विचार

समुन्‍नत नेपाल

जल-प्रकोप पर्खिने काठमाडौँँ

शीतलबाबु रेग्मी |
भदौ १९, २०७९ आइतवार ७:३ बजे

काठमाडौँ उपत्यकामा बर्सेनी झन्डै  १५०० मिलीमिटर पानी पर्छ । पर्ने पानीको झन्डै ५० प्रतिशत असार- साउनमा पर्छ । यसले गर्दा बर्सेनी वर्षादको समयमा जल-उत्पन्‍न प्रकोपले धन-जन खति गर्छ । यस्ता प्रकोपका घटनाहरू बर्सेनी बढ्दै  गइरहेका छन् । हाल आएर प्रकोपका घटनाहरू, यसबाट भएका क्षतिहरू र यसको प्रबलता अझ बढ्दै गइरहेको पाइन्छ ।

बढी पानी भएको समयमा नदीमा बग्ने पानीको गति  बढ्ने र बाढी, पहिरो, जमीनको कटान नियमित रुपमा हुनु प्रकृया हो । पानीको बगाई बढ्नुसँगै हरेक वर्ष बढ्दै गएको धन-जनको क्षति चिन्ताको विषय बन्दै गएको छ। यो प्रकृया हरेक वर्ष बढ्दै गएको छ र परिस्थिति अझ गम्भीर हुँदै गएको छ । यो किन भइरहेको छ र यसको न्यूनीकरण कसरी गर्ने भन्‍ने विषय महत्वपूर्ण भइसकेको छ ।


प्रकोप बढ्दै जानुमा मुख्य गरी  दुई कारणहरू छन् । पहिलो हो वर्षाको मात्रा र यसको तीव्रता बढ्नु । जलवायु परिवर्तन, हरित ग्यास उत्सर्जन बढेकोले पृथ्वीमा तापक्रम बढ्दा प्रकोप पनि बढेको छ । यसका लागि स्थानीयभन्दा विश्वभरी भएका गतिविधिहरूले बढी असर पुऱ्याएको हुन्छ ।

काठमाडौँमा प्रकोपहरू बढ्दै जानुको दोस्रो र मुख्य कारण यहाँ तीव्र गतिमा जनसंख्या बढ्नुसँगै स्थानीय स्रोत साधनमा भएको  दोहन र नदीको जथाभावी अतिक्रमण हो । अझ नदीलाई चाहिने पानी बग्ने क्षेत्रमा भइरहेको थिचोमिचो र बन्दै गरेका जथाभावी भौतिक संरचनाहरूले स्थिति डरलाग्दो बन्दै गएको छ । यसरी नै जथाभावी नदी बग्ने क्षेत्रमा थिचोमिचो हुँदै गएमा स्थिति अनियन्त्रित हुँदै गएर  निम्तने अति ठूलो प्रकोपबाट हुने क्षति ब्योहोर्न पर्ने जिखिम निश्चित् छ।

काठमाडौँमा अहिले अव्यवस्थित निर्माणको लहर छ, नियामक निकायहरू निष्प्रभावी छन्, पर्ति जग्गा, नदीको बहाव क्षेत्र, सार्वजनिक क्षेत्र, सरकारी जग्गाहरू अतिक्रमित हुने या मिलोमतोमा खाने कृयाकलाप बढ्दो छ। अनुगमन गर्ने निकाय, कानुनी निकाय, प्रभावशाली राजनैतिक तथा प्रशासनिक निकायहरूकै संलग्नतामा यस्ता गतिविधिहरू संरक्षित गरिएका भनिन्छ । यसैले जमीनमा तीव्र चाप परेको छ ।

सार्वजनिक क्षेत्रबाट नै राष्ट्रिय स्रोत र साधन परिचालन गरेर नदी बग्ने क्षेत्रलाई साँघुरो बनाएर सडकहरू बनाइएका छन् । पुलहरू नदीको आवश्यक चौडाइभन्दा धेरै साँघुरो गरेर बनाइएका छन् । घरहरू नदीको क्षेत्र मिचेर बनाइएका छन् । यसरी नदी च्याप्ने पात्रहरू पुरूषार्थ गरे जसरी झन् निर्लज्ज भएका छन् । अहिलेको समाज पनि यस्ता गतिविधिहरूलाई नियन्त्रण, दुरूत्साहन गर्नु भन्दा आफै भाग खोज्न नै लागेको देखिन्छ । अतिक्रमित क्षेत्रहरूलाई व्यक्तिगत बनाउन सवै पहुँचवाल उद्यत देखिन्छन् । 

थापाथलीको बागमतीको पुल झण्डै एक सय दश मिटर चौडा छ तर त्यसको मुनि सडकहरू बनाइएर नदी बग्ने क्षेत्रलाई खुम्च्याइएको छ। त्यही नदीमा केही सय मिटर माथि युएन पार्कमा नदीमा बनेको पुल ५० मिटर मात्र छ । धोबिखोला करिडोरले नदीलाई दश पन्ध्र मिटर चौडा नालामा फेरेको छ। बागमती विष्णुमती, मनोहरा, हनुमन्ते लगायतका नदीहरू पर्खालभित्र खुम्चिएर बग्न बाध्य पारिएका छन् । 

टुकुचा, सामाखुसी जस्ता खोलाहरूलाई ढुङ्रो भित्र बग्न बाध्य पारिएको छ । घट्टे कुलो सडक भएको छ । कपनमा वर्षाद्को कुलो र सडक एउटै भएको छ । प्राय सबै नदीहरूको यही हाल छ। यी कार्यहरू कुनै 'दक्ष' र अधिकार प्राप्त व्यक्ति/निकायहरूबाट नै भएका छन् । ऐन कानुनको परिधिभित्रै रहेर गरिएको छ । यसलाई नै विकास मान्‍ने वुद्धिजिवी, नेता, विज्ञ या उपभोक्ता धेरै छन् । सिमेन्ट, छड, गिट्टी, बालुवाको अनियन्त्रित उपयोगलाई नै विकास भनेर परिभाषित गर्नेहरूकै मनोमानी रहेको छ । नदीले पनि यिनैको आदेश मान्‍नु पर्ने भएको छ ।  

बागमतीको पुल भारतीय र जापानी प्राविधिकहरूले एक सय दश मिटर स्पानको यसै बनाएको हैन । त्यस पुल मुनि नदीमा मल्लकालमा बनाइएको दुवैतर्फको भकारीका बीचको नाप पनि समान हुनु हाम्रा पुर्खाहरूको ज्ञानको प्रमाण हो। अहिले ती भकारीहरू पुरेर र नदीलाई साँघुरो वनाएर 'करिडोर' निर्माण गरिएको छ । धेरैजसो नदीहरूको वस्तुस्थिति यस्तै छ ।

नदीको आफ्नै नियम हुन्छ। नदीमा हरेक वर्ष आउन सक्ने देखि सयौं वर्षमा एक पटक आउन सक्ने पानी बग्न पुग्ने चौडाइ र गहिराइ हुनु पर्छ किनकि सय वर्षमा आउन सक्ने बाढी भोलि पनि आउन सक्छ । अहिले नदीलाई लगाइएको पर्खालभित्र बग्न नदी बाध्य छैन ।

अहिले पत्र-पत्रिका, टिभी, रेडियो, सामाजिक संजाल सबैमा बाढीले काठमाडौँमा पुऱ्याएको क्षतिको खबरहरू देख्न सुन्‍न पाइन्छ र पहिले बाढी नपस्ने ठाउँमा पनि बाढीले व्यापक क्षति पुऱ्याएको छ भनिन्छ । ५०/६० मिमी पानीपर्दा समेत व्यापक क्षति भएको पाइएको छ ।

जाइकाले झण्डै तीस वर्ष पहिले गरेको काठमाडौँ उपत्यकाको जल उत्पन्‍न प्रकोपको अध्ययनमा आठ घन्टामा १४४ मिमि पानी परेमा ठ्लो क्षति हुने आकलन गरेको छ । हालको नदी क्षेत्रको संकुचन र अतिक्रमण हेर्दा परिस्थिति झन् गम्भीर भएको पाइन्छ ।

सन् १९९३ मा कुलेखानी क्षेत्रमा २४ घण्टामा ५४० मिमी पानी परेको रेकर्ड छ। छेउमा नै रहेको काठमाडौँमा पनि यस्तो वर्षा हुन सक्छ। यस्तो भएमा अडकल नै गर्न नसकिने क्षति हुन सक्छ। योजनाकारले यस्ता कुराहरूमा पनि ध्यान दिएर मात्र भौतिक संरचनाहरूको योजना र दिगो निर्माण गर्नु पर्छ।

काठमाडौँ अहिले ठूलो जलउत्पन्‍न प्रकोपको जोखिममा छ। विगत बीसौं वर्ष यहाँ ठूलो वर्षा भएको छैन। जे जति भएको छ त्यस्ले पनि ठूलो क्षति भइरहेको छ। कुनै समयमा ठूलो वर्षा भएमा अकल्पनीय क्षति हुन सक्छ।

'रिभर इन्जिनियरिङ' पढाइँदा भन्‍ने गरिन्छ – नदीलाई र नारीलाई छुँदा धेरै नै विचार पुऱ्याउनु पर्छ, किनभने यस्तो कार्यले पछि के परिणाम ल्याउँछ भन्‍ने अडकल गर्न धेरै गाह्रो हुन्छ। अहिले नेपालमा र विशेष गरेर काठमाडौँ उपत्यकामा नदीलाई जसरी जिस्क्याइँदैछ, त्यस्ले दुष्परिणाम निम्तने पक्का छ ।

नेपालको वर्षा, बाढी र क्षतिको अध्ययन गर्दा हरेक वर्ष कुने न कुनै क्षेत्रमा ठूलो वर्षा र त्यसबाट श्रृजित प्रकोपका घटना भएको पाइन्छ। काठमाडौँ उपत्यकामा भने धेरै समयदेखि यस्तो वर्षा भएको छैन। त्यसैले पनि यस्ता प्रकोप हुन सक्ने संभाव्यता अझ बढ्दै गएको छ।

नदीहरूलाई पर्खालभित्र खुम्च्याएर केही समय राख्न सकिएला तर लामो समयसम्म यसरी राखिराख्न सकिँदैन। बाह्र बर्षमा खोलो पनि फर्कन्छ भन्‍ने हाम्रो पुर्खा देखिको भनाइ त्यत्तिकै बनेको होइन ।

'रिभर इन्जिनियरिङ' पढाइँदा भन्‍ने गरिन्छ – नदीलाई र नारीलाई छुँदा धेरै नै विचार पुऱ्याउनु पर्छ, किनभने यस्तो कार्यले पछि के परिणाम ल्याउँछ भन्‍ने अडकल गर्न धेरै गाह्रो हुन्छ। अहिले नेपालमा र विशेष गरेर काठमाडौँ उपत्यकामा नदीलाई जसरी जिस्क्याइँदैछ, त्यस्ले दुष्परिणाम निम्तने पक्का छ ।

उपत्यकामा अहिले नदीहरूलाई चेपेर अन्य संरचनाहरू बनाइँदै छ, चाहिँदो स्थान छुट्याइएको छैन । भएका ठाउँलाई फोहोर मैला फाल्ने स्थान बनाइएको छ । नदीलाई सानो कल्भर्ट, पाइप, नालबाट बग्न बाध्य पारिएको छ, नदी बग्ने क्षेत्रलाई सडक बनाइएको छ । सम्पूर्ण नदी क्षेत्रमा मासेर संरचनाहरू बनाइएको छ, यसको दूरगामी परिणाम  जल उत्पन्‍न प्रकोपको हिसावले अहिले काठमाडौँ ठूलो बाढीलाई पर्खि रहेको देखिन्छ। 

अहिलेकै हिसाबमा नदीलाई जोरजुलुम हुँदै गएमा काठमाडौँ उपत्यकामा जल उत्पन्‍न प्रकोप अझ बढदै जानेछ र ठूलो वर्षा पश्चात् धन-जनको अपार क्षति हुनेछ। यस्तो परिस्थिति निम्त्याउनु भन्दा समयमै यसको रोकथाम या खति घटाउन आवश्यक अग्रसरता लिन आवश्यक छ। यसो गर्न नदीहरू बग्न चाहिने क्षेत्र तोकी त्यसलाई खुला राख्नुपर्छ र सो क्षेत्र अतिक्रमण हुन दिनु हुँदैन। नदीको बाटो थुन्‍ने गरी कुनैपनि गतिविधि हुन दिनु हुँदैन तथा कमजोर र नदी किनारहरूलाई बलियो पार्नु पर्दछ।

उपत्यकामा अहिले धेरैजसो नदीहरू अतिक्रमित भएका छन्, मासिएका छन् तथा पुरानो अवस्थामा फर्काउन नसकिने गरी नदीमा भौतिक संरचनाहरू निर्माण भइसकेका छन् । यस्ता क्षेत्रमा संभव भएसम्म नदी किनारहरूलाई बलियो पारी नदीलाई सुरक्षितरुपमा निकास दिने व्यवस्था गरिनुपर्छ र यो सम्भव नभएका ठाउँहरूमा निर्मित भौतिक संरचनाहरू हटाइ नदी बग्ने क्षेत्र खाली गराउनुपर्छ। भविष्यमा नदी अतिक्रमण हुन नसक्ने गरी नियम, कानुन  बनाइ कडाइसँग लागू गर्नुपर्छ । 

काठमाडौँका हालका नदी किनारामा हुनेगरेका भौतिक संरचना निर्माणहरू नदीमा हुन सक्ने असरलाई अध्ययन नगरी तत्कालका आवश्यकता पूरा गर्ने मात्र हुने गरेका छन् । फलस्वरूप नदीबाट हुने प्रकोप दिनहुँ बढ्दो  छ । यस्तो किसिमको नदीमा भइरहेको अतिक्रमण रोक्न खट्टै परिसकेको छ । 

नदी तथा यसका वरिपरिका क्षेत्रलाई प्रकोप रहित हुँदै नहुने त बनाउन सकिँदैन तर उचित व्यवस्थापनहुँदा  यसबाट हुने क्षतिलाई घटाउन भने अवश्य सकिन्छ ।

*समुन्‍नत नेपाल गुठी एउटा सार्वजनिक गुठी हो । यस गुठीले क) राष्ट्रिय एकता, सुरक्षा र आत्मनिर्भरता ख) सदाचार स्थापना र भ्रष्टाचार नियन्त्रण ग) साँस्कृतिक तथा प्राकृतिक विविधताको संरक्षण घ) परराष्ट्र सम्बन्ध का क्षेत्रमा अनुसन्धात्मक र विश्लेषण, नीति-निर्माण र कार्यान्वयनमा सहयोग र सल्लाह तथा पैरवी, जागरण र उत्प्रेरणा जस्ता कार्य गर्दछ ।

प्रतिक्रियाको लागि: [email protected]

समुन्‍नत नेपालका प्रकाशित लेखहरू 


Author

शीतलबाबु रेग्मी

रेग्मी नेपाल सरकारका पूर्व सचिव हुन् ।


थप समाचार
x