विचार

संस्मरण र अनुभूति : २०

‘जिनियस’ हुन् वेदप्रसाद

वसन्त लोहनी |
असार ४, २०७९ ७:३५ बजे

श्री ३ हुन पाएका सबै दस राणाहरू अपार धनी भए । र, तिनका परिवार पनि । राज्य नै उनीहरूको व्यक्तिगत सम्पत्ति सरह बनेको थियो । राज्य चलाएर बचेको पैसा सब श्री ३ को निजी हुन्थ्यो । कसैलाई देखाउनु पर्दैन थियो । न खोजखबर गर्ने कसैको अधिकार नै थियो । मुलुकीखाना नै आफ्नो भएपछि अपार धनी त हुने नै भए । राणा प्रधानमन्त्रीमा सबभन्दा सोख गर्न रुचाउने भनिने देव शमशेरलाई केवल तीन महिनामा नै चन्द्र शमशेरले धनकुटा धपाए । 

नेपालको इतिहासमा तेस्रो सबभन्दा लामो समय प्रधानमन्त्री बनेका चन्द्र शमशेर सबभन्दा धनी प्रधानमन्त्री हुन् । यस्तो अपारभन्दा पनि अपार धनी हुन सकेको कारण लामो समय मुलुकी खानाको हालीमुहाली मात्र नभएर पहिलो विश्वयुद्धमा लडेका नेपाली तन्नेरीको ज्यानबापत राज्यलाई आएको ४ करोड १० लाख पाउन्ड धनराशि उनले आफैँले खाएकाले हो । यो रकम १० वर्ष अगाडिको मूल्यमा साढे चार खर्ब हुन्छ । आठ छोराहरूको नाममा राखिदिए बेलायतमा । 


त्यसपछि लामो समय राज्य गर्ने धीर शमशेरको जेठो छोरा वीर शमशेर हुन् । १५ वर्षभन्दा बढी राज गरेर थुप्रो पैसा कमाए । थुप्रै दरबारहरू बनाए, पारिवारिक रूपबाट हस्तान्तरित ज्ञानबाट नेपाल मै तयार भएका वास्तुकलाविद् रणशूर विष्ट र जोगवीर स्थापितलाई लगाएर । र, त्यति बेलाको प्रविधि भनेको फलामको सत्तरी, गुम्बज र बज्रको प्रयोग हो । जोडाइ गर्ने बज्र बनाइन्थ्यो मास, चाकु, चुन र पिना कुटी मिसाएर ।

तर वीर शमशेरको परिवारको आर्थिक स्थिति बिस्तारै क्षय हुँदै गयो । यिनको जेठो छोरा गेहेन्द्र शमशेर रहस्यमय ढङ्गबाट मरे । काइँलो छोरा श्री ३ हुन मुख्तियार भएका रुद्र शमशेरलाई जुद्ध शमशेरले डाँडा कटाए । त्यसैले यिनको आठौँ छोरा आनन्द शमशेर तुलनात्मक अलि कमजोर नै बने आर्थिक रूपमा राणाकालमा मेजर जनरल र न्यायाधीश बनेको भए पनि । रणोद्दीपको हत्या गरेर श्री ३ बनेका वीर शमशेरले रणोद्दीपकै सुसारेलाई पनि ल्याएका थिए । यी सुसारेबाट जन्मिएका थिए आनन्द शमशेर । उनको छोरो सहदेव शमशेर राजा महेन्द्रको भाइ बुहारी हेलेन शाहको निजी सहयोगी थिए । अन्नपूर्ण होटेलको प्रमुख भएर त्यो होटेल कुनै वेला हाँकेका पनि थिए ।

आनन्द शमशेरले अन्ततः बेचे ‘आनन्द निकेतन’ र त्यसको परिसर त्रिभुवन विश्वविद्यालयलाई जहाँ अहिले इन्स्टिच्युट अफ इन्जिनियरिङको डिन अफिस छ । र, डीनको अफिसको दक्षिणपट्टिको परिसरमा आर्किटेक्चर डिपार्टमेन्टको भवन बनेको रहेछ । वेदप्रसादको अनायास खोजीले गर्दा हामीलाई त्यहाँ डोर्याएको थियो । अर्थात्, त्यो खोजीको प्रतिफल हामी त्यहाँ पुग्ने संयोग बनेको थियो अघिल्लो शुक्रवार जुन १०, २०२२ मा । करिब तीन घण्टा चलेको उक्त कार्यक्रमपछि एउटा नशाको अनुभूति भयो– स्वाभिमान र खुसी सम्मिलनको । त्यो साँचेर त्यहाँबाट हामी फर्कियौं त्यो दिन । 

कसरी पुग्यौँ हामी त्यहाँ ? एउटा चाँदीको घेराले डोर्याएर । जुनसुकै बादलमा पनि चाँदीको घेरा हुन्छ भन्ने मैले पढेको थिएँ करिब ६० वर्ष अगाडि स्कुलमा । अकस्मात् यसको सम्झना आयो जब त्यस्तो घेरा देखियो । यस्तो देख्न सुरु भयो एक अपरिचित व्यक्तिको एउटा अचम्मको फोनबाट । उनी एक आर्किटेक्ट थिए– वेदप्रसाद लोहनीलाई खोजिरहेका । अर्थात्, ८० वर्ष अगाडिको त्यो ‘डिप्लोमा होल्डर’लाई खोजिरहेका । उनले भेट्न चाहे मसँग यस खोजीले गर्दा । मलाई अचम्म लाग्यो एक अर्थमा । शासकहरूले मूल्याङ्कन गरेनन् त्यो सहजै बुझ्न सकिने कुरा हो किनकि यो मुलुक भीमसेन थापा र भीम मल्लको पनि हो ।

वेदप्रसाद लोहनीले आफ्नै हस्ताक्षरमा लेखेको निवेदन ।

हिजो वेदप्रसादका करिब १० जना समकालीन इन्जिनियरहरू जसले आफूले आँट्न पनि सकेनन् त्यो काम, तर त्यो काम वेदप्रसादले गरेर देखाउँदा मूल्याङ्कन पनि गर्ने छाती पनि देखाउन सकेनन् । वेदप्रसादलाई चिनेका र उनको काम प्रत्यक्ष देखेका थिए तिनीहरूले । त्यो बेलाको समय, त्यो परिवेशमा कति गाहारो र कति आँटिलो काम गरेका थिए वेदप्रसादले त्यो पनि राम्ररी बुझेका थिए तिनीहरूले । पियर्स अर्थात् समकालीन इन्जिनियरहरूले पहिचान नगरेको ‘डिप्लोमा होल्डर’को ८० वर्षपछिका इन्जिनियरले खोजी गरेकामा म अचम्भित नै भएँ ।

सायद हिजो इन्जिनियर हुनुको अर्थ आफैँमा एउटा विशिष्टता थियो । त्यसैमा सीमित थियो, व्यावसायिक उत्कृष्टतामा होइन । सायद त्यसैले ‘डिप्लोमा होल्डर’को कामको पहिचान गर्न असजिलो पनि परेको थियो होला । आज भने व्यावसायिक कामको मूल्याङ्कन उसको काम मात्र हो । नामको अगाडि पछाडिको को प्रशस्ति र थपडीको आवाज होइन भन्ने सोच आएको देखिन्छ । अनायास मनमा प्रश्न उठ्यो । के सङ्कीर्णता हटेको हो ? अर्थात् ८० वर्ष अगाडिको समयको जे थियो र परसम्म आएको निरन्तरता– डर, अभाव, चुक्ली, चाकडी, एकले अर्कोको खुट्टा तान्ने, डाह, निःसृत व्यावसायिक सङ्कीर्णता ।

हामीले तय गरेको दिन र समयमा भेट्न आए उनी । उनको नाम हो प्राध्यापक भरत शर्मा । उनीसँग केही महिना अगाडि मेसेन्जरमा सम्पर्क गरेको थिएँ किनकि मेले लखनउ पोलिटेक्निकको थप जानकारी लिन चाहेँ । तर उनलाई चिनेकाले होइन । उनले पनि त्यही पढेका थिए, वेदप्रसाद भन्दा २१ वर्षपछि सो थाहा पाएर । तर साक्षात्कार कहिले भएको थिएन, न कुराकानी नै । भेट्न आउँदा अर्को एक आर्किटेक्टलाई पनि लिएर आएका थिए । उनको नाम हो विवेक शाह । उनले अमेरिकाको प्रसिद्ध शिक्षण संस्था म्यासाच्युसेट इन्स्टिच्युट अफ टेक्नोलोजीबाट उच्च शिक्षा हासिल गरेका रहेछन् । उनको टिमले दिल्लीमा सार्क विश्वविद्यालयको डिजाइनको खुला आह्वान जितेको र सो अनुरूपको भवनहरू त्यहाँ बन्दै गरेको रहेछ । यी दुई विज्ञहरूले सरस्वती सदनको नक्सा मागे ।

मलाई ज्ञान थिएन त्यो नक्सा मसँग छ कि छैन भन्नेबारे । किनकि लथालिङ्ग भएको थियो, कति गुमेका पनि थिए मेरो गल्ती नहुँदा पनि जसको लागि मैले कहिले आफूलाई क्षमा गर्न सकेको छैन । भयो यस्तो क्रम जुन कल्पना बाहिरको थियो । २०५७ भदौ महिनाको २१ गते भयो यसको सुरुवात । सूर्य अस्ताउँदै गर्दाको समय । वेदप्रसादले मलाइ बोलाएर भने – यो घर भाडामा दिनुपर्यो । त्यति वेला उनले ८५ वर्ष काटिसकेका थिए । म जिल्ल परेर हेरिरहेँ त्यो अनुहार जसले पूरै पाकेको कपाल र उमेरलाई पूरै चुनौती दिइरहेको थियो । उनी अझै घर बनाइरहेका थिए र सुपर्भिजन अर्थात् काम हेर्न नियमित रूपमा निर्माण स्थलमा जान्थे । जुन काम पनि गर्न सक्ने दृढता र तेज थियो त्यो अनुहारमा । म जिल्ल परेको देखेर उनले प्रस्ट पारे– तैँले यो घरमा बस्न हुँदैन । म झन् टोलाएँ ।

उनी भन्दै गए– हेर बाबु, म कडा ठान्थेँ आफूलाई । तर तँ झन् कडा निस्किस् । तँ कसैसँग झुक्नै नसक्ने । बुटवलमा खोलिदिएको त्यत्रो उद्योग छोडेर आइस् । आफ्नै टर्ममा मात्र हिँड्ने मान्छे परिस् तँ । अनि धेरै नै सरल खालको । तर तैँले धान्न सक्तैनन् आर्थिक रूपले यसलाई । यो घरले कमाउन सक्छ र त्यस कमाइबाट एउटा सानो घर भाडामा लिए हुन्छ । अनि मात्र सुनिश्चित हुन्छ तेरो अर्थतन्त्र । आम्दानी दिने सम्पत्तिमा आफैँ बसेर खान हुँदैन जब खर्चबर्च मिलाउनु पर्ने हुन्छ । आफू सानैदेखि बसेको घर आय आर्जन गर्ने भनेर छोडेर जाने कुरामा म बिलकुल सहमत थिइनँ । त्यसैले भने– कहाँ हजुरको यो उमेरमा आफ्नो घर छोडेर अन्त भाडाको घरमा जाने ।

उनले मेरो कुरो झर्न नपाई भनिहाले– तँ पो सचिवको छोरा । म त सिपाहीको छोरा (उनको पिता रुद्रप्रसाद लोहनी पल्टनको कप्तान र पुर्खा पृथ्वीनारायण शाहको सेनाबाट नेपालको एकिकरणमा लडेका सुनवा लोहनी) । जस्तोमा पनि म आफूलाई ढाल्न सक्छु । मेरो चिन्ता नगर । यति भनेर उनले कागजको नक्कल खल्तीबाट झिकेर देखाउँदै भने– काठमाडौँ महानगरपालिकाले घरको माग गरेको रहेछ एक्युपङ्चर अस्पताल खोल्नका लागि । मैले त कान्तिपुरमा छापिएको त्यो विज्ञापनअनुसार निवेदन दिइसकेँ । म जिल्ल परेर उनले आफ्नै हातले लेखेर दिएको निवेदन ट्वाल्ल हेरिरहे । केही दिनपछि मेयर टोली लिएर हेर्न आए हाम्रो घरमा ।

नक्साल भगवतीवालको मूल सडकमा जोडिएको फराकिलो कम्पाउन्डभित्रको अगाडि पछाडि घर हेरेपछि मेयरले त्यही नै भने– यो नगरपालिकाले लियो । जतिसक्दो चाँडो खाली गरिदिनु होस् । केशव स्थापित थिए मेयर जसले यसपालिको चुनावमा वालेनसँग तेस्रो भएर हारेका । 

म सानो छँदा उनले कहिलेकाहीँ एक्लै बसेर गाउने गीत या भजन के हो त्यो सम्झे – 
‘बाग बनाया महल बनाया 
लोग कहे घर मेरा
ना घर तेरा ना घर मेरा,
चीड़ी आ रेन बसेरा’

यसरी सम्झिँदै गर्दा आफ्नो घर छोड्ने नै भयौ । घर भाडामा दिएर हामी धोबीखोलामा पूर्व मन्त्री नारायण दत्त भट्टको घरमा सर्यौ । त्यहाँ चित्त बुझेन र एक वर्षको करार अवधि पूरा हुनेबित्तिकै हामी हाँडी गाउँमा इन्जिनियर विश्वमणि ज्ञवालीको घरमा सर्यौ । त्यसको करिब डेढ वर्षपछि उनको निधन भयो– २०५९ चैत २५ गते मङ्गलबारको दिन राति करिब ११ बजे । यसको एक वर्षपछि त्यति बेला टाढा मानिने सानो भर्याङमा प्याराडाइज हाउजिङले भर्खर बनाउँदै गरेको एउटा घर किनेर म र मेरी श्रीमती गयाँै । टाढा भयो भनेर आफन्तको करले गर्दा दस वर्षपछि त्यहाँबाट पनि छोडेर पानी पोखरीको अपार्टमेन्टमा आइपुग्यौँ हामी दुई ।

यस क्रममा कति सरसामान र कागत पत्रहरू यत्रतत्र भए । वेदप्रसाद नक्सालको घरको पुरानो ग्यारेजमा दुई कोठा थपेर केही समय त्यही पनि बसेका थिए– शान्ति र स्वध्यानका लागि । र, उनको केही सामानहरू त्यही थिए । सँगै जोडिएको आफन्तले वाल हटाइदिँदा भित्र रहेको सामानहरू चोरी भएछ । म र मेरी श्रीमती सानो भर्याङ बस्थ्यौँ त्यतिखेर ।

अहिले बहालमा लिनेले हामीलाई अत्तोपत्तो नदिएर त्यो घर नै भत्काइदिएछ । त्यतिले नपुगेर मूल घरको सबभन्दा माथिको हाम्रो स्टोर खाली गरेछ उसको गार्डलाई कोठा दिन– सामानहरू यत्रतत्र अलपत्र पारेर । रिसायौ तर रिसाएर के गर्ने ? अपूरणीय नोक्सान त भई नै सक्यो । अपार्टमेन्टको सानो ठाउँमा कति नै सामान राख्न मिल्ने र ? तर एउटा नक्सा होल्डर भने मैले जहाँ गए पनि हिफाजत गरेर लिएर हिँडेको थिए ।

निधन हुने ६ महिना अगाडि पूजा कोठाबाट निस्केर कौसीमा जाँदै वेद प्रसाद लोहनी ।

प्राध्यापक भरत शर्मा र आर्किटेक्ट विवेक शाहले सरस्वती सदनको नक्सा मागेपछि मैले त्यो नक्सा होल्डर खोलेर केही नक्साहरू दिए । धमिलो भएको सरस्वती सदनको रहेछ । अनि रञ्जना सिनेमा हलको । जुहारीले जुहारत चिन्छ भने जस्तै त्यो देखेपछि उहाँहरू दुवै विभोर हुनु भयो । उनीहरूको अनुहारमा व्यावसायिक खुसी देखे मैले । त्यो जिम्मा लगाउन पाउँदा मलाई पनि खुसी लाग्यो । पारखीको हातमा परेको छ भन्ने लाग्यो । ती नक्साहरू फिर्ता पाए केही दिन पछि । डिजिटलाइज्ड गरिएको पेन ड्राइभ सहित । मलाई बताइएअनुसार यी नक्साहरू म्युजियममा राखिनेछ ।

मूलतः यी नक्साहरूलाई लिएर एउटा कार्यक्रमको आयोजना भयो संयुक्त तत्त्वावधानमा— इन्स्टिच्युट अफ इन्जिनियरिङ र काठमाडौँ इन्स्टिच्युट इनिसियटिभको । उद्देश्य रह्यो सिमेन्ट ढलानको मार्गदर्शक वेदप्रसाद लोहनीले ८० वर्ष अगाडि गरेको कामको मूल्याङ्कन गर्न । यस प्रयोजनको लागि मूलतः सरस्वती सदन र डिल्ली बजारको गुरुज्यूको घरको डिजाइनहरूमा इन्टर एक्टिभ अर्थात् संवादमूलक छलफल गर्ने । सभा कक्ष भरिभराउ थियो– शिक्षक, विद्यार्थी र आमन्त्रितहरूबाट ।

बोल्ने विद्वान्हरू थिए आर्किटेक्चरको प्राध्यापक डा. सुदर्शनराज तिवारी, इन्स्टिच्युट अफ इन्जिनियरिङको पूर्व डीन । त्यस्तै स्ट्रक्चरल इन्जिनियरिङका प्राध्यापक डा. प्रेमराज मास्के, आर्किटेक्चरको प्राध्यापक डा. भरत शर्मा र आर्किटेक्ट विवेक शाह । मलाई पनि बोल्नका लागि भनिएको थियो फोनबाट एक हप्ता अगाडि नै । र, दिइएको थियो दुइटा पक्षहरू बोल्नका लागि । पहिलो थियो– वेदप्रसाद लोहनी स्वर्ण पदक । दोस्रो– पिताबारे छोराको वैयक्तिक धारणा । 

स्वागत मन्तव्यबाट सुरु भयो कार्यक्रम, सेन्टर फर एप्लाइड रिसर्च एन्ड डेभलमेन्टको डाइरेक्टर प्राध्यापक डा. सङ्गीता सिंहको । राम्रो उपस्थिति भएकामा खुसी प्रकट गर्दै सबैलाई स्वागत गर्दै उनले भनिन्– एकदम नै पायोनियर मन्छे वेदप्रसाद लोहनी । उहाँको १९४४ को डिजाइनमा हुने छलफल निकै रमाइलो र इन्टर एक्टिभ (संवादमूलक) हुने कुरामा आशा व्यक्त गरिन्।

स्वागत मन्तव्यलगत्तै बोलेका प्राध्यापक डा. सुदर्शनराज तिवारीले वेदप्रसाद लोहनी आफ्नो पारिवारिक सम्बन्ध भएको मानिस भए तापनि सन् १९६८ मा आर्किटेक्चर पढ्न जाने सल्लाह लिन भने आफूलाई कुलरत्न तुलाधरकहाँ लगिएको स्मरण गर्दै भने– वेदप्रसादजीको पहिचान आफ्नो घरबाट समेत भएको थिएन । तर एक वर्षपछि छुट्टीमा घर आउँदा उनले नै अहिले आफू बसेको घर निर्माण गरिरहेको बेला पहिलो पटक भेट भएको कुरा सुनाए । त्यो डिजाइन बडो राम्रोसँग गरिएको थियो । निर्माणको डिजाइन र निर्माणको गुणस्तरमा तलमाथि कुनै हालतमा हुन नदिने कडा स्वभावको भएको हुँदा आफ्नो आमा समेत वहाँ आएपछि अगाडि पर्न डराउने कथा सुनाउँदै कामप्रतिको त्यो अठोट देखेर आफू प्रभावित भएको स्मरण गरे ।

वेदप्रसाद लोहनीसँग व्यावसायिक सम्बन्ध भने आफू इन्जिनियरिङ अध्ययन संस्थानमा आएपछि मात्र भएको बताए । त्यो पनि नेपालको इन्जिनियरिङको इतिहास पढाउँदा उनको कामबारे थाहा पाएको कुरा अर्थ्याए । वेदप्रसाद लोहनी, रामप्रसाद भट्टराई र लेखनाथ रेग्मीले इन्जिनियरिङ इन्स्टिच्युटको सुरुको दिनमा त्यहाँ पढाएका थिए । भट्टराई र रेग्मी दुवै वेदप्रसाद लोहनीको विद्यार्थी रहेको पनि डा. तिवारीले बताए ।

वेदप्रसादको कामको अनुसन्धनात्मक अध्ययन गरिएको थियो । यो काम आर्किटेक्टहरूको एउटा समूहले गरेको थियो जब नेपालको आर्किटेक्चरको टाइम लाइन बनाउन त्यो समूह जुटेको थियो । त्यो समूहमा आफू पनि रहेको जानकारी दिँदै भने – सरस्वती सदन र डिल्ली बजारको गुरुज्यूको घर त्यसमा समावेश छन् । नेपालको आधुनिक आर्किटेक्चर ‘सरस्वती सदन’को निर्माणबाट सुरु भएको हो । उनको आर्किटेक्चरको विश्लेषण गर्दा सरस्वती सदनभन्दा गुरुज्यूको घर र त्यो भन्दा अझ रञ्जना सिनेमा हलमा आइपुग्दा दरिलो भएको उनको ठहर छ । सार्वजनिक भवन, निजी बङ्गला र सार्वजनिक सिनेमा हलसम्म जसरी आएको देखिन्छ त्यो नै पनि आधुनिकीकरण हो । यो क्षेत्रसँग वेदप्रसादको संलग्नताबारे चर्चा गर्दै मार्टिन बर्नस् कम्पनी लिमिटेडको नेपालका लागि डिस्ट्रिब्युटर भएको कुरा र सिमेन्ट फ्याक्ट्री खोल्न जुटेकोबारे पनि केही प्रकाश पारे ।

सरस्वती सदनको स्लाइड देखाएर छलफल अगाडि बढाउँदै उनले भने– जसरी गोलो आकारको प्रयोग छ त्यो नै आधुनिकीकरण हो । र, त्यसमा पनि चारपाटे, गोल र स्ट्रेट लाइनको राम्रोसँग संयोजन गरिएको छ । कहीँ झ्याल दुई तलासम्म छ भने हलको सिलिङ पनि दुई तलासम्म गएको छ । ठुलो कोठामा अग्लो हाइट चाहिन्छ भन्ने पनि आइसकेको रहेछ । कर्नरको झ्याल राख्ने काम अलि गाहारो हुन्छ । त्यो पनि गरिएको छ । घुमाउने भरेङ झन्डै राणाको दरबारको जस्तो छ । छज्जा निकाल्ने साधारण कुरो छ, अहिले तर त्यति वेला थिएन र त्यसलाई डेकोरेटिभ पारिएको छ । त्यसै गरी उनले गुरुज्यूको घरको पनि वर्णन गरे । अनि रञ्जना सिनेमा हलको पनि । समग्रमा, उनको धारणा रह्यो कि वेदप्रसाद लोहनी आँटिलो डिजाइन गर्न सक्ने र स्वार्जित ज्ञान प्रयोग गर्न रुचाउने र गर्न सक्ने मानिस हुन् । 

त्यसपछि मलाई डाकियो । र, दिइए बमोजिमको दुइटा पक्षमा मैले बोलेँ । पहिलो, वेदप्रसाद लोहनी स्वर्ण पदक कसरी स्थापना भयो र त्यसको हालको अवस्थाबारे । यसका लागि उनको निधन हुने ६ महिना अगाडि पुग्नु पर्दछ २०५९ सालको दसैँपछिको समयमा । उनको नाति डा. पुष्करराज पाण्डे, जो अमेरिकाबाट भेटघाटका लागि काठमाडौँ आएका थिए, उनी रेडियोलजिस्टको कोठामा बसेर एमआरआइ स्क्यान मनिटरमा हेरिरहेका थिए भित्र वेदप्रसादको स्क्यान भइरहँदा । सकिनेबित्तिकै बाहिर आएर भिजेको आँखा पुछ्दै मलाई भने– बुबालाई फोक्सोको क्यान्सर भएको छ । आफू उभिएको धरातल नै भासिएको जस्तो अवस्था भयो मेरो । म त कता पुगेँ कता ? वेदप्रसाद त्यो दिन पनि आफूले डिजाइन गरेर ज्ञानेश्वरमा बनाइरहेको घरको नियमित काम जाँच गरेर फर्केका थिए । घर पुगेर बिस्तारै यसको केही कुरा उनलाई डाक्टर नातिले सुनाउँदा डाक्टरले भन्ने बाँकी कुरा उनले नै बताइहाले । त्यसपछि उनी थला परे । 

डाक्टर, नर्स र अक्सिजन र अरू उपचारको व्यवस्था मिलाउन जुटेको म भित्रभित्रै पग्लिरहेको थिएँ– अर्को गहिरो दुःख लिएर । जसले बनाएको जगमा नेपालको आजको सिभिल इन्जिनियरिङ आइपुगेको छ त्यो व्यक्तिको यो समाजले पहिचान गरेन । अबको केही महिनापछि त उनको मृत्यु हुँदै थियो । मर्नु अगाडि उनलाई खुसीको कुनै कुरा दिन सकिन्छ कि भन्ने सोचले मलाई इन्स्टिच्युट अफ इन्जिनियरिङ पुर्यायो । डीनलाई भेटे । उनी रहेछन् प्राध्यापक डा. जीवराज पोखरेल । मैले पहिलो पटक देखेको अनुहार । उनीलाई सबै कुरा बताए । विपतमा पनि कहिले काहीँ अचम्मको संयोग बन्न सक्दो रहेछ । र, यही नै बन्न गएको रहेछ त्यति वेला जुन मैले पछि मात्र थाहा पाएँ । 

उनले वेदप्रसादलाई राम्ररी चिनेका रहेछन् र वेदप्रसादबारे सबै कुरो जानेका पनि रहेछन् । पछि पदक समारोहमा बताए त्यो पीडा र मनस्थिति जब उनको पिता पनि क्यान्सरसँगको अन्तिम युद्ध लड्दै थिए । र, यो पनि कि सानोमा स्कुल पढ्दै गर्दाको अवस्थामा बत्तिस पुतलीको डाँडोमा वेदप्रसादको छेउको घरमा बस्दा वेदप्रसादलाई देखाएर आफ्नो पिताले भनेको कुरा– हेर, राम्ररी पढिस् भने ऊ त्यो मान्छे जस्तो ठूलो इन्जिनियर हुन सक्छस् । यसरी वेदप्रसाद सानोमा उनको प्रेरणा बनेका रहेछन् आफ्नो पिताले देखाइदिएको ।

मैले कुरा सक्नेबित्तिकै ‘विपत्–संयोग’ले अझ होला उनले भने– यो गर्नुपर्ने काम हो बाँकी रहेको । नेपालमा सिमेन्ट ढलान निर्माण प्रविधि शुभारम्भ गर्ने पहिलो नेपालीलाई सम्मान र उनको सम्झना चिरस्थायी गर्नु पर्दछ । हामी अगाडि बढाउँछौँ । र, उनले अगाडि बढाए । वेदप्रसाद लोहनी पदक समिति गठन गरे ।

सभा कक्षमा टाँगिएको पोष्टर ।

वेदप्रसाद लोहनी पदक नियमावली २०५९ बनाए । पदक स्थापनाका लागि त्रिभुवन विश्वविद्यालयमा पठाए । त्यहाँबाट स्वीकृति आएपछि २०५९ साल माघ ३ गते शुक्रवारको दिन एम.एस्सी. स्ट्रक्चरल इन्जिनियरिङमा सर्वोच्च अङ्क प्राप्त गर्ने विद्यार्थी सञ्जीव अधिकारीलाई प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले वितरण गरेका थिए । यो खबर वेदप्रसादलाई सुनाउँदा उनी खालि हेरि मात्र राखे मलाई । केही बोलेनन् । यसको तीन महिना नपुग्दै उनी बिते । 

एउटा गल्ती हामीबाट भयो यस पदक वितरण बारे । वितरण गर्ने व्यक्ति प्रधानमन्त्री हुनेछ भनेर लेख्यौँ । जसले गर्दा प्रधानमन्त्रीको समय र इन्स्टिच्युटको समयको तालमेल मिलाउनै गाहारो भयो । दोस्रो वर्षमा सूर्यबहादुर प्रधानमन्त्री थिए, उनले वितरण गरे फरक दिनमा । तेस्रो वर्षमा मन्त्रिपरिषद्को उपाध्यक्ष कीर्तिनिधि विष्टले दिए । चौथो वर्ष शेरबहादुर प्रधानमन्त्री थिए । त्यसैले उनले यो स्वर्ण पदक दिए । त्यसपछि यो अवरुद्ध छ । यो पुन सुचारु होस् भनेर मैले त्यो सभामा सविनय अनुरोध गरेँ । मैले यो पनि कता कता सुने अलिपछि– कहाँ ‘पिएचडी होल्डर’को बेलामा ‘डिप्लोमा होल्डर’को !’ यहाँनिर एउटा अर्थशास्त्रको विद्यार्थी भएकाले एउटा जानेको कुरा भनूँ । अन्तर्राष्ट्रिय व्यापारको व्याख्या गरेर जसले अर्थशास्त्रमा नोबेल प्राइज पाएका छन् तिनीहरूले त्यही जगमा टेकेका छन् जुन डिप्लोमा, होइन स्कुल नै पास नगरेको डेभिड रिकार्डोले सुरु गरेका थिए । 

दोस्रो कुरा थियो पिताबारे छोराको वैयक्तिक धारणा । मेरो त्यही नै धारण छ रह्यो जुन सबैको छ । डा. मास्केले भने जस्तै वेदप्रसाद लोहनीको कामको मूल्याङ्कन गर्न आज भन्दा ८० वर्ष अगाडि गएर हेर्नु पर्दछ जुन वेला सिमेन्ट ढलान के हो भन्ने नेपालमा थाहा नै थिएन । त्यो परिवेशमा नेपालमा १० फिटको क्यान्टिलिभर अर्थात् छज्जा निकालेर भवन सरस्वती सदन बनाउन सक्नु निश्चित रूपमा ठुलो आँटको कुरो थियो । थ्योरीको व्याख्या गर्नु र त्यसलाई रूपान्तरण गर्न सक्नु बिचमा धेरै ठुलो फरक हुन्छ ।

‘डिप्लोमा होल्डर’ हुन् वेदप्रसाद र त्यसैमा उनको इज्जत छ किनकि व्यावसायिक उत्कृष्टता उनले यसैबाट गरेर देखाएका हुन् ८० वर्ष अगाडि । यो सम्भव भएको उनको लगन र आँट हो जुन मैले जिन्दगीभर देखे । छोटकरी व्यक्तिगत विवरण हो– उनको जन्म सेप्टेम्बर २, १९१५ भएको हो । सन् १९४० मा लखनउ पोलिटेक्निकको लखनउ इन्जिनियरिङ स्कुलबाट उनले सिभिल इन्जिनियरिङमा डिप्लोमा गरेका थिए । सन् १९४२ को जुद्ध शमशेरको पालामा कुलरत्न तुलाधर र उनी मिलेर १९३१ मा भीम शमशेरको खड्ग निसाना बमोजिम खोल्ने आदेश भएको नेपाल इन्जिनियरिङ स्कुल खोलेका थिए । यो नै अन्ततः इनस्टिच्युट अफ इन्जिनियरिङ बनेको हो जहाँ उभिएर अहिले म बोलिरहेको छु । शिक्षक हुँदा वेदप्रसाद ज्यामितिको किताप लेख्ने पहिलो नेपाली बने ।

पहिलो नेपाली बनेर नेपालमा सिमेन्ट ढलान प्रविधि सुरु गरे । त्यस्तै काम गरे पहिलो पल्ट खाने पानी फिल्टरेसनको । जङ्ग बहादुरको पछिल्लो चरणदेखि नेपालको सिभिल इन्जिनियरिङको इतिहासमा हेर्दा नेपाल मै तयार भएका वास्तुकलाविद् रणशूर विष्टबाट, जोगवीर स्थापित देखिन्छन् । त्यसपछि भारतको रुड्की मा पढेका नर्सिङ बन्धु – दाजु भाइ कुमार नर्सिङ राणा र किशोर नर्सिङ राणा । त्यसपछि हो रुड्कीमा मै इन्जिनियरिङ पढेका डिल्ली जङ्ग थापा । यसपछि नेपालमा आधुनिक भवन निर्माणको युग सुरु हुन्छ । त्यो युग सुरु गर्ने वेदप्रसाद लोहनी हुन । उनीपछि यसलाई निरन्तरता दिने काम वेदप्रसादले पढाएर तयार पारेका लेख नाथ रेग्मीले केही समय गरेका हुन् ।

बोल्ने क्रममा प्राध्यापक डा. प्रेम राज मास्केले आफूले ४७ वर्ष पढाएको इन्जिनियरिङ अध्ययन संस्थान कुल रत्न तुलाधर र वेदप्रसाद लोहनीले स्थापना गरेको नेपाल इन्जिनियरिङ स्कुलबाट बनेको ऐतिहासिक समय शृङ्खला प्रस्तुत गरे । यस अर्थमा आफू पनि जोडिएको बताए । सरस्वती सदन बारे बोल्दै भने – नेपालको पहिलो कन्कृट बिल्डिङ हो । नेपालको इतिहास हो यो चाहिँ । त्यसको क्यान्टिलिभर अर्थात् १० फिटको छज्जाबारे बोल्दै भने यो ८० वर्ष अगाडि यस्तो निर्माण गर्न सक्नु ठुलो आँटको कुरा हो । उहाँले ठुलो रिस्क लिएर बनाएको हो । सिद्धान्तमा जति फिटको पनि बनाउन सकिन्छ । मोटाइ र कति डन्डीको राख्ने भन्ने कुरा हो ।

अहिले पो हामीलाई थाहा भयो । त्यति वेला त थाहा थिएन । व्यवहारमा अहिले पनि १० फिटको क्यान्टिलिभर कमै बन्छ।त्यति बेला बनाउँदा मान्छेले पत्याएनन् । फेल हुन्छ भने । फर्मा खोल्दा वहाँ आफै मुनि बस्नु परेको थियो । 

बीस वर्ष अगाडि आफूले वेदप्रसाद लोहनीलाई भेट्ने अवसर पाएको स्मरण गर्दै उनले भने त्यो पहिलो पटक भेट्दा उहाँ मसँग खुब रिसाउनु भयो । मैले बनाएको डन्डीको नक्सा समेत हेर्न मान्नु भएन । भयो के भने वडा गुरुज्यू नयनराज पाण्डेले घर बनाउन चाहनु भयो आफू बसेकै घरमा, आफू त्यही बसेर नयाँ घर त्यसको वरिपरिबाट बन्नुपर्ने । सुदर्शन ( डा. सुदर्शन तिवारी) मेरो मिल्ने साथी भएकोले मैले त्यो चुनौती स्वीकारे । त्यसको डिजाइन गरियो । वेदप्रसाद लोहनी त्यहाँ आउनु भएको हुँदा त्यो हेरिदिन आग्रह गरे । उहाँ रिसाउनु भयो । मैले गाली खाए । पछि हेरेर अनि भन्नु भयो – ए , ठिकै रहेछ । मेरो घरमा आउनुहोस् न भन्नु भयो । पछि उहाँको घरमा गए र त्यहाँ लामो कुराकानी भयो । अनि मैले महसुस गरे उहाँ साँच्चिकै भलाद्मी र जानकारी भएको मान्छे हुनु हुँदो रहेछ।

वेदप्रसाद लोहनीले भनेको कुरा डा. मास्केले सुनाउनु भयो – सरस्वती सदनको ढलान पछि वाटर क्योरिङ गरिएको वेला राणाले देखेछन् पानी तल चुहिरहेको छतबाट । हकारे छन् यस्तो पानी किन चुहाएको भनेर? यो सुनाएपछि डा. मास्केले भन्नुभयो – त्यो वेलामा वाटर क्योरिङ के हो भन्ने शासकलाई थाहा छैन । कन्कृट के हो भन्ने थाहा छैन । काम गर्ने मान्छेले जानेको छैन । त्यस्तो वेलामा यस्तो हिम्मतको काम गर्न सक्नु भनेको क्रान्तिकारी काम हो । यस अर्थमा वेदप्रसाद लोहनी क्रान्तिकारी हो । उहाँले सानो क्षेत्रमा सीमित रहनु भएन । शिक्षक देखि योजना आयोगको सदस्य र प्रशासक । स्ट्रक्चरको त कुरै भएन । पहिले वाटर फिल्टरेसन सम्ममा काम गर्नु भयो ।

छलफलमा भाग लिने अर्को वक्ता थिए प्रा.डा. भरत शर्मा । उनी आर्किटेक्ट मात्र होइन नेपालको पहिलो ल्यान्डस्केप डिजाइनर पनि हो, अमेरिकाको हार्वार्ड विश्वविद्यालयबाट उच्च शिक्षा हासिल गरेका । वेदप्रसाद लोहनीसँग आफ्नो सम्बन्ध एउटै संस्थामा पढेको कारणले कता कता जोडिएको भन्दै भने – लखनउ पलिटेक्निकबाट वेदप्रसाद लोहनीले सन् १९४० मा गर्नु भएको थियो । मैले १९६२ मा । 

संक्षेप तर प्रबल बोलीमा फेरि भने – वेदप्रसाद लोहनी जिनियस हो । ’मेटाफोरिकल्ली ’ अर्थात् उपमा जनाउने ढङ्गमा भन्नुपर्दा उहाँ जिनियस नै हो । हामी अन्तको जिनियसको कुरा गर्दछौ । तर त्यो जिनियस त हामीकै छ – ’हिडन ट्रेजर’ अर्थात् लुकेको निधि । उनले प्रश्न गरे अनि – त्यो जिनियसको हामी किन कुरा गर्दैनौ? काव्यात्मक शैली प्रयोग गरेर उनले भने – एउटा तारा हो उहाँ आकाशमाथिको । उनले यसो भन्दा तालीको गडगडाहट सुनिएको थियो । उहाँ हो – अन्सङ्ग हिरो अर्थात् पहिचान नगरिएको युद्धवीर । उहाँ बहुआयामी व्यक्तित्व हो जुन कुरो प्रोफेसर मास्के र प्रोफेसर तिवारीले भनिसक्नु भएको छ भन्दै उनले कार्यक्रम सही दिसामा भएकोमा आयोजकहरूलाई धन्यवाद दिए।

नेपालको आधुनिक आर्किटेक्चरको एउटा प्रदर्शनी गर्ने प्रयासहरू सिलसिलाबद्ध भएर यो कार्यक्रमसम्म आइपुगेको जानकारी आर्किटेक्ट विवेक शाहले दिए । उनले व्याख्या गर्दै भने – यो कार्यक्रममा भएको छलफल नेपालको आधुनिक आर्किटेक्चरको कोसे ढुङ्गा भएको छ । वेदप्रसाद लोहनीले १९३८ मा गरेको एउटा ड्रइङ जुन उहाँको प्रोफेसरले दस्खत गरेको र छाप लागेको छ त्यो दुर्लभ हो भन्ने कुरा बताए । त्यसै गरी वरिष्ठ पत्रकार कनक मणि दीक्षितले भने – आफू सन् १९७० मा त्रिचन्द्र कलेजमा पढेको, त्यो सरस्वती सदनमा भित्र बाहिर धेरै पटक गरेको तर २०२२ मा त्यो भवनको महत्त्व थाहा पाएको, त्यसको ऐतिहासिकता जान्न पाएकोमा खुसी व्यक्त गरे र त्यसको नक्साहरू सुरक्षित राख्न सकेकोमा परिवारलाई धन्यवाद दिए । 

आर्किटेक्चर डिपार्टमेन्टको प्रमुख प्राध्यापक डा. सुधा श्रेष्ठ ले धन्यवाद ज्ञापन गर्नु हुँदै भन्नुभयो– ‘सरस्वती सदन’को क्यान्टिलिभर बारे सधैँ सुन्दै आएको तर उहाँको अरू कामबारे थाहा नभएकामा सो जान्ने अवसर पायौँ । दुई वर्षको टेक्निकल शिक्षा प्राप्त गरेपश्चात् आफ्नै अध्ययनको बलमा यत्रो आँटिलो काम गर्न सक्नु ठुलो कुरा हो । मलाई अत्यन्त खुसी लागेको छ । यत्रो काम गर्न सक्नु भएकोमा म उहाँलाई स्वर्गमा नै पनि धन्यवाद दिन चाहन्छु ।

वेदप्रसादबारे वसन्तका लेख



Author

थप समाचार
ad
x