रास्वपाप्रति झलनाथको कटाक्ष : घण्टी अराजकताको संकेत हो
काठमाडौँ- पूर्वप्रधानमन्त्री झलनाथ खनालले गणतन्त्र आएको १५ वर्षका उपलब्धिहरूको समीक्षा हुन जरुरी रहेको बताएका छन् । शनिबार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले उपलब्धिको समीक्षा गरेर अघि नबढ्ने हो भने देशमा अराजकता आउने जिकिर गरे । राष्ट्रिय स्वतन्त्र पार्टीप्रति लक्षित गर्दै उनलै घण्टी अराजकताको संकेत भएको बताए । उनले आन्दोलनमा ठूलो भूमिका खेलेको पार्टीहरूले देशको विकासका लागि महत्वपूर्ण भूमिका खेल्न नसक्दा अहिलेको अवस्था आएको जिकिर गरे ।
‘यो १५ वर्षको समीक्षा गर्दै अब देशलाई अघि बढाउनुपर्छ । यी चिजलाई सच्याउन सकिएन भने देशमा अराजकता सिर्जना हुन्छ । कोही घण्टी बजाउँदै हिँड्लान्, कोही ढोल बजाउँदै हिँड्लान्, कोही मादल बजाउँदै हिँड्लान्, कोही मादल बजाउँदै हिँड्लान् । यो प्रकारको एउटा अवस्था आउँछ,' उनले भने, 'ढोल र घण्टीहरू भनेका अराजकताका संकेतहरू हुन् । देशमा आउँदै गरेको अराजकताका । यो देशका जुन ठूला मेजर पार्टीहरू हुन्, जसले क्रान्ति गर्न ठूलो भूमिका खेले, खेलेकै हुन् तर उनीहरूले देश निर्माणमा महत्वपूर्ण भूमिका खेल्न सकेनन् । त्यसकै कारण अहिले परिस्थिति यस्तो भएको हो । नयाँ भिजनका साथ देशलाई अघि बढाउनुपर्छ ।’