएको छ ।

रुस र चीनमा पनि प्रोपोगान्डाका लागि फिल्म नबनेका होइनन् । आजको विश्वले मान्ने फिल्मको भाषा निर्माण गर्ने पुडोभ्किन र सर्गेइ आइन्स्टान रसियाको यही प्रोपगन्डाकालीन समयका फिल्ममेकर थिए । अहिलेका युवा फिल्ममेकरका आदर्श आन्दे्रइ तोर्कोवोस्की त्यही प्रोपोगान्डा संरचनाका उपज थिए । संसारभर भइरहेका काम हेर्दा पञ्चायती कालमा के काम भयो भनेर अनुमान गर्न सकिन्छ । हाम्रोमा पञ्चायतकालीन सिनेमा हर हिसाबले कमसल थिए ।

कलाको उत्पादनमा समयको चेतना र ज्ञान निर्माण प्रक्रियाको ठूलो महत्व हुन्छ । जतिबेला हामी ‘माइतीघर’ बनाइराथ्यौँ, त्यतिबेला जापानमा अकिरा कुरोसावाले ‘रसोमन’ बनाइसकेका थिए । अनि युरोपमा पनि ‘न्यु वेभ’को लहर चलिरहेको थियो ।

तर, महेन्द्रले आफ्नो प्रोपगान्डा चलाउन बम्बईबाट झिकाएर ल्याएका प्रविधिज्ञहरूले स्थापित गरेको चलचित्रको दृश्य भाषाबाट हामी बाहिर निस्कनै सकेनौं । भन्नलाई महेन्द्रमा सौन्दर्य चेतना ‘शक्तिशाली’ थियो भनेर भनिन्छ । तर, सिनेमा निर्माणमा उनले त्यो ‘स्पेस’ दिएको देखिएन ।

प्रजातन्त्रपछि नेपाली सिनेमामा बजार प्रधान कि कला प्रधान हो भन्ने बहस सुरु भयो, जुन आज पनि निरन्तर छ ।

उनको शासन सत्ता चलाउने प्रयत्न हेर्दा आधुनिकीकरण गर्न चाहेको देखिन्छ । यो भनेको पश्चिमीकरण नै हो । तर, सिनेमामा किन रोकेर राखे ? अचम्मको विषय छ । मलाई के लाग्छ भने, आफू इतर विचार नियन्त्रण गर्न गाह्रो होला भन्ने जानीजानी महेन्द्रले यतातिर ध्यान दिएनन् । यसले के गर्‍यो भने ज्ञान निर्माणको बाटो बन्द भयो । त्यही कारण यत्तिका वर्षपछि पनि हामी कहाँ छौँ ? भनेर बहस गरिरहेका छौँ ।

अरु क्षेत्रमा जस्तै अभिनयको क्षेत्रमा पनि त्यो समयमा खास काम भएन । जबकि विश्वमा १९४० को बीचमा हलिउडमा ‘मेथड एक्टिङ’ सुरु भइसकेको थियो । कोन्सटानटिन स्तानालावास्कीले सुरु गरेको यो मेथड रसिया नाघेर अमेरिकामा लोकप्रिय भइसकेको थियो ।

तर, हाम्रोमा अभिनय सिकाउने कुरा तीसको दशकको पूर्वाध्र्दमा प्रवेश पाएको देखिन्छ । यसमा पनि भारतमा प्रशिक्षित प्रशिक्षकले पढाउने । यसले अभिनयमा पनि हाम्रो मौलिक शैली उत्खनन हुन पाएन । तर, बालकृष्ण समको पालामा नै थिएटरमा भने सेक्सपियरको अभिनय शैलीको प्रभाव थियो भनिन्छ ।

पश्चिमतिर मेथड र टेक्निकको अभ्यास प्रचुर मात्रामा हुन थालेको थियो । नयाँ नयाँ अवधारणामा काम भइरहेको थियो तर हामी अभिनयमा रस सिध्दान्तमा बाँधिएका थियौँ । रस सिध्दान्तको समस्या के हुन्छ भने यसले निश्चित मानक स्थापना गर्छ । बढाइचढाइ गर्ने विशेषता हुन्छ । जस्तो : वीर रस गर्दा आँखा ठूलो पार्ने । दुःख देखाउनु छ भने निश्चित विम्ब मात्र प्रयोग गर्ने । तर, सबै दुःखको प्यारामिटर एकै त हुन्न ।

पश्चिममा पनि त्यो समस्या थियो तर उनीहरूले त्यसलाई भत्काए । अनभूतिसँग खेल्ने कुराको विकास गरे । भरतको नाट्यशास्त्रमा अभिनयका चार तत्वको विशेष चर्चा छ । वाचिक, आंगिक, आहार्य र सात्विक ।

वाचिक मतलब संवादको माध्यमबाट गर्ने अभिनय र आंगिक मतलब अंगको माध्यमबाट गर्ने अभिनय । आहार्यमा आभूषण र मेकअपसँग सम्बन्धित अभिनयको कुरा हुन्छ भने सात्विकमा भने मनले अनभूत गरेर । अभिनयको यो दायराभित्र रहेर हेर्ने हो भने नेपाल मात्र होइन, भारत पनि मनले अभिनय गर्ने मामलामा कमजोर देखिन्छ ।

रस सिध्दान्तमा रहेको यो सीमितता नबुझ्दा, उसबेला सफल भनिएका फिल्म ‘सिन्दूर’, ‘माइतीघर’ आदिको अभिनय हामीलाई बनावटी लाग्छ । अहिलेका सूत्रबध्द सिनेमाको अभिनयमा देखिने भावनाको बनावटीपन यसैको निरन्तरता हो ।

यो समयमा फिल्मलाई चाहिने थप पूर्वाधार निर्माणमा पनि काम हुन सकेन । जस्तो कि, फिल्म स्कुल, फिल्म फेस्टिभल, फिल्म आर्काइभ आदि आदि । भेनिसको फिल्म फेस्टिभल इटलीका तानाशाह मुसोलिनीले सुरु गरेका थिए । तर, पञ्चायती व्यवस्थाले आफूलाई संस्थागत गर्न पनि थप संरचनामा काम गर्नुपर्छ भन्ने बुध्दि पुर्‍याउन सकेन । सकेको भए सायद हाम्रो उद्योगको अवस्था अलि फरक हुन सक्थ्यो ।

महेन्द्रको सत्ता–प्रयत्न हेर्दा आधुनिकीकरण गर्न चाहेको देखिन्छ । तर, सिनेमामा किन रोकेर राखे ? अचम्मको विषय छ ।

यो समयमा बनेका ‘परालको आगो’, ‘मसाल’ जस्ता सिनेमा अपवाद हुन् । यी दुवै सिनेमा नेपालबाहिर बनेका थिए र यिनमा बलिउडको हैन, बंगाली फिल्मको प्रभाव थियो । दार्जिलिङमा बनेका यी सिनेमामा बंगाली फिल्ममेकर मृणाल सेन, सत्यजित रेको प्रभाव थियो ।

प्रविधिको हिसाबले पनि पञ्चायतको समय उर्वर रहेन भन्ने लाग्छ मलाई । पञ्चायतको उत्तराध्र्दतिर त हामी ३५ एमएमबाट झरेर १६ एमएममा खिच्न थालेका थियौँ । यसले हामीलाई अभिव्यक्त गर्ने सवालमा पनि खुम्च्यायो । ३५ मा खिच्दा लेन्स फरक हुन सक्थ्यो, एक्स्पेक्ट रेसियो फरक हुन सक्थ्यो र यसले दृश्यको प्रभावमा पनि फरक पाथ्र्यो । तर, १६ मा खिच्दा त्यो सम्भावना कमजोर भयो ।

यसले फिल्मको कला, सौन्दर्य, अर्थ, विम्ब, प्रतीक खेल्नमा सीमितता कायम गर्यो । यसरी ३५ एमएम बाट १६ एमएममा सिफ्ट हुनुपर्ने मुख्य कारण चाहिँ आर्थिक नै थियो । ३५ एमएममा खिच्नुभन्दा १६ एमएममा खिच्नु ५ गुणा सस्तो पर्थ्यो । ३५ एमएममा एक क्यान नेगेटिभ बराबर ४ मिनेट मात्र खिच्न सकिन्थ्यो जबकि १६ एमएममा १० मिनेट बराबर खिच्न सकिन्थ्यो । तर, १६ एमएममा खिचे पनि प्रोजेक्सन सिस्टम ३५ एमएमकै हुँदा ब्लोअप गर्नुपर्ने बाध्यता थियो । यसले १ थोपा मसीमा ३ थोपा पानी थपे जस्तो हुन्थ्यो ।

यो समयको उत्तरार्धतिर भएको एउटा सकारात्मक काम इन्टरटेनमेन्ट ट्याक्स निर्मातालाई फिर्ता गर्ने कदम थियो । यसले प्राइभेट सेक्टरबाट फिल्म बनाउनेलाई उत्साहित बनायो ।

२०४६ सालमा प्रजातन्त्र आएर यहाँसम्म आइपुग्दा हामी वर्षको एक–दुइटा फिल्म बनाउने समयबाट सय–डेढ सय फिल्म बनाउने समयमा आयौँ । यसलाई पनि एक खालको उपलब्धि नै भन्नुपर्छ । यो समयमा संख्यासँगै नयाँ चेतना पनि आयो । फिल्म मौलिक हुनुपर्छ । समाजलाई प्रतिनिधित्व गर्नुपर्छ, नेपाली सिनेमाको पनि आफ्नै अनुहार हुनुपर्छ र विश्वसँग प्रतिस्पर्धा गर्नुपर्छ भन्ने विचारको विकास भयो ।

प्रजातन्त्रपछि नेपाली सिनेमामा बजार प्रधान कि कला प्रधान हो भन्ने बहस सुरु भयो, जुन आज पनि निरन्तर छ । प्रजातन्त्रपछिको १५/२० वर्षको समय पञ्चायत कालमा सुरु भएको बलिउडको नक्कल निरन्तर रह्यो । १० वर्षयता यो अभ्यासमा प्रश्न उठाउन थालिएको छ र चलचित्रमा आफ्नै मौलिक शैली खोज्ने प्रयत्न सुरु भएको छ । तर, यहाँ पनि हामी अभ्यासकै क्रममा छौं ।

यस बीचमा अभिनयमा पनि नयाँ विचार आयो । नाटकघरको विकाससँगै यहाँका कलाकारले स्तानालावास्कीलाई अभिनयमा आत्मसात् गर्ने अभ्यास सुरु गरे । उनीहरू चलचित्रमा आएपछि राजेश हमाल कालखण्डमा नवरसमा सीमित अभिनयको दायरा खण्डित हुन सुरु भएको छ ।

यो समयमा चलचित्र हेर्ने प्रविधिमा पनि छिट्छिटो परिवर्तन आयो । प्रविधिमा आएको परिवर्तनले विश्व सिनेमामा एक्स्पोजर पनि बढायो । टेलिभिजन, केबल टेलिभिजन हुँदै डिजिटल युगमा आइपुग्दा दर्शकको फिल्म हेर्ने लिट्रेसी पनि बढायो ।

प्रजातन्त्र आएको ३० वर्षमा हामीले एउटा पनि इन्स्टिच्युट थप्न सकेका छेनौँ । बल्लबल्ल विकास बोर्ड आयो तर विकास बोर्ड आफैँमा हात–खुट्टा बाँधिएको शक्तिविहीन छ ।

नेपालमा बनिरहेका फिल्ममाथि प्रश्न उठ्न थालेको पनि यही समय पछि हो । पहिला, हाम्रो सब कुरा बलिउडबाट आउँथ्यो । फिल्मको कथा मात्र होइन, स्क्रिप्ट लेख्ने व्यक्ति पनि बलिउडबाटै आउँथे । उनीहरूबाटै हाम्रो उद्योगले स्क्रिप्ट लेख्न सिकेको हो । पछि हामीलाई थाहा भयो कि स्क्रिप्ट लेख्ने पनि विभिन्न मेथड हुँदो रहेछ । र, हाम्रा नयाँ प्रतिभाहरू यी मेथडबाट प्रशिक्षित हुन थाले । यसैको प्रतिफल हो— विश्वका ठूला–ठूला स्क्रिप्ट ल्याबमा हाम्रा स्क्रिप्ट छानिन थालेका छन् ।

हाम्रा फिल्म कान्स, बर्लिन, सन्डान्स, टोरन्टो, भेनिस आदिमा जान थालेका छन् । तर, यसको मतबल यो होइन कि नेपाली फिल्मले बेन्चमार्क बनाइसक्यो । बिल्कुलै होइन । यो खाली बादलमा चाँदीको घेरा भने जस्तो मात्रै हो । जति हुनुपर्ने हो त्यसको एकछेउ पनि भएको छैन ।

संसारका उन्नत सिनेमा उद्योगको इतिहास हेर्दा राज्यको लगानीबिना फिल्म उद्योग अगाडि बढेको देखिन्न । राज्यसँगै पेसागत संघ–संस्था र व्यक्तिले पनि सीप तथा क्षमता अभिवृध्दिका लागि काम गर्ने गरेको देखिन्छ तर हाम्रोमा कहिल्यै पनि यसरी सोचेको देखिएको छैन ।

सरकारको त झन् बुझाइ नै कस्तो छ भने विभागीय मन्त्री, ‘म फिल्मको कार्यक्रममा आइराछु, त्यो तिमीहरूलाई उपकार हो’ भनेर जसरी फिल्मका कार्यक्रममा आएर भाषण गर्छन् । जबकि सञ्चारमन्त्रीको त्यो विभागीय दायित्व हो । र, उनले त सिनेमाको उत्थानका लागि नयाँ–नयाँ भिजन दिन सक्नुपर्ने हो । तर विडम्बना, नेपालका विभागीय मन्त्री उल्टो कार्यक्रममा आइदिएर गुन लगाएको धमास दिन्छन् ।

दक्षिण कोरिया र हाम्रोमा सिनेमा निर्माणसँगै सुरु भएको हो । कोरिया जापानको उपनिवेश थियो । त्यसपछि पनि लामो समयसम्म सैनिक शासन बेहोर्‍यो । यो समयमा कोरियन सिनेमा जापानी प्रभावमा निर्माण हुन्थे । तर, सन् १९९० बाट आएको खुलापनपछि उनीहरूले चलचित्रमा गम्भीर रुपमा काम गरे र आफूलाई जापानको प्रभावबाट मुक्त गरे । त्यहाँको सरकारले कोरियाको आर्थिक विकाससँगै चलचित्रलाई पनि उत्तिकै प्राथमिकतामा राख्यो र निरन्तर लगानी गर्‍यो । यसैको प्रतिफल ३० वर्षको बीचमा अस्कर जित्न सफल भयो । ‘म अमेरिकालाई दस हजार कार एक्स्पोर्ट गर्नुभन्दा १० वटा सिनेमा एक्स्पोर्ट गर्नमा गर्व गर्छु ।’ त्यहाँका राष्ट्रपतिले गरेको भाषण हो यो ।

दुई–तीन सालअघि ‘गुडबाई काठमाडौँ’ दक्षिण कोरियाकै बुसान अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा छनोट भएको थियो । त्यहाँ एउटै भेन्युमा ६–सातवटा फिल्मको स्क्रिनिङ भइरहेको हुन्छ ।

‘गुडबाई काठमाडौँ’को प्रदर्शनपछि दर्शकसँग अन्तक्र्रिया गर्न म वेटिङ लाउन्जमा कुरिरहेको थिएँ । कसैले आएर मलाई अर्को कोठामा गएर बस्न अनुरोध गर्‍यो । केही समयपछि दुई जना मान्छेको साथमा कोही आयो । मैले फेस्टिभलले दिएको सहयोगीलाई सोधेँ, ‘को हो ?’ ‘ल हाम्रो राष्ट्रपति हो चिनेनौ ?’ त्यो सहयोगीले सआश्चर्य भन्यो । एउटा थ्रिलर फिल्म हेर्न भनेर राष्ट्रपति आएका रैछन् । राष्ट्र प्रमुखमा त्यो लेभलको लगाव छ, सिनेमाप्रति ।

टुकुरटुकुर हिँड्नलाई यत्तिकै पनि पुग्ला तर विश्वसँग प्रतिस्पर्धा गर्न फड्को मार्ने हो भने राज्यको स्पष्ट नीति र लगानी चाहिन्छ ।

फिल्म अब व्यापार मात्र होइन, सफ्ट पावर पनि हो । कोरियाले यो पावर राम्ररी बुझेको छ । व्यापार गर्न पनि सफ्ट पावर प्रयोग गरेर बजारका लागि भूमिका निर्माण गर्नुपर्छ । यो महेन्द्रले पनि बुझेका थिए ।

पहिला पहिला फिल्म भनेको फिल्ममेकरको मात्र हो भन्ने थियो । ग्ल्यामर र रमझम मात्र हो भन्ने बुझाइ थियो । र अहिले पनि हामीमा यो बुझाइ निरन्तर छ । तर, सिनेमा हाम्रो अस्तित्वसँग पनि यो जोडिएको छ । यो कुरा नबुझ्दा प्रजातन्त्र, लोकतन्त्रपछि पनि हामी हराइरहेका छौँ । टुकुरटुकुर हिँड्नलाई यत्तिकै पनि पुग्ला तर विश्वसँग प्रतिस्पर्धा गर्न फड्को मार्ने हो भने राज्यको स्पष्ट नीति र लगानी चाहिन्छ ।

प्रजातन्त्र आएको ३० वर्षमा हामीले एउटा पनि इन्स्टिच्युट थप्न सकेका छेनौँ । बल्लबल्ल विकास बोर्ड आयो तर विकास बोर्ड आफैँमा हात–खुट्टा बाँधिएको शक्तिविहीन छ । र, चलचित्र विकास गर्नलाई स्वायत्त विकास बोर्डले मात्र पुग्दैन थुप्रै चलचित्रसम्बन्धी संरचना पाइन्छन् । संरचनाबिना फिल्मलाई संस्थागत गर्न गाह्रो हुन्छ ।

टाढाको परेन, हामी सारा कुरामा भारतको नक्कल गर्छौं । संरचनाको कुरा हामीले त्यहाँबाट लिए पनि हुन्छ । त्यहाँ हरेक राज्यले फिल्म फेस्टिभल गर्छन् । त्यसपछि बालबालिकाहरूका लागि फिल्मको अलग्गै संरचना छ । चारवटा फिल्म स्कुल छन्, जुन सरकारले चलाउँछ ।

तर, यहाँ त त्रिभुवन विश्वविद्यालयले थप कलेज नै खोल्न नदिने रैछ । फिल्म आर्काइभ भन्ने अलग्गै विधा हो भन्ने बझेका छैनौँ जसका लागि अलग्गै संरचना निर्माण गर्नुपर्ने हुन्छ । तर हाम्रोमा यसलाई पनि लगेर बोर्डमा राखिदिएको छ ।

यो असंवेदनशीलता राउको सिने ल्याबमा रहेको चार सयवटा नेपाली फिल्मको नेगेटिभ उक्त ल्याबले राख्न नसकेर जलाएको घटनाले पनि पुष्टि गर्छ । आखिर त्यो राज्यको सम्पत्ति थियो नि ।

बिनालगानी परिणाम आउँदैन । फिल्मबाट पनि प्रतिफल खोज्ने हो सरकारले लगानी गर्नुपर्छ तर यसका लागि नाचघर, एकेडेमी र चलचित्र विकास बोर्ड जस्ता जागीर खुवाउने मात्र संस्था बनाएर चैँ हुँदैन ।

(निर्देशक सुब्बासित सामीप्यराज तिमल्सेनाको कुराकानी)

३०-३० शृंखलाका यसअघिका सामग्री :


Author

थप समाचार
x