सप्ताहन्त

संस्मरण र अनुभूति : १४

पौरखी सोचले सधाएका हातहरू

वसन्त लोहनी |
बैशाख २४, २०७९ ८:३७ बजे

पुत्रका आँखामा पिता 

०००००
शृङ्खलाभित्रको शृङ्खला हो आजको छलफल । अघिल्लो १३ औ शृङ्खला थियो– सरस्वती सदन कसरी बन्यो भन्ने बारे । त्यस अन्तर्गत नै सिकाउने र सिक्ने पक्षसँग आबद्ध भएर आजको छलफल अगाडि बढ्ने छ । यसको अद्वितीय दृष्टि वेदप्रसादले त्यो रात देखेका थिए लालटिनको धमिलो उज्यालोमा आफ्नो पिताको स्निग्धताले भरिएको आँखामा । कुराकानी सकेर रातको निस्पट्ट अँध्यारोमा आफ्नो ओछ्यानमा आएर लडेको बेला त्यो दृष्टिले उनीलाई ढुक्क पारेको थियो ।

जुद्ध शमशेरको सिमन्टीको घरको चाहना पूरा गर्न घागडानहरूले आँट्न नसकेको काम अनुभव नै नभएको छोरोले गर्दा के हुने हो भनेर डराएका आफ्ना पिताको आँखामा घनिभूत स्निग्धतामा मायाको विश्वरूप देखेपछि वेदप्रसादको आत्मविश्वासले शिखर चुमेको थियो । शून्यता भित्र हराउँदाको मुक्ति थिएन त्यो । स्निग्धता प्रदत्त आत्मविश्वासले जन्माएको उन्मुक्ति थियो । जति आफ्नो इन्जिनियरिङ ज्ञानमा विश्वास थियो, त्यो भन्दा बढी विश्वास स्निग्धताले भरिएका ती आँखाहरूमा देखेको दृष्टिमा थियो । उनको अखण्ड विश्वास थियो, ती आँखाहरूले आफूलाई सधैँ हेरिरहने छन्, निर्देशन दिइरहने छन्, विवेकशील भएर काम गर्न उत्प्रेरित गरिरहने छन् ।


भोलिपल्टको बिहानीमा अझ फूर्तिलो थिए उनी । मनमा उमङ्ग थियो, शरीरमा फूर्ति र वदनमा कान्ति थियो । ८ वर्षको उमेरदेखि जे नित्य कर्म गरेर आइरहेका थिए, सो गरे । अर्थात् न्वाइधुवाई पछि पूजा कोठामा गएर गायत्री मन्त्रको जप, व्रतबन्धको लागि कण्ठ पारेको १३ अध्याय चण्डीमध्ये केही अध्याय पाठ, पूजाआजा र आराधना । धोती लगाएर आफ्नो सुत्ने–बस्ने कोठाभित्र छिरेपछि सेतो भोटो हुलेर दोलाईँ ओढे । भुईँ ओछ्यानमा बसेर त्यो पूर्व फर्केको लामो चार झ्याल भएको कोठामा चारैतिर हेरे । फैलिएको खेत देखे ।  सामुन्ने हेर्छन्  बगैँचामा । रूखमा थल कमलको दुइटा ठूला सेतो फूल फुलेका देख्छन् । जोडिएको धारा भएको चोकमा सधैँझैँ पानी थाप्ने गाग्रोहरूको लाइन । हल्लाखल्लाबीच आइमाईहरूको घरेलु गफगाफ । जहानघरको बिहानी चहलपहल । तर वेदप्रसाद आफैँभित्र हराएका थिए एउटा मौनतामा जुन शान्तिदायी थियो, चिन्मय यात्राको । 

हिजो दिउँसो जुद्ध शमशेरले सिमन्टीको घर बनाउनु भनेर उनलाई दिएको हुकुम आदेश, राति पिताको आँखामा देखेको स्निग्धता र कस्तो सिमन्टीको घर बनाउने भन्ने परिकल्पना भनौँ या नक्सा उनको मनमा कोरिइरहेको थियो । भवन त कहाँ बनाउने हो त्यो अनुरूप हुनुपर्ने हुँदा उनको मनले त्यसको प्रस्टता अझ ठम्याउन सकिरहेको थिएन– कता फर्केको, कति तले, कति लामो र कति चौडा र कस्तो देखिने ? ठाउँसँग मिलेको स्वरूप हुनुपर्‍यो । जति मजबुत त्यति नै सुन्दर देखिनु पर्यो, कलात्मक स्वरूपको । मनको यो यात्रामा कुदिरहेको बेला झट्ट सम्झना भयो कक्षामा पढाउन जानु पर्ने कुराको उनीलाई ।

उनी झसङ्ग भएर देख्छन् आफूलाई भुईँ ओछ्यानमा दोलाईँमा लपेटिएको । र, बल्ल सुन्छन् चोकको होहल्ला । हत्तपत्त पढाउने कुराको तयारी गर्छन् । पश्चिम भान्छा भएको चोकपट्टि फर्केको लामो छिँडीको त्यो जहान घर भान्छाको मझेरीमा लहरै डिल कोरिएका मध्ये माथिल्लो चौकामा पुग्छन् र पिर्कामा पलेंटी कसेर बसिहाल्छन् । थालमा ल्याएर दिएको थानसिङे चामलको तातो भातमा अलिअलि हात पोल्दै बट्टारबाट ल्याएको मासको दालको तिहुन मुछेर चाँडो भन्दा चाँडो खान्छन्, कहिले आलु तामा, त कहिले काउलीको तरकारीकोसँग । बीचबीचमा खाँदेको मुलाको अचार टोक्दै । खान सकिने बित्तिकै पुछारको अलि अँध्यारो ठाउँमा लोटामा राखेको पानी लिएर चुठेर फर्किन्छन् ।

सिमेन्ट ढलान प्रविधिबाट हाल काठमाडौंंमा बनिरहेका पाँच तारे होटल हुन् वा टावर, यो प्रविधिको जग नेपालमा ‘सरस्वती सदन’ नै हो ।

हत्तपत्त लबेदा, सुरुवाल, कोट र टोपी लगाए ।  नाम थाहा नपाउनेहरू पनि उनीलाई  चिन्थे लामो अंगा लगाउने भनेर । छिँडीमा राखेको बेलायती हर्कुलस साइकल निकाले । कमलाक्षीको पञ्चनारायणको पसलबाट किनेको । साइकल आएको पनि सन् १९२० बाट मात्र थियो नेपालमा  । सन् १९३४ अर्थात् नब्बे सालको महाभूकम्पले तबेला भत्काइ दिएपछि घोडा हटाइएको थियो घरबाट । कहिलेकाहीँ सरकारी कामको लागि सरकारी घोडा आउँथ्यो । मूलतः उनी साइकलमा निर्भर थिए । चौडिलबाट तल गल्लीमा झारेर कुदाए साइकल वसन्तपुरतिर । इन्जिनियरिङ स्कुल अझै त्रिचन्द्र कलेजमा सरिसकेको थिएन । कुमारीको पूर्व पट्टिकै लङमा नै थियो वसन्तपुरमा । त्यहाँ पुगेर साइकलमा चेनले ताल्चा मारेर हिफाजतसँग राखी उनी हतारिँदै कक्षामा छिरे । छर्लङ्ग थियो विषय वस्तु । छर्लङ्गसँग पढाए । 

अर्को कक्षा सुरु हुनु अगाडिको खाली समयमा तल्लो तलाकै अर्को काम गर्ने कोठामा बसेर खेस्रा रेखाचित्रहरू शिशा कलमले कोरिरहेका थिए सिमन्टीको भवनको विभिन्न किसिमका, एकपछि अर्को । केही हटाउँथे, केही जोड्थे, फेरि मेट्थे – कहीँ ठूलो पार्थे, कहीँ सानो । यसरी डुबिरहेको वेला उनलाई खोज्दै एउटा मान्छे आउँछ चिठ्ठी दिन । अलि सतर्क भए, के हो भनेर ? रहेछ हुकुम बमोजिमको चिठ्ठी । व्यहोरा रहेछ सिमन्टीको घर त्रिचन्द्र कलेजकै अगाडि रानी पोखरीको पूर्वपट्टि बनाउने । ठूलो हल भएको, फराकिलो कार्यालय कोठाहरू भएको र कलेजको पठन पाठनको गतिविधिसँग जोडिन सक्ने गरी बनाउने । नक्सा बनाएर पेस गर्ने । र, सिमन्टीको भवनको काममा बाधा नपुग्ने गरी कक्षा मिलाइदिन पनि भनिएको रहेछ । मूल चिठ्ठी इन्जिनियरिङ स्कुलको हेडमास्टर कुल रत्न तुलाधरको नाममा आदेश । डाइरक्टरेट अफ पब्लिक इन्सट्रक्सन बाट आएको । ६० रूपैयाँको छात्रवृत्ति पाएर माधव प्रसाद प्रधान र पुष्प बहादुर अमात्यसहित उनी लखनउ पढ्न जाँदा त्यसको डाइरेक्टर जनरल बबर शमशेरको जेठो छोरा मृगेन्द्र शमशेर थिए । जितेन्द्र बहादुर शाह उपनिर्देशक । पढाउँदा मोहन शमशेरको जेठो छोरा शारदा शमशेर आएका थिए । जितेन्द्र बहादुर यथावत् । बबर र मोहन साक्खे दाजुभाइ तर राणाकालमा यसको अर्थ धेरै हुँदैन थियो शक्ति अन्तर्निहित राजकाजमा । 

त्यसपछि वेदप्रसाद कुदे साइकलमा त्रिचन्द्र कलेज अगाडिको त्यो तोकिदिएको ठाउँमा । र, सयौँ पटक हिँडे त्यो ठाउँमा कहिले उत्तर दक्षिण, कहिले पूर्व पश्चिम विभिन्न विन्दूबाट । आफ्नो प्रत्येक कदममा हुने मोटामोटी फिटको आधारमा उनी गणना गरिरहेका थिए । उपयुक्त निर्माणस्थलको सोच बनाउन कोशिस गरिरहेका थिए । रानी पोखरीको पनि हेक्का राख्नु पर्दथ्यो र समग्र त्यो स्थानविशेषको पनि । उनले पूरा दिन त्यहीँ बिताए – कहिले हिँडेर कहिले चुपचाप बसेर, कहिले रानी पोखरी पर आफू पढेको दरबार स्कुल हेरेर । कहिले क्षेत्रफल हिसाब टिपोट गरेर । कहिले आफूसँगै बात मारेर – विभिन्न प्रश्न र त्यसको उत्तर खोज्ने क्रममा । उनी ढुक्क थिए आफ्नो इन्जिनियरिङ ज्ञानमा । अझ ढुक्क थिए आफ्नो पिताको आँखामा देखेको त्यो स्निग्धतामा ।

घाम ढलेपछि साइकल चाले । अहिलेको जस्तो भिडभाडको काठमाडौँ होइन, सुनसान नै हुन्थ्यो जसरी उनले बताएका थिए । टुँडिखेलको पूर्व बागबजार हुँदै डिल्लीबजार पीपलबोटतिर लागे । बाटो अहिलेको जस्तो ठूलो थिएन । बाग बजारको मुखमा देब्रेतिर केही सरकारी घरहरू थिए जुन अहिले रेड क्रसलाई दिइएको छ । त्यसपछि पूरै खेत । नेपालको पहिलो वैज्ञानिक मानिएका गेहेन्द्र शमशेरको कान्छो छोरा जन शमशेरको कम्पाउन्डको उत्तर कमलादी गणेशसम्मै फैलिएको । दाहिनेतिर खाल्टोमा दुई चार घर, बाँकी पूरै खाली नर्कटले बारेको । पुतलीसडकको त बाटो नै खुलेको थिएन । उनी भन्थे – त्यो त पछि खोलेको र त्यसमा म आफैँ पनि संलग्न थिए । सिंहदरबार जान कालिकास्थान भएर जानु पर्दथ्यो ।

डिल्लीबजार पुगेपछि लहरै केही घरहरू थिए, सानो बजार र केही चहलपहल । ओरालो झरे, उकालो चढे तर साइकलबाट झरेनन् । पीपलबोटमा पुगेपछि मात्र याद भयो उनलाई आफू त्यहाँ पुगिसकेको । उनी मनभित्र गुनिनै रहेका थिए के बनाउने, कसरी बनाउने भनेर । मनको आवाज सुनिनै रहेका थिए । बाटो काटेको हेक्का नै भएन । बिहान वीर धाराबाट पानी थाप्न मारामार हुने पीपलबोट सुनसान थियो । साइकलमा अलि कडा ब्रेक लगाएर देब्रे मोडिए गल्लीतिर । र, घर पुगे । उनी होस् हराएको मान्छे जस्तो बनेका थिए सिमन्टीको घरको सोचमा ।

भोलिपल्ट उनले निर्माण स्थलमा सानो टहरो बनाउन लगाए । यो नै उनको तीर्थस्थल बन्यो अब । बिहानको नित्य कर्म सक्ने बित्तिकै उनी त्यहाँ जान्थे । अनुकूल मिलाएर दुई गाँस भात टिप्न ज्ञानेश्वरको ‘लोहनी कुटी’ हुइँकिन्थे । फेरि त्यही । पढाउन वसन्तपुर । फेरि फर्केर अँध्यारो नहुन्ज्यालसम्म त्यही काम गरिरहेका हुन्थे वेदप्रसाद । उनी भन्थे मसँग– हेर बाबु, अहिलेको जस्तो कम्प्युटर भएको भए मैले के मात्रै गर्थे हुँला ? ड्राफ्टिङ मेसिन नै धेरै पछि आएको । क्यालकुलेटरसम्म पनि थिएन । ड्रइङ बोर्ड र टि सेटको भरमा नक्सा बनाउनु पर्दथ्यो । स्लाइडरुलबाट हिसाब गर्नु पर्दथ्यो । तर म चाँडो थिएँ यसमा । यसरी त्यो टहरोमा बसेर उनले सरस्वती सदनको परिकल्पना गरे, सर्भे गरे, नक्सा बनाए । त्यहाँ नभ्याएको अझ घरमा लगेर बेलुका गरे । सुत्ने समयबाहेक उनी यसैमा चुर्लुम्म डुबेका थिए । कति घण्टा भन्ने हिसाब नै भएन । 

उनको सबभन्दा ठूलो समस्या भनेको रिइन्फोर्स्ड सिमेन्ट कंक्रिट बिल्डिङ्ग अर्थात् सिमन्टीको घर बनाउनको लागि चाहिने हातहरू थिए । अहिलेको जस्तो बनिबनाउ फर्मा, कंक्रिट मिक्स्चर र नक्सा दिएपछि सो बमोजिम गर्न जानेका मान्छेका हातहरू थिएनन् । कसैले यस्तो घर न देखेका थिए, कसरी बनाउने न जानेका थिए । नक्सा भएर मात्र के गर्ने र? त्यो अनुसारको डन्डी कसले बनाइदिने? फर्मा कसले हाल्ने? कंक्रिट कसले बनाउने? र, ढलान कसले गर्ने? यो अनभिज्ञतालाई चिरेर काम गर्नु परेको थियो वेदप्रसादलाई । कसैले पत्याएको थिएन लिखुरे बाहुन केटोले यो काम गर्न सक्छ भनेर? 

उनी खोज्न निस्के उपत्यकाको वरिपरि । नजिकमा आफ्नो साइकल चढेर  । टाठा जानु पर्दा सरकारी घोडा चढेर । खोजी थियो मान्छेको । उनी त्यस्ता मान्छेको खोजीमा थिए जो नयाँ कुरो सिक्न चाहन्थे र केही गरेर देखाउन चाहन्थे । आश भएको, मनमा धोको लिएको । सिकाउने त उनी आफैँ थिए त्यस्ता मान्छेहरूलाई जसरी उनी इन्जिनियरिङ स्कुलमा करिब सबै विषय पढाइरहेका थिए । हिसाब र विज्ञान कुलरत्न तुलाधरले पढाउँथे, बाकी सबै विषय त उनी आफैँ पढाएर नै आएका थिए । सिकाउने समस्या थिएन उनको लागि । सिक्न चाहने र सिक्न सक्ने युवकहरू चाहिएको थियो । उनले जम्मा पारे अन्ततः । अब तयार पार्नु थियो तिनलाई नयाँ निर्माणको लागि  । उनले सिकाए तिनीहरूलाई एउटा सोच लिएर । त्यति बेलाको परिवेश र तिनले बुझ्न सक्ने भाखामा । जे उपलब्ध हुन सक्थ्यो त्यति बेला, त्योसँग ती हातहरूलाई लयबद्ध पारेर ।

उनी भन्थे– ‘मैले पहिले सिकाएँ कालिगढ र मिस्त्रीलाई जम्मा पारेर, जसले न गिट्टी देखेका थिए, न डन्डी, न सिमेन्ट  । विभिन्न व्यक्तिहरूलाई विभिन्न साजहरू बजाउन सिकाएर सिम्फोनीको सिर्जना गर्नु परेको जस्तो अवस्था थियो त्यो  । यसको लागि उनको सिकाउने थलो निर्माण स्थलमा हुन पुग्यो । डन्डी बङ्ग्याउने जोगाड मिलाए – चिरेको काठको मुढो ल्याएर र नाप गरी त्यसमा किलो ठोक्न लगाएर । कामी कहाँबाट डन्डी बङ्ग्याउने आफूले देखाए बमोजिमको औजार बनाउन लगाए । अनि आफैँले हातले डन्डी बङ्ग्याएर देखाए कसरी गर्ने कति गर्ने भनेर । अनि कसरी कोण मिलाउने भनेर । बताए किन त्यसो गर्नु परेको भन्ने कुरा । 

फलामको सत्तरी ल्याउन लगाए र त्यसमाथि डन्डीलाई राखेर ओल्टाइपल्टाइ गरेर हानी सोझो पार्न सिकाए र जोड्न सिकाए । विभिन्न किसिमको रिङ बनाउन सिकाए । डन्डीको नक्सा देखाएर पिलरको अर्थात् लट्ठाको जगमा हाल्ने हात्तीसुँढे बनाउन, बिममा हाल्ने, स्लायबमा हाल्ने र मेन बार र डिस्ट्रिब्युसन बार कसरी बिछ्याउने इत्यादि सिकाए । कस्तो अवस्थामा कस्तो रिइन्फोर्समेन्ट गर्न कस्तो डन्डी बनाउनु पर्दछ सब आफैँले गरेर देखाउँदै सिकाए ।

यसैगरी सिकाए कंक्रिट बनाउनेलाई । इँट छापेर त्यसमा हल्का प्लास्टर गरेर कंक्रिट घोल्ने ठाउँ बनाउन लगाए । हलचोकबाट ढुङ्गा ल्याउनु पर्थ्यो राजाबाट बक्साएर । त्यो हातले कुटेर गिट्टी बनाइन्थ्यो । एकदम ठीक किसिमबाट मिसाएको हुनु पर्दछ भन्ने पाठ सिकाए – बालुवा, गिट्टी र सिमेन्टको अनुपात मिलाएर सरोबर पार्दा । अनि ठीक मात्रामा पानीको परिमाण हालेर मिक्स्चर बनाउँदा । साबेलमा डोरीले बाँधेर दुई जनाले माथि तान्ने र एक जनाले साबेल चलाउने । यस्तै टोली पिच्छेको भाग बनाएर मिक्स त्यति बेलासम्म गर्दै जाने जबसम्म उनले सिकाइदिएको दलदले रङ्ग आएको हुँदैन । 

फर्मा बनाउने कुरामा अझ बुद्धि पुर्याउनु पर्थ्यो ती काम गर्नेहरूले । पहिलो, हालेको फर्माले ढलानको बोझ लिनु पर्दथ्यो । त्यसैले त्यस्तो बोझ लिन सक्ने गरी फर्मा हाल्नु पर्दथ्यो । केहीगरी बोझ थाम्न नसकेर फर्मा भाँचिएर खस्यो भने त सत्यानाश नै हुन्थ्यो । दोस्रो, ढलान गर्दै जाँदा सिमन्टीको झोल चुहिनु हुँदैनथ्यो । यी कुराहरू सिकाए राम्ररी । सल्ला कुकाठहरू जोडजाड गरेर टेको दिँदै लगे पनि स्ल्याबको फर्मा हाल्न मिलेको काठहरू पाइँदैन थियो । जे जस्तो काठहरू पाइएको छ या कर्कटपाता त्यसमा प्वाल र नमिलेको ठाउँमा रुखका पातसहितका हागाहरू काटकुट गरेर कोचेर एकनास पारिन्थ्यो।

अनि माटो मुस्न लगाएर त्यो माटोले सम्म लिपेर त्यसमाथि डन्डी बिछ्याउने काम गर्नुपर्ने हुन्थ्यो । ढलान गर्ने दिनमा बिछ्याएको डन्डी उठाउँथे । गोरखापत्र राखेर डन्डीको त्यो जालो अलिकति सबै उठाएर बर्फी खुवाउन लगाउँथे वेदप्रसाद । बर्फी खुवाउने भनेको चारपाटे सानो एकनासे सिमन्टीको ब्लक सबैतिरको डन्डीको जालो एकनाससँग उठाउनको लागि त्यो ब्लक हालिने काम हो । यसरी तयार गरेपछि ढलानको दिन त विशेष नै हुन्थ्यो । ढलानको भोलिपल्टदेखि करिब तीन हप्ता ढलान गरेको छतभरि माटोको चौका बनाएर पानी जमाउनु पर्ने कुरा सिकाए । त्यस पछि एक हप्ता सुकाउनु पर्ने र अनि मात्रै फर्मा खोल्न मिल्ने कारणसहित बताए । विभिन्न चरणमा गर्नुपर्ने विभिन्न कामहरू र त्यो कसरी मिलेर गर्ने सो सबै सिकाए उनले । सिमन्टी ढलान निर्माणको प्रोटोकल नै बनाएर सिकाए उनले यसरी । सबै आफ्नै हातले गरेर । कामदारहरूसँग सँगै काम गरेर । उनीहरूमध्येकै एक भएर।

गाह्रो लगाउने काम माटोको जस्तै थियो सिमन्टीको पनि घण्टी झुन्ड्याएर हरेक सल लगाउँदै जाने । त्यसैले यो काम नेपाली डकर्मीले राम्रोसँग गर्न जानेका थिए । सिकाउनु पर्ने खास कुरा थिएन । तर थियो पनि । त्यो हो इँटलाई पानी खुवाउने । यसको लागि उनले सरस्वती सदनको निर्माण स्थलमा एउटा इँट भिजाउने पोखरी खन्न लगाएका थिए । पहिले त्यहाँ हालिन्थ्यो इँटलाई भिजाउन एक रात । उनले डकर्मीहरूलाई सिकाएका थिए किन भिजाउन हाल्नु परेको त्यसरी । पानी पूरा नखाएको इँटबाट गाह्रो लगाउँदा सिमन्टीको झोल त इँटले सोसेर खान्छ र त्यो गाह्रो र झन्डै बालुवामा लगाएको जस्तो पो हुन आउँछ । अर्थात् कमजोर । गाह्रो लगाउने बेलामा पानी छर्केको या पानी हालेको इँटले गाह्रो कुनै हालतमा नलगाउने कडा नियम थियो उनको । इँटलाई एक रात पानी खुवाउनै पर्ने ।

उनले जति जानेका थिए त्यो जति महत्वपूर्ण थियो त्यत्तिकै महत्वपूर्ण जानेको कुरा सिकाउनु परेकोमा थियो त्यति बेला वेदप्रसादको लागि । विद्यार्थीलाई सिकाएर उनीहरूले जाँच दिएर सर्टिफिकेट लिने र छोडेर जाने कुरो थिएन यो । न थियो प्रभावकारी ढङ्गबाट थ्योरी अर्थात् सिद्धान्त छाँट्ने कुरा । गरेर देखाउने कुरा थियो । त्यसैले वास्तविक कडा परीक्षा त वेदप्रसादको आफ्नो थियो । पास त उनले हुनु परेको थियो त्यो कडा शासनमा सिमन्टीको घर निर्माण गरेर जुद्ध शमशेरलाई बुझाएर । जे सिकाएका थिए यो टोलीलाई त्यसले बनाउनु पर्ने थियो उनको परिकल्पना अनुसार र देखाए बमोजिम उनीसँगै काम गरेर । 

वेदप्रसादको सिकाउने साकार शैली । दस कक्षामा पढ्ने उमेर हुँदाको एउटा सानो धूमिल सम्झना मेरो आफ्नै पनि छ । उनको रायल इन्फिल्ड मोटर साइकलको पछाडि थिएँ म कतै सँगै जानु परेको त्यो बेला । रायल इन्फिल्ड मोटर साइकलको फेरि लामो कथा छ । त्यो पछिल्लो शृङ्खलामा आउने छ । अहिलेलाई यति मात्रै भनूँ कि उनले यस्तो १० थान मगाएका थिए । त्यसमध्ये एउटा आफ्नो लागि राखे । यसको नम्बर थियो ४२४ । सनसाइन वा भटभटे भन्थे त्यतिखेर । यसैमा चढेर जाँदै थियौ । घर बनिरहेको एक ठाउँमा रोकियो । त्यहाँ ढलानको लागि डन्डी बिछ्याइएको थियो । उनले डन्डी नपुगेको ठाउँमा डन्डी थप्न लगाए । एक ठाउँमा हुन्डी गरेको डन्डी उल्टो भयो भनेर झिक्न लगाए । कागजमा चित्र लेखेर दिए कस्तो हुनु पर्दछ भनेर।

त्यति बेला हो उनले ‘बेन्डिङ ममेन्ट’को कुरा गर्दै डन्डी बदल्न लगाएको । यसको कारण बताएका थिए मलाई । पहिलो पटक सुनेको थिएँ यो शब्द  । सायद इन्जिनियरिङको गाँठी कुरो नै यही हो । कुनै संरचनामा लोड अर्थात् बोझ परेपछि त्यसको एक भागमा टेन्सन पर्छ भने विपरित भागमा कम्प्रेसन । अर्थात् एकातिर फैलिँदै जाने अनि अर्कोतिर खुम्चिँदै जाने । त्यसैले यो कुराको हेक्का राखेर डन्डी सुदृढीकरण गर्न सक्नु पर्दछ सिमेन्ट ढलान गर्दा । नत्र संरचना टुट्छ । मैले जान्ने कुरा न त्यति बेला थियो न अहिले नै छ यो । तर जति सरल ढङ्गबाट सिकाएका थिए त्यति बेला त्यो सम्झना दर्साउने प्रयास मात्र हो मेरो अहिले । 

उनले सँगैको रुखको हाँगो तानेर एउटा सानो हाँगो भाँचेर हातमा लिए । अनि दुई हातमा लिएर बङ्गाउँदै लगेर भने – हेर तैँले देखिस् मास्तिर बोझ परेको छ र अझ मैले बल गरेँ भने यो भाँचिन्छ । जहाँ भाँचिने बल परेको छ त्यो पोजिटिभ बेन्डिङ ममेन्ट हो । त्यसको मुनि तलको चाहिँ नेगेटिभ बेन्डिङ ममेन्ट हो । डन्डी त्यही अनुरूप हुन्डी गरेर दिनु पर्दछ । क्यान्टिलिभरमा अर्थात् छज्जामा नेगेटिभ बेन्डिङ ममेन्ट हुन्छ । त्यसैले माथिबाट डन्डी दिनु पर्दछ । अझ भन्दै गए – जम्मा चार किसिमको बोझ हुन्छ – टेन्सन, कम्रप्रेसन, सेयर र टर्सन । कस्तो संरचना छ त्यो अनुसार बोझको हिसाब भिन्नै भिन्नै गर्नु पर्दछ । त्यसका तरिका छन् । डेड लोड र लाइभ लोड जोडेर टोटल लोड अर्थात् बोझ निकालिन्छ र यसलाई सन्तुलित किसिमबाट जगमा ल्याउन सक्नु नै इन्जिनियरिङ हो । 

वेदप्रसादले काम गर्ने हातहरू तयार पारे अर्थात् टिम तयार पारे दीक्षित गरेर । उनले तयार पारेको यो टोलीका केही सदस्यहरू पछिसम्म पनि थिए । मैले आफैँले पनि भेटेको हँु । एक थिए कीर्तिराज गुरुज्यू पाटनका । उनी इन्जिनियर जस्तै थिए । वेदप्रसादलाई कृष्ण बाबु भन्थे । उनको छोरा थिए अष्ट, सारै भलादमी । फलामको काम गर्ने थिए – टेक बहादुर । सिमन्टीको बुट्टा काट्ने थिए – गठे, नेपाली राम्ररी बोल्न नजान्ने । वेदप्रसाद नेवारीमा कुरा गर्थे र सम्झाउँथे । हाम्रो घरमा गठेले बनाएको सिमन्टीको बुट्टा घरको मूल ढोकामा छ । म त्यो देख्ने बित्तिकै गठेलाई सम्झन्छु । नेवारी भेषभुषामा, अलि पुड्को र केही बाङ्गो पनि । नबुझ्ने लट्ठक जस्तो देखिन्थे ।

यी हातहरू तयार पारेपछि अनि उनी जुटे प्रयोगशालामा जस्तो प्रयोग गर्न । जे सिकेर आएका थिए उनले त्यो कति काम गर्दछ व्यवहारमा त्यसको अनुभव लिन चाहे निर्माण थाल्नु अगाडि । यसको लागि विभिन्न खालका स–साना सिमेन्टका संरचना बनाउन थाले टेस्ट अर्थात् परिक्षण गर्नको लागि । भने बमोजिमको बोझ लिन सक्छ कि सक्तैन ? कति बोझ लिन्छ, बोझ थप्दै जाँदा कतिमा गएर चर्कन्छ या टुट्छ । उनले यस्ता सबै खाले प्रयोग गरेर अनुभव लिए प्रयोगशाला शैलीबाट । वेदप्रसादले सिकाउँदै गए । अनि सिक्दै पनि गए । यसरी नै तयार भयो सरस्वती सदन । उनी भन्थे – ‘यस क्रममा मैले निकै प्रयोग गरे, अजमाएँ पनि  । सिकाए, आफैँ सिक्दै पनि गए  । सिकाउने र सिक्ने क्रमसँग आबद्ध भएर बनेको हो सरस्वती सदन ।’

पहिलो पटक जसले काम गरेर देखाउनु परेको हुन्छ त्यसले साँचेको हुन्छ असली कल्पना र सोच, सिकाएको हुन्छ, भोगेको हुन्छ दुख, र बनाउनु परेको हुन्छ सहयोगीहरूसँगको अपनत्व र समझदारी । बाटो बनिसकेपछि त्यहाँबाट हिँड्न अरूलाई सजिलो हुन्छ । अहिले लाग्छ धेरै अगाडि छ भवन निर्माण । निश्चित रूपमा अगाडि छ र अझ अगाडि जानु पर्दछ । इन्जिनियर भन्छन् कुरा गर्दा मसँग, सरस्वती सदनको अगाडिको क्यान्टिलिभर अर्थात् छज्जा बनाउँदाको सिद्धान्त त्यही नै हो जो अहिले छ । त्यहाँ बनेका इन्भर्टेड बिमको सिद्धान्त अहिले पनि त्यही नै हो । तर यी शैली त्यति बेला अपनाउन सकेर सिमेन्ट ढलान प्रविधि जसरी सुरु हुन सक्यो ७८ वर्ष अगाडि सन् १९४४ मा त्यो जगमा नै आजको नेपालको रिइन्फोर्सड् सिमेन्ट कंक्रिट निर्माण अडेको छ । सिमेन्ट ढलान प्रविधिबाट हाल काठाडौंंमा बनिरहेका पाँच तारे होटलका अग्ला भवनहरू हुन् या टावरहरू, ती प्रत्येकले वेदप्रसाद लोहनीलाई सम्झाउँछ । आखिर यो प्रविधिको जग त ‘सरस्वती सदन’ नै हो नेपालमा ।

अर्को पटकमा छलफल गर्ने छौ जग खन्दाको रौनक, पूर्व पट्टीको क्यान्टिलिभर अर्थात् छज्जाको फर्मा खोल्दा यो खस्दैन भनेर वेदप्रसादले दिलाउनु परेको विश्वास, राजाकहाँ लगाएका चुक्ली र निर्माण सकिए पछिको राणा शासकहरूको आपसी कारणले खोचे थाप्ने जस्तो कुराहरू बारे ।

वेदप्रसादबारे वसन्तका लेख

सरस्वती सदन कसरी बन्यो ?

ज्यामितिको पहिलो पुस्तक

साँघुरो मन, काँचो रोटी

शासक, शासकीय र शासनको स्वरूप

कडा अनुशासनभित्र ‘अराजक’ बनेर जे सिके

गुरुज्यूको चउरको फुटबल म्याच

वेदप्रसादको खोच्याउने घोडा

दोभानबाट निस्किएको अठोट

जङ्गबहादुरको काँधमा खेलेकी

संस्मरण र अनुभूति : टालिएका झ्यालहरू

‘सेल्फ मेड’ वेदप्रसादजी

नबाब, कबाब, सबाब र आदाबको सहरमा

वेदप्रसाद, जसले सरस्वती सदन ठड्याए



Author

थप समाचार
ad
x