वार्ता

वार्ता

हाम्रोमा गाँजा प्रतिबन्धित गराएको अमेरिका भोलि हामीलाई नै गाँजा बेच्छ (भिडियो)

नारायण घिमिरे |
असार २, २०७९ ७:३२ बजे

नारायण घिमिरे १५ वर्षयता खाद्य तथा औषधिविज्ञका रुपमा क्यानडामा कार्यरत छन् ।  उनी आयुर्वेदिक औषधीको साइड इफेक्टरहित गुण र एलोपेथिक औषधीको तत्काल उपचार गर्ने क्षमता पुनः संयोजन गरी चुस्त हर्बल ओखती विकास विषयका शोधकर्ता हुन् । घिमिरे परम्परागत भनिने आयुर्वेद र आधुनिक भनिने एलोपेथिक उपचार पद्धतिको सम्बन्ध र साइनोबारे अध्ययन गर्न लागिपरेका छन् । उनी वैज्ञानिक र प्रयोगात्मक विकासको अनुसन्धानमार्फत हर्बलको खाद्य र औषधीय गुण संयोजन गरी हिलिङ फुड निर्माण संलग्‍न छन् । नारायण घिमिरेका शोधलेख विभिन्‍न जर्नलमा प्रकाशित छन् । ‘नेपालमा गाँजा’ (वैज्ञानिक अवधारणा) र ‘नेपाली रैथाने जडीबुटी’ नाममा उनका पुस्तक प्रकाशित छन् । उनै घिमिरेसँग इकागजले गरेको संवाद पूरा यहाँ भिडिओमा हेर्नुहोस् । सारांश चाहिँ यहाँ प्रस्तुत छ :  

म क्यानडामा बस्छु । क्यानडामा गाँजा वैधानिक भएपछि त्यहाँ पैसा मात्र कमाइ भएन, स्वास्थ्य सुध्रियो । दुर्घटना घट्यो । गाँजा तस्करीको पैसा मुलुकको राजस्वमा आयो । बालकका हातमा गाँजा पुग्‍नबाट रोकियो । यो देखेपछि मलाई नेपालमा गाँजा पुस्तक लेख्न मन लाग्यो । गाँजा प्रतिबन्धित हुँदा त तस्करी छ, बच्चाको हातहातमा छ, फुकुवा गर्दा छन् कस्तो होला भन्‍ने त्रास क्यानडामा पनि थियो । तर, वैधानिक भएपछि समाजमा सकारात्मक सुधार आयो । दुर्घटना नै कम भयो । यसका धेरै तथ्य छन् ।


वेदले भनेको चार मुख्य जडीबुटीमध्ये गाँजा एक प्रमुख हो । गाँजा अमेरिकीहरूको प्रेसरमा नेपालमा प्रतिबन्धित गरियो । अहिले अमेरिकाले खुला गरेर पैसा कमाइरहेको छ, भोलि हामीलाई नै बेच्ला । गाँजामा लागू तत्व छ, तर यो योग्य, दक्ष र विज्ञको हातबाट उहाँहरूको प्रेस्किप्सनअनुसार हुुनुपर्छ । गाँजा बहसविनै सबैसँग लुकीलुकी पुग्दा झन् जोखिम बढेको छ । गाँजा धेरै खाले रोगको २९८ रोगको उपचारका लागि औषधीय गुणयुक्त हो । 

हाम्रोमा गाँजा प्रतिबन्धित गराएको अमेरिका गाँजा खुला गरेर पैसा कमाइरहेको छ, भोलि हामीलाई नै बेच्ला ।

रोग लागेको बेला सीधै गाँजा खाने होइन । मान्छे आफैँमा स्वनियन्त्रित हुन्छ । युवा झन् आफैँ सचेत हुन्छ । कोही पनि मान्छे आफ्नो भविष्य बिग्रेको चाहँदैन । चरोट, रक्सी हानिकारक हो भनेर लेखेको पढेको हुन्छ नि त । कुनै पनि सूचना र ज्ञानलाई प्रतिबन्धित गर्दा कम जानकारीले अन्यौल हुन्छ । गाँजाको बारेमा यो पक्ष राम्रो, यो नराम्रो भनेर जब खुल्ला कुरा गर्न पाइन्छ, तब कुरा बुझिन्छ । अवैधानिक भन्दा पनि सुसूचित गरेको अवस्थामा दुर्घटना कम भएको देखिएको छ । 

गाँजा खुला गर्दैमा अर्थतन्त्र कायापलट हुन्छ त ? हुँदैन । तर, गाँजा हटकेक हो । यसको केन्द्रमा हाम्रो रैथाने ज्ञानको कुरा गर्न खोजिएको हो । राज्यका निकायलाई झक्झक्याउन खोजिएको हो । गाँजा फुकुवा हैन, गैरअपराधीकरण गर्ने भन्‍नुपर्छ । गाँजाभन्दा राम्रा ६२ वटा हर्बल छन्, ती प्रतिबन्धित छैनन् तर राज्य यिनको ज्ञान, सीप दिन लागिपरेको छैन । फाइदा लिने इच्छाशक्ति कम छ, राज्यसँग । प्रशोधन सेन्टर बनाएर १५ सयवटा जडीबुटीबाट प्रशस्त लाभ लिन सकिन्छ । हर्बलमा लगानी नगरी नेपाल धनी बन्‍न सक्दैन । 

क्यानडामा गाँजा वैधानिक भएपछि दुर्घटना कम भए । तस्करीको पैसा मुलुकको राजस्वमा आयो । बालकका हातमा गाँजा पुग्‍नबाट रोकियो । समाजमा सकारात्मक सुधार आयो ।

हामीसँग सिँचाइयोग्य भूमि कम छ, ९/१० प्रतिशत मात्र छ । भूमिले धेरै दिन सक्दैन, मान्छेको दिमागजस्तो । जंगलमा चाहिनेभन्दा नचाहिने बुट्यान संरक्षण गरेका छौँ । हर्बल गर्ने भनेर जंगल मास्ने, खेतीयोग्य भूमि मास्ने भनेको हैन । हर्बल खेती अब मूलधारमा हुनुपर्छ । यसले उत्पादकत्व बढ्छ । आयात कम र निर्यात बढाउन हर्बलमा जानुपर्छ । 

हामीसँग श्रमशक्ति छ । विदेशमा श्रम महँगो छ । धान, मकै, कोदो, गहुँभन्दा धेरै लाभ हुन्छ यसबाट । तर, खेती गर्नुअघि राज्यले यसको संरचना बनाउनुपर्छ । बजार फिक्स हुनुपर्छ । हर्बल उत्पादन गरे पनि बेच्ने ठाउँ कतै छैन । यो सोच राज्यले छिटो आत्मसात् गर्नैपर्छ ।

एलोपेथिकमा हर्बलकै सारतत्व जान्छ । पर्फ्युममा जान्छ । धुर्सेली, दुबो, जौ, मधेसी खिर्राे, तीतेपाती, टाप्रे, धँयर, चिराइतो, खयरहरू हामीसँग प्रशस्त छ । यिनैबाट क्यानडामा औषधि बनाएको देखेपछि म यसको अध्ययनमा लागिपरेको छु । 

‘नयाँ शिक्षा’मा आयुर्वेदको ज्ञान ध्वस्त भयो । हाम्रा बाजे बज्यैले प्रयोग गरेकै हुन् त । हामीले पत्याएका छैनौँ । जब आयुर्वेदलाई वैकल्पिक भन्‍न थालियो अनि हाम्रो अधोगति भयो । आयुर्वेदलाई सडकमा पुर्याउने काम गरियो । प्रोसेस फुड खानाको कल्चर आयो । घरमा अदुवा र बेसार फालिएको छ, सिटामोल नभई भएको छैन । 

‘नयाँ शिक्षा’मा आयुर्वेदको ज्ञान ध्वस्त भयो । जब आयुर्वेदलाई वैकल्पिक भन्‍न थालियो अनि हाम्रो अधोगति भयो । आयुर्वेदलाई सडकमा पुर्‍याउने काम गरियो ।

हिलिङ खाना बनाए, पुर्खाले । खाना नै औषधीय भएदेखि हिलिङ खानाबाटै उपचारमा धेरै जानुपरेन । खयरमा लाई लाग्‍नु झनै भाग्यको कुरा हो । आधुनिक र अंग्रेजी शिक्षाले सब सखाप भयो । 
रैथाने ज्ञान राज्यको संस्थागत स्मृतिबाटै हरायो । इच्छाशक्ति नै छैन ।

गोरु हटाएर ट्रयाक्टर, पेट्रोल, बिउ सबै बाहिरबाट ल्याइयो । लगानी सब बाहिरको । उत्पादन भए अलिकति खान पाइयो । नभए पनि पैसा त बाहिर गयो नि । हामीसँग प्रयोग नभएको ६० प्रतिशत भूमिलाई हर्बल, हिलिङमा प्रयोग गर्नुपर्छ । हाम्रो परम्परागत ज्ञानलाई आधुनिक विज्ञानसँग फ्युजन गरेर जानुपर्छ र आधुनिक समयको मागमा हामी निर्विकल्प हुन सक्छौँ । 

नारायण घिमिरेका अन्य लेखहरू



Author

नारायण घिमिरे

घिमिरे क्यानडामा खाद्य तथा औषधि विज्ञका रुपमा कार्यरत छन् ।


थप समाचार
ad
x