राजनीति

प्रधानमन्त्रीको कदमविरुध्द सबै दल एकमत

इकागज |
पुस ५, २०७७ आइतबार १३:४० बजे

काठमाडौँ : संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुध्द सबै दल एकजुट भएका छन् । संसद विघटन गर्न प्रधानमन्त्री ओलीले राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेलगत्तै त्यसविरुध्द सबै दलहरू एकजुट भएका हुन् । प्रधानमन्त्रीको कदमविरुध्द सत्तारुढ दलकै नेताहरूसमेत विरोधमा उत्रिएका छन् । प्रधानमन्त्रीको कदमविरुध्द प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहित, जनता समाजवादी पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, विवेकशील साझा पार्टीलगायतका दलहरूको मत एक देखिएको हो । 

सत्तारुढ नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री प्रतिनिधिसभा विघटन गर्न गरेको सिफारिस गैर संवैधानिक,अलोकतान्त्रिक,निरङ्कुश र परिवर्तनविरोधी प्रतिगामी कदम भएको बताएका छन् । लागू हुन नसक्ने उनको भनाइ छ । ‘आज प्रधानमन्त्री ओलीले संघीय प्रतिनिधिसभा विघटन गर्न गर्नुभएको सिफारिस गैर संवैधानिक, अलोकतान्त्रिक, निरङ्कुश र परिवर्तनविरोधी प्रतिगामी कदम हो । यो लागु हुन सक्दैन । यसको बिरुध्द संघीय लोकतान्त्रिक गणतन्त्र,लोकतन्त्र एवं परिवर्तनका पक्षधर सम्पूर्ण शक्तिहरू एक होऔँ’ उनले लेखेका छन् । प्रवक्ता श्रेष्ठमात्रै होइन ओलीइतरका अधिकांश नेताहरूले यो कदमको विरोध गरेका छन् । 


कांग्रेसले बोलायो आकस्मिक बैठक
प्रतिनिधिसभा विघटन गर्ने सिफारिसलाई कांग्रेसले गम्भीरतापूर्वक लिएको जनाएको छ । प्रधानमन्त्रकिो यो कलम संविधानको अक्षर, मर्म र भावना विपरीत भउको कांग्रेसको ठहर छ । कांग्रेसले यसलाई राजनीतिक रूपमा गम्भीर रुपले प्रतिवाद गर्ने जनाएको छ । कांग्रैस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै लेखेका छन्, ‘चुनावको बेला स्थिरताको चर्को नारा दिने अनि आफ्नो पार्टी भित्रको द्वन्द्वको परिणाममा मुलुकलाई अस्थिरतातर्फ पुनः धकेल्न खोज्‍ने प्रवृत्ति निन्दनीय छ । विघटनको अस्त्रलाई अधिनायक आकांक्षाको अन्तिम प्रयत्‍नका रूपमा हामीले लिएका छौं र उद्घोष गर्दछौं यो प्रयत्‍नलाई असफल तुल्याइने छ ।’

यस विषयमा पार्टीले लिने आवश्यक कदम र थप धारणा बारे कांग्रेसले पार्र्टीका पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाइएको छ । आजै दिउँसो एक बजे उपत्यकामा उपलब्ध पदाधिकारी र पूर्व पदाधिकारीलाई बैठकमा बोलाएको हो । 

संविधानको मर्म र भावनाको हत्यागरी ‘कू’ : जसपा
जनता समाजवादी पार्टीले ओलीले संविधानको मर्म र भावनाको हत्यागरी कू गरेको बताएको छ । जसपा नेता तथा संघीय सांसद राजेन्द्र प्रसाद श्रेष्ठले प्रतिनिधिसभा विघटन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्नु ओलीको प्रतिगामी कदम भएको बताउँदै त्यसको विरूध्द तुरून्तै प्रतिनिधिसभाको बैठक डाक्नका लागि पहल गर्नुपर्ने बताएका छन् ।

नेता श्रेष्ठले यस कदमको विरूध्द रहेका सबै अग्रगामी परिवर्तनका पक्षधर शक्तिहरू मिलेर पुनः एकपटक संयुक्त जनआन्दोलनको आँधीबेहरी सृजना गर्नुपने बताएका छन् । सांसद श्रेष्ठले यसको प्रारम्भ भने प्रतिनिधिसभा विघटनको षडयन्त्रविरुद्ध सबै अग्रगामी परिवर्तनकारी शक्तिहरूको संघीय लोकतान्त्रिक गठबन्धन बनाउनुपर्ने बताए । 

राप्रपाले बोलायो सचिवालय कार्य व्यवस्था समितिको आकस्मिक बैठक
संसद् विघटन गर्न सिफारिस गर्ने मन्त्रिपरिषदको निर्णयपछि राप्रपाले आकस्मिक बैठक डाकेको छ । राप्रपाले सचिवालय कार्य व्यवस्था समितिको आकस्मिक बैठक आज ३ बजे बोलाएको अध्यक्ष कमल थापाले जानकारी दिएका छन् । उनले मुलुकमा विकसित पछिल्लो घटनाक्रमबारे छलफल गर्ने बताए ।

संविधानमाथिको स्पष्ट ‘कू’ : विवेकशील साझा
विवेकशील साझा पार्टीले संसद विघटनको सिफारिश घोर असंवैधानिक, अलोकतान्त्रिक र तानाशाही कदम भएको बताएको छ । विवेकशील साझाले प्रधानमन्त्रीको यस कदमलाई संविधानमाथिको स्पष्ट ‘कू’ भनेको छ । निहित स्वार्थपूर्तिका लागि कुण्ठा र अहंग्रस्त कदम चालेर प्रधानमन्त्री ओलीले देशलाई अस्थिरता र सम्भावित दुर्घटनातर्फ धकेलेको विवेकशील साझाको ठहर छ । 
 
पार्टीका अध्यक्ष रविन्दै मिश्रले विज्ञप्ति जारी गर्दै राष्ट्रपति भण्डारीलाई पदको गरिमा जोगाउन मन्त्रिपरिषदको सिफारिस सदर नगर्न जोडदार माग गरेका छन् ।‘बारम्बार अलोकतान्त्रिक, अनुदार व्यवहार गर्दै आएका प्रधानमन्त्री ओली बढ्दोरूपमा राष्ट्रघाती समेत देखिन थालेका छन्,’ विज्ञप्तिमा भनिएको छ, ‘संसद विघटनको सिफारिश बारे संसदमा प्रतिनिधित्व भएका राजनीतिक दलहरूसँग तत्काल छलफल सुरु गर्न विवेकशील साझा पार्टी राष्ट्रपति भण्डारीसँग आग्रह गर्दछ ।’

र, यो पनि

प्रतिनिधिसभा विघटनको सिफारिस असंवैधानिक : देउवा

शीतलनिवासमा प्रधानमन्त्रीको डेढ घण्टा : बैशाखमा चुनाव गर्ने प्रस्ताव राखेर फर्किए ओली

ओलीले स‌ंविधानको अपहरण गरे : जनार्दन शर्मा

संविधानविद्हरू भन्छन् : संविधानमाथि ‘कू’

प्रतिनिधि सभा विघटनै हुन सक्दैन : कानुनविद्

संसद् विघटनबारे रणनीति कोर्न कांग्रेसले बोलायो पदाधिकारी बैठक

भाषण गर्दागर्दै सरकारका प्रवक्ताले थाहा पाए संसद्‍ विघटनको ब्रेकिङ न्यूज

संसद्‍ विघटन गर्ने कदमबारे वामदेवको प्रतिक्रिया : 'वेट एण्ड सी' को अवस्थामा छु

संसद् विघटनको तरंगपछि राप्रपाले बोलायो आकस्मिक बैठक

- प्रधानमन्त्रीको अधिनायकवादको अन्तिम प्रयासलाई असफल तुल्याइन्छ : कांग्रेस प्रवक्ता शर्मा

प्रधानमन्त्रीको कदम राष्ट्र हित विपरित- रामचन्द्र पौडेल

संसद विघटनको प्रस्ताव बोकेर प्रधानमन्त्री शीतलनिवासमा

ओलीको कदम लोकतन्त्रको हितमा छैन, सबैले  प्रतिवाद गरिनुपर्छ : बाबुराम

बालुवाटार ओलीको पर्खाइमा दाहाल, ओलीले भेट्‍न मानेनन्

ओली भेट्‍न दाहाल पुगे बालुवाटार

ओलीले गरे संसद्‍ विघटन गर्न सिफारिस


Author

थप समाचार
x