३०-३०
कम्युनिस्ट पार्टी त कमरेडहरूको कम्युनिटीका आधारमा चल्नुपर्ने हो, ओली एक्लैले सिध्याइदिए
अब गगनहरू र उनीपछिको पुस्ता आउनुपर्छ
३०-३० स्तम्भ इकागजडटकमको सुरु दिनदेखिको विशेष शृंखला हो । ३० वर्षसम्म टिकेको पञ्चायती व्यवस्था सकिएको पनि अहिले ठ्याक्कै ३० वर्ष पूरा भएको छ । यसै सन्दर्भमा पछिल्लो ३० वर्षमा हामीले के चुम्यौं, केमा चुक्यौं ? अध्येता-अनुभवीका समीक्षात्मक अभिव्यक्ति यस स्तम्भमा शृंखलाबध्द रूपमा प्रकाशन भइरहेका छन् । यसै सन्दर्भमा वरिष्ठ पत्रकार तथा लेखक किशोर नेपालको विचार :
२०१७ पुस १ गते । जुन दिन देशमा स्थापित प्रजातन्त्र अपहरणमा परेको थियो, म सात वर्षको केटो थिएँ । त्यो समयको निकै धमिलो सम्झना मात्रै छ । त्यतिबेला काठमाडौं सहर संकुचित थियो- विष्णुमती र इच्छामती (टुकुचा) को बीच भाग मुख्य सहर मानिन्थ्यो ।
बागबजारबाट सुरु हुने सहर भोटाहिटी पुगेर विस्तारित हुन्थ्यो । टुकुचावारिको डिल्लीबजार क्षेत्रमा दरबारका गुरु-पुरोहितको बाहुल्य थियो । बजार बाक्लिँदै गएपछि मात्रै सहरको मान्यता पाएको हो डिल्लीबजारले । काठमाडौं पूरै ग्रामीण समाजले घेरिएको थियो ।
यो ठाउँ, बत्तीसपुतली, नीलकाँडाको घारीले घेरिएको निकै पातलो बस्ती भएको गाउँ थियो । यो गाउँमा मौसमअनुसार बाली लगाउने, गोड्ने, बीउ छर्ने, तरकारी रोप्ने जस्ता कृषिका काम हुन्थ्यो । छरछिमेकमा एक-अर्काको पर्म जाने चलन थियो ।
हामी यतिखेर जहाँ बसेर कुरा गरिरहेका छौं, बत्तीसपुतलीको यो घरमा आइपुग्न दुवैतिर नीलकाँडाको घारीको बीचको गोरेटो छिचोल्नुपर्थ्यो । त्यतिखेर जताततै हुन्थ्यो, नील काँडा र बकैना । जुत्ता-चप्पलको खासै चलन थिएन । मानिससँग पैसा थिएन । धेरै केटाकेटी र युवक-युवती खाली खुट्टा हिँड्थे । काँडा बिझे सेफ्टीपिनले पैताला खोतलेर झिक्थे ।
बत्तीसपुतली गाउँ-पञ्चायत थियो । हाम्रा आमा-दिदीहरू किनमेल गर्न सहर जान्थे । त्यो सहर भनेको असन-इन्द्रचोक थियो । अलि दामी कपडा किन्न परे न्युरोड जाने चलन थियो । आमा-दिदीहरूको किनमेल गर्ने दिन हामी उनीहरूको पछि लाग्दै सहर घुम्न जान्थ्यौँ । खुब रमाइलो हुन्थ्यो ।
मेरो यो घरबाट शंखमूल हुँदै पाटन मंगलबजार जाने बाटो थियो । यताका मानिसहरू नुन, तेल र भाँडाकुँडा मंगलबजार, पाटनमा किनमेल गर्थे । त्यतिबेला पनि काठमाडौंभन्दा पाटनमा अलि सस्तो सामान पाइन्छ भन्ने चर्चा हुन्थ्यो समाजमा । हजुर दिदी हरेक महिना थापाथलीको सिंहदरबार जानुहुन्थ्यो, भत्ता बुझ्न ।
पञ्चायतकालमा कुनै राजनीतिक संस्कार थिएन । त्यतिखेर पनि अहिलेको जस्तै संस्कारहीन राजनीतिको बोलवाला थियो ।
उहाँलाई लामो सेवा गरेबापत जनरल सिंह शमशेर जबराबाट मासिक तीस रुपैयाँ भत्ता मिल्दथ्यो । उहाँ आफ्नो किनमेल पाटन मंगलबजारमा नै गर्न रुचाउनु हुन्थ्यो । अहिलेसम्म पनि पुराना मानिसहरू यो कुरामा विश्वास राख्छन् । उतिबेलाका मानिसहरू पाँच-दश पैसा सस्तोमा सामान जता पाइन्छ, उतै जान्थे । त्यतिबेला चलेको बजारको यो सत्य अहिले पनि बदलिएको छैन ।
समाजमा भय र संशय
राजनीतिक उकुस-मुकुसको समय थियो, त्यो । सबै हिसाबले भयग्रस्त वातावरण थियो । म बुझ्ने हुँदै थिए, २०१७ पुस १ मा संसदीय व्यवस्था खारेज गरेका राजा महेन्द्रले केही समयपछि आफ्नो नेतृत्वमा निर्दलीय शासन सुरु गरेका थिए । त्यतिबेला, उनको शासनको विरोध त हुन्थ्यो, तर विरोधको स्वर मधुरो थियो । तत्कालीन समाजमा डर थियो, संशय थियो । त्यो बेलाको समाज सन्देहको घेरामा बाँचेको थियो । कतिखेर कहाँ के हुन्छ ? कसैले केही भन्न सक्दैनथ्यो ।
राजा महेन्द्रले बीपी कोइरालालाई प्रधानमन्त्रीबाट हटाएर संसद् विघटन गरेपछि मानिसहरू खासखुसमा चर्चा गर्थे, ‘त्यति धेरै भोट पाउनेलाई यसरी सजिलै हटाउँछन् । अरुलाई के गर्छन्, के गर्दैनन् ?’ समाजमा उत्पन्न त्रासको परिणाम थियो, यो अभिव्यक्ति ।
मानिसहरू भन्थे, ‘राजा महेन्द्र र उनका पिता त्रिभुवनको चरित्रमा आकाश र पातालको फरक छ ।’ धेरैपछि हामीलाई लाग्यो कि वीरेन्द्र पनि उत्तिकै फरक छन् । तर, उनका भाइ ठीक छैनन् । भाइहरूलाई भूमिगत गिरोहका सदस्य हुन् भनिन्थ्यो । २०३६ सालमा घोषणा भएको जनमत संग्रहपछि निर्दलीय पञ्चायतभित्रकै एउटा समूहले साप्ताहिक प्रकाशन ‘साप्ताहिक मञ्च’मार्फत भूमिगत गिरोहको भण्डाफोर गर्न सुरु गरेको थियो । राजदरबारका सदस्य र भाइभारदारका अनेकन् क्रियाकलापका कारण देशमा संशय र सन्देहको वातावरण बाक्लिँदै थियो ।
मलाई के लाग्छ भने राजदरबारमा जे भइरहेको थियो, त्यो इतिहासकै निरन्तरता थियो । हामीले जसरी जंगबहादुरले धरहराबाट छाता लिएर हाम फालेको दन्त्यकथा पढ्यौँ, त्यसरी नै कोतपर्वमा थुप्रै भाइ-भारदार कचाकच काटिएका इतिहास पनि पढ्यौँ । त्यो पढ्दा के लाग्यो भने हाम्रो समाज, भय र संशयमा बाँच्न अभिशप्त समाज हो । यो आजसम्म पनि त्यसैमा अभ्यस्त छ ।
सत्तामा पुगेपछि हरेक शासकहरू षड्यन्त्रको जालो बुन्छन् । विपक्षमा रहेका मानिसलाई सिध्याउन कुनै कसर बाँकी राखिन्न भन्ने तथ्य हाम्रो समाजमा गडेर बसेको छ । मानिसको मनबाट अझ पनि त्यो भय हटेको छैन । मन-मस्तिष्कमा गडेर रहेकै छ । उतिबेला समाजमा हुने-खाने वर्ग टड्कारो देखिन्थ्यो । हुने-खाने र शक्तिसम्पन्नहरूले ‘आफ्नो मानिस’लाई संरक्षण दिने चलन पनि थियो ।
महेन्द्रको राजनीतिक चरित्र
त्यसो त, डर समाजमा मात्र थिएन, राजा महेन्द्रकै नजिक पनि उपस्थित थियो । उनीमाथि ठूला आक्रमण भए । जनकपुरको बाह्र बिगाहामा बम प्रहार भयो । दुर्गानन्द झाले राजा महेन्द्रलाई ताकेर हानेको बमले उनी चढेको गाडी क्षतिग्रस्त भयो । धन्न, उनलाई केही भएन । त्यो क्षतिग्रस्त गाडीलाई छाउनी म्युजियममा ल्याएर प्रदर्शनीमा राखियो । दुर्गानन्दले शहादत प्राप्त गरे । संसदीय प्रजातन्त्रको हत्यापछि नेपाली कांग्रेसका नेता सुवर्ण शमशेर राणाको नेतृत्वमा सुरु भएको सशस्त्र क्रान्तिले उद्वेलित बनाएको समय थियो, त्यो ।
मुगु पुगे, त्यहाँका मानिसको नमस्कार खाए । तर उनीहरूको जीवन शैलीमा परिवर्तन गर्न सकेनन् ।
राजा महेन्द्र आफूमा अलिकति राजनीतिक चरित्र भएको ‘शो’ गर्थे । तर, राजनीतिक चरित्रभन्दा बढी राजनीतिक महत्वाकांक्षा थियो, उनमा । आफ्नो चरम महत्वाकांक्षाका कारण उनले विश्वेश्वरप्रसाद कोइरालालाई प्रधानमन्त्रीबाट हटाए । लामो समय जेलमा राखे । अनावश्यक ढंगले दुःख दिए । महेन्द्रमा बदलाको भावना जाग्नुमा बीपी कोइरालाभन्दा म ठूलो हुँ भन्ने देखाउने उत्कट चाहना थियो । आज राजा महेन्द्र र बीपी दुबैको निधन भइसकेको छ । तर, ती दुबैको कथा हाम्रो वरिपरि घुमिरहेको छ । ती कथा हामीले पढ्यौं । अब आउने पुस्ताले पनि पढ्नेछ ।
राजा महेन्द्रमा एउटा चरित्र थियो, उनी आफनो हितमा जोसँग जस्तोसुकै सम्झौता पनि गर्न सक्थे । उनलाई निर्दल टिकाउन राजनीतिक मानिस चाहिएको थियो । उनले कांग्रेस र कम्युनिस्टभित्रकै मानिसहरूलाई छानी छानी ‘रिक्रुट’ गरे । प्रारम्भमा डा. तुलसी गिरि र विश्वबन्धु थापा मात्र राजा महेन्द्रको पक्षमा लागेका थिए । पछि रुद्रप्रसाद गिरिजस्ता नेपाली कांग्रेसका बफादार मानिस पनि उनीसँग लागे । कांग्रेसका थुप्रै मानिस पञ्चायततिर लागे । त्यसरी नै कम्युनिस्टका पनि धेरै मानिस पञ्चायतमा लागे ।
राजा महेन्द्रले केशरजंग रायमाझी, जो कम्युनिस्ट पार्टीको महासचिव थिए, राजसभा स्थायी समितिको अध्यक्ष नै बनाए । उनले कसको मात्र चरित्रको चीरहरण गरेनन् होला ?
बहुचर्चामा ‘म र मेरी श्रीमती’
महेन्द्रका उत्तराधिकारी वीरेन्द्रमा आफू सभ्य र शिक्षित हुँ भन्ने एक प्रकारको उच्चताभास थियो । त्यसैले उनको चरित्र वास्तविकभन्दा बढी देखावटी जस्तो लाग्थ्यो । यसमा कुनै शंका छैन, राजा वीरेन्द्र भलादमी र सुशिक्षित थिए । उनले बेलायतको इटन, अमेरिकाको हार्वर्ड र टोकियोमा पढेका थिए ।
नयाँ शासकले संस्थागत बहुदलीय संस्कार स्वीकार गरे पनि व्यवहारमा निर्दलीय संस्कार पछ्याए ।
महेन्द्र ‘स्वतन्त्र’ राजा थिए, वीरेन्द्र चाहिँ ‘स्वतन्त्र’ थिएनन् । राजा वीरेन्द्रका लागि फरक दरबारको सिर्जना भयो । त्यो दरबारले उनका सीमा तोक्न थाल्यो । उनी त्यसैबाट घेरिए । वीरेन्द्रका हकमा उनकी बडा महारानी ऐश्वर्य पनि राजकाजको मामिलामा त्यस्तै महत्वाकांक्षी परिन् ।
रानी ऐश्वर्य र उनको परिवारको ज्यादै हस्तक्षेप भयो, वीरेन्द्रको राजकाजमा । वीरेन्द्रले ती हस्तक्षेप सहजै सहेर बसे । त्यसविरुद्ध उनले विद्रोह गरेनन् । उनी विद्रोह गर्न राजा भएका पनि थिएनन् । उनले कडा राजकीय स्वभाव देखाउन पनि सकेनन् ।
वीरेन्द्र राजा हुनेबित्तिकै उनले विश्व सम्बन्ध परिषद्को बैठक सम्बोधन गरेका थिए । उनले परम्परा र प्रचलनविपरीत ऐश्वर्यलाई ‘बडामहारानी’ नभनीकन ‘श्रीमती’ शब्द प्रयोग गरेका थिए । राजा वीरेन्द्रको ‘श्रीमती’ शब्दचयन ‘सुपरहिट’ भयो ।
यो विषय धेरै पछिसम्म सहरमा प्राध्यापक, बुद्धिजीवी र उदारवादीहरूबीच चर्चाको विषय बनेको थियो । उनले भनेका थिए, ‘म र मेरो श्रीमतीको तर्फबाट धन्यवाद ।’ उनको त्यो निर्दोष अभिव्यक्तिले दरबारभित्रको ‘पावर’ सर्कलमा ठूलो हावा-हुन्डरी ल्यायो । दरबारियाहरूको मनमा राजा वीरेन्द्रले शाह वंशको मान-इज्जत पानीमा मिसाए भन्ने पर्यो ।
त्यसपछि राजा वीरेन्द्रको चरित्रमा फरकपन देखापर्दै गयो । त्यही फरकपनका कारण गर्न खोजिएको सुधार परिबन्दभित्र पर्यो । उनी पञ्चायतमा जस्तो प्रकारको सुधार गर्न चाहन्थे, उनलाई त्यसरी सुधार गर्न दिइएन । यिनी बाध्य हुँदै दरबारकै डिजाइनमा लालमोहर लगाउन बाध्य भए ।
वीरेन्द्रसँग देश विकासको सपना थियो । त्यहीकारण उनले मुलुकलाई २१औं शताब्दीको प्रारम्भसम्ममा आफना जनतालाई गाँस, बास र कपासको प्रबन्ध गर्छु भनेका थिए । नेपाली जनतालाई एसियाली मापदण्डको जीवनमा पुर्याउने उनको योजना थियो । उनले त्यसरी बोल्नु भनेको निकै ठूलो कुरा थियो । उनी ती योजना पूरा गर्न खोज्थे, तर दरबारका अनुदारवादी उनलाई विचलित बनाउन लागेका थिए ।
नेपालको इतिहास केलाएर हेर्ने हो भने चाहे बहादुर शाह, चाहे अरु शाह हुन्, तिनलाई दरबारका भाइभारदार र परिवारले नै बिगारेका छन् । जनताको विद्रोहले होइन ।
पञ्च त राजाका कार्यकर्ता मात्र
पञ्चायतकालमा पञ्चहरूको खास भूमिका थिएन । उनीहरू राजाका कार्यकर्ता थिए । राजा महेन्द्रले पञ्चायतमा कार्यकर्ता भर्ती गरे । सधैँभरि दरबारबाट मात्र शासन परिचालन गरेर सम्भव थिएन । त्यसकारण गाउँ-फर्क राष्ट्रिय अभियान आयो । त्यो अभियानअन्तर्गत पञ्चायतका निकायमा आफूले चिनेका/जानेका मानिस भर्ती गर्दै गए ।
गिरिजाप्रसाद कोइरालाको राजनीतिक संस्कार र शासकीय यात्रा पूर्णतः पञ्चायतकै ‘कपी’ थियो ।
त्यतिखेर बौद्धिक जमातको पनि एउटा ‘क्लास’ थियो । मोहनमान सैंजु, पशुपति शमेशर लगायतका थुप्रै विद्वान्हरू त्यो कोटिमा राखिएका थिए । तिनले नीति लेख्थे । तिनैले लेखेका नीति-पत्रको वाचन गर्थे, पञ्चहरू । खासमा नीति निर्माणको तहमा पनि पञ्चहरूको खासै भूमिका हुँदैनथ्यो ।
पञ्चायतकालमा कुनै राजनीतिक संस्कार थिएन । त्यतिखेर पनि अहिलेको जस्तै संस्कारहीन राजनीतिको बोलवाला थियो । त्यसले मानिसका लागि व्यक्तिगत ‘स्वार्थ’भन्दा ठूलो केही हुँदैन भन्ने तथ्य स्थापित गर्यो । त्यसकारण मानिसहरू आफ्ना स्वार्थका धन्दामा लागे । पञ्चहरूले भ्रष्टाचार गरी सम्पत्ति जोडे । त्यो कमाइलाई बदनामीका रूपमा लिइएन । बरु उल्टो तिनीहरू घरानियाँका रूपमा स्थापित हुँदै गए ।
जनमत संग्रहका बेला पञ्चायती व्यवस्था जिताउन जंगलको त कुरै छाडौं, सर्पको छालासम्म बाँकी राखिएन । त्यसले के देखायो भने राजनीति भनेको पैसाको शक्ति हो । पञ्चायतले पैसाको शक्ति प्रयोग गरेर तीस वर्ष शासन गर्यो । त्यो राजदरबारले नै गरेको शासन हो । राज दरबारको अनुमति र संरक्षण नभएसम्म पैसाको ठूलो राजनीति हुनै सक्दैनथ्यो ।
पञ्चायतकालमा मठ-मन्दिरका पुराना मूर्ति युरोप-अमेरिका भ्रमणमा गए । त्यसरी भ्रमण गराउने पनि दरबारकै पात्र थिए । त्यतिबेला एकमात्र उद्भट पत्रकार थिए, चन्द्रलाल झा, जसले आफ्ना सम्पादकीयमा लेखे, राजदरबारका महत्वपूर्ण व्यक्तिहरूको संलग्नतामा नेपालका मूर्तिहरूको विदेशमा चोरी निकासी हुन्छ । त्यो व्यंग्यात्मक शैलीका ती सम्पादकीयहरूका कारण झाले प्रशस्त दुःख र प्रसिद्धि कमाए ।
महेन्द्रको पालामा सुनियोजित भ्रष्टाचार थिएन । त्यतिखेर, जहाँ-जहाँ ज-जसले जे-जे पाउँछ, त्यो खाए । दरबारलाई निर्धक्क रिझाउनेले खाए । राजा महेन्द्रलाई रिझाएर ठूला पञ्चहरूले बिगाहाका बिगाह जंगल बक्सिस पाए र ती जंगल आवाद गरे । महेन्द्रको पालामा त्यस्तो बकस जताततै व्याप्त थियो । त्यो सुनियोजित ढंगले होइन आबश्यकताका आधारमा थियो । तर वीरेन्द्रको पालामा चाहिँ सुनियोजित ढंगले भ्रष्टाचार हुन थाल्यो, अर्थात्, ‘कर्पोरेटाइज’ भयो ।
महेन्द्र-वीरेन्द्रबीच फरक
अनि, महेन्द्रमा जस्तो राजनीतिक धूर्तता वीरेन्द्रमा थिएन । महेन्द्र हरेक मानिसको नाडी छाम्दै राजकाज चलाउँथे । वीरेन्द्रले पद्धतिको अध्ययन गरेका थिए । त्यसै अनुरूप काम हुनुपर्छ भन्ने मान्यतामा थिए । त्यही मान्यताले यिनलाई खाइदियो ।
ओलीले त एक्लै निर्दलवादी शैलीमै पार्टी सिध्याइदिए । कम्युनिस्ट पार्टी त कमरेडहरूको कम्युनिटीका आधारमा चल्नुपर्ने हो ।
राजा वीरेन्द्रले देशको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक अध्ययन-अनुसन्धान निम्ति जाँचबुझ केन्द्र खोलेका थिए । उनले नेपालका राम्रा विद्वान्हरूलाई यसमा काम लगाए । परिचयात्मक पुस्तक मेची-महाकाली लेख्न लगाए । उनले देशबारे नयाँ-नयाँ तथ्यको खोज गराए । तर, त्यो के काम लाग्यो ? केही काम लागेको पाइँदैन । त्यसको परिणाम आउनुपर्थ्यो, त्यस्तो त केही आएन । उनले विकासका निम्ति तामझामसहित क्षेत्रीय भ्रमणको थालनी गरे । त्यसको के अर्थ रह्यो त ? उनी मुगु पुगे, त्यहाँका मानिसको नमस्कार खाए । तर उनीहरूको जीवन शैलीमा परिवर्तन गर्न सकेनन् ।
काठमाडौं सहरको कंक्रिटीकरण गर्न त्यतिखेरै गिटी-बालुवा झिक्ने क्रम सुरु भइसकेको थियो । त्यसरी आर्जित धनले सुन्दर सहर काठमाडौँको रूप बिगार्यो । कलकल पानी बग्ने तीन चारवटा खोला बग्ने दुर्लभ उपत्यकाको संहार भयो ।
सहरका ठूल्ठूला खेत-खलिहान जति पनि थिए, त्यसमा राजपरिवारकै आधिपत्य रह्यो । कमलादीको मलिलो फाँट मासेर राजा महेन्द्रले आफ्ना छोरीहरूका लागि घर बनाइदिए । पापमोचनका लागि होला, छेउमा एकेडेमी बनाए । यता दक्षिणतिरको फाँटमा पुलिस क्लब बन्यो ।
सिंहदरबारलाई पायक पारेर सरकारी भवन बने । ती भवन अलि पर डाँडाको चारैतिरका फेदीमा बनाएको भए के हुन्थ्यो ? त्यतिखेर काठमाडौंको पर्यावरण जोगाउन सकेको भए अहिले जनताले खुला वातावरणमा सास फेर्न पाउँथे । राजा महेन्द्रसँग त्यस्तो ‘भिजन’ चाहिँ थिएन । यो ऐतिहासिक सहर जोगाउने काम भएन । पोखरी, ढुंगेधारा र मसान मास्ने पञ्चहरूको छोटो बुद्धि र कुसंस्कारले पनि स्थिति बिगारेको हो ।
पञ्चायती ‘लिगेसी’कै निरन्तरता
२०४६ मा प्रजातान्त्रिक आन्दोलनको सफलतापछि शासन नयाँ राजनीतिक वृत्तको हातमा आयो । सत्तासँगै पञ्चायती ‘लिगेसी’ पनि जोडिएर आयो । नयाँ शासकले संस्थागत बहुदलीय संस्कार स्वीकार गरे पनि व्यवहारमा निर्दलीय संस्कार पछ्याए । निर्दलीय संस्कार भनेको एक माना खाने छ भने दुई माना खानुपर्ने, दुई छ भने चार माना खानुपर्ने हुनुपर्यो । अर्थात् आफ्नै लिंगोदरका लागि निरन्तर स्वार्थ र आकांक्षा पूर्तिमा मात्र केन्द्रित हुने । राजनीतिले पनि त्यसैलाई थेग्दै गयो ।
मानिसलाई बाह्य हस्तक्षेपतिर अल्झाएपछि ‘केपी एन्ड कम्पनी’लाई खराब कर्म ढाकछोप गर्ने अवसर मिल्ने नै भयो ।
२०४८ मा जब गिरिजाप्रसाद कोइराला संसदीय व्यवस्थामा निर्वाचित प्रधानमन्त्री भए, उनको राजनीतिक संस्कार र शासकीय यात्रा पूर्णतः पञ्चायतकै ‘कपी’ थियो । उनले आफ्ना मानिसलाई ‘पिक’ गर्ने, काम लगाउने शैली पञ्चायतकै देखियो । यहाँसम्म कि उनले आफना केही सल्लाहकार ‘पञ्चायतमा रहेर धेरै अनुभव बटुलेका’लाई छाने ।
त्यसो त, प्रजातन्त्र प्राप्तिको भोलिपल्टै कोइरालाले ‘प्रजातन्त्रको जीतलाई पञ्चहरूको पनि जीत’ भनेका थिए । त्यो परिप्रेक्ष्यमा सल्लाहकारहरूको नियुक्ति अनौठो मानिएन पनि । त्यसले कोइराला र कांग्रेसकै राजनीतिमा नराम्रो असर गर्यो । कांग्रेसभित्रको झगडामा कोइरालाले जुन किसिमको द्वन्द्व बढाए, त्यसले कांग्रेसका नेतृत्व तहका त्यागी नेता किनारा लागे । त्यो कांग्रेसका लागि आफैँमा दुर्भाग्य थियो ।
कांग्रेसले चुनावमा मजबूत बहुमत पनि पाएको थियो, कांग्रेसमा ‘भिजन’ भएका मानिस पनि थिए । कोइरालाले तिनको ‘भिजन’ सापटी लिनुपर्थ्यो, त्यो लिन सकेनन । गिरिजाबाबुले एकोहोरो शैलीमा सत्ता हाँके । त्यतिखेर प्रत्यक्ष निर्वाचित नभएका महेश आचार्यलाई अर्थराज्यमन्त्री बनाएर उनले प्रतिकूल सन्देश दिए ।
बहुदलपछि कांग्रेसमा आगामी बीस-तीस वर्ष एकछत्र शासन गर्छौँ भन्ने लाग्यो । त्यही तुजुकमा उनीहरू रहे । मैले मेरो जीवनकालमै देखेँ, चप्पलमा सत्तासीन भएका मेरा आफ्नै साथीहरू कसरी रातारात करोडपति भए । समाजमा यसो गर्नुहुन्न भनी कराउने मानिसहरू लाञ्छित भए । मलाई के लाग्छ भने त्यसो हुनुमा पञ्चायती संस्कार-संस्कृतिकै निरन्तरता थियो । त्यस्ता विसंगत असंगतिलाई संसदीय संस्कारले विस्थापित गर्न सकेन ।
ओलीमा पनि निर्दलवादी चरित्र
नेपाली राजनीतिमा पञ्चायती शैलीको निर्दलीय चरित्र अझ पनि निरन्तर छ । केपी शर्मा ओलीको प्रतिनिधि सभा विघटन निर्दलवादी चरित्रकै प्रदर्शन हो । ओलीले त एक्लै निर्दलवादी शैलीमै पार्टी सिध्याइदिए । कम्युनिस्ट पार्टी त कमरेडहरूको कम्युनिटीका आधारमा चल्नुपर्ने हो ।
नेतृत्व तहमा रहेका केही पात्रहरूको चरित्र हेरेर तिनलाई ‘निर्दलवादमा जाने हो ?’ भनेर सोधियो भने मलाई लाग्छ उनीहरू त्यसमा जान पनि मान्छन् होला । किनभने उनीहरूमा संस्थागत दलीय सोच देखिन्न । उनीहरूलाई सत्तामा पुग्ने भर्याङ बनाउने प्रयोजनका लागि मात्रै तिनलाई दल चाहिएको छ । तिनको क्रियाकलाप र प्रवृत्ति, कांग्रेस हुन् कि कम्युनिस्ट, निर्दलवादी नै छ ।
प्रधानमन्त्रीका रूपमा २०४७ सालमा किसुनजीले जोसिएर काम गर्नुभयो, संविधान ल्याउनुभयो । तर, उहाँ अन्तर्घातमा पर्नुभयो र उहाँलाई राजनीतिको मूलधारबाटै हटाउने प्रयत्न भयो । उहाँलाई राजनीतिमा शान्तिपूर्वक काम गर्न दिइएन ।
कांग्रेस होऊन् कि कम्युनिस्ट, तिनको क्रियाकलाप र प्रवृत्ति निर्दलवादी नै छ ।
उहाँको खाँचो त्यतिखेर मात्र पर्यो, जब २०५६ मा गिरिजा कोइरालालाई लाग्यो कि किसुनजीलाई लौरो नबनाई चुनावमा जित्नु सम्भव छैन । चुनावमा किसुनजीको उपस्थितिले कांग्रेसलाई सुविधाजनक बहुमत मिल्यो । उहाँ केही काम गर्न खोज्दै हुनुहुन्थ्यो । नौ महिनामा नै उहाँ हटाइनु भयो । किसुनजीको नाममा चुनाव जित्न गिरिजाप्रसादलाई जति हतार थियो, त्यति नै हतार उहाँलाई हटाउन देखियो । किसुजनीलाई केवल प्रयोग गर्न मात्र खोजियो, कामै गर्न दिइएन । गणेशमान सिंहलाई झन् पहिल्यै अनेक ‘बात’ लगाउँदै पाखा लगाइयो ।
राजतन्त्रको बिदाइपछिका दृश्य
२०६२/०६३ को आन्दोलनले नेपालबाट राजतन्त्र बिदा गर्यो । जुन दिन राजा वीरेन्द्रको वंशनाश भयो, नेपालमा राजतन्त्र त त्यही दिनबाटै सकिएको हो । नेताहरूले राजतन्त्र राख्नुपर्छ भनी जोडतोडमा ज्ञानेन्द्रलाई राजा बनाए । त्यत्रो अपमानपूर्ण अवस्थाबाट गुज्रिएर पनि गिरिजाप्रसाद कोइराला राजाको छेउमा उभिए । तर, राजा ज्ञानेन्द्रकै प्रजातन्त्र विरोधी क्रियाकलापका कारण आन्दोलन गर्नुपर्यो । राजतन्त्र फ्याल्नुपर्यो ।
राजतन्त्र हुँदासम्म ‘माथि’ भन्ने थियो । ‘माथि’ भन्ने यो पुरानो संस्कार बहुदलकालमा पनि निरन्तर रह्यो । लोकतन्त्रमा ‘माथि’ छैन । त्यसकारण पनि राजतन्त्रको पतनसँगै अब केही हुन्छ भन्ने आशा-अपेक्षा थियो । त्यो आशा सुविचारित पनि थियो ।
तर दुर्भाग्यवश, माओवादीले आफ्नो ‘कार्ड’ राम्रोसँग खेल्न सकेन, गिरिजाप्रसाद कोइरालाको लोभले पनि पराकाष्ठा नाघ्यो । उनी राष्ट्रपति पदको लोभमा नपरेर ‘मोरल अथरिटी’ बन्न चाहेको भए हुन्थ्यो । तर, भोगवादी गिरिजाप्रसादले आफनो लोभ संवरण गर्न सकेनन् ।
राजनीतिको गोलचक्करमा ‘संक्रमणकाल’ भद्रगोल भयो । विधिवत प्रधानमन्त्री भएका प्रचण्ड प्रधानमन्त्री भएपछि उनलाई काम गर्न दिनुपथ्र्याे । त्यत्रो ‘क्रेज’बाट आएको मानिसलाई काम गर्न दिएको भए, ठीक या बेठीक जे पनि हुन सक्थ्यो । त्यसले कुनै दिशा निर्धारण गर्थ्यो । तर गिरिजाबाबुले राष्ट्रपतिको ‘ब्रेक’ प्रयोग गरे । त्यसपछि सधैँभरि द्वन्द्वको निरन्तरता रह्यो । त्यसले गतिहीनतातिर अघि बढायो ।
फेरि यो तीस वर्ष बहुदलीय व्यवस्थाका ‘बेबकुफी’ भोग्दै छौं ।
अझ, त्यसपछि गिरिजाबाबुले दुई ठाउँबाट चुनाव हारेका माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाए, छोरी सुजातालाई राजनीतिमा स्थापित गर्न । त्यसले पुरानै ढर्रा देखायो । राजा हटाएर देश गणतन्त्र बने पनि त्यसको मान्यता रहेन । त्यसपछि त संविधान पनि बनाउन नसकी पहिलो सविधानसभा खेर गयो ।
अहिलेको ‘सेटिङ’ राजनीति
यो संक्रमण बाह्य डिजाइनमा आएको हो भन्ने टीकाटिप्पणी खुब सुनिन्छ । यो ‘डिजाइन’ विदेशी शक्तिहरूले प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको पक्षमा गरिदिएका हुन् । ‘षड्यन्त्रको सिद्धान्त’मा विश्वास गर्नेहरू धेरै होलान् । अनेक तत्वको हात छ भन्ने पनि होलान् ।
म चाहिँ फरक देख्छु, देशमा लोकतन्त्र छ्याप्छ्याप्ती भइसकेपछि बाह्य हस्तक्षेपको सम्भावना हुँदैन । लोकतन्त्रको खुला परिदृश्यमा बाह्य हस्तक्षेपका कथा-कहानीमा धेरै दम पनि हुँदैन । बाह्य कथा-कहानी ल्याउनु भनेको आधारभूत रूपमा मानिसको ध्यान मोड्ने परिपञ्च र उपाय हो, सँगै आफ्ना दुष्कर्म ढाकछोप गर्न पाइने उद्देश्यबाटै निर्मित डिजाइन हो ।
मानिसलाई बाह्य हस्तक्षेपतिर अल्झाएपछि सजिलै भन्न पाइन्छ, ‘यो त केपीले गरेको होइन रहेछन् । यो त विदेशीले गरेका हुन् ।’ समाजमा त्यो तथ्य स्थापित गरेपछि ‘केपी एन्ड कम्पनी’लाई आफ्ना खराब कर्म ढाकछोप गर्ने अवसर मिल्ने नै भयो । होला, भारत-चीनको स्वार्थ होलान्, अमेरिकाको पनि होला । त्यो आफ्नै ठाउँमा हुन्छ । केही पनि नहुने भन्ने हुँदैन ।
आशावादी हुने ठाउँ
न्यायाधीशहरू ‘ब्रह्मले देख्ने’ न्यायमूर्तिकै रूपमा, सत्य, न्याय र निर्दोष जनताको पक्षमा उभिए भने प्रतिनिधि सभा पुनःस्थापना हुन्छ । त्यसपछि यसबीचमा उत्पन्न भय, संशय र षड्यन्त्र आफैं कम हुन्छन् । देशको राजनीति वैधानिक संसदीय कोर्समा फेरि प्रवेश गर्छ । प्रधानमन्त्रीमा जोसुकै आउन सक्छन् ।
तर, देश र संविधानको कुनै ख्याल नगरी विघटन र भयो भने राजनीतिक विद्रोह प्रवेश हुन्छ, राजनीतिमा । चुनाव पनि विद्रोहकै अर्को रूपमा परिणत हुन सक्छ । हरेक नेपालीलाई थाहा छ कि वैशाखमा चुनाव हुन सक्दैन । त्यो परिस्थितिमा रोष-क्रोधमा आधारित आन्दोलन हुन्छ । अनि २०६३ मा जसरी नै प्रतिनिधि सभा पुनःस्थापना हुन सक्छ । त्यो प्रतिनिधि सभामा २०६३ मा माओवादीलाई जसरी सिधै सांसद बनाइयो, त्यस्तै बाध्यता पनि सिर्जना हुन सक्छ ।
शासकीय वृत्तमा अब गगन थापा र उनीपछिका युवाहरू आउनुपर्छ ।
नेपालमा परिवर्तनको इतिहास लामो छैन । राणाकालपछि परिवर्तनको जम्माजम्मी ७० वर्ष न भयो । यो अवधि भनेको कुनै पनि देशको आयुमा ठूलो समय होइन । भारतमै हेर्ने हो भने तिनले लामो समय संघर्ष गरेका छन् । चीन होस् या अमेरिका, तिनको पनि इतिहास त्यही हो ।
त्यो मामलामा नेपालीले आफूलाई भाग्यमानी ठान्नुपर्छ कि हामीले यति थोरै समयमा यति धेरै राजनीतिक प्रयोग भोगिसकेका छौं । राणाकालपछि संक्रमणकाल बेहोर्यौं । त्यसपछि अठार महिने संसदीय कालमा मख्ख पर्यौँ । त्यसपछि तीस वर्षे निर्दलीय पञ्चायतकाल भोग्यौं । फेरि तीस वर्ष बहुदलीय व्यवस्थाका ‘बेबकुफी’ भोग्दै छौं । हाम्रो भोगाइ निरन्तर छ ।
यति हुँदाहुँदै पनि हामी निराशावादी हुनुहुन्न । अब साँच्चै आशावादी हुने हो भने नयाँ पुस्तालाई शासन सुम्पिनुपर्यो । शासकीय वृत्तमा अब गगन थापा र उनीपछिका युवाहरू आउनुपर्छ । उनीहरू आएको खण्डमा तिनले बुझ्छन् कि जसले मलाई यो कुर्सीमा राखेका हुन् तिनले भोलि जतिसुकै बेला फाल्छन् भन्ने डर हुन्छ । जनताले मलाई कुनै पनि बेला सिध्याउन सक्छन् भन्ने डर र मान्यता हृदयमा बोक्ने नेता आए भने फेरि नयाँ प्रारम्भ हुनेछ । मानिसले आफैंमाथि विश्वास राख्नुपर्छ । आशावादी हुने ठाउँ थुप्रै छन् । (हरिबहादुर थापासँगकाे कुराकानीमा आधारित ।)
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया