३०-३०

३०–३० बहस

आफू ‘भेडा’ बनेर शासकलाई सधैँ ‘बाघ’ बनायौँ

अनिष भट्टराई |
फागुन १८, २०७७ मंगलबार १५:४६ बजे

३०-३० स्तम्भ इकागजडटकमको सुरु दिनदेखिको विशेष शृंखला हो । ३० वर्षसम्म टिकेको पञ्चायती व्यवस्था सकिएको पनि अहिले ठ्याक्कै ३० वर्ष पूरा भएको छ । यसै सन्दर्भमा पछिल्लो ३० वर्षमा हामीले के चुम्यौँ, केमा चुक्यौँ ? अध्येता-अनुभवीका समीक्षात्मक अभिव्यक्ति यस स्तम्भमा शृंखलाबध्द रूपमा प्रकाशन भइरहेका छन् । यसै सन्दर्भमा संगीतज्ञ अमृत गुरुङको विचार :-

पञ्चायत कालको नेपाल र अहिलेको नेपालमा म फरक केही देख्दिनँ । अहिले जस्तो अवस्था छ, नेपाल पहिला पनि त्यही अवस्थामा थियो । म मान्छु, सिस्टम फरक थियो । तर मान्छे त उनै हुन् नि । सोच र व्यवहार उस्तै छ । 
हामीले सोचेका थियौँ- नेपाल अब समृद्धशाली बन्छ । नेपालमा आमूल परिवर्तन आउँछ । तर समयमात्र फरक बन्यो, माहोलमात्र परिवर्तन भयो । तर प्रवृत्ति ? जस्ताको तस्तै छ, एउटै छ । त्यो बेलामा पनि त बोल्न पाइँदैनथ्यो । स्वतन्त्रता थिएन । अहिले पनि त स्वतन्त्रता छैन । भन्‍ने बेला त अभिव्यक्ति स्वतन्त्रता छ भन्छन्, खै त भएको ? अहिले पनि बोल्ने मान्छेलाई थुनिन्छ । त्यो बेलामा पनि बोल्ने मान्छेलाई थुनिन्थ्यो । म त पञ्चायत र अहिलेको बेलामा केही परिवर्तन देख्दिनँ । शासकको प्रवृत्ति एउटै हुने रहेछ । 

 


पहिला मलाई गीतमार्फत एक्टिभिजम गरिस् भनेर धेरै थ्रेट आए । एजेन्डामा मैले कहिल्यै काम गरिनँ, स्वतःस्फूर्त लागेको हुँ ।

नागरिकको बोल्ने अधिकार कुण्ठित पारिए म अभियान चाल्छु भनेको थिएँ । त्यति बेला गीतमार्फत अभियानमा पनि हिँडेँ । तर अहिले म पनि अभियानमा आउनुपर्छ भनेको सुन्छु । अभियान समयको माग हुनुपर्छ । कुनै व्यक्तिले मागेर हुँदैन, कुनै पार्टीले चाहेर म बोल्न जाने होइन । कुनै प्रधानमन्त्री फेर्नका निम्ति, कुनै पार्टी फेर्नका निम्ति अभियान चालिने होइन । त्यस्ता कामका लागि अभियान चालेर कुनै अर्थ छ ? म पनि अभियानमा जान्छु, जुन बेला नगई हुँदैन । नगरी, नगई नहुने बेला म पनि जान्छु तर त्यसमा राजनीतिक स्वार्थ मिसिँदैन । 

पञ्चायतको अन्तिममा मात्र हामी गीतमार्फत अभियानमा थियौँ । होला, केही ससाना मञ्चमा, केही समारोहमा गीत त गाइयो नै । तर अभियानमै हिँडेको त पञ्चायतको समयको अन्तिमअन्तिममा नै हो । ०४६ सालदेखि हो हामी अभियानमा आएको त । तर हामीले सुनेका गीत भनेको रामेश, रायन र मञ्जुल दाइहरूको गीत हो । 

‘भोकै मर्ने महाकविका गीत गाइने दाइ’, ‘कोसी छेउ उभिएको सिमल’, ‘गाउँगाउँबाट उठ बस्तीबस्तीबाट उठ’ यस्ता गीत हामीले सुन्यौँ, त्यस्तै गीत रुचायौँ, पच्छ्यायौँ । ०४६ सालभन्दा पहिलेका गीतभन्दा पनि दबिएका आवाजहरूको समूह थियो । गीत सुनेर नै लाग्थ्यो कि हामी पनि यो लडाइँमा म पनि जानुपर्छ । राष्ट्रका निम्ति, माटोका निम्ति । गीतमार्फत देशभक्ति बढी झल्क्याइन्थ्यो ।  

ती गीत सुनाउँदा, नाटकहरू देखाउँदा मान्छेलाई मञ्चबाटै उठाएर लगिन्थ्यो । अहिले पनि त त्यस्तै हो नि । अहिले पनि भाषण गर्दा थुन्ने प्रवृत्ति देखियो नि । 
जब नेपाल कम्युनिस्ट पार्टी माओवादीले जुन आन्दोलन घोषणा गरे, जुन युद्ध निम्त्याए, त्यसपछि हामी तीव्र रूपले गीति अभियानमा लाग्यौँ । उहाँहरूको माग कति जायज थियो/थिएन, त्यो समयको कालखण्डले निर्धारण गर्छ । हामीले त कलाकारका रूपमा उहाँहरूलाई युद्ध बन्द गर्न आग्रह गर्‍यौँ, हाम्रा सिर्जनाबाट । त्यो बेला सबैभन्दा बढी प्रताडित र सबैभन्दा बढी गाह्रो सर्वसाधारण जनता, विद्यार्थी र बालबालिकालाई थियो । 

आफू वरिपरिका मान्छेका लागि मात्र काम नगर्नुस्, कुलमान जस्तो बन्‍नुस्, महावीर जस्तो बन्‍नुस् ।

जुनचाहिँ देशका बच्चाहरू ठीकसँग विद्यालय जान पाउँदैनन्, जो डिस्टर्ब हुन्छन्, उनीहरूको भविष्य कस्तो हुन्छ ? त्यो खालको बाधा बन्द गरिदिनुप¥यो, बन्द हड्ताल नगरिदिनुपर्‍यो, विद्यालयलाई निसाना नबनाउनु पर्‍यो भनेर भन्यौँ । हाम्रो अभियान साँचो रूपमा त्यहीँबाट सुरु भयो । शिक्षा राम्रो हुने हो भने १० वर्षमै देश कायापलट हुन्छ । शासकको सोच पनि त्यस्तै हुनुपर्‍यो हामीले सशस्त्र विद्रोहका बेला जुन गीत गायौँ, ती गीत रामेश, मञ्जुल दाइहरूकै सिको थियो । हामीले उहाँहरूलाई नै निरन्तरता दिएको मात्र हो । जसले बोल्न सक्दैनथे, उनीहरूका लागि बोलिदिएको मात्र हो । खासमा हामीले गरेको त्यो काम नयाँ थिएन । 

शासकले कलाकारलाई हेर्ने नजर फेरिएकै छैन । त्यो बेलामा पनि कलाकारलाई ‘जाबो कलाकार’ भनिन्थ्यो । कवि, कलाकारलाई सधैँ उपेक्षा गरिएको छ । कवि, कलाकार भनेको प्रतीकात्मक आवाज हो । उनीहरूकै आवाज सुनिँदैन । एकपटक सुन्यो अनि फालिदियो । समाचारपत्र जस्तो व्यवहार गरिन्छ, यहाँ कलाकारलाई । एकपटक हेरिन्छ, अनि फालिन्छ कुनै कुनामा । कलाकार पुस्तक हुन्, तर पुस्तकको व्यवहार गरिँदैन । जस्तोसुकै व्यवहार शासकले गरोस्, कुनै गुनासो मसँग छैन । किन कि म यहाँ कसैको करले होइन रहरले आएको हुँ । आफ्नो प्रकृति आफैँ बनाउने हो, अरुको ताक्ने होइन । 

 

एउटा चिठी आएपछि पढेर सुनाइदिने मान्छे भेटिँदैनथे । त्यस्तो थियो त्यो जमाना । अहिले त लेख्‍ने धेरै भए, पढ्ने धेरै भए । तपाईं जति आदर्शवादी हुनुहुन्छ नि, त्यति तपाइँले दुःख पाउनुहुँदो रहेछ । 

शासकहरूलाई हामीले हाम्रा सिर्जनाबाट सुझाव दिइरहेकै छौँ । जुन चिज कविले एक हरफमा भन्छ, गीतकारले एक लाइनमा गाउँछ, त्यो मन्त्रीको एक भाषणभन्दा पावरफुल हुन्छ । तर शासकलाई जुन दिनसम्म कलाकारको त्यो भनाइ आवश्यक हुन्छ, त्यो दिनसम्म भन्छन् । जब उनीहरू एक ठाउँमा पुग्छन्, अनि त्यसलाई तपसिलका कुरा भनेर छाडिदिन्छन् । 

दमनको प्रवृत्ति एकदमै व्यापक थियो । दमन कस्तो हुन्छ, हिंसा कस्तो हुन्छ देखियो, भोगियो । मान्छे भनेको एउटा प्रवृत्तिबाट वस्तुमा प्रयोग हुने चिज न हो । कसैका निम्ति प्रयोग हुुनुपर्ने । हामीले सधैँ गाइरह्यौँ । सधैँ भेडा नै बनिरह्यौँ । हामीले शासकलाई सधैँ बाघ बनाएर राख्यौँ । तर एउटा कुरा त्यो बाघले अझै बुझ्न सकेन कि एकदिन यो गाई-भेडाको समूहले त्यो बाघलाई खोरमा लगेर थुनिदिन्छ । जुन दिन थुनिन्छ नि, त्यो दिन ऊ सकिन्छ । लामो समयसम्म पनि हामीले बाघ थुन्न सकेनौँ । गाईहरू निरीह छन्, एकजुट हुन सकेनन् । गाईहरू आफ्नै स्वभावका छन्, हिंसा गर्न सकेनन् । शासकहरूप्रति जनतामा वितृष्णा जाग्दै छ । तर बाघलाई थुन्ने गरी उनीहरू हिंसा भने कहिल्यै गर्न सक्दैनन् । 

अहिलेसम्मका आन्दोलनले, विद्रोहले नेपाललाई अझै पनि सही मार्गमा लैजान सकेका छैनन् । पहिला लेख्ने, बोल्ने मान्छे कम थिए, लेखेपढेका मान्छे नै धेरै थिएनन् । म २७ सालमा पोखरा बजार आउँदा भैरहवा जोड्ने सिद्धार्थ हाइवे बल्ल बनेको थियो । १ कक्षामा म पढ्न आउँदा पोखरा-काठमाडौँ हाइवे त बनेकै थिएन । एउटा गाडी थियो म पोखरा आउँदा ९ नम्बर ढ्वाङ भन्‍ने । त्यो गाडी छुटेपछि खुट्टाले हिँडेर जानुपथ्र्यो । त्यो समय हेर्दा त पढेका मान्छे धेरै हुन कसरी सक्थे ? बाटो थिएन, गाडी थिएनन्, सहर अहिले जहाँ बस्यो त्यो खाली थियो । घर अहिले जस्ता थिएनन् । विद्यालय थिएनन् । त्यति बेला पोखरामा केही थिएन । लेकसाइड अहिलेको जस्तो थिएन । 

 

 

सर्जक-नागरिकका रूपमा मलाई अहिले देशको अवस्थाले निकै पिरोल्छ । म हरेक दिन दुःखिरहेको छु, छटपटाइरहेको छु । 

म गण्डकी बोर्डिङ स्कुलमा पढ्दा मेरो रिजल्ट आउँदा उत्तीर्ण भनेर रातो अक्षरले लेखिएको रहेछ । मेरो बाले यो साले त फेल भएछ, रातोले लेखेछ भनेर थर्काउनुभयो । मैले भन्छु पास, उहाँले भन्नुहुन्थ्यो, रातोले लेखेसि कसरी पास ? पूरा गाउँ डुलाए बाले यो पास भयो कि भएन भनेर पुष्टि गर्न । 
एकजना गाउँको मामाले भान्जाले त एकदम राम्रो नम्बर ल्याएर पास भएछन् भनिदिएपछि बाले पत्याउनुभयो । एउटा चिठी आएपछि पढेर सुनाइदिने मान्छे भेटिँदैनथे । त्यस्तो थियो त्यो जमाना । अहिले त लेख्ने धेरै भए, पढ्ने धेरै भए । पहिला पो थोरै थिए, लौ यसलाई समाएछ भन्‍ने हुन्थ्यो, अहिले त लाखौँ भएपछि कोको समातिन्छन्, थाहामात्र नभएको हो । अहिले पनि शासकले लेख्ने-पढ्नेलाई कोचिरहेको छ । 

बोल्न पाउनु, हिँड्न पाउनुमात्र अधिकार होइन । आफ्नै राष्ट्रमा खुलमखुल्ला हिँड्न पाइन्थेन । अहिले हिँड्न पाइन्छ । के अब यसैलाई अधिकारसम्पन्न भइयो भन्‍ने ? म पहिला आफ्नै देशमा पटकपटक रोकिएको छु, छेकिएको छु, थुनिएको छु । के पञ्चायत, के प्रजातन्त्र, के गणतन्त्र ? प्रवृत्ति अझै फेरिन सकेन । 
नेताहरूले परिवर्तन भनेको घर धेरै हुनु, बाटो धेरै बन्नुमात्र हो भन्‍ने बुझे । मोटर गाडी गुडेमात्र विकास हुन्छ भन्‍ने सोचे । नेताहरूको लवज अहिले पनि उस्तै छ । 
परिवर्तन त पहिला मान्छे बाँच्ने जीवनशैलीमा देखिनुपर्‍यो । विद्यालय जाँदा गुणस्तरीय शिक्षा पाउनुपर्‍यो, अस्पताल जाँदा बिरामीले उपचारको प्रत्याभूति पाउनुपर्‍यो । युनिभर्सिटीमा विद्यार्थीले कुनै पावर नलगाई भर्ना पाउनुपर्‍यो । डाक्टर गोविद केसीको माग यसै त होइन नि । पैसाले मात्र हुँदैन । कमसेकम नेताज्यू मलाई किन्‍ने सोच नबनाउनू । 

जनताले बगाएको पसिना, रगतको काम नलागेको भने होइन । तर ती बलिदानको कदर गरिएन । यस्तो भद्रगोल गराइएको छ । त्यो बलिदान, त्यो आहुति केवल निश्चित वर्गलाई मात्र काम लागेको छ । जो मान्छे हिजो परिवर्तनका कुरा गर्थे, आज उनीहरू के गर्दैछन् ? जुन हिजो पञ्चायतको मान्छेले गर्‍यो त्यही गर्दैछन् नि । 
मलाई याद छ, म हिजो यही पोखरा रंगशालामा ४२ सालमा मञ्चमा बसेर गाएको थिएँ । राजा वीरेन्द्र आउनुभएको थियो । हामीले स्वागत गीत गायौँ । उहाँहरू सबैले ताली पिटेर कार्यक्रम गर्‍यौँ । यही ठाउँमा पञ्चायत, जनआन्दोलनमा ट्रकका ट्रक मान्छे ल्याइए । अहिले पनि हप्ता दिन अगाडि ट्रकका ट्रक मान्छे लगेर जनसभा गरिएछ । सामान्य विषयमा पनि प्रवृत्ति त उही देखिएकै छ । शासकहरूको सत्ताप्रतिको आसक्ति परिवर्तन हुन सकेन । 

 

मैले सोचेको नेपाल कस्तो छ थाहा छ ? ४६ सालको आन्दोलनपछि जुन लोकतन्त्र आयो । त्यसपछि त सबै बोल्न पाउँछन्, लेख्न पाउँछन्, हिँड्न अधिकार छ, देश अब अगाडि बढ्छ भन्‍ने सपना थियो । जापानको जस्तो, युरोपको जस्तो परिवर्तन हुन्छ भन्‍ने सोचेको थिएँ । किनकि नेपालमा त्यो अवस्थामा पुग्न सबै आधार छन् । नेपाल कति सुन्दर छ, अरुले कल्पनै गर्न सक्दैनन् । त्यति बेलाका म्यागजिन हेर्दा म आफ्नो देशको सम्भावना देख्दा कति रोचक मान्थेँ । तर ती सम्भावनाहरूको प्रयोग गरिएन । लोडसेडिङ १८-१८ घन्टा, लडाइँ भयो, बालबच्चा मारिए । त्यो बेला अब यस्तो हेरेर बस्न मिल्दैन, भोलिको पुस्ताले सराप्छ भनेर लागेको हो हामी । 
हामीले त जुन व्यवहार सानैबाट देख्यौँ, आज पनि त्यही देखिरहेका छौँ नि । हामीलाई कति गीत गाउँदा किन गाइस्, मार्दिन्छु भन्‍ने सम्मका धम्की पनि आए । तर हामी रोकिएनौँ । यसले म आफैँलाई नै आत्मग्लानि हुन्छ । म किन लडाइँ लडेछु, कसका लागि ? केका लागि ? परिवर्तन सोचमा आवश्यक रहेछ । सिस्टममा होइन । अहिले चलिरहेको राजनीतिक ट्रेन्डमा नै मेरो विरोध छ । 

आफू भेडा बनेर शासकलाई सधैँ बाघ बनाएर राख्यौँ, जुन दिन बाघ थुनिन्छ नि, ऊ सकिन्छ । शिक्षा राम्रो हुने हो भने १० वर्षमै देश कायापलट हुन्छ । 

 

०४६ को आन्दोलनले सिस्टम फेर्‍यो, मान्छे फेरेन । २०६२-६३ ले पनि सिस्टम फेर्‍यो । विषय एउटै एउटै थियो, कसरी प्रस्तुत गरियो, त्योमात्र फरक कुरा हो । पोलिटिकल मुभमेन्ट कस्तो हुनुपर्छ भन्दा उथुलपुथुल हुनुपर्ने रहेछ । नेपालमा पनि त्यस्ता मुभमेन्ट नभएका होइनन् । तर ती उथलपुथलले दिएका नतिजा एउटै भए । पहिलाकै अवस्थामा फर्काउने गरी । अहिले जनतालाई भेंडा भनिन्छ र जनता नसच्चिए नेता कसरी सुध्रिन्छ भनिन्छ । हामी भेंडा भएकाले त उहाँहरूलाई हामीलाई मान्छे बनाइदिनुस् भन्दै बिन्ती गरेका हौँ नि । 

गीतमा झुक्किएर आएँ । साथी-भाइहरूसँग ब्याचलर्स पढ्दा रमाइलोमा गाइयो । नेपथ्य सुरु भएपछि गुडि नै रहेको छ । म बच्चैदेखि पेन्टिङ गर्थें, गीत गाउँथेँ । लहैलहैमा गीत गाइयो । पछि स्कुलहरूमा नाटकहरूमा पनि खेलियो । सामाजिक सोच पहिलेबाट नै थियो । पहिला धेरै माया-प्रीतका गीत पनि गाइयो । जनआन्दोलनले मलाई विक्षिप्त पारिदियो । अनि मैले सामाजिक चेतका, रामेश, मञ्जुलले गाएका जस्ता गीत गाउन थालें । 

जनयुद्ध एउटा बाढी बनेर आइदियो । बिस्तारै मिलेर जानुपर्ने बेलामा आँधी आइदियो । त्यो आँधीले सबै तहसनहस गरिदियो । बनाइएका संरचनाहरू भत्काइदियो, अनि फेरि बनाउनुपर्छ भन्यो । बनिरहेका चिजलाई निरन्तरता दिइएन । २०६२-६३ पछिको घटनाले झनै त्यसलाई मास्ने खेल खेलियो । अहिले नेपाल फगत एउटा नाटकमा रमाइरहेछ । कसैले रचिदिएको, पूर्वनिर्धारित प्लटमा निर्दोष नेपालीहरूलाई मूर्ख बनाइएको छ । नेपालीलाई ठाडो भाषामा भन्दा उल्लु बनाइयो । 
तपार्इं राम्रो गर्दै जानुहुन्छ । जति तपाईं आदर्शवादी हुनुहुन्छ नि, त्यति तपाईंले दुःख पाउनुहुँदो रहेछ । सर्जक, नागरिकका रूपमा मलाई अहिले देशको अवस्थाले निकै पिरोल्छ । म हरेक दिन दुःखिरहेको छु, छटपट्याइरहेको छु । म भन्न सक्दिनँ मेरा कुराहरू, व्यक्त गर्न सक्दिनँ ती भावहरू । गर्ने भनेको गीतसंगीतबाट नै हो । 

                                                                                 तस्बिर :  सुदर्शन रञ्‍जित, पत्रकार  

पब्लिक कार्यक्रमहरूमा म अचेल देखिन मन लाग्दैन । धेरै देखिएर के गर्नु ? कुनै पनि चिज धेरै हुनु राम्रो होइन । अहिलेको देशको अवस्था अति हो । कलमहरू हिजो पनि जागे, आज पनि जागे । फरक यति हो कि कसको कलम जनताका लागि चल्यो र कसको कलम बिक्यो । कलम चलाउने त चलाइरहेकै छन् नि । 
नेपाली गीत-संगीत अहिले राम्रो बाटोमा छ । म सकारात्मक दिशामा देख्छु नेपाली संगीतलाई । नक्कल नगर्नेहरू बिस्तारै अगाडि बढ्दै छन् । अहिलेको पोलिटिकल सिनारियो देश बुझ्न चाहनेलाई स्कुल हो । हामी हरेक पिँढीले अर्को पिँढीले गर्छ भन्छौँ, जुन हामी गर्न सक्दैनौँ, त्यो अर्कोले गर्छ भन्छौँ । म पनि त्यस्तै सपना, त्यस्तै आशा अहिलेको पिँढीमा छ । म मर्ने बेलासम्म गाउँछु, अझै गर्न सक्छु भन्‍ने पनि छ । तर कति, कहाँ भन्‍ने मात्र कुरा हो । 

अबका नेताहरूले इमानसाथ आफ्नो जिम्मेवारी के हो, त्यो हेरेर काम गर्दिनुपर्छ । आफू वरिपरिका मान्छेका लागि मात्र काम नगर्नुस्, कुलमान जस्तो बन्नुुस्, महावीर जस्तो बन्नुस् । म धेरै राजनीति बुझ्दिनँ । बाँचुन्जेल इमानले बाँच्ने हो । खाने सबैले एउटै हो । सकारात्मक कुरा लेख्ने हो । सकारात्मकताले नै मान्छेलाई खुसी बनाउने हो ।   

परिवर्तनका लागि म गाइरहन्छु, पहिला मलाई गीतमार्फत एक्टिभिजम गरिस् भनेर थ्रेटहरू आए । एजेन्डामा म कहिल्यै काम गरिनँ, स्वतःस्फूर्त लागेको हुँ । अमृत गुरुङको आवाज शासकले सुने सुनेनन्, मलाई थाहा छैन । तर काम गरेर हिँड्ने बेलामा मेरा आवाज सुनेका ती नागरिकहरूले मलाई आफ्ना अनुभव सुनाउँछन् । मलाई त्यो बेला खुसी लाग्छ । शासकले भन्दा ती अबोध नागरिकले सुनून् भन्‍ने लाग्छ । 
(अनिष भट्टराईसँगको कुराकानीमा आधारित) 

३०-३० शृंखलाका यसअघिका सामग्री :

जलविद्युतको कथा-व्यथा : पञ्‍चायतदेखि खड्ग ओलीको पञ्‍चेश्‍वरबाट वार्षिक एक खर्ब २० अर्बको नालीबेली

कम्युनिस्ट पार्टी त कमरेडहरूको कम्युनिटीका आधारमा चल्नुपर्ने हो, ओली एक्लैले सिध्याइदिए

प्रदीप गिरिलाई कुलपति बनाउँदा के बिग्रिन्‍छ ?

माइकल हटले ‘मुनामदन’ अनुवाद गर्नुमा के भूराजनीतिक चासो छ ?​

भ्रष्टाचारको तीव्र यात्रा : केन्द्रीकरणबाट विकेन्द्रीकरणतिर

फिल्म : सफ्ट-पावर कि व्यापार ?

कुन देश समृध्द छ, जहाँको शिक्षा नेपालको जस्तो होस्

यस्तोमा न्याय क्षेत्र कसरी शुध्द र सक्षम बन्‍न सम्भव छ र ?

-  पञ्चायतपछिको ३० वर्ष : न विस्मात्, न हर्ष

महिलाको नछाप्‍ने तर हामीलाई गाली गरेको चाहिँ जति पनि छाप्ने​

पञ्‍चायतमा अहिले भन्दा कम भ्रष्टाचार हुन्थ्यो भन्छन्, तर म मान्दिनँ

बीपी मोडल डेमोक्रेसी, एमाले घनसलाम र प्रजातन्त्र जेम्स बन्ड

हिजो शाही शासनको भुंग्रोमा परेँ, आज राज्यका अंगहरू `व्यवसायी´को कब्जामा देख्छु

तीनवटा पञ्चायतको पतनपछि पाँचवटा पैसातन्त्र

म ‘आमा’भन्दा दुई वर्ष मात्र कान्छो छु

खै संस्कृति ? विकृतिको बाढीमा बगिगयो ! 

राजनीतिमा रस पसेको मानिस किन पत्रकार हुनुपर्‍यो ?

नाटक चलेको ‘अभिनय’ गरिरहेछौँ

शिक्षा : उपेक्षा, उपेक्षा र उपेक्षा

छुटदेखि छुटसम्म

ओली, दाहाल, देउवा, बाबुरामहरू शिक्षा सुधार्न कहिल्यै मिटिङ बसेको थाहा छ यहाँलाई ?

कूटनीति : पञ्‍चायतमा बलियो, प्रजातन्त्रमा खै के, खै के !

हरेक भ्रष्टाचार काण्ड कि त बालुवाटार छिर्छ, कि त सिंहदरबार

औषधी पसल बराबरको पूर्वाधार छैन, मेडिकल कलेज !

गणतन्त्र नागरिकको, संविधानसभा माओवादीको र संघीयता मधेस आन्दोलनको फल

साहित्य, शोध र धारा 


Author

अनिष भट्टराई

भट्टराई इकागजका संवाददाता हुन् ।


थप समाचार
x